संघर्षशील युवाको कथामा ‘लाउरे’

बिहिबार, १८ जेठ २०७४, ०१ : ०८ शुक्रवार , Kathmandu
संघर्षशील युवाको कथामा ‘लाउरे’

ब्रिटिस लाहुरे बन्न संघर्षशील एक युवाको कथामा फिल्म बन्ने भएको छ । ‘लाउरे’ नाम राखिएको उक्त फिल्मको सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा पूजा गरी मुहुर्त गरियो ।  
फिल्म ‘छड्के’, ‘लालपुर्जा’ का निर्देशक निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्मको छाँयाङ्कन जेठ २१ बाट सुरु गरिनेछ । ‘फिल्मले विशेषतः लाहुरे बन्न चाहना राखेको शंकर नामका युवाको कथालाई देखाउनेछ । जो आफैंमा दुईपटक लाहुरेको तालिममा असफल बनिसकेको हुन्छ,’ निगमले भने, ‘त्यसपछि उसको जीवनमा आउने उतारचढाबलाई फिल्मले प्रस्तुत गर्नेछ ।’
फिल्मका निर्माता सुनिल रावलले काठमाडौं र धरानका विभिन्न स्थानमा छायाँङ्कन गरिने फिल्मले ग्रामीण र सहरिया दुवै परिवेशलाई प्रस्तुत गर्ने बताए । अभिनेत्री  श्रृष्टि श्रेष्ठले धरानको एक कलेजमा पढ्ने सहरिया युवतीको भूमिकामा आफू देखिने बताइन् ।
फिल्ममा सृष्टिसँगै बिक्रमसिंह थारु, मिरुना मगर र शैलेन्द्र मल्लको अभिनय रहनेछ भने नरेन लिम्बू, क्रिशा शाही र डेनमार्ककी युवती जियानेट मेरी लेटरको डेब्यु अभिनय हुनेछ । दुर्गिश फिल्मस्को ब्यानरमा बन्ने फिल्ममा नेगेटिभ बुद्धको लेखन , प्रतीक गुरुङ र बुद्धकै पटकथा, अष्ट महर्जनको द्वन्द्व, जेसन कुँवरको संगीत, लोकेश बज्राचार्यको सम्पादन र आलोक शुक्लाको छायाँङ्कन छ ।

 

Leave A Comment