धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने

शनिबार, २७ जेठ २०७४, १२ : ५७ शुक्रवार , Kathmandu
धुर्मुस–सुन्तलीले ‘नमूना नेपाल’ बनाउने

तीनवटा नमूना बस्ती बनाएर हस्तान्तरण गरिसकेको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले ‘नमूना नेपाल’ परियोजना सार्वजनिक गरेको छ ।
फाउन्डेसनले सोमबार एक कार्यक्रम गरी पाँच अर्ब रुपैयाँ बजेटमा तयार हुने उक्त महात्वकांक्षी परियोजना सार्वजनिक गरेको हो । परियोजनाका लागि ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल, नमूना नेपाल’ भन्ने मूल नारा अघि सारिएको छ ।
फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल ‘धुर्मुुस’ ले विश्वमा नेपाललाई चिनाउने उद्देश्यले ‘नमूना नेपाल’ परियोजना तयार पारिएको जानकारी दिए । उक्त बस्तीमा हिमाल, पहाड र तराईलाई एकै ठाउँमा अवलोकन गर्न पाइने कट्टेलले बताए । स्वदेशी एवं विदेशी पर्यटकले ‘नमूना नेपाल’ भ्रमण गरेपछि सिंगो नेपाल भ्रमण गरेको अनुभव गर्ने उनको भनाइ छ ।
परियोजनाका लागि पाँच सयदेखि एक हजार रोपनी जग्गा आवश्यक पर्ने उनले बताए । ‘काठमाडौं उपत्यका वा वरपरका जिल्लामध्ये जहाँ जग्गा उपलब्ध भए पनि हामी परियोजना अगाडि बढाउँछौं,’ उनले भने, ‘जग्गा उपलब्ध गराउनका लागि सरकारसँग आग्रह गरेका छौं । सरकार वा अन्य दाताबाट जग्गा प्राप्त हुनासाथ हामी परियोजनाको काम थाल्छौं ।’
उनले सरकारलाई सहयोग गर्नकै लागि काम गर्दै आएकाले यो परियोजनामा पनि सरकारको साथ पाउने विश्वास व्यक्त गरे ।
यसअघिका परियोजनाहरू घोषणा गरेकै अवधिमा सम्पन्न गरेको उल्लेख गर्दै उनले यो परियोजना पनि तोकिएको समयमा सम्पन्न गर्ने बताए । फाउन्डेसनले यसअघि काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
‘नमूना नेपाल’ बस्तीमा हिमालदेखि मोनो रेल, सुरुङमार्ग, धरहरा भ्यु टावर, खेल मैदान, नमुना विद्यालय, राष्ट्रिय संग्रहालय, बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, बौद्ध, जनकपुरधाम, मस्जिद, गुम्बालगायत निर्माण हुनेछन् । हिमाल, पहाड र तराईका सबै जातजाति, भाषा, धर्म, संस्कृतिको संयोजन उक्त बस्तीमा पाइनेछ । यो परियोजनाले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्नसमेत सहयोग पुग्ने फाउन्डेसनका अध्यक्ष कट्टेलले दाबी गरे ।
यसैबीच ललितपुरको अल्का अस्पतालले उक्त परियोजनाका लागि २५ लाख रुपैयाँ सहयोग घोषणा गरेको छ । परियोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष कुमार थापाले उक्त सहयोग घोषणा गरेका हुन् । त्यसैगरी मुक्तिनाथ विकास बैंकका सिइओ भरत ढकालले पनि बैंकको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

 

Leave A Comment