बक्सअफिस बहस: कहिले हुन्छ लागू ?

बिहिबार, १८ जेठ २०७४, ०१ : २३ रामकुमार डिसी , Kathmandu
बक्सअफिस बहस: कहिले हुन्छ लागू ?

‘कुन हलबाट कति टिकट विक्री भयो ? कुन फिल्मले  कति कमायो ? फिल्म नाफामा गयो कि लगानी नै नउठाई डुब्यो ?’

सामान्य भाषामा भन्नुपर्दा फिल्मले हलबाट गर्ने व्यापारको यथार्थ बिवरण देखाउने प्रणाली हो–बक्स अफिस । झट्ट हेर्दा यो फिल्म उद्योगको एउटा सामान्य प्राबिधिक पक्ष हो । तर, नेपाली फिल्म उद्योगमा यसलाई ठुलै ‘हाउगुजी’ बनाइएको छ । नेपाली फिल्मको उत्थान र विकासमा निम्ति गठित सरकारी निकाय ‘चलचित्र विकास बोर्ड’ले ‘बक्स अफिस लागु गर्छु’ भन्न थालेको एक दशक भईसक्यो । तर, निर्माता, वितरक र प्रर्दशक(हलवाला)हरु अनेक बाहाना बनाउँदै पन्छिएपछि अहिलेसम्म पनि यो गफमै समिति छ ।
चलचित्र पत्रकार संघ, नेपालले सोमबारदेखि थालेको मासिक बहस ‘स्पीर्कस कर्नर’को पहिलो श्रृखंलामा ‘बक्स अफिस’बारे बहस चलेपछि यो पुनः चर्चाको बिषय बनेको छ । चलचित्र विकास बोर्ड र नेपाल चलचित्र संघका अध्यक्ष, निर्माता संघका उपाध्यक्ष र एकजना निर्देशकलाई सँगै राखेर गरिएको बहसमा निर्माता, बितरक र प्रर्दशकले बक्स अफिस लागू गर्ने बोर्डको कुरामा आफूहरुको असहमति नभएको बताए । तर अनेक तर्क अघि सारेर बक्स अफिस लागू गर्न अझै तयार नभएको संकेत पनि देखाए ।

बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चार महिना भित्र काठमाडौं उपत्यकामा र बिस्तारै देशभर बक्स अफिस प्रणाली लागू गर्ने बताए । ‘बक्स अफिस अनावश्यक रुपमा ठूलो हाउगुजी भएको छ,’ उनले भने, ‘यो समयको माग हो । बिज्ञानले दिएको उपहार हो । जुन क्षेत्रले प्रविधिलाई पछ्याउँदैन त्यो कसरी अघि बढ्न सक्छ ? ’ राईंले बक्स अफिस विशुद्ध पारदर्शितासँग जोडिएको विषय रहेको तर्क गरेका थिए । ‘हामीले राख्न खोजेको बक्स अफिसबाट देशभरीको फिल्मको ब्यापार रिपोर्ट एउटै सफ्टवयेरबाट हेर्न सकिन्छ । यसले पारदर्शिता बढाउँछ’, उनले भने ‘तर यहाँ गलत कुराको खेती भइरहेको छ । पाँच लाख कमाउँदा ५० लाखा कमाएको भनिन्छ । यसले नयाँ निर्मातालाई डुबाई रहेको छ ।  बक्स अफिस खासमा सबैभन्दा बढी निर्माताका लागि आवश्यक छ ।’

नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय बक्स अफिस लागू गर्न आफुहरू तयार रहेको तर आफुहरूलाई ‘हलवालाले चोर्छन’ भन्ने कुरामा मात्रै अपत्ति रहेको बताउँछन् । ‘पारदर्शीता हुनुपर्छ भन्ने कुरामा हाम्रो सहमति नै छ । तर, ‘हलवालाले चोर्छन्’ भन्ने हल्ला चलाइन्छ त्यसमा मात्रै हाम्रो अपत्ति हो,’ उनले भने ।

निर्माता संघका उपाध्यक्ष माधव वाग्लेले बक्स अफिस भन्दा पनि राम्रा फिल्म बनाउन तिर लाग्नुपर्ने तर्क गरे । ‘मैले सफल असफल दुबै फिल्म दिएको छुँ ।  राम्रा फिल्म बनाउँदा दर्शकको फ्लो आफै बढ्छ । पैसा पनि राम्रै आउँछ’, उनले भने,  ‘उ बेला चुरोटको बट्टामा हिसाब आउँदा पनि खुसी थिएँ । राम्रै आउँथ्यो । बक्स अफिस भन्दा पनि राम्रै फिल्म बनाउनतिर ध्यान दिनुपर्यो ।’

चलचित्र पत्रकार संघका महासचिव अनिल यादवले सहजिकरण गरेको बहसमा फिल्म निर्देशक दिपेन्द्र के खनालले बक्स अफिसले नेपाली फिल्ममा ठूलो परिर्वतन नल्याउने मत राखे । ‘बक्स अफिस लागू भएर निर्मातालाई ठुलो राहात मिल्ने भन्ने होइन । पारदर्शिता बढ्छ भन्ने मात्र हो’, उनी भन्छन, ‘यसले ठूलो उथलपुथल ल्याउने पनि होइन, फिल्मको ब्यापारमा ठुलो मद्दत पुग्ने पनि होइन ।’ उनले मान्छे स्वयम् पारदर्शी र इमान्दार हुनुपर्ने नत्र उनीहरूले प्रविधिलाई समेत ढाँट्न सक्ने बताए ।  

सबै हलमा असम्भव
बक्स अफिस प्रविधिसँग जोडिएको बिषय भएकाले यसको बिस्तार निकै झन्झटिलो र खर्चिलो पनि हुन्छ । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय तत्काल देशैभरी यो लागू गर्न तत्काल सम्भब नभएको बताउँछन् । काठमाडौं बाहिरका सिंगल थिएटरमा भने झन् अप्ठ्यारो हुने उनको तर्क छ । ‘दुई तीन जनाले हल चलाएको हुन्छ । त्यस्तोमा कम्प्युटराइज्ड गर्न महंगो हुन्छ’, उनले भने, ‘केही सहुलियत नभए त्यस्ताले कसरी यो प्रविधि जोड्न सक्छन् ?’

चलचित्र विकास बोर्डका अध्यक्ष राईले आर्थिक अबस्था कमजोर भएका हलहरूलाई सफ्टवेयर जडानलगायत विषयमा सहुलियत दिने योजनामा बोर्ड रहेको बताए । ‘काठमाडौं बाहिर केही ढिला भए पनि लागू चाँही जसरी पनि गर्नुपर्छ । डेढवर्षभित्रमा लागू गरिसक्ने योजना छ,’ राईंले भने ।

मिडियामा नभन्ने कसम
आपूm बक्स अफिस लागू गर्ने पक्षमा रहेको बताएका चलचित्र संघका अध्यक्ष उदयले निर्माताहरूबारे एउटा रोचक खुलासा गरे । ‘मैले आफ्नो फिल्मले कमाएको यथार्थ रिपोर्ट मिडियामा दिँदा आलोचना भयो । पाँच लाख आम्दानी हुँदा मिडियालाई २० लाख भयो भन्नुपर्छ भन्छन्,’, उनले भने, ‘पोखराको एउटा बैंठकमा निर्माताले यथार्थ रिपोर्ट मिडियालाई नभन्नु भनेर कसम खुवाए ।’
उनको यो कुराले पनि फिल्मका निर्माता, वितरक, प्रदर्शकको बक्स अफिसप्रति रुची छैन भन्ने कुरा दर्शाउँछ । बक्स अफिसको जरूरी नठान्ने निर्माता संघका वाग्ले पनि काठमाडौंका २०÷२५ वटा हल बाहेकले बिल पनि नकाट्ने र  अडिट रिपोर्टमा सधैं घाटा देखाउने गरेको बताए । ‘अडिटमा घाटा देखाएकाले फाइदामा रहेको फिल्मको  मैले चाहेर पनि कर तिर्न पाइन’, उनले गुनासो गरे । बहसमा चलचित्र संघ र निर्माता संघका यी दुई जिम्मेवार पदाधिकारीको कुराले पनि नेपाली फिल्म उद्योगमा अपादर्शीता व्यापक मौलाएको र बक्स अफिस तत्काल कार्यन्वयन हुनपर्नुे निष्कर्ष निकाल्न सकिन्छ ।

Leave A Comment