पतिपथमा स्वस्तिमा

शनिबार, २० जेठ २०७४, ०१ : ०९ शुक्रवार , Kathmandu
पतिपथमा स्वस्तिमा

‘होस्टल रिटन्र्स’बाट डेब्यु गरेकी स्वस्तिमा खड्काले फिल्ममा सफलताको क्रेडिट त पाइनन् तर घाटामा पनि गइनन् । यो फिल्मबाट पर्दामा आएपछि नै उनले निश्चल बस्नेतलाई भेटिन्, प्रेममा परिन् र विवाह गरिन् । निश्चललाई जीवनमा रोल मोडल बनाएकी उनले करियरमा पनि उनैलाई रोलमोडल बनाएकी छिन् ।
जस्तो, पछिल्लो वर्ष ‘लुट २’ बाहेक निश्चल अरूका फिल्ममा थरिथरिको केमियोका लागि चर्चामा रहे । कसैकोमा अभिनय गरे त कसैकोमा गाए । ‘कालदाइ’मा गरेको आइटम त हिट नै खायो । अहिले स्वस्तिमा पनि निश्चलकै सिको गर्दै कहिले आइटम त कहिले केमियो गर्न थालेकी  छिन् । स्वस्तिमाले ‘प्रेमगीत २’मा प्रदिपसँग ‘बुलेट बाइक’ चढेको र ‘दुई रुपैंया’मा निश्चलसँगै ‘कुटु कुटु सुपारी दाना’ खाएको सायद यसैको प्रभाव हो ।
स्वस्तिमाले अभिनयमा साँच्चिकै पहिचान बनाउने हो भने आइटम र केमियोको साटो सार्थक भूमिकामा आफूलाई प्रस्तुत गर्न बल गर्न पर्ने हो भन्ने लाग्छ हामीलाई । नत्र त आइटम राम्रो भए, आइटमका लागि मात्रै खोज्छन्, सही र ओजपूर्ण भूमिकाका लागि खोज्दैनन् । यति बुझ्न स्वस्तिमाले कहिँ जान पर्दैैन, निश्चलकै फिल्ममा आइटम गरेर एक समय खुब नाम कमाएकी सुष्मा कार्कीलाई हेरे पुग्छ । हामीलाई के छ र देखेको भन्छौं, मान्ने नमान्ने स्वयंको तजविज ।

 

Leave A Comment