वैंशैमा गर्भाधारणको स्वास्थ्य असर

मङ्गलबार, २० असार २०७४, ०१ : १६ शुक्रवार , Kathmandu
वैंशैमा गर्भाधारणको स्वास्थ्य असर

डा. सुमनराज ताम्राकार

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार धेरै नेपालीको बिहे २० देखि २४ वर्षमा भएको पाइए पनि महिला र पुरुषको बिहे हुने उमेरमा भने भिन्नता पाइयो । १९ वर्षसम्मको समूहमा बालिका वा किशोरीको धेरै र बालक वा किशोरको कम बिहे देखाएको छ भने २० वर्षदेखि माथिको उमेर समूहमा पुरुषको धेरै बिहे देखाएको छ । १५ देखि १९ वर्ष समूहमा करिब २१ लाख ७६ हजार ७ सय ८४ जना पुरुष र ४३ लाख ४० हजार ४ सय ९७ जना महिलाले बिहे गरेका छन् । उमेरगत हिसाबले सबैभन्दा धेरै नेपाली महिलाले यही उमेर समूहमा बिहे गरेको देखिन्छ ।
अझ कहालीलाग्दो तथ्यांक त १ लाख १५ हजार बालिकाले दस वर्ष अगाडि र १० वर्ष देखि १४ वर्ष उमेर समूहमा ११ लाख १ हजार ८ सय ८५ जना किशोरीले बिहे गरेको देखिन्छ । यी उमेर समूहका बालक वा किशोरको दाँजोमा ५ गुणा बढी बालिका वा किशोरीले बिहे गरेको पाइयो । यसले हाम्रो समाजमा अभैm छोरा र छोरी बीचको विभेद देखिन्छ ।
प्राकृतिक नियमअनुसार बिहे भएको दुई वर्ष भित्रमा करिब ८० प्रतिशत दम्पतिले बच्चा पाउने गरेको छ । अस्पताल वा स्वास्थ्य संस्थामै आई सुत्केरी गर्नेको संख्यामा कमी तथा घरमै सुत्केरी भएकाहरुको सही तथ्यांक नआए पनि पछिल्लो जनगणनाका तथ्यांकलाई केलाउँदा नेपालमा पनि टिनएज प्रेगनेन्सीको संख्या मनग्गे छ भन्ने कुरामा दुई मत छैन । स्वास्थ्यका दृष्टिले २० वर्षको उमेरपछि मात्र बच्चा पाउनु राम्रो हुन्छ । युवावस्थामै वा उमेर नपुगीकनै (प्रायः १३ देखि १९ वर्षभित्र) गर्भवती हुनुलाई अंग्रेजीमा टिनएज प्रेगनेन्सी अर्थात् वैंशैमा गर्भाधारण गर्नु भनिन्छ । कानुनी रुपमा वयस्क नभइकनै गर्भ धारण गर्नुलाई पनि टिनएज प्रेगनेन्सी मानिन्छ ।
विश्वमा हेर्ने हो भने नाइजर तथा नाइजेरियाजस्ता सबसहारा अफ्रिकी मुलुकहरुमा १४३ प्रति हजार टिनएज प्रेगनेन्सी (वैंशैमा गर्भाधारण) को समस्या छ । पश्चिमी युरोपेली राष्ट्रहरुमा २० देखि ३० प्रति हजारको हाराहारीमा रहेको यो समस्या भारत, अमेरिका, इन्डोनेसियामा ५० देखि ६० प्रति हजार छ । दक्षिण कोरियामा यो समस्या सबभन्दा कम अर्थात् केवल ३ प्रति हजार छ । विश्वमा बर्सेनि करिब एक करोड तीस लाख बच्चाहरुको जन्म टिनएजर आमाबाट हुन्छ । यसमध्ये ९० प्रतिशतभन्दा बढी जसो घटना विकासोन्मुख देशहरुमा हुने गरेको छ । सहरी तथा दुर्गम भेगबीच व्यापक भिन्नता छ । टिनएज प्रेगनेन्सी र गर्भपात गराउनुसँग अन्योन्याश्रित सम्बन्ध छ । अनपेक्षित रुपमा अमेरिकामा पनि टिनएज प्रेगनेन्सीका कारण गर्भ तुहाउनेको संख्या मनग्गे छ ।
सन् २००६ मा नेपालमा गरिएको जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिएअनुसार कलिलै उमेरमा गर्भवती हुनु तथा आमा बन्नु नेपालको लागि पनि प्रमुख सामाजिक तथा स्वास्थ्य समस्या हो । उक्त सर्वेक्षणअनुसार १५ देखि १९ वर्ष उमेर समूहका करिब १९ प्रतिशतले बच्चा पाइसकेको वा गर्भ बोकिरहेको पाइयो । सहरी क्षेत्रमा यो समस्या अलि कम देखिए पनि गाउँमा त्यति धेरै फरक भने रहेनछ । गर्भवती बन्ने सम्भावना निरक्षर केटीहरुमा तीन गुणाले बढी पाइएबाट र एसएलसी तथा उच्च अध्ययन गरेका युवतीहरुमा निकै कम पाइएबाट नेपालमा पनि साक्षरता र वैंशैमा गर्भाधारण हुने समस्याबीच गहिरो सम्बन्ध रहेको प्रमाणित हुन्छ ।
न्यून साक्षरता, उच्च गरिबी, उमेर नपुगेका आमाबाट पाएका बच्चाहरुको दयनीय स्थितिसँग टिनएज प्रेगनेन्सीको प्रत्यक्ष सम्बन्ध छ । बाल्यावस्थामा यौन दुव्र्यवहारबाट प्रताडित बालिकाहरु नै कालान्तरमा गएर यौन कार्य चाँडै स्थापित गर्ने, आपूmभन्दा धेरै वयस्क पार्टनर छान्ने, जोखिमपूर्ण यौन कार्यमा संलग्न हुने, धेरै जनासँग र धेरै पटक यौन सम्बन्ध स्थापित गर्ने गर्दछ । टिनएज प्रेगनेन्सीका घटनाबाट घरेलु हिंसालाई पनि प्रश्रय पाइरहेको छ । बाल्यावस्थामा घरेलु हिंसा, पारिवारिक बेमेल, अनेक खाले दुव्र्यवहार भोगेका बालिका सानै उमेरमा आमा बन्ने सम्भावना बढ्ता हुन्छ ।

टिनएज प्रेगनेन्सीका कारण आइपर्ने प्रतिकूल असर
विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा आमाहरुको मृत्यु हने सम्भावना दोब्बर हुन्छ । यससँग सम्बन्धित गर्भपात गैरकानूनी छ भने मृत्यु हुने दर अझ बढ्छ । यस्ता खाले गर्भको जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र बर्सेनि ७० हजार युवतीहरुको अकालमा मृत्यु भइरहेको छ । अपर्याप्त मात्रामा, ढिलो गरी, समस्या उत्पन्न भएपछि मात्र गर्भ जाँचका लागि आउने हुनाले गुणस्तरीय मातृ सेवा पुग्दैन । पुठ्ठाको हड्डी अविकसित हुने, प्रशव व्यथा कष्टपूर्ण हुन सक्ने कारणले सिजेरियन अपरेसनको सम्भावना बढी हुन्छ । यसले गर्दा कम्पन छुट्ने समस्या, पिसाब चुहिने समस्या, उच्च शिशु मृत्युदर तथा मातृ मृत्युदर पनि बढ्छ ।
टिनएजर आमाले उनका बच्चालाई स्पर्श, मुस्कान, तोतेबोलीका माध्यमबाट संवेगात्मक विकासमा जोड दिन सक्दैनन् र बच्चा प्रतिको दायित्व, संवेदनशीलता, अपनत्व देखाउन सक्दैनन् । बच्चाप्रति बढ्ता रिस पोख्ने, पिट्ने, सताउने, दुःख दिने गर्छन् । बच्चामा पर्ने असरमा कालान्तरमा शिशुको मानसिक तथा सामाजिक विकास र वृद्धि विकासमा नकारात्मक असर पुग्छ ।

 

Leave A Comment