अरुणा कार्की अहिलेकी चर्चित अभिनेत्री हुन् । २०६२ सालदेखि व्यावसायिक अभिनय यात्रा सुरु गरेकी कार्की ‘साँघुरो’, ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’, ‘छक्कापञ्जा’जस्ता हिट फिल्ममा अभिनय गरेकी छन् । हास्य कलाकारद्वय केदार घिमिरे (माग्नेबूढा) तथा विल्सन विक्रम राई (तक्मे बूढा)ले निर्देशन गरेको हास्य टेलिसिरियल ‘खासखुस’ साथै रेडियो नाटक ‘मिलनचोक’मा समेत काम गरिरहेकी छन् । ‘साँघुरो’ फिल्मबाट उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड पाइसकेकी अरुणा कार्कीसँग मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।
केमा व्यस्त हुनुहुन्छ हिजोआज ?
युनिसेफको सहयोगमा अमार्क एसिया प्यासिफिक आकोराब र उज्यालो नेटवकको प्रस्तुति रेडियो नाटक ‘मिलनचोक’ र ‘खासखुस’ टेलिसिरियलमा व्यस्त छुु । नियमितबाहेक फिल्ममा पनि अभिनय गरिरहेकी छु ।
पोखरासम्म केले डोर्यायो ?
‘कबड्डी’ फिल्ममा अभिनय नगर्दासम्म पोखरा आएकी थिइनँ । फिल्मले पोखरासँगै मुस्ताङ पनि घुमायो । त्यसपछि पोखरा आउजाउ बढ्यो । अहिले ‘नेप्टी’ फिल्मको सुटिङका धम्पुससम्म आइपुगेँ ।
‘कबड्डी’ले हिट मात्रै होइन तपाईंलाई त सुपरहिट नै बनायो, है ?
‘कबड्डी’अघि ‘साँघुरो’ फिल्मबाट वर्षकै उत्कृष्ट अभिनेत्री अवार्ड पाएकी थिएँ । वरिष्ठ गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म ‘आचार्य’मा आचार्यपत्नीको भूमिकामा थिएँ । म नाटकमै रमाइरहेको बेला ‘कबड्डी’मा मौका पाएँ । लाखौं दर्शकले मलाई चिनेको चाहिँ ‘कबड्डी’बाटै हो । नाटकमा सीमित मलाई सेतो पर्दामा चिनाउन ‘कबड्डी’को ठूलो भूमिका छ । त्यसअघिका दुई फिल्म त मैले बिर्सनै मिल्दैन ।
‘कबड्डी’मा खेल्ने मेलो कसरी जुर्यो ?
वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले चलाउनुभएको ‘गुरुकुल’को म पहिलो ब्याचको विद्यार्थी हुँ । गुरुकुलमा जति नाटक भए तिनमा ५÷७ वटाबाहेक सबैमा मैले अभिनय गरेकी छु । गुरुकुल बन्द भएपछि के गर्ने भनेर अल्मलिएकी थिएँ । त्यसपछि विभिन्न नाटकमा काम गरिरहेकै थिएँ । त्यतिबेलै ‘कबड्डी’मा अभिनयको अफर आयो । मैले सुरुमा मानिनँ । दुई–तीन पटकको अफरपछि पनि मैले मानिनँ किनभने नचिनेको मान्छेसँग हत्तपत्त म काम गर्छु भन्दिनँ । त्योभन्दा बढी स्क्रिप्ट नहेरिकन म काम गर्छु भन्नै सक्दिनँ । मैले ‘कबड्डी’ नखेल्ने धेरै प्रयास गरेँ । पछि त्यो गु्रपका राजन खतिवडा र दयाहाङ राई दाइले मलाई धेरै करबल गरे । दुवै जना थिएटरको भएपछि मलाई हैन काम गर्नुपर्छ कि भन्ने लाग्यो । दुई जना दाइले कर गरेपछि मैले नखेल्ने बहाना गर्न अरु ठाउँमा भन्दा बढी पारिश्रमिक पनि मागेँ । आश्चर्य, उहाँहरु दिन तयार हुनुभयो ! गुरुकुलको ग्रुपसँग धेरै हिँडे तर बाहिरको ग्रुपसँग काम गरेकी थिइनँ र काठमाडौबाहिर पनि गएकी थिइनँ । डाइरेक्टर, प्रोड्युसर नचिन्ने भएकाले अलि अप्ठ्यारो मानेकी थिएँ । पछि पाँच दिनका लागि जाने भनेर म तयार भएँ । त्यसमा मेरो अर्को शर्त थियो– मलाई मुस्ताङ घुमाउनुपर्छ । शर्तमा राजन र दया दाइ मञ्जुर हुनुभयो । पाँच दिनका लागि भनेको, १५ दिनको सेड्युलभरि टिमसँगै मुस्ताङ बसेँ । त्यही ‘कबड्डी’ ले मलाई यहाँसम्म ल्यायो ।
त्यत्रो दिन बाहिर बिताउँदा घरबाट कस्तो प्रतिक्रिया आयो नि ?
त्यतिबेला श्रीमान् फिल्मलाइनमा आउनु भएको थिएन । मैले घरमा ५ देखि १० दिन लाग्छ भनेर हिँडेकी थिएँ तर त्यहाँ त फोनै नलाग्दो रहेछ ! म पूरै सम्पर्कविहीन भएँ । मैले दया दाइहरुलाई घरमा फोन गरिदिनू भनेकी थिएँ । उहाँहरु पनि व्यस्त भएकाले भुल्नु भएछ । १५ दिनपछि फोन गरेको त श्रीमान् रिसाएर उधुम । तँ उतैबाट गए हुन्छ, घर आउनुपर्दैन भन्नुभएछ । पछि मैले फोन गर्दा श्रीमान्ले गलत तरिकाले भनेको होइन, किन सम्पर्क नगरेको भनेर गुनासो गर्नुभयो । मैले फकाइहालेँ ।
तपाईंले अभिनय गरेका फिल्म ‘कबड्डी’, ‘कबड्डी–कबड्डी’, ‘छक्कापञ्जा’ हिट भए, त्यसको रहस्य के होला ?
निर्देशक, स्क्रिप्ट, निर्माता, कलाकार, लगायत पूरै फिल्म युनिटको लक हो । सबैको मिहिनेत हो । ती फिल्ममा मैले अभिनय नगरेको भए अरु कसैले गथ्र्यो । अर्को कुरा बनिरहेका फिल्मभन्दा केही फरक स्वाद दिने फिल्म भएकाले पनि राम्रोसँग चले ।
फिल्म हिट भएपछि पारिश्रामिक पनि त्यसरी नै बढ्यो होला नि ?
कलाकारसँग फिल्म खेल्ने बेलामै कति पैसामा खेल्ने भनेर सम्झौता गरिएको हुन्छ । त्यसैले फिल्म घाटामा गए कलाकारले घाटा व्यहोर्दैन, नाफा आउँदा दाबी गर्ने अवस्था पनि हुँदैन । बरु हिट फिल्मपछि राम्रो पारिश्रामिक लिने अवसर हुन्छ । ‘छक्कापञ्जा’ले भने सक्सेस भएकोमा पार्टी गरेको थियो । मायाको चिनो दियो । राम्रो ग¥यो । यो सबै एकअर्काका परिपूरक भएर हो ।
पारिश्रमिकमा कत्तिको बार्गेनिङ गर्नुहुन्छ ?
नाटकमा त बार्गेनिङ नै हुँदैन । हामी त्यहीँबाट आएको भएर कहाँबाट पैसो आउँछ भन्ने थाहा छ । टिकट बेचेरै पाउने हो पैसो तर कुनै प्रोजेक्टले गरेको छ भने त्यहीअनुसार माग गर्छौं । फिल्ममा चाहिँ मसम्म आइपुग्दा पैसामै बार्गेनिङ गर्ने अवसर आएको छ । मैले कति लिन्छु भन्ने पनि थाहा छ धेरैलाई तर केही दुई चार जना डाइरेक्टरबाहेक अरुले अझै पनि राम्रो पारिश्रामिक दिनुपर्छ भन्ने अवस्था आइसकेको छैन । विशेषगरी चरित्र अभिनेता, अभिनेत्रीलाई ।
फिल्म र नाटकमा के फरक पाउनुभयो ?
धेरै फरक छ । मलाई फिल्ममा दुई कारण सम्झँदा बडो दुःख लाग्छ । हिरो हिरोइनलाई लाखबाट सुरु हुन्छ । चरित्र अभिनेत्री, अभिनेतालाई हजारबाट सुरु हुन्छ पारिश्रामिक । हिरो हिरोइनलाई पैसो पनि राम्रो, ड्रेस, मेकअपदेखि सबै प्रोड्युसरले व्यवस्था गर्ने तर चरित्र अभिनेता–अभिनेत्रीले चाहिँ सबै आफैँले ल्याउनुपर्ने । यी दुई कुराले मलाई बडो दुःख लाग्छ । सबैभन्दा फरक यही हो । थिएटरमा काम गर्दा दर्शकलाई कसरी खिँच्ने भन्ने आफूले नै तयारी गर्नुपर्छ । अभिनय त उही हो । फिल्ममा डाइरेक्टर हिरो हो । थिएटरमा काम गरेकाले क्यारेक्टरअनुसार काम गर्न खोजिन्छ । फिल्ममा काम गर्नेले क्यारेक्टरबारे सोच्ने फुर्सदै हुँदैन । बल्ल हिजोआज वर्कसपको चलन चलेको छ । फिल्ममा ‘फिलिङ’मा डुबेर काम गर्नै पाइँदैन तर एउटा कलाकारले नाटकमा धेरै गर्न सक्छ ।
फिल्ममा कलाकारमाथि विभेद हुन्छ भन्न खोज्नु भएको हो ?
ठ्याक्कै विभेद नै त नभनौँ । फिल्ममा कुरा आयो भने मेरो पहिलो शर्त नै सबै कलाकारलाई समान व्यवहार गर्छौं भने काम गर्छु नत्र म आउँदिनँ भन्छु । धेरैले अहिले पनि केवल हिरो र हिरोइन मात्रै कलाकार हुन् भन्ने सोच्छन्, थिएटरमा भने सबै कलाकार समान हुन्छन् । केटा मान्छे जति बूढो भए पनि हिरो हुनसक्छ तर केटीले चाहिँ ३० वर्ष उमेर कट्नेबित्तिकै आमाको रोल पाइरहेकी हुन्छे । किन हुन्छ यस्तो ? उत्तर पाइसकेकी छैन ।
यस्ता प्रश्न गर्दा छुच्ची भन्दैनन् ?
हुन त फिल्ममा पनि छुच्चो टाइपकै रोलमा हावी भएकी छु । मलाई चेपारो घसेर बोल्न आउँदैन । अगाडि राम्रो भन्ने, पछाडि कुरा काट्ने प्रवृत्ति मलाई मन पर्दैन । जे हो त्यो फ्याट्ट भन्छु । यस्तो गर्दा छुच्ची छ पनि भन्छन् होला । मैले सबैको भलाइका लागि भनिरहेकी हुन्छु । श्रीमान्ले पनि तँ धेरै बोल्छेस्, त्यसैले अरुले मन पराउँदैनन् भन्छन् । म त्यस्ता कुरा सुन्दिनँ र आफ्नो काममा निरन्तर लागिरहन्छु ।
पर्दामा आफ्नै अभिनय हेर्दा कस्तो लाग्छ ?
लाज लाग्छ । नाटकमा त खिचेर भोलिपल्ट केही सुधार्ने ठाउँ हुन्छ । कहिलेकाहीँ यस्तो पो भएछ भन्ने हुन्छ । अझै राम्रो गर्न सक्थेँ भन्ने लाग्छ । फिल्ममा त सुधार्ने मौका पाइँदैन । त्यसैले फिल्ममा आफ्नो अभिनय हेर्दा असाध्यै लाज लाग्छ ।
फिल्म मनोरञ्जन मात्र हो या अरु केही ?
कुनै मनोरञ्जन मात्रै हो । कुनै–कुनै जातीयताका लागि फिल्म बन्दैछ । कल्चरको लागि पनि फिल्म बन्दैछ । सन्देशमूलक पनि बन्दैछ । कमेडी पनि बन्छन् । निर्देशक र निर्माताले मैले फिल्म किन बनाउँदैछु भन्ने कुरा बुझ्नुपर्छ । अनि फिल्म मनोरञ्जनका लागि मात्रै हो कि अरु केही हो, भन्ने त्यसबाट उत्तर आउँछ । मेरो व्यक्तिगत विचार चाहिँ फिल्म मनोरञ्जनकै लागि बनाइन्छ ।
अभिनयलाई पेसा बनाएर बाँच्ने अवस्था छ ?
आफूमा भर पर्छ । अहिलेसम्म मलाई अभिनयले नै दिएको छ । कुन लेभलले बाँच्ने भन्ने हो । म यसरी नै बाँच्छु होला । म पब्लिक गाडीमा चढ्छु । अलिकति सेलिब्रेटी भएँ भन्दैमा मलाई प्राइभेट गाडी चाहिन्छ भन्ने छैन । स्कुटी हाँक्न डर लाग्छ । हतार भए ट्याक्सी चढ्छु । मलाई थिएटर र फिल्ममा कमाएको पैसाले पुगेको छ । स्टार होटलमा गएर हाइफाई खर्च गर्न नपुग्ला तर जीवन त चल्छ नि ! क्षणिक हाइफाइले जिन्दगी चल्दैन । म जे छु त्यही लेभलबाट हेर्दा पुगेकै छ, चलिरहेको छ, चल्छ ।
फिल्ममा अभिनय गर्दा त्यस्तो अविस्मरणीय क्षण केही छ ?
‘कबड्डी–कबड्डी’को सुटिङमा जाँदा बेनीमा गाडीबाट झर्ने बित्तिकै मेरो खुट्टा भाँचिएछ । थाहै पाइएन । खुट्टाको हड्डी चर्केको रहेछ । मुस्ताङमा गएर अस्पतालमा देखाउँदा प्लास्टर गरियो । एक महिनासम्म प्लास्टर नखोल्नु भन्दाभन्दै एक हप्तामै खोलेर सुटिङ सकाएँ । त्यसका लागि धेरै पेनकिलर (औषधि) खाएँ । पछि काठामाडौं आएर फेरि प्लास्टर गरेर डेढ महिना आराम गर्नुप¥यो । त्यतिबेला डाक्टरले गाली गर्नुभयो । अहिले पनि त्यो क्षण सम्झँदा डर लाग्छ । खुट्टै बिग्रेको भए के हुन्थ्यो होला !
तस्बिर : अञ्जन श्रेष्ठ
Leave A Comment