किन गर्ने योग

सोमबार, ०५ असार २०७४, ०३ : ०९ शुक्रवार , Kathmandu
किन गर्ने योग

दीपक दाहाल
खुल्ला चौरमा हिजोआज सबेरै योग गर्नेको संख्या ह्वात्त बढेको छ । रोगले थलिएकाहरूसमेत यसले ल्याएको सुधार देखेर औषधि छोड्न हतारिन थालेका छन् तर स्ट्रोक वा हृदयघातले हानेपछि पछुताउनेको पनि कमी छैन ।
त्यसैले हिजोआज अधिकांशको मुखबाट सुनिन्छ, ‘औषधि चाहिँ छोडिहाल्न नहुने रहेछ !’ चिकित्सकहरूको अनुभवमा पनि योगले केही सुधार देखाउनेबित्तिकै उच्च रक्तचाप, मधुमेह, मोटोपन र मुटु रोगको औषधि चटक्कै छोड्दा खतरा हुने देखिएको छ ।
वाल्मीकि क्याम्पस काठमाडौँका योग विभाग प्रमुख हरिप्रसाद पोखरेल भन्छन्, ‘रोगमा योग सहायक मात्रै बन्न सक्छ । सबै रोग योगले निर्मूल गर्दैन । तर नभुल्नुस्, योगले धेरै गर्न पनि सक्छ ।’
पछिल्ला वर्षमा वैज्ञानिक चिकित्साले नियन्त्रण राख्ने तर निर्मूल गर्न नसक्ने रोग बढ्दैछ । चिकित्सकले पनि योग तथा जीवनशैली परिवर्तनका लागि सुझाव दिन थालेपछि योग–संस्कृति बढ्न थालेको छ तर तरिका नपु¥याई गरिने योग र योग मात्रैले सबै गर्नसक्छ भन्ने भ्रम खतराको रुपमा समाजमा देखिन थालेको छ ।
योग गुरुसमेत रहेका पोखरेलको अनुभवमा योगले शरीरलाई विषादीमुक्त (डिटक्सिफाई) बनाउँछ । शरीरभित्रका विजातीय पदार्थ निकाल्ने र प्राणायमहरुको माध्यमबाट शरीरमा अक्सिजन मात्रा बढाएर प्रतिरक्षा बढाउँछ । उच्चरक्तचाप, मधुमेह, कोलस्ट्रोलजस्ता ‘रिस्क फ्याक्टर’का समस्यामा सुरुकै अवस्थामा योग मात्रैले पनि नियन्त्रण गर्न सक्छ ।
‘त्यो चरण पूरा गरेपछि रोग औषधि पनि खाने, योग पनि गर्ने र बिस्तारै औषधि छोड्न सकिन्छ,’ उनले भने ।
पोखरेलका अनुसार योगभित्र व्यायाम र प्राणायाम मात्रै नभएर सम्पूर्ण जीवनशैली परिवर्तनको कुरा पर्छन् । ‘केही वर्षअघिसम्म योग जोगी, घर छोडर हिँडेका दारीवालको विषय थियो,’ उनले भने, ‘अब चिकित्सक नै हाम्रोमा रिफर गर्छन्, चिकित्सककोमा हामी रिफर गर्छौं ।’
अहिले एलोप्याथीको प्रमुख सहायक चिकित्सा ठानिए पनि प्यारालाइसिस, नसा च्यापिने, हाडजोर्नीका समस्यामा योग निर्विकल्प रहेको प्राकृतिक चिकित्सक सुनील पौडेल बताउँछन् । योग प्याकेजभित्र विषादीमुक्त शरीरका साथै चारित्रिक सदाचार, तनाव व्यवस्थापनजस्ता कुरा समावेश गरिनाले निरोधात्मक र उपचारात्मक दुवै काम गर्ने उनको धारणा छ ।
‘तरिका नपु¥याई र जथाभावी गर्दा हानि पनि उत्तिकै हुन्छ,’ पौडेलले भने । रोग र आफूलाई चाहिएको सुधारका आधारमा योगका आसन रोज्नुपर्छ ।
योगमा ६०० किसिमका आसन भए पनि ३२ देखि ३५ आसन बढी प्रचलनमा छन् । ५० प्रकारका प्राणायाममा पाँच प्रकारका बढी चल्तीमा छन् । नेपालमा झण्डै २० को हाराहारीमा प्राज्ञिक कोर्स गरेका र ३० को हाराहारीमा पुराना पाठ्यक्रम पढेका योग चिकित्सक छन् । देशभर सयको संख्यामा योग केन्द्रहरू सञ्चालित छन् ।
योग पूर्वीय चिकित्सा प्रणालीमा वर्र्षौंदेखि चलिआएको विषय भए पनि सन् १९७५ तिर अमेरिका र युरोपमा केही चर्चित मुटुरोग विशेषज्ञले अध्ययनबाट यसको औचित्य पुष्टि गरेपछि यो लोकप्रिय बनेको हो । बाइपास सर्जरी नै नगराई हृदयघात तथा मुटुको रक्तनली साँघुरिने रोगलाई कसरी ठीक पार्न सकिएला भन्ने चिन्तन अमेरिकी चिकित्सक डिन ओर्निसले गरेका हुन् ।
राजा वीरेन्द्रलाई हृदयघात भएपछि डा. मृगेन्द्रराज पाण्डेको प्रयासमा २०५५ सालमा डा. ओर्निश नेपाल आएका थिए । उनले एउटा कार्यक्रम नै राखेर जीवनशैली परिवर्तन, खानपान, ध्यान र योगबाट मुटुरोगको सहज व्यवस्थापन गर्न सकिने तथ्य प्रस्तुत गरेको मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी सम्झन्छन् ।
डा.रेग्मीका अनुसार सबै खाले मुटुका रोग औषधि र चिरफारबिना निर्मूल पार्न सकिन्न । जीवनशैलीसँग सम्बन्धित मुुटु रोग उच्च रक्तचाप, मधुमेह, उच्चरक्त कोलस्ट्रोल, युरिक एसिड, करोनरी मुटुको रोग, हृदयघात आदिलाई डा. डिन ओर्निसले सिकाएअनुसार गरेका खण्डमा धेरै हदसम्म औषधि र चिरफारबिना उल्टाउन सकिन्छ ।
मुटुले राम्रोसँग काम गर्न मुटुका मांशपेसीमा रक्तसञ्चार राम्रो हुनुपर्छ । मुटुमा रक्तसञ्चार गराउने प्रमुख तीन नलीका भित्री भागमा चिल्लो पदार्थ (कोलस्ट्रोल) जम्मा हुन गए रक्तनली साँघुरिदै जान्छ र कुनै अवस्थामा बन्द हुन सक्छ । रक्तनली पूरै बन्द भएमा हृदयाघात हुन्छ । धेरै साँघुरिएको वा बन्द भएको रक्तनलीलाई एन्जियोप्लास्टी वा बाइपास सर्जरीबाट उपचार गरिन्छ ।
‘प्रशस्त शारीरिक व्यायाम गरेमा शरीरमा भएको बोसो पग्लिन्छ र रगतमा चिल्लो पदार्थको मात्रा घट्छ,’ डा.रेग्मीले भने । चुरोट–सुर्ती नखाने, सागपात र फलपूmल धेरै खाने, मानसिक तनाव कम हुने भए रक्तनलीभित्र बोसो जम्मा भई रक्तनली साँघुरिँदै जाने र बन्द हुने प्रक्रिया कमजोर हुन्छ ।
‘एकदमै प्रयास गर्दा ९० प्रतिशत साँघुरिएको रक्तनलीलाई ७० प्रतिशत वा त्योभन्दा कमसम्म पनि खुलाउन सकिन्छ,’ डा. रेग्मीले भने, ‘क्याल्सियम जमेर कडा भइसकेको रहेछ भने त्यो नशा खुल्दैन ।’
व्यायाम, योग र प्राणायाम पनि गरेमा रक्तनलीमा पहिलेदेखि जमेर बसेको चिल्लो पग्लिन थाल्छ र साँघुरिएको नली खुल्न थाल्छ । बोसो भरिएर मुटुको साँगुरिएको रक्तनलीलाई शाकाहार, व्यायाम र तनाव मुक्तिबाट सफा गरी साँघुरोपन घटाउँदै लैजान सकिने चिकित्सक बताउँछन् । मुटुका जन्मजात रोगहरु (प्वाल परेको, मुटुको बनावटमा विकृति भएको, नशाहरु उल्टो भएको आदि) लाई जीवशैली परिवर्तन गरेर उल्टाउन नसकिने र एलोपेथीकै सहारा लिनुपर्ने चिकित्सक बताउँछन् ।

 

Leave A Comment