२० वर्षपछिकाे उपन्यास

आइतबार, ०४ असार २०७४, १२ : ०२ शुक्रवार , Kathmandu
२० वर्षपछिकाे उपन्यास

‘गड अफ स्मल थिङ्स’ निस्केको २० वर्षपछि सामाजिक कार्यकर्ता, अभियन्ता तथा लेखिका अरुन्धती रोयले त्यसको निरन्तरतामा अर्को उपन्यास थपेकी छन् । यसलाई अघिल्लो उपन्यासको पूरक भन्नेहरु पनि छन् । इन्डियामा उनलाई आतंकवादीप्रति नरम धारणा राख्ने, नक्सली (आतंक मच्चाउने माओवादी)का रुपमा चित्रित गरिन्छ । कतिसम्म भने केही साताअघि मात्र हिन्दी फिल्मका अभिनेता परेश रावलले यी लेखिकालाई ‘आतंकवादीको ठाउँमा यिनलाई कारमा राखी ढुंगाले हान्नुपर्ने पात्र’ भनी टिप्पणी गरेका थिए । परेश रावलको यस किसिमको टिप्पणीप्रति उनको कुनै गुनासो छैन । बरु हाँसेर टारिदिन्छिन् ।
गज्जबको उपन्यास लेख्नुभयो । तपाईंले केही समययता गैरआख्यान मात्र लेखिरहनु भएको थियो । उपन्यास र अन्य गैरआख्यानसँगै लेख्नु भयो कि ?
मैले वास्तवमा आख्यान र गैरआख्यान सँगसँगै लेखेँ भन्दा हुन्छ । अब छाप्दा हुन्छ भनेर यतिबेला निकालिएको हो ।
यत्रो २० वर्षमा तपाईंले खाली गैरआख्यान मात्र लेख्नु भयो हगि ?
मेरो विचारमा आख्यान र गैरआख्यानका बारेमा धेरै गलत तरिकाले बुझिएको छ । मानौँ कश्मिरमा भएका मानव अधिकार उल्लंघनका घटनाको रिपोर्टमा तपाईंले सत्य लेख्नु हुन्छ । त्यहाँ तपाईंले सत्य कुरा लेख्नु हुन्छ । तपाईंले त्यहाँ घटना मात्र यस्तो भयो भनेर बुझाउनु हुन्छ तर साहित्यमा त्योभन्दा बढी हुन्छ । रिपोर्टमा तपाईं मानवीय भावना र मूल्यका कुरा लेख्न सक्नुहुन्न । लेखे पनि त्यसलाई मान्यता दिइँदैन तर आख्यानमा रिपोर्टभन्दा गहिरो गरी सत्य लेखिन्छ । मानिसका दुःखसुख, भोगाई, तिनका पीडाका आयाम सबैथोक आउँछन् । त्यस्ता कुरा अभिव्यक्त गर्न आख्यान एउटै मात्र बाटो हुन्छ ।
तपाईंले यत्रो फरक समय किन रोज्नु भयो ?
मेरो पहिलो उपन्यास गज्जबसँग रुचाइयो । संसारभरि बिक्री भयो । अब अर्को लेखिहालूँ न त भन्ने व्यक्ति म होइन । मलाई त्यस्तो मन पर्दैन । म त्यसरी लाइनमा लाग्ने मान्छे पनि हेइन । मेरा लागि उपन्यास एउटा प्रार्थना गरेजस्तो पवित्र काम हो । प्रार्थनाका कैयौँ तह हुन्छन् । तत्काल यसका कुराहरु थाहा पाइँदैनन् । तह–तह लुकेर बसेका हुन्छन् । यो त एउटा ब्रह्माण्डजस्तो हो, जहाँ तपाईंले आफ्नो संसार प्रस्तुत गर्नुभएको हुन्छ ।
अब अर्को उपन्यास कहिले लेख्नुहुन्छ ? कि बीस वर्ष नै पर्खनुपर्ने हो ?
मलाई नै थाहा छैन । लेख्दै नलेख्ने पनि हुन सक्छ । जबसम्म मलाई लेख्ने कुराले घच्घच्याउँदैन, म लेख्दिनँ । मलाई लेख्ने आवश्यकता पनि छैन किनभने गड अफ स्मल थिङ्स उपन्यासको रोयल्टी नै मलाई यति आइरहेको छ कि मलाई अरु लेखिरहनुपर्ने कुनै आवश्यकता छैन । यसले मलाई आर्थिक रुपमा स्वतन्त्रता दिलाएको छ । (हाँस्दै)

Leave A Comment