घातक जंकफुड

सोमबार, २९ जेठ २०७४, ०१ : ४७ शुक्रवार , Kathmandu
घातक जंकफुड

डा. अरुणा उप्रेती
पोषणविद्
हरेक मानिसको जीवन आधार खानेकुरा हो । खानेकुराकै आधारमा मान्छे स्वस्थ वा अस्वस्थ हुन्छ । आजभोलि मानिसहरूको जंकफुडप्रति आकर्षण बढ्दो छ । चिप्सदेखि चाउचाउ, चिजबल्स तथा प्याकेटका खानेकुरा खानु मानिसहरूको दैनिकी भइसक्यो । जंकफुडले स्वास्थ्यमा असर गर्छ भन्ने कुरा धेरैलाई थाहा छैन । थाहा भएकाहरूले पनि जानी नजानी यसको उपभोग गरिरहेका हुन्छन् । बच्चादेखि बुढासम्मले यसको प्रयोग गरिरहेको पाइन्छ । जंक फुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन कार्बोहाइड्रेड, भिटामिन र सुष्म पौष्टिक तत्वहरू हुँदैनन् । यस्ता खानेकुराको प्रयोगले विशेषगरी मानिसको शारीरिक र मानसिक विकासमा ह«ास ल्याउँछ ।
आजभोलि २८÷३० वर्षकै उमेरमा मुटुसम्बन्धि रोग, मधुमेह, उच्च रक्तचापका समस्या देखा पर्छन् । यसको प्रमुख कारण भनेकै जंक फुड हो । आफ्नो लागि केही समय ननिकाल्दा, अल्छी गर्दा अन्ततः आफ्नै स्वास्थ्यमा असर पुग्छ । घरमै उपलब्ध हुने मकै, भटमास, चना, रोटी, आलु खान मान्छेहरू लजाउँछन् । फिल्म हेर्न जाँदा पपकर्न भन्दै खाने तन्नेरीहरू आफ्नै घरको मकै खान अनकनाउँछन् । वास्तवमा सानो बेलादेखि जस्तो बानी बसाल्यो त्यस्तै हुन्छ । त्यसैले स्कुलमा खाजा पठाउँदा पनि घरकै खानेकुरामा पढाउनुपर्छ । कतिपय अभिभावकले घरको दूध बेचेर चाउचाउ किनेर खुवाउँछन् । जुन एकदमै गलत हो । तत्कालै कुनै असर देखा नपरे पनि पछि गएर हानी पु¥याउँछ । विज्ञापनको प्रभाव पनि आजभोलिका केटाकेटीमा व्यापक छ । यसले गर्दा पनि जंकफुडको प्रयोग बढिरहेको छ । खाँदा स्वादिलो भएकाले नै यसको क्रेज बढेको हो । तर, घरका खानेकुरालाई पनि मिहिनेग गरेर बनाउँदा जंकफुडभन्दा स्वादिलो बनाउन सकिन्छ ।  

किन घातक ?
-    शरीरलाई चाहिने आवश्यक तत्व पुग्दैन,
-    मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु लाग्छ,
-    अल्छि बनाउँछ,
-    खाइरहन मन लाग्ने भएकाले एक किसिमको लत बस्छ,
-   एकछिनको स्वादले दिर्घकालिन असर गर्छ,
-   सानै उमेरमा ठूलो रोगको सिकार हुनुपर्छ,
जंकफुडबाट टाढिने उपायः
-    जंकफुडको बेफाइदाबारे सजग हुने,
-    घरको खानेकुरा खान नहिचकिचाउने,
-    बच्चालाई टिफिन पठाउने बेला अल्छी नगर्ने, घरकै खानेकुरामा जोड दिने,
-    घरका खानेकुरालाई विभिन्न उपाउ लगाएर स्वादिष्ट बनाउने,
-    जंकफुड मात्रै स्वादिलो हुन्छ भन्ने भ्रमबाट मुक्त हुने,
-    बच्चाहरु रोए भन्दैमा जंकफुड नथमाइदिने, बरु एकछिन रुन दिने,
-    विज्ञापनको प्रभावबाट टाढा राख्ने ।

 

Leave A Comment