गिरीश खतिवडा नेपालका लोकप्रिय र्यापर हुन् । उनलाई नेपाली र्याप संगीतको प्रणेता पनि मानिन्छ । उनको पहिलो र्याप गीत ‘मिनिङलेस र्याप’ सन् १९९२ मा निस्किएको थियो । त्यतिबेला उनी कक्षा–८ मा पढ्थे । ‘हामी धेरै साना छौं’, ‘म यस्तो छु,’ ‘मलाई भोट देऊ’ लगायत उनले गाएका थुप्रै र्याप गीत हिट छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
एकताका तपाईं र तपाईंका गीतको निकै चर्चा थियो । अहिले त सुस्ताए जस्तो देखिन्छ नि ?
होइन । मैले मेनस्ट्रिम मिडियामा ध्यान नदिएको मात्र हो । म अहिले आफ्नै भ्लग (भिडियो ब्लग) चलाइरहेको छु । आफ्नै युट्युब च्यानलमार्फत् दर्शकसँग प्रत्यक्ष अन्तरक्रियामा हुन्छु । अहिले प्रविधिको जमाना हो । मेरा प्रशंसक न्यु मिडियामा छन् । उनीहरु पत्रिका पढ्नेभन्दा पनि बढी इन्टरनेटमा व्यस्त हुन्छन् । उनीहरुले मलाई इन्टरनेटमा नै पाइरहेका छन् । त्यसैले म हराएको हैन, लुकेको छैन, सक्रिय रुपमा लागिरहेकै छु ।
तपाईंको जवाफ सुन्दा त मूलधारका मिडियासँग तपाईंको ठूलो गुनासो छ, हो ?
हो । मेनस्ट्रिम मिडिया बढी चाकडी र चाप्लुसी खोज्छ । उनीहरुलाई खुसी बनाउनुपर्छ । यहाँ लुकेका प्रतिभा धेरै छन् तर उनीहरुको पर्वाह छैन ।
कुनै बेला त्यही पत्रपत्रिका, टिभी र रेडियोले तपाईंलाई जनमानसमा चिनायो । आज तपाईं युट्युब, फेसबुक र इन्स्टाग्राममा सक्रिय भएपछि त्यही मिडियालाई यसरी गाली गर्न मिल्छ र ?
हो । मेनस्ट्रिम मिडियाले सपोर्ट गरेको हो तर त्यतिबेला पनि क्यासेट कम्पनीहरुमार्फत् धेरैजसो मिडियाहरु हामीकहाँ आइपुग्थे । कम्पनीहरु एल्बम बेचेर पैसा कमाउँथे । हाम्रो ट्यालेन्टबापत आम्दानी भएको ७० प्रतिशत उनीहरु राख्थे, ३० प्रतिशत हामीलाई दिन्थे । त्यही पैसा कमाउनका लागि उनीहरु पत्रकारहरुसँग पब्लिसिटीका लागि सहकार्य गर्थे । सिधै हामीलाई खोजेर, हाम्रो प्रतिभालाई चिनेर आउने मान्छे कमै हुन्थे ।
अचेल युट्युबमा भिडियो ब्लग चलाएर तपाईं दर्शकलाई खुब रमाइलो गराइरहनु भएको भेटिन्छ । यस्तो सोच कसरी आयो नि ?
यो समयको माग हो । अहिले हरेक मान्छेसँग आ–आफ्नो मिडिया छ । आफ्ना कुरा भन्नलाई ऊसँग फेसबुक छ, युट्युब छ, इन्स्टाग्राम छ, ट्विटर छ । हामीले विभिन्न मिडियामा इन्टरभ्यु दिने भनेकै दर्शकका लागि हो । उनीहरुले पढून्, हेरून, सुनून् भनेर नै हो । अहिले भ्लगमार्फत् सिधै दर्शकसँग कुराकानी गर्न पाइएको छ । आफ्ना कुरा सिधै राख्न पाइएको छ । उनीहरुको जिज्ञासाको सिधै जवाफ दिन पाइएको छ । यसले मेरो प्रमोसन मात्र भइरहेको छैन, फ्यान संख्यामात्र बढाइरहेको छैन, आम्दानी पनि गराइरहेको छ । युट्युबबाट म महिनामा औसत ५० हजार रुपैयाँ कमाइरहेको हुन्छु । यति भएपछि अरु के चाहियो ?
यो र्याप संगीतप्रति तपाईंको रुचि कसरी जाग्यो ?
म सानैदेखि कविता लेख्थेँ । सामान्य भाषामा भन्नुपर्दा र्याप भनेकै कवितालाई गायन शैलीमा भन्ने हो । मलाई हिपहप म्युजिक मनपर्थ्यो तर त्यतिबेला नेपालमा अंग्रेजी र्याप पाइँदैनथ्यो । म सानोछँदा मेरो ममीको सानोबुबा अमेरिकाबाट नेपाल फर्किनुभएको थियो । त्यतिबेला मेरा कजनहरुले थुप्रै सिडी प्लेयरहरु लिएर आउनुभएको थियो । त्यसमा र्याप म्युजिक थिए । म त्यसलाई क्यासेटमा डब गरेर लिएर आउँथे । त्यसपछि त मेरो लाइफ नै चेन्ज भइहाल्यो नि !
विदेशी पर्यटकहरुसँग पनि तपाईंंको त खुब दोस्ती हुन्थ्यो रे !
हो नि ! मेरो उमेर १२–१३ वर्ष हुँदाको कुरा हो । म अंग्रेजी र्याप र हिपहप म्युजिकको फ्यान थिएँ । त्यसैले नेपालमा अमेरिकाबाट कोही खैरेहरु आउनासाथ बोल्न गइहाल्थेँ, दोस्ती गरिहाल्थेँ । ‘आइ लाइक हिपहप म्युजिक’ भन्दै उनीहरुसँग यसबारे धेरै कुरा जान्न खोज्थेँ । उनीहरुलाई घुमाइदिन्थे ।
पहिलोपल्ट गीत रेकर्ड गर्ने अवसर कसरी जुर्यो ?
म बस्ने ठाउँनजिकै पञ्जाबी दाइहरु बस्नुहुन्थ्यो । उहाँहरु मेरो दाइको साथी हुनुहुन्थ्यो । त्यतिबेला ‘आयो गोरखकाली’ भन्ने विज्ञापन बजारमा आएको थियो । मैले लेखेको गीतमा पनि त्यो शब्द थियो । उहाँहरुलाई मन परेछ । अनि लगानी गरिदिनुभएको थियो । गीतलाई बजारमा ल्याउने चाहिँ हारति क्यासेट सेन्टर थियो ।
एक त त्यतिबेला र्याप र र्यापरहरुलाई धेरैले राम्रो दृष्टिले हेर्दैन थिए, त्यसमाथि तपाईंलाई त परिवारको पनि सपोर्ट थिएन । अहिले अवस्था कस्तो छ ?
मैले १० कक्षामा पढ्दाताका प्रनिलसँग मिलेर एल्बम निकालेको हुँ । त्यतिबेलासम्म मेरो घरमा म र्याप गाउँछु भन्ने थाहा थिएन । लुकीलुकी गीत रेकर्ड गराएको थिएँ । म क्लासमा सधैँ फस्ट हुने विद्यार्थी, एसएलसीमा एकदमै निराशाजनक नतिजा आयो । जम्मा ६८ पर्सेन्ट । एसएलसीअघि टेस्ट परीक्षाकै बेला मेरो फुपुको छोराले घरमा मैले गाएको र्याप गीतको क्यासेट लिएर आउनुभएको थियो । त्यसपछि घरमा मात्रै मैले र्रयाप गाउँछु भन्ने पोल खुल्यो । अनि त ‘छोराले गीत गाएर पढाइ बिगार्यो’ भन्न थालिहाले नि ! अहिले र्याप गाएरै म पैसा कमाइरहेको छु । मेरो पहिचान बनेको छ । तैपनि ममी ड्याडी ‘अझै २० वर्ष गीत गाउँछस् ?’ भन्दै सोध्नुहुन्छ । भनेपछि अझै पनि कस्तो अवस्था छ भनेर अड्कल काट्न गाह्रो छैन । त्यसैले ममीसँग त्यति कुरा पनि हुँदैन । एकातिर मेरो घरको सदस्यलाई खुसी बनाउन नसके पनि मैले ठूलो जमातलाई खुसी बनाइरहेको छु । अहिले मसँग ठूलो जमातको सपोर्ट छ तर जति हिट भए पनि घरको मान्छेले मन पराएन अर्थात् घरमा आउँदा कोही पनि बोलेन भने अलि नमज्जा त हुन्छ नै ! त्यसैले म सधैँ नयाँ आउने भाइबहिनीलाई भन्ने गर्छु, ‘गरिराख, गरिराख, गरिराख । जबसम्म तिम्रो आफ्नो परिवार तिम्रो फ्यान हुँदैन, तबसम्म गरिराख । परिवार फ्यान भएपछि तिमी मिस खादैनौ ।’
र्याप म्युजिकमा पहिले र अहिले के फरक देख्नुभयो ?
पहिल र्याप म्युजिक सहरबजारमा मात्र सीमित थियो । अहिले गाउँ–गाउँमा पुगेको छ, मान्छेका कम्प्युटर र ल्यापटपको फोल्डर–फोल्डरमा पुगेको छ । कतिपय टिभीमा ¥याप गीत बज्दैन भन्छन् तर माइक्रोबसमा बज्छ । टिभीमा पुर्याउन हामी जाँदैनौँ किनभने त्यहाँ जानलाई फर्म भर्नुपर्छ । हामी नयाँ टेक्नोलोजी चलाउँछौंँ । मेरो ल्यापटपमा सिडी हाल्ने ठाउँ छैन तर टिभीले डिभीमा फाइल माग्छ, जुन आउटडेटेड टेक्नोलोजी हो । रेडियोलाई पनि सिडी चाहिन्छ, हामी साउन्ड क्लाउड र जिमेलबाट पठाउन खोज्छौं । त्यसैले हाम्रा गीत त्यति बज्दैनन् । जहाँसम्म विकासको कुरा छ अहिले र्यापर बन्छु भनेर आउने जमात ठूलो भइरहेको छ । यो खुसीको कुरा हो । योसँगै प्रतिस्पर्धा पनि बढिरहेको छ । कोही पुरानोले गरेको कुरालाई फलो गर्न खोजिरहेका हुन्छन् । कोही नयाँ ढंगले आइरहेका हुन्छन् । स्टुडियोमा गाएपछि अहिले जो पनि गायक हुनसक्छ । र्याप त जसले पनि हान्न सक्छ तर जो नयाँ लय, भाका र शैलीसहित आँउदैनन्, उनीहरु टिक्न सक्दैनन् ।
तपाईंका र्यापमा पनि आक्रोश हुन्छन्, बोल्दा पनि बढी आक्रोश पोख्नुहन्छ । किन यति धेरै आक्रोश ?
त्यस्तो त होइन होला । कहिलेकाहीँ भडास निक्लिने मात्र हो । हाम्रो समाज कस्तो छ ? तपाईंलाई थाहै होला । पढेलेखेका मान्छेहरु नै आइतबारदेखि शुक्रबारसम्म यहाँ बाटोमा वाइवाइको खोल फ्याल्छन्, पान खाएर भुइँमा थुक्छन् । अनि शनिबार तिनै मान्छेहरु वाग्मती सफा गर्न जान्छन् । मेरो टोलमा पनि म यस्तै देख्छु । जो शनिबार घर–घरबाट बाहिर निस्केर टोल सफा गर्न निस्किन्छन्, तिनै मान्छेहरु यहाँ अरु दिन जथाभावी फोहोर थुपारिरहेका हुन्छन् । खासमा म यो समाजदेखि, परिवारदेखि हरेक दिन संघर्ष गरिरहनुपरेको छ । दिउँसोभरि म अरुका कुरा सुनेर हिँड्छु, जे भए पनि सहेर हिँड्छु । कतिलाई सम्झाउँदै–बुझाउँदै हिँड्नुपर्छ । कहिलेकाहीँ सहनशीलता फुस्किन्छ, अनि भडास पोखिन्छ । त्यसैले आक्रोशित लागेको हुनसक्छ । त्यसैगरी र्याप पनि मेरो लागि भडास पोख्ने माध्यम नै हो । कतिपय खराब मान्छेलाई चाहेर पनि कुट्न सकिँदैन । अनि म ती मान्छेहरुलाई र्यापमार्फत् कुट्छु ।
यहाँ राम्रो चर्चा बटुलिरहेको बेला तपाईं अमेरिका जानुभयो, फर्केर आएपछि तपाईंलाई दर्शकबाट पहिलेजस्तो प्रेम पाउन निकै गाह्रो पर्यो होला ।
हो । त्यतिबेला देशमा माओवादी सशस्त्र द्वन्द्व थियो । घरबाट छोरोले एमबीए गरोस् भन्ने थियो । त्यसैले परिवारलाई खुसी बनाउन अमेरिका गएँ । त्यहाँको युनिभर्सिटीबाट एमबीए पास गरेँ । त्यहाँको कम्पनीमा बिजनेस एनलिस्टको रुपमा काम पनि गरें । ६५ हजार अमेरिकी डलरको कार पनि चढेँ । यी सब कुरा गरिसकेपछि म मेरो पुरानै सपनामा फर्किएँ । र्यापर बनेर रमाउने सपना । र्यापमार्फत् अरुलाई सचेत गराउने सपना, इन्टरटेन गराउने सपना । हो, अमेरिका पुगेदेखि फर्किएको तीन–चार वर्षसम्म निकै गाह्रो भयो । लगातार गीत दिँदा पनि क्लिक भइनँ । दर्शक निकै रिसाए, पहिलेजस्तो प्रेम नगरेकै हुन् तर मैले यो अस्वीकारलाई दर्शकलाई धोका दिएकोमा लागेको पाप सम्झिएँ ।
आफ्नो श्रीमती र परिवार लुकाउन खोज्ने कलाकारको यहाँ कमी छैन तर तपाईं आफ्नो भ्लगमा दिनहुँ बच्चा र श्रीमतीलाई प्रस्तुत गरिरहनुभएको हुन्छ । कतिपय त रिसाउँदा हुन् है ?
त्यस्तो हुँदैन । कोही मान्छे कोही कलाकारको फ्यान उसको शरीर र फेसलाई लिएर हुँदैन । उनीहरुको कामलाई लिएर हुन्छ, उनीहरुको गीतलाई लिएर हुन्छ । यहाँ बिहे गरेपछि कोही कलाकारले मेरो फ्यान रिसायो या घट्यो भनेको सुन्दा मलाई नाटकीय लाग्छ । हाम्रो कामलाई प्रेम गरेर छुन खोजने, फोटो खिचाउने, गालामा किस गर्ने फ्यानहरु हुन्छन् तर त्यसलाई खराब नजर र नियतले हेर्नु गलत हो । खासमा बिहे गरेपछि फ्यानहरु घट्दैनन्, अझै बढ्छन् । म दिनहुँ भिडियो ब्लग (भ्लग)मा भात पकाएको दृश्यहरु देखाइरहेको हुन्छु । जे यथार्थ, त्यही देखाउन खोज्छु र फ्यानहरु प्रभावित हुन्छन् । खासमा भन्नुपर्दा हिजोआज सेलिब्रिटीको जमाना होइन । यहाँ सेलिब्रिटी इन्फ्ल्युन्सर हुनुपर्यो । आफ्ना प्रशंसकहरुलाई राम्रो र उदाहरणीय काम गरेर प्रभावित पार्न सक्नुपर्यो ।
कस्तो बेलामा तपाईं र्याप सिर्जना गर्नुहुन्छ ?
मान्छेले आफू बाँच्दा जे देखिरहेको हुन्छ, त्यही लेखिरहेको हुन्छ । देखिरहनु चाहिँ लेख्नु हो । एउटा गरिबले चिया पसलमा संघर्ष गरिरहेको देखेँ भने मैले त्यो त्यतिबेलै लेखिसकेको हुन्छु । फुर्सद मिल्नासाथ कलमले चाहिँ सार्ने काम मात्र गर्ने हो ।
Leave A Comment