‘पाठक मिडिया ग्रेडिङ र मापन हेरेर किताब पढ्छन् ’

मङ्गलबार, ०६ असार २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
‘पाठक मिडिया ग्रेडिङ र मापन हेरेर किताब पढ्छन् ’

बेलायत बसेर साहित्यकर्म गरिरहेका विजय सापकोटा पछिल्लो चरणमा कथा लेखनमा हस्तक्षेपकारी ढंगले आएका छन् । हालै उनको नयाँ कथासंग्रह ‘अनावरण’ अनावरित गरियो छ । यसअघि उनको ‘गाउँ खोज्दै जाँदा’ कवितासंग्रह प्रकाशित भइसकेको छ । ‘अनावरण’ नेपाली समाजको राजनीतिक–आर्थिक बदलावले निर्माण गरेको आख्यान हो । मानवीय अनुभूतिलाई सरल र अर्थबोधका साथ प्रस्तुत गर्नसक्नु उनको खास खुबी हो । प्रस्तुत छ, कथासंग्रह ‘अनावरण’माथि केन्द्रित भएर कथाकार विजय सपाकोटासँग दिनमान गुर्मछानले गरेको कुराकानी :

कविता, निबन्ध लेख्दै कथासम्म आइपुग्नुभएको छ । पहिलो कथासंग्रह (अनावरण)को प्रतिक्रिया कस्तो छ  ?
 ‘अनावरण’ कथासंग्रहको प्रतिक्रिया जे जति पाइरहेको छु, त्यो उत्साहजनक नै छ तर भौगोलिक हिसाबले टाढा (लण्डन) भइएका कारण त्यस्ता प्रतिक्रिया प्रत्यक्ष रुपमा अनभूत गर्न भने पाइरहेको छैन । पहिलो कथासंग्रह भएकाले यसबाट त्यति ठूला अपेक्षा पनि छैन । खालि आफ्नो लेखनको सुरुवात सही दिशामा गइरहेको छ कि छैन भनेर जाँच्ने अवसरको रुपमा यसलाई मैले लिएको छु ।
हिजोआज बजारमा आउने कथासंग्रह र साहित्यिक परिशिष्टांकमा छापिने नेपाली कथाले पाठक वाक्क छन् । तपाईंको कथासंग्रह पाठकले किन पढ्ने ?
सबै लेखकले आफ्ना सिर्जना अरुलाई पढाउनकै लागि प्रकाशित गर्ने हो । आफ्ना रचनामा लेखकले दाबी गरेका कुरा सबैलाई मनपर्छ वा मन पर्नैपर्छ भन्ने आग्रह गर्नु त्यति व्यावहारिक पनि नहोला । तापनि यस संग्रहका कथामा हाम्रो समयका केही ‘अनायक’ चरित्र र तिनले भोगेको जीवनपरिवेश समेट्ने प्रयास गरेको छु भन्नचाहिँ सक्छु ।
हिजोआज नेपाली कथाले पाठक दिक्क भए भन्नुभन्दा पनि कथाका नाममा चर्चामा आएका कतिपय लेखोटबाट बिच्किएका मात्रै हुन् कि ? मिडियासँगको सम्बन्ध र पहुँचको दुरुपयोग गरेर चर्चामा छाउने त्यस्ता रचनाहरुले जति नै ठूलो हल्ला गरे पनि तिनीहरुको प्रभाव भने ‘हल्लाको प्रतिध्वनि’ कायम होउञ्जेल मात्रै हो । नेपाली समाजमा बढ्दै गइरहेको पठन संस्कृतिलाई हेर्दा मलाई के कुरामा विश्वास छ भने यस्ता रचनाहरुले नै पाठकलाई गुणात्मक र सही सिर्जनाको खोजीका निम्ति प्रेरित पनि गर्नेछन् ।

मानिसहरू ‘आख्यान बिक्री हुने विधा हो’ भन्छन् तर बजारमा त कविताकै हल्ला बढी छ नि ?
तपाईँले ‘बजार’ मार्फत् साहित्यिक माहोललाई संकेत गर्नुभएको हो भने कविताको चर्चा बढी चल्नु मलाई चाहिँ अस्वभाविक लाग्दैन । कविताले मानिसको चेतना र अनुभूति दुवै तहलाई चसक्कै छोइहाल्छ किनभने मानिसको जीवनमा कविता गाँसिएर आएको छ । त्यसकारण जहाँ पनि यो अगाडि आइहाल्छ । उसमाथि कविताको आकार, स्वभाव, विचारअनुभूति या यसमा सम्मिलित लयप्रवाह जे भन्नुस्, यसलाई जहाँसुकै तपाईँ प्रस्तुत गर्न सक्नुहुन्छ र तत्कालै स्रोता या पाठकलाई तरंगित बनाइहाल्न सक्नुहुन्छ । त्यति नै सहज र सरल व्यवस्थापनमा तपाईँ आख्यानलाई प्रस्तुत गर्नसक्नुहुन्न । यो कारण पनि हो कि !
जहाँसम्म बिक्रीको कुरा छ, यसमा बजार, बिक्रेता र उपभोक्ता दुवैको मनोविज्ञान या प्रवृत्तिको कुराले पनि प्रभाव पार्छ कि जस्तो लाग्छ । हामीकहाँ कविताका किताब किनेर पढ्ने पाठकको संख्या अत्यन्त न्यून छ । आख्यानचाहिँ साहित्यमा रुचि नराख्नेहरुले समेत ‘समय कटाउने साधन’ कै रुपमा भए पनि किनेर पढेको देखिन्छ । कविताको प्रभाव क्षणिक आल्हादसँग मात्रै नजोडिएर चेतना पक्षसँग पनि जोडिएको हुन्छ । आख्यानमा जस्तो सहज सम्प्रेषण पनि कवितामा नपाएर पो हो कि धेरै मानिसहरु कविताबाट बिच्किएर भाग्छन् । यस्ता अनेक कारण हुन सक्छन् ।  व्यक्तिगत रुपमा भन्नुहुन्छ भने एउटा पाठकको रुपमा मलाईचाहिँ कविता अभिव्यक्तिको सबैभन्दा प्रभावशाली र सुन्दर माध्यम लाग्छ ।

प्रवासी जीवन बाँचेर पनि नेपाली भाषा, साहित्यमा निकै चिन्तनशील हुनुहुन्छ । नामकै लागि पो हो कि ? कि देश छाडेपछिको भावुक देश–प्रेमले हो ?
सेवा नभनी यसलाई रुचि भनूँ होला । स्कुले जीवनदेखि नै अरु क्षेत्रभन्दा साहित्यिक क्षेत्रको बढी नजिक भइयो । त्यसैले पनि जानी नजानी यसकै पछि कुदियो । अहिलेको लेखन पनि यही रहर या रुचिकै निरन्तरता हो । नामकै कुरा गर्ने हो भनेचाहिँ मान्छेहरुको भीडमा एकदुई जनाले आफूलाई पनि सकारात्मक रुपमा चिनिदिऊन् भन्ने लोभ सबैलाई हुन्छ, मलाई पनि छ । देशको माया, भाषाको माया पनि छ तर लेख्नेचाहिँ सबैभन्दा बढी ‘आफ्नै माया’ले हो है !

अति यथार्थवादले नेपाली कथा मरिसक्यो भन्छन् नि ? तपाईं आफु कस्तो किसिमको आख्यान लेख्न रुचाउनुहुन्छ ?
मेरो बुझाइमा कथामा जीवन र समाज नै लेख्ने हो । जीवनकै कुनै आंशिक यथार्थ नै कथामा आउने हो । त्यस यथार्थलाई कथाकारले कतिको सिर्जनशीलताका साथ प्रस्तुत गर्छ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ जस्तो लाग्छ । नेपाली कथामा नेपाली समाजको सच्चा यथार्थ आंशिकरुपमा मात्रै आएको छ । धेरै कथा लेखिन बाँकी नै छ । हाम्रो समाज र जीवनको वास्तविक धरातलीय यथार्थमा बुनिएका कथा बढीभन्दा बढी लेख्न सक्यौँ भने मात्रै नेपाली कथाको स्तरोन्नति हुन्छ भन्ने लाग्छ ।
हो, अहिलेको कथालेखनको एकथरी पाटोलाई हेर्दाचाहिँ त्यस्तो लाग्न पनि सक्छ । तर मान्छेहरुले भन्ने गरेका यथार्थ पनि सापेक्षिक हुन्छन् । यथार्थ भन्नेबित्तिकै कस्तो यथार्थ भन्ने कुरा स्वभाविक रुपमा आउँछ । जससँग समाजशास्त्र, राजनीति र अर्थशास्त्रका अनेक दृष्टिकोणहरु पनि जोडिएर आउँछन् । त्यसैले कथाको वस्तुपक्ष यथार्थ हो या होइनभन्दा पनि त्यसको गहनता र विशिष्टता तात्कालीन जीवन र समाजको वास्तविक यथार्थसँग तादात्म्य राख्न सक्षम छ कि छैन भन्ने कुराले बढी अर्थ राख्छ तर यथार्थ लेख्ने नाउँमा पछिल्लो समयमा बहुसंख्यकरुपमा घटनावर्णन, दैनिकी, जीवनी आदि टाइपका या बेतुकका अर्थहीन मनोलापहरु कथामा दरिएर प्रकाशनमा निरन्तर आइरहेका छन् । तीचाहिँ कथाविधाको विधागत विकासका ऐँजेरुमात्रै हुन् ।
मेरो लेखनको विषयक्षेत्र पनि जीवन र समाजदेखि परतिर छैन । मलाई जगत्ले नदेखेका र लायक नठानेका चरित्र र घटनाका सुन्दरतम् पक्षहरु कथामा उतार्न मनलाग्छ र यसमै प्रयासरत छु ।
पाठकको ध्यान कथातिर तान्न के गर्नुपर्छ ?
त्यसो त वर्तमान समयमा ‘बजार’ सबैभन्दा प्रमुख तत्व हो । हिजोआज त लेखकको सिर्जना कस्तो छ भन्दा पनि उसको सिर्जनालाई पाठकसम्म पु¥याउने माध्यम कस्तो छ, त्यो महत्वपूर्ण हुने गर्छ । प्रकाशकले कुनै कृतिको विज्ञापन कसरी गरेको छ, त्यसमा कृतिको बजारगत सफलता निर्भर हुन्छ । उसमाथि मिडियाबाजीको यति ठूलो दबदबा छ कि साहित्यका ‘ब्रान्ड एम्बेसडर’हरुले सिर्जनालाई बोकिदिएपछि मात्रै त्यसको औचित्य साबित हुने अवस्था छ । अनि पाठक पनि मिडियाले गरेको ग्रेडिङ या मापनलाई दिमागमा राखेर किताब पढ्छ । यस्तो अवस्थामा एउटा लेखकले के भन्न सक्छ र ? तापनि आखिरी सत्यचाहिँ के हो भने कथाकारले राम्रो र असल कथा लेख्ने प्रयास गरिरहनु पर्छ ।

कथा तपाईंका लागि के हो ? कथा र उपन्यासले पाठक तानिएकै हुन्  कि हल्लामात्रै हो ?
अन्य विधाजस्तै कथा पनि अभिव्यक्तिको माध्यम नै हो । मेरा लागि कथा सामान्य वा असामान्य समाज र व्यक्तिद्वारा सिर्जित उल्लेख्य घटना, सन्दर्भ र परिस्थितिको आख्यानीकरण हो । कथा र उपन्यासप्रति पाठकको आकर्षण पुरानै हो । प्रायः पाठकको पहिलो प्राथमिकतामा आख्यान नै पर्ने गर्छ । अहिले साहित्यबजार पहिलेभन्दा बढी विस्तारित र व्यवस्थित भएकाले यो अझै बढ्दै गएको जस्तो देखिएको मात्रै हो कि भन्ने लाग्छ ।

अहिले कथाको भन्दा उपन्यासको बजार छ । उपन्यासले तपाईंलाई चाहिँ कत्तिको आकर्षित गरेको छ ?
 यही नै लेख्नुपर्छ या लेख्छु भन्ने योजना त छैन । कथा, निबन्ध र केही बाल साहित्य लेखिरहेको छु । निश्चय नै उपन्यासको अलग्गै ‘चार्म’ त छँदैछ । बजारलाई नै हेरेर त लेख्ने कुरा भएन । बजारका आफ्नै माग हुन्छन्, लेखाइका आफ्नै खालका विशेषता हुन्छन् । बजारमा पनि सबै उपन्यास उही हिसाबले बिक्री भएका छैनन् । त्यसैले आफ्ना हिसाबले लेख्ने हो । हुनसक्छ, केही गरी समयलाई ‘पक्ड्न’ सकियो भने पक्कै लेखिनेछ ।

 

Leave A Comment