अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘सानो संसार’ बाट डेब्यू गरेकी हुन् । उनी फरक–फरक भूमिकामा पर्दामा देखिने गर्छिन् । फिल्म ‘क्लासिक’का निर्वाह गरेको दृष्टिविहीन युवतीको भूमिकाका लागि उनले अघिल्लो वर्ष ‘राष्ट्रिय पुरस्कार’ सहित अन्य थुप्रै अवार्ड जितिन् । आफूले निर्वाह गरेका प्रिय केही चरित्रबारे उनले शुक्रवारलाई बताएकी छिन्ः
ऋतु
फिल्म ‘सानो संसार’ को यो चरित्र मेरा लागि विशेष छ । किनभने, म पहिलो पटक पर्दामा यही भूमिकामार्फत देखिएकी हुँ । अडिसन दिएर छनोट भएकी थिएँ । त्यतिबेला मजस्ती थिएँ फिल्ममा पनि त्यस्तै देखिएकी छु । निर्देशक आलोक नेम्बाङले ‘तिमी रियलमा जस्ती छौ त्यस्तै गर्नू’ भन्नु भा’थियो । धेरै बोल्ने र चञ्चले भए पनि पहिलो पटक भएकाले काम गर्न मेरा लागि सहज थिएन । सेटमा मेरो रियाक्सन कम हुँदा आलोक दाइले धेरै पटक मलाई रिस उठाउने काम गर्नुहुन्थ्यो । कहिलेकाहीँ रुवाउनका लागि पनि मेरो चित्त दुखाउनुहुन्थ्यो । मैले डायलगमा पनि निकै मेहनत गरेकी थिएँ । किनकि, त्यो बेला म शब्द खान्थेँ ।
शिखा
निर्देशक सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’ फिल्मको क्यारेक्टर हो, यो । यो फिल्ममा म अनाथालयमा हुर्किएकी शिखाको भूमिकामा छु । यो भूमिका गर्नुअघि मैले अनाथहरूको जीवन र हाउभाउलाई नजिकबाट नियालेकी थिएँ । यो फिल्मबाट म दर्शकमाझ चुलबुले नम्रताबाट गम्भीर स्वभावकी नम्रता बनेँ ।
शोली
‘छड्के’ फिल्मको क्यारेक्टर हो, शोली । बिलकुलै फरक भूमिकामा देखिएकी थिएँ यस फिल्ममा म । यो क्यारेक्टरकै लागि मैले कपाल पनि काटेकी थिएँ । तर, क्युट देखियो भनेर निर्देशकले विग लगाइदिनुभएको थियो । त्यो भूमिकाले मलाई केही हदसम्म ग्याङस्टारको जीवन बुझ्ने मौका दिएको थियो । यही चरित्रका कारण मैले बाइक पनि चलाउन सिकँे, अलि–अलि फाइट पनि गरेँ । शोली चरित्र मेरा लागि एउटा राम्रो एक्सपेरिमेन्ट थियो ।
वर्षा
वर्षा ‘मौन’ फिल्मको पात्र हो । यसमा मैले सुन्न र बोल्न नसक्ने युवतीको भूमिका निर्वाह गरेकी छु । यो भूमिकाका लागि मैले करिब एक महिना सुन्न र बोल्न नसक्नेहरूको जीवन नियाल्ने मौका पाएकी थिएँ । उनीहरू हरेक कुरामा अपडेट भएको देख्दा र स–साना कुरामा पनि खुशी भएको देख्दा अचम्म लाग्यो । यो चरित्रमा म अलिकति चम्किला र रंगिन पहिरनमा देखिएकी छु । किनकि, मैले उनीहरूको जीवनशैली देखाउनुपर्ने थियो । फिल्म रिलिज भएपछि धेरैले कामको प्रशंसा पनि गर्नुभयो ।
दृष्टि
‘क्लासिक’ फिल्मको क्यारेक्टर हो, यो । फिल्ममा म आँखा देख्न नसक्ने संगीतप्रेमीको भूमिकामा छु । यस पात्रले मलाई प्रशस्तै प्रशंसा दिलायो । केही अवार्ड पनि जितेँ । यो क्यारेक्टर निकै चुनौतीपूर्ण थियो । किनकि, कथा दृष्टिविहीनको थियो र दर्शकलाई सन्देशसँगै मनोरञ्जन पनि दिनु थियो । दृष्टि बन्नका लागि मैले लामो समय दृष्टिविहीनहरूसँग बिताए । सुटिङ सकिएपछि पनि केही समयसम्म मलाई दृष्टिको ह्याङओभरले छोडेन । आँखाले एकोहोरो हेरिरहन्थेँ । मेरो करिअरकै असाध्यै प्रिय लाग्ने क्यारेक्टर हो, दृष्टि ।
प्रस्तुतिः प्रदीप कार्की
Leave A Comment