कोरियोग्राफर रेनशा बान्तवा राईले १० वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्मबाट काम थालेकी हुन् । पहिलो फिल्मबाटै उनले उत्कृष्ट कोरियोग्राफरको नेसनल अवार्ड पाइन् । दर्शकले निकै रुचाएका ‘प्रेम गीत’, ‘ए मेरो हजुर–२’ आदि फिल्मका गीतमा उनकै कोरियोग्राफी छ । उनी अब फिल्म निर्देशन गर्ने तयारीमा छिन् । अनिल यादवले राईसँग गरेको अन्तरंग कुराकानीः
जुन ब्यानरबाट कोरियोग्राफरका रूपमा डेब्यू हुनुभयो, त्यसैबाट निर्देशक बन्ने हुनुभयो । कस्तो लागिरहेको छ ?
यो संयोग हो । अर्को कुरा ‘आइकोर फिल्म्स’ मलाई फाप्छ पनि । यही ब्यानरबाट काम गर्दा नेसनल अवार्ड पाएँ ।
निर्देशक बन्ने सोच कसरी आयो ?
नेपालमा कोरियोग्राफर मात्रै भएर काम गर्न गाह्रो छ । शरीरमा फुर्ती हुञ्जेल, जवान भइञ्जेल काम गर्न सकिन्छ । पछि बिहे गरेपछि, बूढी भएपछि काम गर्न गाह्रो हुन्छ । यहाँ फेरि उमेर ढल्किसकेपछि पनि विदेशको जस्तो कन्सल्ट्यान्ट भएर काम गर्ने वातावरण भइसकेको छैन । त्यसैले म दुई वर्षअघिदेखि नै फिल्म निर्देशन गर्ने तयारीमा जुटेको हुँ । मैले १० वर्षदेखि धेरैजसो लभस्टोरी जान्रको फिल्ममा कोरियोग्राफी गरेँ । मैले बनाउन लागेको ‘इन्टु मिन्टु लन्डनमा’ पनि लभस्टोरी फिल्म नै हो । मेरो यो अनुभवले मलाई फिल्म निर्देशन गर्ने आत्मविश्वास दिएको हो ।
कोरियोग्राफीको अनुभवले निर्देशन गर्न पुग्छ र ?
मैले यत्रो वर्ष यो क्षेत्रमा बिताउँदा आफूले गरेको काम मात्र हेरिनँ, अरूबाट धेरै कुरा सिकेँ पनि । मान्छेहरू कोरियोग्राफी भन्नेबित्तिकै गीतको डान्सलाई बुझ्छन् । तर, कोरियोग्राफी भनेको डान्स मात्र होइन । यो त पूरा गीतको डिजाइन हो । लभ सङ, स्याड सङमा कहाँ डान्स हुन्छ र ? त्यहाँ त हाउभाउ अर्थात् अभिनयकै कुरा आउँछ । त्यसैले कोरियोग्राफीभित्र लोकेसन, बडी ल्यांग्वेज, फ्रेमिङ सबै कुरा पर्छन् । नचाउनु मात्र कोरियोग्राफी होइन ।
तपाईंले प्रायः लभस्टोरी फिल्ममा मात्र काम गर्नुको कारण के हो ?
फिल्मको पो जान्र हुन्छ त, कोरियोग्राफीको कुनै जान्र हुँदैन । किनकि, एउटै फिल्ममा बेग्लाबेग्लै मुडका गीत हुन्छन् । त्यसैले काम गर्ने दायरा फराकिलो बन्छ । रुवाउनेदेखि हँसाउनेसम्मका गीत हुन्छन् । काम गर्ने क्रममा राम्रो अभ्यास भइरहेको हुन्छ ।
कोरियोग्राफी बाल्यकालदेखिकै चाहना थियो कि ?
मैले प्लस टूसम्म साइन्स पढेकी हुँ । तर, नाच्न भनेपछि सानैदेखि हुरुक्क हुन्थेँ । नौ–दश कक्षामा पढ्दादेखि नै मैले डान्स सिकाउन थालिसकेकी थिएँ । ‘लेट्स डान्स ग्रुप’ नै खोलेकी थिएँ । टोलका बच्चाहरूलाई डान्स सिकाउँथेँ । घरमा आमाबाको पूरा सपोर्ट थियो । त्यसैले ममीले घरको कोठामै डान्स सिकाउने रुम म्यानेज गरिदिनुभएको थियो । पछि बीएससी नर्सिङ पढ्न भनेर काठमाडौँ आइयो । डान्सको लतले छाडेन । डान्स पार्टीहरू अर्गनाइज गर्न थालियो । यत्तिकैमा डीजे सन्तोषले ‘चियाबारीमा’ बोलको गीतमा कोरियोग्राफी गर्न अनुरोध गरे, गरेँ । भिडियो हिट भयो । त्यसपछि ‘वनमा फुल्यो’, ‘मै ठूली भैछु रे’ लगायत गीतमा कोरियोग्राफी गरेँ । ती पनि हिट भए । त्यसपछि फिल्ममा अफर आएको हो ।
फिल्ममा अफर कसरी आयो ?
मैले कोरियोग्राफी गरेका गीतहरू बजारमा हिट भएपछि आइकोर फिल्म्सले नोटिस गरेको रहेछ । सुरुमा चार–पाँचपल्ट बोलाउँदा पनि म भेट्न गएकी थिइनँ । खासमा त्यतिबेला ठूलो जमात नेपाली फिल्म भनेपछि हाँस्थ्यो । अहिले पनि त्यस्तो जमात छ । म पनि त्यतिबेला हाँस्ने जमातमै पर्थें । त्यसैले फिल्ममा काम गर्ने रुचि थिएन । तर, धेरैपल्ट बोलाएपछि भेट्न गएकी हुँ । पछि धेरै कुरा बुझियो । र, नेपाली फिल्मप्रति लगाव र रुचि पनि बढे ।
तपाईंलाई महँगो कोरियोग्राफर भन्छन् । एउटै गीत खिच्नलाई लाखौँ खर्च गराइदिनुहुन्छ रे ?
हुन सक्छ । काम गर्ने मामिलामा कम्प्रोमाइज गर्न रुचाउँदिनँ । त्यो गीतभन्दा राम्रो बनाउनुप¥यो भन्दै निर्माताहरू कामको अफर गर्न आउँछन् । त्योभन्दा राम्रो भनेपछि त स्वाभाविक रूपमा त्योभन्दा बढी पैसा पनि दिनुप¥यो नि । म घरमा लगेर खानका लागि बढी पैसा अफर गर्दिनँ, गीतमै खर्च गर्नका लागि गर्छु । पारिश्रमिकको मामिलामा भन्नुपर्दा मैले एउटा गीतको एक लाख रुपैयाँ लिने गर्छु । हाम्रो लेभल हामी आफैँले बनाउनुपर्छ । नत्र भोलि हामीपछिको पुस्ता थोरै पैसामै दबिएर काम गर्न बाध्य हुनेछ ।
पहिलो फिल्ममै तपाईंले बढी पैसा लिनुभएको थियो रे !
सही हो । त्यतिबेला यहाँ १०–१५ हजारमा काम गरिँदो रहेछ । मैले ३० हजार लिइदिएँ । धेरैले ‘यसले धेरै पैसा लिन्छे, यो धेरै टिक्दिन’ पनि भने । तर, त्यसो भएन । मेहनतको फल मीठै हुँदोरैछ ।
तपाईंले नृत्य कहाँ सिक्नुभएको हो ?
जसरी गीत गाउनलाई गला लिएर जन्मिनुपर्छ भनिन्छ, त्यसै गरी नाच्नका लागि पनि जन्मजातै ट्यालेन्ट हुन्छ जस्तो लाग्छ । टेक्निकल कुराहरू मात्र सिक्ने हो । यहाँ कोरियोग्राफर बनाउने राम्रा इन्स्टिच्युट अझै खुलेका छैनन् । म काठमाडौँ आएपछि साधना कला केन्द्रमा डान्स सिक्न गएकी थिएँ । दुई महिना नबित्दै मलाई सिकाउन पो लाइयो । विदेश जाँदाखेरि सिकेर आउने गर्छु । थाइल्यान्डमा दुई महिना सिकेकी थिएँ ।
कोरियोग्राफीमा कोबाट प्रेरित हुनुहुन्छ ?
मलाई बलिउडकी सरोज खान असाध्यै मन पर्छ । उहाँको कोरियोग्राफीको शैली पृथक् लाग्छ ।
बूढी भएपछि कोरियोग्राफी गर्न सकिँदैन भन्नुभयो । तर, सरोज खान ६८ वर्ष कटिसक्नुभयो, अझै सक्रिय हुनुहुन्छ त ।
मैले भनेँ नि– नेपालमा बाहिरजस्तो सजिलो छैन । सरोजजीसँग त्यहाँ प्रतिभाशाली कोरियोग्राफरहरू सहयोगीका रूपमा हुन्छन् । यहाँनेर त्यस्ता सहयोगी भेट्न मुश्किल पर्छ । आफैँ गरेर देखाउनुपर्छ । बिस्तारै बलिउडको जस्तो अवस्था पनि बन्ला । मैले उमेर ढल्किँदै गएपछि कामै गर्न सक्दिनँ या गर्दिनँ भनेको होइन । मात्र भविष्यलाई अझै सुरक्षित बनाउन निर्देशन पनि सुरु गर्न लागेकी हुँ ।
गीत हिट तर त्योअनुसार फिल्म नचलिदिँदा कोरियोग्राफरलाई कस्तो महसुस हुन्छ ?
मैले बनाएका गीतहरू आज फिल्मका सेयरिङ म्याटेरियल भइरहेका छन् । ट्रेलरभन्दा अघि हामीले कोरियोग्राफी गरेका गीत सार्वजनिक गर्न थालिएको छ । मलाई पनि हामीले जति मेहनत गरेर गीत बनाउँछौँ, त्यो अनुसारको स्तर फिल्ममा नपाउँदा नमज्जा लाग्छ । मेरा साथीहरूले ‘तेरो सङ हेरेर फिल्म हेर्न गा’को, खत्तम रैछ’ भनेर गुनासो गर्छन् । गीत हिट, फिल्म फ्लप हुँदा नमीठो लाग्छ ।
अहिलेका चल्तीका अभिनेता दयाहाङ राईंलाई पनि नचाउनुभयो है तपाईंले ?
हो । ‘झोले’ फिल्मको ‘तिमी नै मेरो’ गीतमा नचाएकी हुँ । उहाँ नाच्न भनेपछि डराउनुहुन्छ । ‘यो गीत नराख्दा हुँदैन’ भनेर उहाँले निर्देशकसँग अनुरोध पनि गर्नुभएको थियो । जबर्जस्ती गराइएको थियो । पछि उहाँलाई सुहाउने गरी कोरियोग्राफी गरियो ।
काम गर्नुअघि तपाईंका शर्त के हुन्छन् ?
सुरुमा म टिम हेर्छु । क्यामेरापर्सन को छ ? भन्ने पनि ख्याल गर्छु । किनभने, त्यहीअनुसार सट डिजाइन गर्नुपर्ने हुन्छ । सबैभन्दा बढी ख्याल गर्ने भनेको प्रोडक्सन भ्यालुमा नै हो । काम गर्ने क्रममा मलाई लोकेसन, कस्ट्युम, प्रोपर्टीका मामिलामा कतिसम्म स्वतन्त्रता दिइन्छ भन्ने नै हो । त्यसपछि पारिश्रमिकको कुरामा म कुनै सम्झौता गर्दिनँ । होलसेलमा साइन गर्दिनँ । बरु स्मरणीय र स्तरीय काम गरिन्छ तर सम्झौता गरिँदैन ।
फिल्मको गीत पाइसकेपछि त्यसको कोरियोग्राफीका लागि कसरी तयारी गर्नुहुन्छ ?
यो अप्ठ्यारो प्रश्न हो । कोरियोग्राफीको कुनै फर्मुला हुँदैन । आइटम डान्स गर्दा डान्स स्टेपको मात्र कुरा आउला । तर, खासमा कोरियोग्राफर हुनु भनेको तपाईं कति क्रिएटिभ हुनुहुन्छ भन्ने नै हो । खासमा यो प्रश्न लेखकलाई ‘यति मीठा शब्द कसरी फुर्छन् ?’ भनेर सोधेजस्तै हो । फिल्मको क्यारेक्टर र सिच्युएसन पाएपछि मैले कल्पना गर्ने हो । अनि, त्यहीअनुसार कोरियोग्राफी गर्ने हो ।
प्रायः फिल्मका कार्यक्रममा तपाईं हिरोइनलाई नै मात खुवाउने पहिरन लगाएर पुग्नुहुन्छ भनिन्छ नि ?
ए बाबा, यो त लगानी हो क्या । म कलाकारलाई यसो गर, उसो गर भनेर सिकाइरहेको हुन्छु । मेकअप पनि कोरियोग्राफीभित्रकै पार्ट हो । म कलाकारलाई राम्रो र फेसनेबल भएर हिँड्न सिकाउने, अनि आफू चाहिँ ल्यागंफ्यांग हुनुभएन नि । हिरोइनहरूलाई पनि प्रेरणा होस् भनेर त्यसरी हिँड्छु । तर, कसैले हिरोइनका लागि अफर गरून् भनेर चाहिँ होइन है ।
यहाँ धेरै युवतीहरू हिरोइन बन्ने इच्छा लिएर आउँछन्, तपाईंलाई मन लागेन ?
म सधैं पर्दापछाडि नै काम गर्न रमाउँछु । मेरो विचारमा जसरी एउटा राम्रो टिचर राम्रो विद्यार्थी हुन सक्दैन, त्यसै गरी एउटा कोठाभित्र नाच्ने राम्रो डान्सर स्टेजको राम्रो पर्फर्मर नहुन पनि सक्छ । हामीलाई त कलाकारसँग जतिसक्दो राम्रो काम लिन सकूँ भन्ने टेन्सन हुन्छ । त्यसका लागि धेरै कसरत गरिरहेका हुन्छौँ । उनीहरूलाई फुर्काएर हुन्छ कि थर्काएर हुन्छ, फकाएर हुन्छ कि फुलाएर हुन्छ, काम लिनुपर्ने हुन्छ । खासमा भन्नुपर्दा क्यामेरापछाडि हामी सबैभन्दा ठूलो अभिनय गरिरहेका हुन्छौँ । काम लिनका लागि ताल–तालका अभिनय गरिरहेका हुन्छौँ ।
Leave A Comment