‘फेसन इन्डष्ट्रीमा पुरुषहरू दबिएका छन्’

सोमबार, २९ जेठ २०७४, १२ : २० अनिल यादव , Kathmandu
‘फेसन इन्डष्ट्रीमा पुरुषहरू दबिएका छन्’

अनुपबिक्रम शाही म्युजिक भिडियो, फेसन शो हुँदै फिल्ममा प्रवेश गरेका अभिनेता हुन् । फिल्म ‘हँसिया’मा उनले निर्वाह गरेको खलपात्रको भूमिका पुरस्कृत भएको थियो । उनी नेपाली फिल्ममा ‘ह्यान्डसम भिलेन’का रूपमा चिनिँदै आएका थिएँ । तर हालसालै उनको नयाँ फिल्म ‘कमलेको बिहे’ ट्रेलर रिलिज भएको छ जहाँ उनी विल्कुलै फरक भूमिकामा देखिएका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी:

नेपाली फिल्ममा तपाईंको परिचय त ‘ह्यान्डसम भिलेन’का रुपमा थियो । एक्कासी फरक क्यारेक्टरमा देखिनुभयो नि ?
सधैं एउटै क्यारेक्टरमा काम गर्दा मोनोटोनस हुने रै’छ । मलाई पहिलादेखि नै च्यालेन्जिङ रोल गर्न मन थियो । ‘कमलेको बिहे’मा मैले त्यस्तै रोल पाए । यो रोलका लागि निर्देशक प्रसन्न पौडेलले मलाई पत्याउनुभयो । उहाँलाई मैले गर्न सक्छु भन्ने लाग्यो । फिल्म त रिलिज भइसकेको छैन । तर ट्रेलरबाट मिलेको प्रतिक्रियाले उत्साहित बनाएको छ ।

ट्रेलर अनुसार फिल्ममा तपाईं शास्त्रीको भूमिकामा हुनुहुन्छ । त्यसमाथि गेटअप पनि पूरै चेन्ज छ । यो भूमिका निर्वाह गर्न तपाईंका लागि कत्तिको सहज भयो ?
एक्सन गरिरहेको मान्छे पूरै कमेडी फ्लेभरमा आउँदा गाह्रो त हुन्छ नै । फिल्ममा म बनारसबाट शास्त्री पढेर आएको युवकको भूमिकामा छु । शास्त्री भएकाले थुप्रै संस्कृत शब्दहरू बोल्नुपर्ने हुन्छ । हामी त नेपाली र अंग्रेजी सँगै मिसाएर बोल्ने पुस्ता ! केही शब्द उच्चारण गर्न एकदमै गाह्रो भएको थियो । मलाई स्क्रिप्ट राइटर मनिष दवाडीले उच्चारण गर्न सिकाउनुभएको थियो । ट्रेलर रिलिज भएपछि धेरैले तपाईंलाई चिन्नै मुस्किल भयो पनि भने । दर्शकले त्यसो भन्दा पात्रमा म रियल अनुपबिक्रम शाही हावी भइनछु भन्ने लाग्यो । यो मेरो सफलता पनि हो । अर्को कुरा यो क्यारेक्टर गर्नु मेरा लागि जुवा खेलेजस्तै हो । तीन–चारवटा क्यारेक्टरमध्ये अहिलेको गेटअपलाई फाइनल गरिएको थियो । फिल्मका लागि मैले तीन महिना जिम नधाइ डाइटिङ मात्र गरेर ११ किलो तौल घटाएको थिए । अब रिजल्ट के आउँछ, हेर्न बाँकी छ ।

यो क्षेत्रमा हिरो बन्न धेरै आउँछन् । हिरोको परम्परागत मान्यता अनुसार एकदमै फिट हुँदाहुँदै पनि तपाईंलाई किन भिलेन बन्न मन लाग्यो ?
हो । हामीकहाँ भिलेनमा भन्दा पनि हिरोमा प्रतिस्पर्धा छ । नेगेटिभ रोललाई धेरैले प्राथमिकता नदिएको पाउँछु । तर म चाँही हिरो र भिलेन भन्दा पनि क्यारेक्टर महत्वपूर्ण हुनुपर्छ भन्ने मान्यता राख्छु । फिल्ममा हिरो–भिलेन भन्दा पनि एन्टागोनिस्ट र प्रोटागोनिस्ट हुने हो । मलाई दिइएको चरित्र सहुाउने र सशक्त लाग्यो भने म काम गर्न तयार हुन्छु । त्यो क्यारेक्टर हिरो हो या भिलेन म सरोकार राख्दिन ।

कुनैबेला भिलेन भन्ने बित्तिकै उसको गेटअप र स्वरूप नै डरलाग्दो हुनुपथ्र्यो । अहिले त ह्यान्डसम पनि हुन पाइन्छ । पहिलेजस्तो फ्यानहरू डराउँदैनन् होला, है ?
कहाँ डराउनु ? मैले त स्वदेशदेखि विदेशसम्म चाहेको भन्दा बढी माया पाइरहेको छु । पहिले–पहिले भिलेनदेखि तर्सिएर भाग्थे भन्ने मैले पनि धेरै सुने । तर अहिले परिस्थिति त्यस्तो छैन । अहिले दर्शकले कस्तो चरित्र निर्वाह ग¥यो भन्दा पनि उसले कसरी त्यो चरित्र निभायो भन्ने तर्फ सोच्न थालिसकेका छन् । अहिले दर्शकहरू धेरै सचेत भइसकेका छन् । कलाकारको कामलाई हेरेर उनीहरुको फ्यान बन्न थालेका छन् ।

अहिलेसम्म कस्ता–कस्ता फ्यान भेट्नुभयो त ?
खाल–खालका भेटियो । क्रेजी फ्यानहरू पनि धेरै भेटे । बिहेको प्रस्ताव राख्नेहरू पनि धेरै छन् । यी सबै मध्ये एउटा फ्यानको कथा चाँही एकदमै यादगार छ । एक वर्षअघिको कुरा हो । एकजना सिक्किमकी युवती दिल्लीमा बसेर नर्सिङ पढिरहेकी रैछिन् । उनी मेरो ठूलो फ्यान रैछिन् । एकजनाले मेरो फेक आइडी खोलेर उनीसँग कुराकानी गर्दो रहेछ । फोनमा पनि म भएर बोल्दो रहेछ । बिहे गर्छुसम्म भन्दो रहेछ । त्यो फेक आइडी ब्लक भएपछि ती युवतीले एकदिन मेरो ओरिजिनल आइडीमा ‘त यहाँ छस्’ भन्दै मलाई गाली गरेर म्यासेज पठाइन् । म ठानेर फेक आइडी चलाउने युवकलाई उनी गिफ्टसम्म पठाउने रैछिन् । मैले धोका दिएको ठानेर उनले मलाई नानाथरी लेखिन् । मैले ‘फेक’ र ‘ओरिजिनल’ नै नछुट्टाइकन फेसबुककै भरमा विश्वास गर्नु नै मूर्खता हो भनेर उनलाई सम्झाएपछि कन्भिन्स भइन् । घरपरिवार र साथीभाई सबैलाई ‘म अब अनुपसँग बिहे गर्छु’ भनेर उनले सुनाइसकेकी रहिछन् । यो सब कुराले म चकित भए । यो घटनापछि म सबैलाई सामाजिक संजाल चलाउँदा सचेत हुन आग्रह गर्छु ।

तपाईंको फ्यानलाई तपाईंको के कुरा बढी मनपर्दो रहेछ ?
धेरैले मेरो स्माइल नै मिठो लाग्छ भन्छन् । त्यसपछि त पर्सनालिटी नै हो ।

अभिनय तपाईंको सानैदेखिको रुचि हो ?
म खासमा बच्चैदेखि नौटंकी स्वभावको थिए । सानैदेखि फेसनप्रति रुचि थियो । स्टाइलिस कपडा लगाउन मन लाग्थ्यो । गुगल गरेर फेसन सम्बन्धी कार्यक्रम र गतिविधि हेरिरहेको हुन्थें । त्यसैले अन्तराष्ट्रिय स्तरको फेशन मोडल हुने चाहाना चाँही थियो । तर एक्टर नै हुन्छु भन्ने सोचिसकेको थिइन । अहिलेसम्म पनि मैले एक्टिङको ‘ए’ सिकेको छैन । आफ्नै तरिकाले गरिरहेको छुँ । खासमा एक्टिङ मेरो लाइफमा बोनसजस्तै भयो ।

तपाईं त पुरुषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान हन्ट इन्टरनेसनल–२०१३’को विजेता पनि हो । यहाँको फेसन इन्डष्ट्री कसरी हेरिरहनुभएको छ ?
हो । मैले यहाँ विजेता भएर यसको अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व पनि गरेको थिएँ । जहाँसम्म यहाँको फेसन इन्डष्ट्रीको कुरा छ– यहाँ विकृती बढिरहेको देख्छु । व्यापारका नाममा यहाँ च्याउजसरी ब्युटी प्याजेन्ट भइरहेका छन् । पैसा कमाउने व्यवसाय भइरहेको छ । यो रोकिन जरुरी छ । सहभागीहरू पनि सचेत हुनुपर्ने देख्छु । कुन प्रतिस्पर्धाको कति भूमिका छ, त्यसले कति फाइदा पु¥याउँछ ख्याल नगरीकन सहभागी हुनुभएन । अर्कोकुरा यहाँ पुरुषहरूको सौन्दर्य प्रतियोगिता एकदमै कम हुन्छ । महिलाहरूको मात्र किन भइरहेको छ ? भन्न त मिल्ने हो कि होइन तर यहाँ पुरुषहरू दबिएका छन् । अरु क्षेत्रमा महिलाहरू दबिएका छन् तर यहाँ महिलाको तुलनामा पुरुषहरूले धेरै संघर्ष गरिरहनुपरेको छ । तुलनात्मक रुपमा भन्नुपर्दा महिलाका लागि सजिलै प्लेटफर्म छ, पुरुषलाई एकदमै गाह्रो छ ।

तपाईंलाई पहिलोपल्ट फिल्ममा कसरी अफर आएको हो ?
धेरैजना मेरो पहिलो फिल्म ‘हँसिया’ भन्ने ठान्छन् । यही फिल्मबाट मैले उत्कृष्ट खलपात्रको अवार्ड पनि पाए । यही फिल्मबाट म धेरै दर्शकको नजरमा परेको पनि हो । तर मेरो पहिलो फिल्म ‘सौर्य’ हो । चिनजानको हिसाबले यो फिल्मका निर्देशकले मलाई अवसर दिनुभएको थियो । ‘हँसिया’ फिल्ममा चाँही निर्देशक मिलन चाम्सले फेसबुकमार्फत तस्बिर हेर्नुभएको थियो । नयाँ फेसको खोजीमा हुनुहुन्थ्यो । तस्बिर हेरेर मलाई ‘ओके’ गर्नुभयो ।  

तस्बिर हेरेकै भरमा ‘ओके’ गर्नु ठिक हो र ?
त्यो त डिरेक्टर सा’बलाई नै सोध्नुपर्छ । मलाई लाग्छ उहाँले ममा केही सम्भावना देखेर ‘ओके’ गर्नुभएको थियो ।

तपाईंले अभिनय गरेका अधिकांश फिल्म मल्टीस्टारर छन् । सोलो हिरोका रूपमा काम गर्न छाडेर ‘कृ’ फिल्ममा अनमोल केसीसँग सहायक बनेर काम गर्नु गलत भयो भन्नेहरु पनि भेटियो । यसमा तपाईंको धारणा के छ ?
यो गलत सोच हो । मैले अघि नै भनिसके म क्यारेक्टरमा विश्वास गर्छु । क्यारेक्टर चित्त बुझ्यो भने म फिल्ममा जति जना स्टार कलाकार नै किन नहुन्, म काम गर्न तयार हुन्छु ।

तपाईं पछि आएका कलाकारहरु यहाँ हिट भइसके । तपाईंलाई चाँही आफू कहिलेकाँही पछाडि परेजस्तो महसुस हुँदैन ?
पछाडी परेको भए भ्याइनभ्याइ कसरी हुन्थे ? यो वर्षलाई मेरो डेट नै छैन् । अझै तीनटा फिल्म लाइनमा छन् । फिल्म हिट÷फ्लप हुनु अर्को कुरा हो । चर्चा कम हुनु पनि अर्को कुरा हो । तर म जे छु त्यसमा खुशी छु । कोही नयाँ कलाकार मभन्दा अगाडि बढ्छ भने म किन दुःखी हुनु ? त्यो त झन खुशीको कुरा हो । यसमै म अर्को कुरा पनि जोड्न चाहन्छु । त्यो के हो भने नेपालमा वर्षमा एउटै फिल्म खेलेर जीवन धान्न सक्ने अवस्था पनि छैन । यहाँ कसैको पनि त्यो लेभल बनिसकेको छैन । कतिपयले यसै गर्न खोज्दा चिप्लेका पनि छन् । धन्न मैले काम पाइरहेको छु । यो मानेमा म आफूलाई भाग्यमानी ठान्छु ।

आफुले पाएको क्यारेक्टरलाई जीवन्त बनाउन तपाईं कतिको मिहेनत गर्नुहुन्छ ?
म आफ्नो तर्फबाट १ सय प्रतिशत दिन खोज्छु । ‘कमलेको बिहे’को बारेमा त मैले भनिसके । ‘झमकबहादुर’ फिल्ममा मैले सुकुम्बासीको भूमिका निर्वाह गरेको छु । त्यो भूमिकाका लागि म एक हप्तासम्म राजधानीका सुकुम्वासी बस्तीमा डुलेको थिएँ । उनीहरुको बोलीचाली र रहनसहनलाई नजिकबाट नियालेको थिएँ । पर्दाका लागि त्यो जीवन बाँच्न त धेरै गाह्रो भयो, रियलमा कसरी बाँचेका होलान् ? पेप्सिकोलाको सुकुम्बासी बस्तीमा त झण्डै बान्ता नै गरेको ! हामीलाई त्यहाँ दुई–तीन घण्टा बस्न त गाह्रो भयो । तर त्यहाँ जिन्दगी बिताइरहनुभएकालाई कस्तो भएको होला ? म त उहाँहरुलाई सलाम गर्न चाहन्छु ।

तपाईं र पूर्व मिस नेपाल मलिना जोशीविच लामो समय प्रेम सम्बन्ध थियो । तर तपाईंले औपचारिक रूपमा ब्रेकअप भएको घोषणा गर्नुभएको थियो, अहिले कस्तो छ सम्बन्ध ?
हामी अहिले पनि राम्रो साथी हौं ।

‘प्याचअप’ हुने सम्भावना कतिको छ ?
भन्न सकिँदैन । हुन सक्छ । बिहे पनि हुन सक्छ । भविष्य कसले देखेको छ र ?

अहिलेचाँही तपाईं सिंगल हो कि डबल ?
सिंगल छुँ । काममा फोकस भइरहेको छुँ । अबको पाँचदेखि १० वर्षसम्म बिहे गर्ने योजना छैन ।

Leave A Comment