भाइबर स्टिकरमा ‘धेरै च्वाक छौ’

आइतबार, १९ असार २०७३, १२ : १६ शुक्रवार , Kathmandu
भाइबर स्टिकरमा ‘धेरै च्वाक छौ’

भाइबरमा ल्याएको नेपाली अक्षरको स्टिकर अहिलेको पुस्तामा प्रचलित रहेको शब्दहरू समावेश छन् । स्टिकरमा ‘लाज लाग्यो’, ‘तिमी मेरो हिरो’, ‘कस्तो अचम्म’, ‘आम्मै’लगायत शब्द राखिएका छन् । त्यस्तै ‘धेरै च्वाक छौ !’, ‘म मरेँ अब’, ‘माफ पाऊँ हजुर !’ पनि राखिएका छन् । स्टिकरमा ‘बधाई’, ‘धेरै जाडो छ’, ‘बाहिर जा’, ‘टेन्सन नलेऊ’, ‘तिमी गर्न सक्छौ’ लगायत शब्द पनि राखिएका छन् । शब्दको भाव मिल्ने कार्टुन पनि स्टिकरमा समावेश गरिएको छ ।

भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरू ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताएका छन् ।
काठमाडौँमा आयोजित कार्यक्रममा उनले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने निर्णय गरेको बताए । प्रयोगकर्तालाई आफ्नै भाषामा भावना व्यक्त गर्न भाइबरले नयाँ र विशेष स्टिकर प्याक सुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
विश्वभरि सात करोडभन्दा बढी प्रयोगकर्ता र नेपालमै ४५ लाख सूचीकृत प्रयोगकर्ताले प्रयोग गर्दै आएको विश्वको अग्रणी म्यासेन्जर एप भाइबरले यो वर्षको सुरुवातदेखि नै स्थानीय भाषामा स्टिकर उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।  
नेपालमा टुबर्गसँगको सहकार्यमा पहिलो स्थानीयकृत स्टिकर परियोजनाको सफलतापछि भाइबरले नेपाली भाषामा आफ्नो पहिलो स्टिकर प्याकको पनि घोषणा गरेको छ । भाइबरले नेपाललाई आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको उनको दाबी छ । यही सफलतासँगै भाइबर निकट भविष्यमा नेपालमा एक बृहत् डिजिटल सञ्चार एपको रूपमा स्थापित हुने उनले बताए ।
हालै पब्लिक च्याटको सुरुवात गरेको भाइबरले नेपाली बजारमा उल्लेख्य सफलता प्राप्त गर्दै गइरहेको जानकारी गराउँदै पब्लिक च्याटमा प्रयोगकर्ताले सेलिब्रिटी, प्रेरक र ब्रान्डलाई पछ्याउन सक्ने बताए । माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, नगमा श्रेष्ठजस्ता सेलिब्रिटीलगायत पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले समेत भाइबर पब्लिक च्याटमा आफ्नो उपस्थिति जनाइसकेका छन् । फ्यान र फ्लोअरले आफ्नो प्रिय सेलिब्रिटीको दिनचर्या, जीवनशैलीबारे सुटुक्क चिन्हाउन सक्नेछन् ।
पब्लिक च्याटमा जोडिँदै पूर्व मिस नेपाल अर्थ नगमा श्रेष्ठले यो नौलो र रमाइलो हुनुका साथै भाइबरबाट आफ्ना विचार व्यक्त गर्न र तिनलाई विश्वसमक्ष पु¥याउन सजिलो भएको बताइन् ।
‘मेरा फ्यानहरू अब मेरो गीत संगीत र सिर्जनालाई सजिलै पछ्याउन सक्छन् । यो उनीहरूका लागि वास्तवमै खुशीको कुरा हो,’ चर्चित पप गायक निमा रुम्बाले भने, ‘भाइबरको यो नयाँ सुविधाले गर्दा विशाल संसारसँग सम्बन्ध कायम राख्न र पब्लिक च्याटमा धेरै साथीहरूलाई निमन्त्रणा दिन सक्छन् ।’
यस्तै, नेपाली फिल्म जगतकी चर्चित नायिका ऋचा शर्माले भाइबर पब्लिक च्याटमा आफूलाई पेश गर्न पाउँदा अत्यन्त रोमाञ्चित भएको बताइन् । यसले उनलाई गहन अनुभूति दिलाएको छ । पब्लिक च्याटले ब्रान्ड र सेलिब्रिटीलाई उनीहरूको फलोअरसँग निजी सम्बन्ध बनाइराख्न मद्दत गर्ने उनले बताइन् ।
प्रयोगकर्तामाझ स्टिकरले सन्देश र सूचना प्रवाह गर्ने एक क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । स्टिकरले आपसी वार्तालाई अत्यन्त निजी बनाउन र मनको भावलाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ । नेपाली नयाँ वर्ष २०७३ लाई उत्सवका रूपमा मनाउन भाइबरले १० हजार नेपाली रुपेैयाँ बराबरका स्टिकरको प्याक निःशुल्क उपलब्ध गराएको थियो । यसले कुराकानीमा अपनत्व मात्र बढाउने नभई मनमोहक डिजाइनले प्रयोगकर्तामाझ बृहत् संवेदना पनि प्रवाह गर्छ ।
भाइबरले यही सफलतालाई मध्यनजर गर्दै र नेपाली ग्राहकको रुचिलाई ध्यान दिँदै यहाँका स्थानीय सेवा प्रदायकसँग सहकार्य गर्न आगामी केही महिनामै नेपालभरि आफ्नो सेवा विस्तार गर्ने योजना बनाइरहेको छ ।

 

 

Leave A Comment