यात्राका लागि वचत

मङ्गलबार, ०६ असार २०७४, ०१ : १० शुक्रवार , Kathmandu
यात्राका लागि वचत

एकोहोरो दैनिकीबाट फुर्सद निकालेर केही दिन यात्रामा निस्कनु शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्यका लागि फाइदाकारी हुन्छ तर धेरैका लागि यात्रा गर्न खर्च निकाल्नु गाह्रो हुन जान्छ । यद्यपि योजना बनाएर जम्मा गरिएको सानासाना रकमले पनि तपाईंको लामो यात्रा सम्भव बन्न सक्छ । त्यसो भए कसरी जम्मा गर्ने त ? केही उपायबारे सोच्ने कि ?
वचत योजना
यात्रा योजना र आर्थिक अवस्थाको मूल्यांकन गरी वचत योजना बनाउनुपर्छ । अनावश्यक खर्च काट्ने खालको वचत योजना बनाउनु राम्रो हुन्छ ।
योजनामा प्रतिबद्धता
वचत गर्नुको उद्देश्य दैनिक सम्झनुहोस् । त्यसपछि खर्च घटाउनुहोस् । वचत रकम जुटाउन थप कमाई हुने काम गर्न सकिन्छ ।
खर्च मूल्यांकन
 दैनिक र मासिक खर्चको सूची बनाएर ‘आवश्यकता’ र ‘चाहना’ छुट्याएर विश्लेषण गर्नुपर्छ । आवश्यकतालाई प्राथमिकता दिएर मात्र खर्च गरी अलिअलि पैसा जोगाउन सकिन्छ ।
यात्रा कोष
मासिक, साप्ताहिक वा दैनिक निश्चित रकम जम्मा गर्ने गरी बैंकमा एउटा नयाँ खाता खोलेर वचत गर्नु धेरै उपयुक्त हुन्छ । यात्राका लागि मात्र खर्च गर्ने गरी बनाइएको यो खातामा रकम जम्मा गर्ने कामलाई बानीको रुपमा विकास गर्नुहोस् ।
खानेकुरामा थोरै खर्च
बाहिर खाने क्रम कम गरेर महँगो खानेकुरामा लाग्ने खर्च यात्राका लागि बचाउनुहोस् । एक कप चिया वा एउटा चकलेट वा एउटा लञ्च प्याक कम गरेर वचत गरेर यात्राको ठूलो योजना बन्न सक्छ भने किन नगर्ने ? कफी हाउसमा धाउनु सामाजिकीकरण, अध्ययन, सम्बन्ध आदिका कारण महत्वपूर्ण हुन सक्छ । तर के सस्तो खालको खाएर टार्न सकिँदैन त?
धूमपान त्याग
यसमा त दोस्रो तर्क काम लाग्दैन । रोग निम्त्याउने धूमपान खाने कि स्वस्थ बनाउने ? निर्णय गर्नुहोस् ।
जिमखाना खारेज
पैसा तिरेर जिमको सदस्य बन्नुभन्दा ताजा हावामा दौडने, आउटडोर व्यायाम गर्ने विकल्प रोज्नुहोस् । सार्वजनिक पार्कहरुलाई वर्कआउट स्पेसको रुपमा किन प्रयोग नगर्ने त ?  
कपाल कम काट्ने
महिना दिनमै कपाल काट्ने वा कपाल रंग्याउने जस्ता काम नगरे पनि चल्ने कुरा हो । कपालको स्टाइलमा लाग्ने खर्च आधा कम गरेर त हेर्नुहोस्, यात्राको वचतका लागि यसले कति योगदान पुग्छ ! पछि तपाईंले आफैं थाहा पाउनुहुन्छ ।
स्मार्ट पढाइ
अनलाइनमा दर्जनौं निःशुल्क पठन सामग्रीहरु पाइन्छन् । निःशुल्क डाउनलोड गरेर पढ्ने खालका किताब किन्न खर्च गर्ने पैसा यात्रा खातामा राख्नुहोस् ।
सेकेन्ड ह्यान्ड प्रयोग
नयाँ किन्नु परे जे सामान पनि महँगो पर्छ । बजारमा सेकेन्ड ह्याण्ड कपडा, किताब, ग्याजेट्स पाइन्छन्, जुन तुलनात्मक रुपमा सस्तो पनि पर्छ । सेकेन्ड ह्याण्ड सामान किन्नु यात्राका लागि पनि पैसा बचाउने बुद्धिमतापूर्ण तरिका हो ।

 

Leave A Comment