‘म उकुश–मुकुश हुन्छु अनि कविता बुन्छु’

बुधबार, २४ जेठ २०७४, ०४ : ०७ शुक्रवार , Kathmandu
‘म उकुश–मुकुश हुन्छु अनि कविता बुन्छु’

झापामा बसेर निरन्तर कविता लेखनकर्ममा फराकिलो पहिचान बनाएका केशव आचार्य गीत र गजल लेखनमा पनि उत्तिकै सक्रिय छन् । मिठो शैलीमा शक्तिशाली कविता लेख्ने आचार्यका दर्जनौं गीत पनि चर्चित छन् । उनको कविता लेखनमा केन्द्रित रहेर शुक्रबारका लागि राजु अधिकारीले गरेको कुराकानी–

कविताभित्र पनि ठूलै राजनीति हुन्छ भनिन्छ । हो ?
कविताभित्र राजनीति हुन्छ पनि, हुँदैन पनि । हुन्छ–यस अर्थमा कि राजनीति पनि एउटा विषय वस्तु हो । हुँदैन–यस अर्थमा कि राजनीति बाहेकका अरु विषयवस्तुमा पनि कविता लेखिन्छन् ।

कविताको खास लक्ष्य के हो ?
कविले प्रक्षेपण गरेको अभिव्यक्ति पाठक वा स्रोतासम्म  पुग्नु कविताको खास लक्ष्य हो । पाठक वा श्रोतासम्म नपुगेसम्म कविताको अस्तित्व नै हुँदैन । जब कविता पाठक, श्रोतासम्म पुग्छ, अनि मात्र कविताको तौल अर्थात् स्तरीयता मापन हुन्छ । कविताको प्रकृति र स्तर अनुसारका पाठक र श्रोताको पनि स्तर र रुचि बेग्ला बेग्लै हुन्छ । सरल शैलीमा लेखिएका कविता सबैले रुचाउँछन् । क्लिष्ट  कविताका श्रोता–पाठक विशिष्ठ स्तरका हुन्छन् ।

तपाई कविता किन लेख्नु हुन्छ ?
जब मलाई छुन्छ कुनै कुराले, जब मेरो मन रुन्छ कुनै बेदनाले, जब मेरो मन आल्हादित हुन्छ कुनै खुशीले, जब मेरो मन भयभित हुन्छ कसैको बुकुर्सीले, म उकुश–मुकुश हुन्छु अनि कविता बुन्छु । म भित्रका भावना, मेरा अनुभव र अनुभूति श्रोता वा पाठकसम्म पु¥याउँन र आत्मसन्तुष्टिका लागि  म कविता लेख्छु ।

कविलाई उडाउनु पर्यो भने कविजी भनिन्छ । किन उडाउछन् कवि र कवितालाई ?
कुनै न कुनै रुपमा सबैलाई सबैले उडाई रहेका हुन्छन् । सहधर्मीले सहधर्मीलाई पनि उडाउँछन् । यो मानवीय स्वभाव हो । कवि साहित्यकार, कलाकार, राजनीतिज्ञ, दार्शनिक, विचारक, वैज्ञानिक, अर्थात् कर्म गर्ने सबैलाई अनेक रूपमा अनेकन शैलीमा उडाइन्छ । यस विषयमा धेरै कुरा आउँछन्, म त्यतातिर जान चाहन्न । म कविका विषयमा केन्द्रित भएर यत्ति भन्छु– कविता लेखेर कवि भएकाहरूलाई कसैले उडाउन सक्दैन, तर कवि हुनका लागि मात्र जो कविता लेख्न खोज्छन्, र लेखिटोपल्छन्, त्यस्ता कविलाई चै कविजी भनेर उडाउने गरेको मैले पाएको छु । त्यसलाई उडाएको नठानौं । त्यस्ता कविजीले लेखेका मूल्यहीन, शक्तिबिहीन कविता सुनेर पढेर तिमीसँग कविता लेख्ने सामथ्र्य छैन भनेर सङ्केत स्वरूप व्यङ्ग्यात्मक प्रहार गरिएको हो । कविजी मा म पनि परेको हुन सक्छु ।
धेरै कविहरू हामीलाई राज्यले हेरेन भन्ने आरोप लगाउँछन् । यो उनीहरूको गनगन मात्र हो कि जायज हो ?
हेरेको छ राज्यले, अर्थात् सरकारले । किन हेरेको छैन ? राणाकालमा कविलाई जेल हालेर हेरेकै हो । पञ्चायत कालमा पनि हेरेरै त जेलनेल ठोकेको हो । प्रजातन्त्र प्राप्तिपछि पनि कविलाई बेपत्ता पारेर हत्या गरेर हेरेकै हो । लोकतन्त्रमा पनि हेर्न बाँकी राख्या छ जस्तो लाग्दैन । त्यसैले राज्यले हेरेन भनेर कविले गनगन गर्नुको कुनै अर्थ छैन । यसको अर्को पाटो पनि छ । कुनै पनि कविले कविता कथुर्दा राज्यले हेर्ला, पुरस्कार पाउँला, नामी हौँला भनेर लेख्न शुरु गरेको हो जस्तो मलाई लाग्दैन । निरन्तर साधनामा लागेर देश र जनताले पत्याउने भएपछि उसलाई कसैले हेरी रहनै पर्दैन, ऊ स्वतः देखिन्छ, चाहे राज्यले उपेक्षा गरोस चाहे नगरोस् ऊ देखिन्छ, देखिन्छ ।

आख्यानको तुलनामा कविताको बजार छैन भनिन्छ नि हो ?
भौतिक धन प्राप्तिको बजार छैन होला तर अस्तित्वको बजार आख्यानको बजार भन्दा कम छ भन्ने  म ठान्दिनँ । कुनै आख्यानको प्रशंसा गर्नु पर्यो भने कति राम्रो, मिठो, कविता जस्तै सलल बगेको मीठासपूर्ण अभिव्यक्तिले सजिएको कृति भनिन्छ । यसैबाटै बुझे हुन्छ कविताको अस्तित्वको बजार ।

एउटा कविका लागि राजधानीवासी हुनु  र मोफसलबासी हुनुमा के फरक छ ?
राजधानीवासी कवि र मोफसलबासी कवि हुनुमा अलिकति विज्ञापनमा फरक छ । मोफसलबासी कविले रचेको कुनै स्तरीय कविता कृति वा कविताले राजधानीबासीको भन्दा कम चर्चा पाउँछ । किन भने त्यही विज्ञापनले फरक पार्छ । त्यसैले होला नामका लागि मोफसलका कविजी पनि राजधानी गएर कृति विमोचन गराउँछन् । कुनै गुट उपगुट समाउँछन् र ढोडको राँको सल्काउँछन् । केही दिन चर्चा कमाउँछन् र केही समयपछि क्रमशः हराउँदै जान्छन् ।  राजधानीबासी हुन् वा मोफसलबासी जो कविमा अध्ययन साधना र निरन्तरता हुन्छ–त्यस्तो कवि स्थापित भएरै छोड्छ ।

एकथरी कवि–कविता निर्बन्ध हुनुपर्छ भन्छन्– अर्कोथरी विचारले बाँधिएको हुनुपर्छ भन्छन् । तपाई के भन्नु हुन्छ ?
बाँधिनु भनेकै गति अवरुद्ध हुनु हो । कविले बाँधिएर लेख्न पाउँछ, लेख्छ पनि त्यसरी लेखिएको कविता कालजयी हुन्छ जस्तो लाग्दैन । यस विषयमा म यत्ति बोल्छु ।  

कवि श्रवण मुकारुङले ‘विसे नगर्चीको बयान’ लेखेयता युग बोल्ने कविता आएन भन्छन् । साँचो हो यो ?
देश काल परिस्थिति अनुसार नैै कविको कलम चल्ने हो । त्यसताका देश शाही साङ्लो भित्र बाँधिएको थियो । तर, कवि निर्बन्ध थियो । उसले राजकै एक विश्वासिलो पात्रलाई निर्बन्ध कविता जन्मायो । जनताको छट्पटीलाई त्यो कविताले सम्बोधन ग¥यो । अहिले त्यस्तो परिस्थिती छैन । यसको अर्थ त्यत्तिकै शक्तिशाली कविता आएको छैन भन्न खोजिएको हैन । विषय वस्तु फरक होलान्–तर युग बोल्ने कविता आएका छन् । हामी कहाँ छौं ? हाम्रा आमा दिदी बहिनी कहाँ छन् ? भन्ने कुरा बुझ्न म नवराज पराजुलीको कविता ‘ब्रम्हाजीको रजस्वला’ पढ्न अनुरोध गर्दछु ।

 

Leave A Comment