भुइँ र भित्ताबाट अग्लिएको मिथिला लोकचित्र कला

आइतबार, ०४ असार २०७४, १२ : ०८ शुक्रवार , Kathmandu
भुइँ र भित्ताबाट अग्लिएको मिथिला लोकचित्र कला

सुदर्शन लाल कर्ण
संसारभर लोकप्रिय मिथिला कला कला मिथिलाको जनजीवनमा आधारित छ । ऐतिहासिकता, विशेषता र मौलिकताको दृष्टिले अपूर्व र अतुल्य भएकाले पनि यस कलाले विश्वभर प्रसिद्धि कमाएको हो । यस प्रसिद्धिका लागि भारतीय मैथिल कलाकारहरुले निकै प्रगति गरिसकेका छन् । हाम्रो नेपालका मैथिल कलाकारले भने यसतर्फ उति धेरै काम गर्न सकेका छैनन् ।
मिथिलाका महिलाले घरका भुइँ र भित्तामा विभिन्न धार्मिक र सांस्कृतिक अवसरमा यो कला बनाउँदै आएका छन् । मूलतः परम्परागत रूपमा महिलाद्वारा नै बनाइने यस कलाले आफूलाई व्यावसायिक रूपमा फैलाउँदै जाँदा फाइदा चाहिँ पुरुषहरूले लिन थालेका छन् ।
आधुनिक कला  र मिथिला चित्रकलामा फरक छ । यसको चित्रांकन परम्परागत छ तर यो सजीव र सांकेतिक हुन्छ । यसको परम्परागत र कलात्मक महŒव छ । केही दशकयता व्यावसायीकरणको प्रभावले यस कला घरका भुइँ र भित्ताबाट उठेर कागज र कपडामा कोरिन थालेको छ ।
मिथिलाका महिलाले भुइँ र घरका भित्तामा पुरानो लुगा र रुवाले बत्ती बनाई प्राकृतिक रंग प्रयोग गर्दै पारलौकिक र लौकिक मिथिला चित्रकला बनाउँदै आएका छन् । विष्णु, राम, सीता, राधा, महादेव आदि पारलौकिक धार्मिक चित्र, जीवन र प्रकृतिलाई आधार बनाई लौकिक चित्र कोर्ने परम्परा अझै छ । दुलहा–दुलहीको कोठामा बनाइने कोहबर चित्र, विवाह, मुण्डन, ब्रतबन्ध आदिमा बनाइने चित्र । भुइँ र भित्तामा बनाइने चित्र केही हुन्छन् तर दुवैको अर्थ शुभमंगल नै हो । यसरी यी चित्र पूर्णतया धार्मिक र लोकाचारमा आधारित हुन्छन् । खासगरी कर्ण, कायस्थ र ब्राह्मण जातिमा यो कला उन्नत छ । त्यसो त अन्य जातिले पनि यो कलाको परम्परालाई उत्तिकै धानेका छन् । कलाको स्तर र चित्रांकन शैलीमा भिन्नता भए पनि व्यावसायीकरणसँगै सबै जातिका महिलाले यो चित्र बनाउँदै आएका छन् ।
मिथिला चित्रकला मुख्यगरी मधुबनी पेन्टिङ र जनकपुर आर्टजस्ता संस्थाले धानिरहेका छन् । मधुबनी पेन्टिङ भारत र जनकपुर आर्ट नेपालसँग सम्बन्धित छ । मिथिला लोक चित्रकलाका लागि दुवै नाम यसप्रति चाख राख्ने विदेशीले नै जुराएको हुनसक्ने अनुमान गरिन्छ । दुई वटा नामले व्यावसायिक बनेको यस कला सिर्जनामा एउटै सोच परिलक्षित हुन्छ । नेपालमा भक्तपुरे कागज (नेपाली कागज) मा तयार हँुदै आएको र भारतको मधुबनीमा त्यहाँ प्राप्त कागजमा तयार हुँदै आएको यो कला नेपालमा साधारणतया बजारमा पाइने ब्रस र रंगको प्रयोगबाट बनाइन्छ । भारतको मधुबनी क्षेत्रमा एक किसिमको पेन, ब्रस, रङ आदिको प्रयोगबाट तयार गर्ने गरिन्छ । मधुबनीका चित्रमा बढी समय लाग्ने गर्छ र मसिनो आकारमा देखिन्छ तर आजकल दुवै देशको कलामा व्यावसायिक दृष्टि भने एउटै छ । दुवै देशमा कागज र कपडामा तयार हुने गर्छ । मधुबनी पेन्टिङ भने नेपालको पेन्टिङभन्दा महँगो मानिन्छ । विहारमा मधुबनी सहरको नाममा मिथिला पेन्टिङको नामकरण भएको हो । विदेशीहरू मिथिला पेन्टिङ हेर्न र खरिद गर्न यसै सहरमा आउने गरेकाले मधुबनीबाटै नाम जुरेको हुनुपर्छ । जनकपुर आर्ट पनि जनकपुर सहरको नाममा राखिएको छ । जनकपुर शब्द मिथिला कलाका लागि उपयुक्त शब्द हो । त्रेतायुगमा जनकपुर मिथिलाको राजधानी रहेकाले पनि यो नै सटिक शब्द हो । जनकपुर शब्दले सिंगो नेपालकै कला–परम्परा प्रतिध्वनित हुने हुँदा जनकपुर कलाप्रति नै नेपालीको अत्यधिक लगाव देखिन्छ ।
यस्तो कलाको प्रवद्र्धनका लागि पहिलो पटक सन् १९६६ मा भारतका तत्कालीन केन्द्रीय मन्त्री ललितनारायण मिश्रले विदेशीलाई बोलाएर यस कलाबारे परिचित गराएका हुन् । यस कलाको मौलिकताप्रति हुरुक्क भएका विदेशीले पछि मधुबनी र त्यस वरपरका गाउँमा घुमेरै अवलोकन गर्न थालेपछि यस कलाको संस्थागत प्रयास सुरु भएको मानिन्छ । सन् १९८३ को जुलाई महिनामा मधुबनीलाई केन्द्र बनाई सेल्फ इम्प्लोइड विमेन्स असोसिएसन (सेवा–मिथिला) स्थापना भयो । यस संस्थामा विभिन्न गाउँबाट फरक–फरक जातिका महिला कालाकार काम गर्न आउन थाले । उनीहरूले तयार पार्ने चित्रकलाका लागि पारिश्रमिक पनि पाउन थाले । जसबाट यसको व्यावसायिक उन्नयन आरम्भ भयो । सेवा मिथिलाको नेतृत्व गौरी मिश्राले गरेकी थिइन् ।
   नेपालको जनकपुरमा भने सन् १९८९ देखि सुरु भएको हो । यस महान् काममा भाषाविद् डा. राजेन्द्र विमलले अमेरिकी नागरिक कलेयर लोरेन वर्केटलाई भरपूर सहयोग गरे । वर्केट र डा. विमल तराईका गाउँ–गाउँमा डुलेर महिलालाई मिथिला चित्रकला कोर्न उत्साहित गराए । वर्कटले नारी विकास केन्द्र स्थापना गरेर विभिन्न गाउँबाट महिला भेला गरी चित्रकला बनाउन प्रोत्साहित गर्न थालिन् । यस काममा सुरुमै संलग्न हुनेहरूमा अनुरागी झा, मंजुला ठाकुर, मिथिलेश्वरी कर्ण, अन्नपूर्णा मिश्र आदि हुन् ।
सन् १९९१ मा केन्द्रका चार जना कलाकार मंजूला ठाकुर, चुनचुन झा, मिथिलेश्वरी कर्ण र हिरा कर्णले ललितपुरको संयुक्त राष्ट्र संघ भवनमा करिब १५ फिट लम्बाइ र ६ फिट चौडाइको भित्ते लोकचित्र तयार गरे । विशाल भित्तेचित्रमा लोक शैलीमा माछा मारिरहेकी माझी स्त्री, श्रीकृष्णले गोपिनीको वस्त्रहरण गरिहरहेको दृश्य अंकित थियो । जसले विदेशी पर्यटकको ध्यान आकृष्ट ग¥यो । यस चित्रले नै जनकपुर आर्टको संस्थागत विकास र व्यावसायिकतालाई उचाइमा पु¥यायो । यस भित्तेचित्रलाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अनावरण गरेका थिए ।
मिथिला लोकचित्रका भारतीय कलाकारहरू पद्मश्री पुरस्कारबाट सम्मानित भएका छन् । त्यहाँको सरकारकै पहलमा देश र विदेशमा थुप्रै अवसर पाएका छन् तर नेपाली कलाकारले भने यस्ता अवसर र सुविधाबाट वञ्चित रहँदै आएका छन् ।  सांस्कृतिक चेत र कर्ममा अब्बल यी कलाकारले उचित सम्मान र पारिश्रमिक नपाउनु दुर्भाग्य हो ।

Leave A Comment