हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु आँधीको यात्रा ।
सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरेछ खोला
भुर्भुराइरहेछ आगो ।
मलाई लिन
अध्याँराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै
उदाउनेछ जून ।
म हिँडेपछि
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।
एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएको बतासले
सोध्नेछ समय ।
साँझपख
आँशु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।
जुनबेला म
गर्जिरहेको र चिच्याइरहेको चट्याङलाई सम्झाउन
सदभावको गीत गाउँदै
छोइसक्नेछु आकाशलाई ।
काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।
मसँग हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ
आमा
यै हत्केलामा कोरिएको बाटोले डो¥याउँदै
एकदिन
ल्याइपु¥याउनेछ मलाई तिम्रो काखमा ।
यस वर्षको सबैभन्दा उत्कृष्ट कविता हो यो । सरकारी तवरबाट कविलाई कविता लेख्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कविता महोत्सवमा खोटाङ निर्मलीडाँडाका कवि तथा कलाकार चन्द्र रानाहाँछा पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा २२९ जनाको कवितालाई उछन्दै उनको कविता सर्वोत्कृष्ट बन्न सफल भएको हो । अन्तिम राउण्डमा भने ३२ वटा कविता छनोटमा परेका थिए ।
चित्रकलाका सौखिन उनी कविता लेख्न पनि रुचि राख्छन् । उनले वि.सं. २०७१ सालमा ‘थिविया चराको गीत’ कविता संग्रह निकालिसकेका छन् । यद्यपि कवि बनेर राष्ट्रिय पहिचान बनाउने उनको धोको अधुरै थियो । यसअघि तीन पटकको राष्ट्रिय कविता महोत्सवमा असफल भएका रानाहाँछा भन्छन्, ‘हिम्मत हारिनँ । यो पटक त केही न केही गर्छु गर्छु भनेर लेख्न बसेँ तर पनि के लेखुँ कसरी लेखुँ धेरै धर्मर भैरह्यो ।’
महोत्सवका लागि भनेर दुई वटा कविता लेखेका उनले तिनै कविता पठाउने बेला पुनः एक पटक पढ्दा कमजोरजस्तो माने । ‘अनि त यस्तो कमजोर कविता किन पठाउने भनेर ती दुई वटा कविता च्यातेर फ्याँको र तेस्रो कविता चाहिँ मलाई थोरै भए पनि मन प¥यो,’ उनले भने । पहिलेका महोत्सवमा असफल भएको पीडा त छँदैथियो, त्यसमाथि यसपाला कविताका लागि केही सीमा कोरिएका थिए । राष्ट्रिय हित र प्रगतिशीलताजस्ता सीमामा रहेर कविता लेख्नुपर्ने भएकाले उनले त्यसैमा आधारित रहेर कवितामा शिल्पका बिम्बहरु कोरे ।
जति राम्रो कविता लेखे पनि कवि भनेर प्रमाणित गर्ने भनेको राष्ट्रिय कविता महोत्सव नै लाग्छ उनलाई । त्यसैले राष्ट्रिय स्तरको कवि बन्ने प्रयासमा उनलाई यसपटकको कविताले साथ दिएको उनी बताउँछन् । ‘पहिले असफल भएकाले ठूलो हैन झिनो आशा थियो मनभित्र,’ उनले भने, ‘पहिलो भएको खबर पाउँदा पहिले त हो कि हैन झैं लाग्यो ।’
उनीजस्तै दोस्रो भएका भोजपुरका सुवास राई क्याप्टेनलाई पनि विश्वास थिएन दोस्रो भएँ भन्ने । फरक शीर्षकको उनको कविताले यस्तो भाव बोल्थ्यो–
पहाडको चुल्ठोभरि फूलेको
गुराँसको रङ
र मधेसको मजेत्रोभरि लत्पतिएको
रगतको रङ
सूर्यको तापले पग्लिरहेको
हिमालको रङ
र आफ्नै पैतालाको प्रेमले पृथ्वीमा उम्रेको
पसिनाको रङ
फरक छन् रङहरु
तर तिमी भन्छौ– रगत सबैको रातो हुन्छ
पसिनाको रङ उस्तै हुन्छ...
आफूभन्दा दिग्गज कविहरुको लर्को देखेपछि उनी वाचन गर्ने समयमा केही आत्तिए पनि तर कविताको उनको बेजोड भावले उनलाई उत्कृष्ट दोस्रोमा पु¥याइछाड्यो । तेस्रो भएका दाङका दीपेन्द्र उपाध्यायले छन्दमा लोकतन्त्र कविता वाचन गर्दा दर्शकदीर्घाका नयाँ कविहरुले ठूलै हुटिङ गरे ।
म विश्व हुँ, विशाल हुँ, स्वतन्त्र प्रशान्त हुँ
म भूपदेखि भिक्षुमा सुकर्म तारतम्य हुँ ।
म शान्तिपूर्ण दीप हुँ र शान्तिकै म मन्त्र हुँ
नयाँ भविष्य ल्याउने स्वयं म लोकतन्त्र हुँ ।।
नरेट व्यर्थमै गला नमारिने विचार छन्
विचार वेग क्रान्ति हो र टाउकै हजार छन् ।
हजार काटिए भने लिएर लाख उठ्दछु
नरेटिने नमारिने अमत्र्य लोकतन्त्र हुँ ।।
तेस्रो कवितामा दरिएका उर्मिला कोइरालाको उज्यालोको आत्मकथाले मानिसमा पलाएको दोधारको मनस्थिति व्यक्त गर्दथ्यो । आँगनमै पोखिएको छ उज्यालो
कहिलेकाँही उज्यालो नै
उज्यालोको बाधक भयो भन्छन् मान्छेहरु
अहँ म मान्दिनँ
आफ्नै आँखा छोपेर
कसरी भनुँ सूर्य अँध्यारो छ ...
तेस्रोमै पुस्कृत अञ्जान स्मृतिका कविताले फूलहरुझैँ सुन्दर देशको परिकल्पना गर्दथ्यो ।
फूलहरु जान्दैनन् युद्ध गर्न
उडाउँदैनन् कहिले हठले भरिएको बेलुन
ओठहरुमा शब्दहरुको रमिता भिरेर
देखाउँदैनन् सार्वजनिक मञ्चहरुबाट तमासा
सुनगाभा र मखमलीहरुले
वेदनाको हाट लगाएर
कहिल्यै गरेनन्
वर्षौदेखि मुटुभित्र पोलिरहने आगोको कुरा
गुनगुनाएनन् आँधीले लछार पछार गरेका गुनासाहरु
किनभने हृदयमा बुद्ध बोकेर हिँडेका उनीहरुलाई गर्नु छैन युद्ध ...
कविता विधालाई निरन्तरता दिएर समाजमा नाम र दाम कमाउने पनि कमै सम्भावना हुन्छ । त्यसैले पनि यो हेलाको विधा बनेको छ नेपाली साहित्यमा । पहिले पहिले दरबारको महफिलमा मात्र सजिन्थे कविता । दरबारबाट बाहिर शिक्षा र अक्षरको ज्योति फैलिएपछि कविताले पनि दरबारको संघार नाघेको पुराना कवि बैरागी काइँला उल्लेख गर्छन् ।
कविता विधालाई उकास्नकै लागि सरकारी तवरबाट नै वि.सं. २०२२ सालमा पहिलो प्रयास भयो । राष्ट्रिय कविता महोत्सवका रुपमा उदाएको त्यो प्रयास नयाँ तथा पुराना कविका लागि एउटा ऊर्जा नै हो । पाँच दशकको कविता महोत्सवले कवितामा कलम चलाउनेलाई ऊर्जा दिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती उल्लेख गर्छन् ।
वैशाख १९ गते सार्वजनिक सूचना जारी गरी जेठ २४ गतेसम्ममा स्पर्धाका लागि कविताको आह्वान गरिएको काव्य विभागका प्रमुख अमर गिरीले बताए ।
‘हामीले पहिले तोकिएको मापडण्डभित्र परेका कविताको अन्तरवस्तु र प्रस्तुतिको मूल्यांकन गरेर उत्कृष्ट कविता छनोट गरेका हौं,’ निर्णायक समितिका संयोजक बासुदेव अधिकारीले भने, ‘त्यसमा पनि भौगोलिक विविधता, जातीय, लैंगिक आदिजस्ता विषयलाई पनि निर्णायक टोलीले ध्यान दिएको थियो ।’ कविताको मर्मसँगै त्यसको रुपको बलियोपनलाई पाँच दिन लगाएर अध्ययन गरिएको दाबी उनले गरे । पाँच जना निर्णायकले व्यक्तिगत तवरले प्रतिस्पर्धामा परेका कवितालाई नम्बर दिएको उनले जनाए ।
उत्कृत पाँचमध्ये पहिलो हुनेले ३० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले जनही बीस बीस हजार नगद तथा ताम्रपत्र सहितको पुरस्कार पाउनेछन् । पुरस्कार भने पछि विशेष कार्यक्रम सहित राष्ट्रपतिको हातबाट प्रदान गरिने जनाइएको छ ।
Leave A Comment