–प्रकाश आङ्देम्बे
काठमाडौं जन्मदै खाल्डोमा जन्मियो
कुवा इनारभित्र भ्यागुतो भएर जन्मियो
पेरुगेँ१ भएर जन्मियो
कालो भएर जन्मियो
जन्डिस भएर जन्मियो
अभाव भएर जन्मियो
यसरी काठमाडौं जन्मदै विडम्बना भएर जन्मियो
यो जन्मदा प्रेमले जन्मियो
हुर्कदा हृदयले हुर्कियो
जिउँदा दिमागले जियो र
बर्तमान अहमले बाँच्दैछ
खाल्डोलाई नै संसार ठान्छ ऊ
इनारलाई नै बह्माण्ड सम्झन्छ ऊ
उसलाई फगत घण्टाघर थाहा छ गौरीशंकर थाहा छैन
नगरकोट थाहा छ, फक्ताङ्लुङ२ थाहा छैन
गन्धेनाल नुहाएर आर्यघाट चुम्ने बागमती, विष्णुमती सिवाय
तमोर, कावेली र माइखोला पनि चिन्दैन ऊ
पुण्यको नाममा मन्दिरभित्र ईश्वरलाई कैद गरेर
ईश्वर बनाउने मान्छेलाई विभेद गरी
श्रेष्ठताको दम्भ गर्छ काठमाडौं
प्रत्येक दिन धङ्धङे छुटाउने बाहानामा
एकाबिहानै मात्तिन्छ काठमाडौं
जीर्ण पर्खाल र धरहराको घमण्ड पालेको उसलाई
गाउँघर देउराली भन्ज्याङ् थाहा छैन
अझ गाँठी कुरो
मेची र काली थानकोट छेउमा पर्दैन भन्ने पनि थाहा छैन ।
डिस्कोमा बाँच्ने उसलाई
धाननाच, हाकपारे, पालाम र च्याब्रुँग पनि थाहा छैन
समग्रमा हुन्छलाई हुन्छ भन्ने कुरा पनि थाहा छैन
निवुखोला जस्तै निश्चल मन लिएर गएका
प्रत्येक जीवनयोद्दाहरूलाई डसेर
विषालु बनाउन खप्पीस छ काठमाडौँ
काठमाडौं जनकहरूलाई रत्नकार बनाउँछ
फाल्गुनन्दलाई मुसोलिनी बनाउँछ
बुद्धहरुलाई हिटलर बनाउँछ
यसरी ढिलो सूर्य उदाएर चाँडो अस्ताउने यो माग्नेको टक्राव
बर्तमान छेपारो उभिएर बिषकन्या बाँचेको छ ।
जन्मदिने बुवाआमालाई नोकर बनाउने प्रचलन पूरानै हो काठमाडौंको
आमाबाबालाई वृद्वाश्रममा छाडी मातृत्व, पितृत्व फलाक्ने ढोंग पनि पूरानै हो काठमाडौंको
गुराँस, बुकी लत्याएर प्लाष्टिक, कागजको फूल मन पराउने चलन पनि पूरानै हो काठमाडौंको
काठमाडौं खोक्रो सौन्दर्य चाहान्छ जीवन्तता चाहदैन
यसरी वर्तमान टुँडीखेलमा आफैले बोलेको बोली विर्सदै बाँचेको छ काठमाडौं
इतिहासको पानामा सत्यलाई लुकाएर जहिले पनि कोतपर्व ओकल्छ काठमाडौ
फेस टु फेस उसलाई सम्भव छैन पर्दाभित्र ताण्डवनृत्य देखाउँछ काठमाडौ
काठमाडौं कहिले मुन्धुम बोल्न सक्तैन
काठमाडौं कहिले गीता छुन सक्तैन
यसरी सकुनीजाल फिज्याएर धर्मात्मा बन्न मन्दिर जान्छ कसाई काठमाडांै
जंगवहादुरको घोडाको टाप लाएर
भोको पेट र नाँगो आङ कुल्चन्छ काठमाडांै
विवशता र वाध्यता कुल्चन्छ काठमाडांै
काठमाडौंसँग हृदयहीन कुवाभरीको दिमाग छ
तसर्थ कुवाभरिको दम्भमा अरुलाई पाखे भन्दै
आफै लाखे बाँचेको छ काठमाडौं
गाउँको खबर सोध्दा अमेरिकाको कुरा गर्छ ऊ
बिचारको कुरा सोध्दा डलरको कुरा गर्छ ऊ
संभवत प्रश्न बुझ्दैन काठमाडौं
या बुझे पनि बुझ पचाउँछ
यसरी अकारण, अनायास, उन्मुक्त साँढे झै डुक्रिने काठमाडौं
आफ्नै कविता नबुझ्ने कवि भएको छ
अस्तित्वको संकट परेपछि चोभारको गल्छी छेडेर
पानी भै मञ्जुश्री भागेको यो माटोको हण्डीमा
अब एक पटक ९०, ४५ र ७२ सालको भन्दा हजार गुणा ठूलो भुकम्प आउनुपर्छ
माटोको हण्डी टुक्रा टुक्रा बन्नुपर्छ
जिर्ण पर्खाल धुलो धुलो बन्नुपर्छ
फाल्गुनन्द, बुद्धको आँगनमा रगत जमाएर बाँचेको यो कुवा
अब पुरिनुपर्छ, छोपिनुपर्छ ।
अनि
नयाँ थुम्का भञ्जयाङ् देउराली आस्था उभिनुपर्छ
जहाँ प्रत्येक विहान घामको पहिलो लाली दगुरेर पुगोस्
जहाँ बताससँगै प्रेमको फूल र जीवनको सुवास बहोस्
जहाँ निःसकोंच कविहरूले कविता लेखुन्
जहाँ प्रत्येक दिन आफ्नो नानीलाई आरामसाथ निर्धक्कसँग आमाले दूध पिलाओस्
परिवर्तन, विचारको भाले त्यहाँ उक्लियोस् र
हरदम, हरदम, हरदम युग बाँसिरहोस्
हरदम, हरदम, हरदम युग बाँसिरहोस...............
पेरुगेँ: दमकदेखि उत्तरमा पर्ने चुली बीचको अत्यन्तै साँधुरो बाटो । अँध्यारो र असहज बाटो । फक्ताङ्लुङ लिम्बू जातिको आस्थाको प्रतिक हिमाल,कुम्भकर्ण ।
Leave A Comment