युट्युबमा मोबाइलबाट लाइभ स्ट्रिमिङ

आइतबार, १९ असार २०७३, ०२ : १६ शुक्रवार , Kathmandu
युट्युबमा मोबाइलबाट लाइभ स्ट्रिमिङ

फेसबुक सहितका सामाजिक सञ्जालले गरिरहेको लाइभ स्ट्रिमिङ निकै लोकप्रिय छ । सुरुमा ट्वीटरको स्वामित्वमा रहेको परिस्कोपले यस्तो सुरुवात गरे पनि त्यसपछि सुरु गरेको फेसबुक लाइभ स्ट्रिमिङको दौडमा धेरै अगाडि पुगेको छ ।
भिडियो कन्टेन्टमा फेसबुकबाट ठूलो चुनौतीको सामना गरिरहेको गुगल स्वामित्वको युट्युबले अब मोबाइलबाटै लाइभ स्ट्रिमिङ सुविधा सुरु गरेको छ ।
युट्युबले आफ्नो अफिसियल ब्लगमार्फत मोबाइल लाइभ स्ट्रिमिङ ल्याएको घोषणा गरेको छ । योसँगै युट्युबको आईओएस र एन्ड्रोइड एपमा नयाँ अपडेट आउनेछ ।
यसको परीक्षण युट्युबले सन् २०११ मै गरेको हो । जुन हजारौँ पटक प्रयोग भइसकेको छ । तर, यो सुविधा वेबसाइटमार्फत मात्र थियो, मोबाइल एपबाट सीधै लाइभ गर्न सकिने सुविधा थिएन । अब भने युट्युबले आफ्नो एपमै लाइभ स्ट्रिमिङ सुविधा ल्याएको छ, जसलाई उसले लाइभ स्ट्रिमिङमा नयाँ अध्यायको सुरुवात भनेको छ ।
यसका लागि तपाईंले कुनै नयाँ एप इन्स्टल गर्नु पर्दैन, मौजुदा युट्युब एपलाई अपडेट गर्नुपर्ने हुन्छ । त्यसपछि नयाँ एप स्क्रिनको दायाँपट्टि लाइभ बटन देख्न सक्नुहुनेछ ।
त्यहाँ क्लिक गरी फोटो खिचेर थम्बल इमेज राखेर लाइभ सुरु गर्न सक्नुहुन्छ । युट्युब लाइभमा आफ्ना फ्यानसँग रियलटाइम च्याट पनि गर्न सकिन्छ । साथै, लाइभ भिडियो सर्च पनि गर्न सकिनेछ ।
युट्युबले लाइभ भिडियो स्ट्रिमिङको प्रतिस्पर्धामा प्रवेश गर्ने घोषणा गरे पनि सबै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेबाट उलपब्ध हुने भन्ने खुलाएको छैन । उसको ब्लग पोस्टमा केवल छिट्टै उपलब्ध बताएको छ, तर मिति तोकिएको छैन ।
तत्कालका लागि यो सुविधा केही उसका भिडियो कन्टेन्ट उत्पादक साझेदारका लागि उपलब्ध छ । परीक्षणपश्चात् यो सुविधा सबै प्रयोगकर्तालाई उपलब्ध हुने अनुमान छ ।


फेसबुक लाइभमा नयाँ फिचर
फेसबुकले आफ्नो लाइभ भिडियोमा नयाँ फिचर जोड्ने भएको छ । यस नयाँ फिचरमा प्रयोगकर्ता अर्को लोकेशसनका प्रयोगकर्ताका साथ लाइभ भिडियो ब्रोडकास्ट गर्न सक्नेछन् । यसका साथै अन्य प्रयोगकर्तालाई पनि आमन्त्रित गर्न सकिनेछ ।
फेसबुकले ‘एमएसक्यूआरडी’ नामक एक भिडियो फिल्टर एप पनि खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कम्पनीले यस एपका केही फिचर लाइभ भिडियोमा प्रयोग गर्ने सम्भावना रहेको जनाइएको छ ।  

 

Leave A Comment