राजपा र सरकार दोहोरी

आइतबार, ०४ असार २०७४, ११ : ५८ शुक्रवार , Kathmandu
राजपा र सरकार दोहोरी

आमा : बाबु, भात खान आइज !
छोरा: पहिला पकाऊ न ।
आमा : पाकिसक्यो ।
छोरा : पस्क न पहिला ।
आमा : पस्किसकेँ । लु आइज ।
छोरा : भात मात्रै पस्केर हुन्छ ? दाल तरकारी पनि पस्क न ।
आमा : दाल तरकारी पनि पस्केकी छु । हेर्न आइज न ।
छोरा : घिउ पनि हाल्देऊ ।
आमा : हाल्देको छु । नपुगे आफैँ झिकेर हाल् ।
छोरा : त्यसो भए मुछेर ठीक पार्देऊ ।
आमा : ल मुछि पनि दिएँ । लु आएर खाइहाल् ।
छोरा : (भात हेरेपछि) ए सबै एकै ठाउँमा मुछिदिएको ? पहिला अलिकति मात्रै मुछिदिनु पथ्र्यो ।
आमा : अलिकति मात्रै मुछिदिएको हो । लु हेर त । (आमा थालमा एक पुन्यु भात हालिदिन्छिन् । थालमा मुछेको र नमुछेको दुई भाग भात देखिन्छ ।)
छोरा : यो पहिल्यै मुछेको भात त म खान्नँ ।
आमा : ल, त्यसो भए यो नमुछेको खा न त ।
छोरा : अहिले भोक लागेको छैन ।
आमा (एकछिन पछि) : लु, भोक लाग्यो होला । आइज ।
छोरा : चिसो भइसक्यो । त्यो त खान्नँ ।
आमा : तताइदेको छु ।
छोरा : त्यस्तो बासी भात पनि कोही खान्छ ? तिमी नै खाऊ ।
आमा :(छुट्टै कसौंडीमा अलिकति चामल उसिनिदिन्छिन्) ः ल, ताजा भात खा । आइज ।
छोरा : तातो छ । सेलाएपछि खान्छु ।
आमा : पस्किसकेँ । सेलाइ हाल्छ नि, खाँदाखाँदै ।
छोरा (थाल तानेर हात गाड्छ भातमा) : आत्थु ! कस्तो तातो रै’छ । यस्तो तातो ’नि कोही खान्छ ?
आमा : अनि भात पकाएपछि तातो त हुन्छ नि !
छोरा : पाकिसक्दा ठिक्क चिसो हुने गरी पकाउन नजान्नेले किन पकाउनु ? तिम्रो भात तिमी नै खाऊ ।
आमा : भोक लाग्छ क्या बाबु, यति खाइदे न ।
छोरा : ए, तिम्रो लागि खाइदिनु ?
आमा : मेरैलागि भए पनि खाए दे न । कम्तीमा तेरो भुँडी भरिन्छ ।
छोरा:  मैले खाइदिए पछि ‘खुवाएँ’ भनेर सुनाउँदै हिन्नलाई ? मरिगए ’नि खान्नँ ।
आमा: भुँडी त भर्नु पर्ला नि बाबु ।
छोरा: तिम्रामा मात्र भात पाकेको छ र ? छिमेकमा पनि पाकेको छ । खान आइज कि आइज भनेर बोलाको बोलायै छन् । तिम्ले निहुँ खोज्यौ भने उतै गएर खाइदिन्छु । अनि था’ पाउँछ्यौ ।

Leave A Comment