अभिनेत्री रजनी गुरुङले गुरुङ भाषाको फिल्म ‘धिँ’बाट अभिनय सुरु गरेकी हुन् । तर हाँस्य श्रृंखला ‘मेरी बास्सै’मा बुद्धि तामाङ ‘हैट’की श्रीमती ‘मंगली’ बनेर खेल्न थालेपछि भने उनी धेरैको नजरमा परिन् । उनले ‘टलकजंग भर्सेज टुल्के’, ‘सुराक’, धिँ, भ्रेँ, प्रेसोना, ‘माया गर्नेलाई मायाँ नमार’लगायत फिल्ममा काम गरेकी छिन् । उनले हालसालै जापानी निर्देशक हिरायाना हिदेयुकीले नेपालमा छाँयाङ्कन गरेको फिल्म ‘एभरेस्ट समिट अफ गड्स’मा समेत अभिनय गरेकी छिन् । उनीसँग पोखराबाट मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानीः
अभिनय तपाईंको सानैदेखिको रुची हो ?
हो । सानैदेखि नाच्न÷गाउन भनेपछि हुरुक्कै हुन्थे । हाम्रो परिवारका अन्य सदस्य पनि रंग रमाइलो गर्ने भनेपछि हुरुक्कै हुने । देउसीभैलो खेल्दा पनि परिवारका सबै मिलेर खेल्थ्यौं । यत्तिकैमा बहराइनमा रहेका मेरा पुसाईको सहयोगले मैले ६ वर्षअघि गुरुङ भाषाको ‘धिँ’ फिल्म खेल्ने मौका पाएकी हुँ । अहिले यही क्षेत्रमा स्थापित हुन संघर्षरत छु ।
तपाईले पहिलो फिल्मबाटै अवार्ड पाउनुभएको थियो, होइन ?
हो यो फिल्मबाट मैले ‘बेस्ट एक्ट्रेस’ को अवार्ड पनि पाएकी थिएँ । पहिलो कामबाटै अवार्ड पाउँदा मिहेनत खेर गएन भन्ने लाग्यो ।
थुप्रै फिल्म खेल्दा पनि तपाईंको कुनै चर्चा थिएन । ‘मेरी बास्सै’ले एकाएक चर्चा दिलायो है तपाईंलाई ?
होे, टेलिभिजनमार्फत मलाई धेरैले चिने । गुरुङ फिल्मबाट पनि चर्चा भएन भन्ने होइन । तर त्यो चिनारी आफ्नो ठाउँ र समुदायमा मात्र सिमित थियो । त्योभन्दा बाहिर आउन सकेको थिएन । मेरी बास्सैमा खेलेपछि धेरैले नोटिस गरेका हुन् ।
‘मेरी बास्सै’मा काम गर्ने मौकाचाँही कसरी जुर्यो ?
‘टलकजंग भर्सेज टुुल्के’ फिल्ममा काम गरेपछि बुद्धि तामाङ र म असाध्यै मिल्ने साथी भयौं । त्यतिवेला बुद्धिको ‘कबड्डी’ फिल्म हिट भएको थियो । उनको ‘हैट’ थेगो झन् बढी हिट थियो । त्यसपछि सिताराम (धुर्मुस) सरले बुद्धिलाई एउटा हनुमान क्यारेक्टर छ, यसमा काम गर्नुप¥यो भनेर बोलाउनु भएछ । मैले त्यो कुरा थाह पाएँ । मैले ‘ओ हनुमान म पनि जान्छु, मलाई लैजाउन’ भने । म धुर्मुसको ठूलो फ्यान थिएँ । हामीसँगै गयौं । हनुमानले मलाई ‘तपाईको फ्यान हो’ भनेर उहासँग चिनाउनुभयो । धुर्मुस सरले ‘ए तिमी टुल्केको भट्टी साउनीको रोल गर्ने होइन’ भन्दै सोध्नुभयो । मैले हो भने । त्यसपछि सिरियलमा ‘हुनमानको श्रीमतीको रोल छ, काम गर्छौ ?’ भन्नुभयो । मैले त्यसलाई अवसरका रूपमा लिए । अनि त मेरो भाग्य खुलिहाल्यो नि । मलाई कसैले खोजेर लगेको होइन, म हनुमानको पछि लागेर गएकी थिएँ । भाग्यले साथ दिएर होला हनुमानको पछि लाग्दा सिरियल खेल्न पाइयो । धुर्मुस हेर्न गा’को सिरियल खेल्न पाइयो ।
सिरियल खेल्न थालेपछि त तपाईंलाई स्टेज कार्यक्रममा पनि खुब अफर आउन थाले है ?
हो । स्वदेशका थुप्रै कार्यक्रममा प्रस्तुती दिन थाले । विदेशमा पनि हङकङ, बहराइन, दुबई गइयो । यूरोपतिर पनि थुप्रै घुमियो ।
तपाईंलाई त धेरै दर्शकहरुले ‘हनुमान’ सँग जोडेर प्रतिक्रिया दिन्छन् रे ?
हो । मलाई त जसले देखे पनि ‘हैट’ भन्छ । त्यसपछि ‘तपाईं मंगली होइन ?’ भन्दै जिस्क्याउँछन् । म हाँसिदिन्छु । त्यस्तै फेसबुकमा फोटो राख्दा पनि ‘हनुमाने खै त मंगली ? भन्दै थुप्रैले कमेन्ट गर्छन् । उता बुद्धि सरको फेसबुकमा पनि मेरै खोजी हुँदोरहेछ । ‘मंगली भाउजु खै त’ भन्छन् रे । समयले भ्याएसम्म म फेसबुकमा पनि सबैसँग कुरा गर्छु ।
उसोभए मरिहत्ते गर्ने फ्यान पनि त होलान् ?
‘आइ लभ यु’ लेखिएका म्यासेज त कति आउँछन कति । यसलाई त के प्रेम प्रस्ताव भन्नु र ? कोही–कोही चाँही सिरियस भएर पनि कुरा गर्छन् । तर फेसबुकमा आइ लभ यू भन्दा कसरी पत्याउनु ? मान्छे कस्तो छ, को हो ? केही थाहा हुँदैन । प्रत्यक्ष भेटेको मान्छेलाई त विश्वास गर्न गाह्रो छ भने फेसबुकमा भेटेको मान्छे कसरी विश्वास गर्नु ?
यस्ती सुन्दर अभिनेत्रीको ब्वायफ्रेण्ड त होला नि ?
अहिले छैन । म सिंगल नै हो । बिस्तारै सोच्नुपर्ला । सेलिब्रिटी भइसकेपछि आफूले मनपराएको मान्छेलाई भन्न पनि नसकिने । अरुले पनि भन्ने आँट नगर्दा रहेछन् । अब त उमेर पनि भइसक्यो । ब्वाइफ्रेन्ड हैन, एकैपटक बिहे नै गर्नुपर्ला ।
तपाईंको विचारमा नेपालमा अभिनय गरेर गुजारा चलाउन सकिएला त ?
कलाकार किन विदेश पलायन हुन्छन् भन्ने कुराको जवाफ पनि यही नै छ र प्रश्न पनि । यो क्षेत्रमा काम गर्नेलाई राम्रो पैसा पनि छ । तर, मान्छेलाई कहिल्यै पुग्दैन । त्योमध्ये म पनि एक हुँ । कसलाई विदेश गएर नेपाल सम्झिदै बस्ने मन लाग्छ र ?
उसोभए तपाईंको पनि त्यस्तै सोच छ ?
अहिलेसम्म त त्यस्तो सोच छैन । समयले साथ दिएसम्म काम गर्छु । भविष्य त कसको हातमा छ र ?
सिरियलमा त निकै छुची स्वभावको क्यारेक्टर छ, यथार्थमा पनि त्यस्तै हो कि ?
होइन । म यथार्थमा छुची छैन । त्यो छुची क्यारेक्टर भएकाले मैले आफ्नो भूमिका निर्वाह गरेको मात्र हो ।
औपचारिक रूपमा अभिनय सिक्नुभएको छ ?
त्यस्तो विशेष कोर्स केही पनि लिएकी छैन । काम गर्दागर्दै सिकेकी हुँ । म अहिले पनि आफूलाई पोख्त कलाकार भन्दिन । धेरै कुरा सिक्न बाँकी छ । एक्टिङ सिक्ने मन त छ तर पोखरामा सिक्ने ठाउँ छैन । काठमाडौंमा बस्न मन नै लाग्दैन । सोच्दैछु, के गरौँ भनेर ।
तपाईंले फिल्मैपिच्छे फरक–फरक चरित्रमा अभिनय गर्नुभएको छ, यो संयोग हो कि तपाईंले फरक काम नै रोजेर गर्नुभएको हो ?
म आफूलाई हिरोइन भन्दा पनि कलाकारको रुपमा चिनाउन चाहन्छु । त्यसैले फरक–फरक भूमिकामा काम गर्न रुचाउँछु । काम त रोजेर नै गर्ने हो । मैले जुन पायो त्यही फिल्ममा काम गर्दिन । आफूलाई सुहाउने चरित्र भए मात्रै गर्छु । पैसा मात्रै ठूलो कुरा हैन । मैले नसक्ने काम गर्दिन । यो चरित्रमा न्याय दिन सक्दिन भन्ने लाग्यो भने म त्यसमा हात नै हाल्दिन । म माओत्से गुरुङबाट बढी प्रभावित छु । उहाँकै निर्देशनमा पनि काम गर्ने अवसर पाएको छु । त्यसैले हत्तपत्त आफूले नसक्ने फिल्ममा काम गर्छु भन्दिन । अहिलेसम्म विभन्नि खाले चरित्र गरियो । कहिले आमा बनियो, कहिले कसैको श्रीमती, कसैको गर्लफ्रेण्ड त कहिले छापामार । कहिले सोझी केटी बनियो त कहिले चुलबुली, कहिले छुची । अझै धेरै सिक्न, धेरै गर्न बाँकी छ ।
सुटिङमा काम गर्दाको त्यस्तो कुनै अविस्मरणीय क्षण छ भने सुनाउनुस् न ?
हरेक प्रोजेक्टसँग एउटा न एउटा अविस्मरणिय क्षण त भइहाल्छ । सम्झिनलायक घटना धेरै छन् । कुनै दुःखका छन्, कुनै सुखका छन् । तर, दुःख र सुख मिलेको एउटा घटना छ । ‘धिँ’ फिल्मको गीतको सुटिङका क्रममा ताङ्तिङ्बाट हिंडेर एक दिन लाग्ने ठाउँमा पुगेका थियौं । लेकमा खाना खानुपर्ने थियो । चाउचाउ र भात पकाएर मिक्स गरेर खानुपर्ने थियो । त्यतिबेला खोलाको छेउमा चामल पाक्न पाँच घण्टाभन्दा बढी लाग्यो । ठाउँ चिसो थियो, दाउरा पनि चिसो थियो । भोकले कतिखेर पाक्ला र खाउँला भनेर निकै छटपटी भइरहेको थियो । भोक लागेको बेला मान्छेलाई कस्तो हुन्छ भन्ने मैले त्यतिबेला महसुस गरे ।
Leave A Comment