काँडाले तिखारेको एउटा जीवन

बुधबार, २२ असार २०७३, १० : १५ उपेन्द्र लामिछाने , Kathmandu
काँडाले तिखारेको एउटा जीवन

म सोच्छु,
जीवनको उज्यालो मार्गमात्र पछ्याओस् मेरी छोरीले
उसका आँखाहरुमा जीवनका सङ्ला दृश्यहरु नाचिरहून् ।
कलिलो मनमा, उत्साहको दीप बलिरहोस्
मेरी छोरीको रात भागोस्, मनभित्रको सन्त्रास भागोस् ।
मंगलबार विमोचन भएको आफ्नो नवीनतम कवितासंग्रह ‘प्रेमिल आकाश’को ‘छोरीभित्रको रात’ शीर्षकमा झमक घिमिरेले रचेको यो भाव उनकी आमा आशादेवीको भावनाजस्तै लाग्छ । ३५ वर्षअघि धनकुटास्थित आफ्नो  घरमा जन्मेकी कोपिलामा देखिएको कमजोर पत्रलाई नियालेर झमकको बारेमा आशादेवीले यस्तै आशा राख्थिन् होलिन् ।
आशादेवीको आशा पूरा भएजस्तो देखिन्छ । उनकी छोरीले उज्यालो मार्ग पछ्याएकी मात्र होइन त्यो मार्गमा समाजलाई डो¥याउने काम  समेत गरेकी छिन् । छोरीको आँखामा जीवनका सङ्ला दृश्य नाचेर त होला नि ‘जीवन काँडा कि फूल’ जस्तो सकारात्मक पुस्तक लेखिन् । झमकको कलिलो मनमा उत्साहको दीप बलेर त हो नि उनी अँध्यारो चिर्दै हिम्मत नहारी उज्यालो बाटोमा अडिग रहिन् ।
‘मलाई त मेरी छोरी त्यतिबेलै फूलजस्तै लागेकी थिइन्,’ साहित्यकार झमक घिमिरेको राजधानीमा आयोजित ३५ औं जन्मदिनमा सहभागी आमा आशादेवीले भनिन्, ‘बरु समाजका मानिसका काँडाजस्तै वचनले भने मलाई र छोरी दुवैलाई पटकपटक मर्माहत बनाएको थियो ।’
उतिबेला समाजले काँडा ठानेको फूल अहिले निस्फिक्री फक्रिएको छ । जन्मोत्सव मनाउने क्रममा झमकको अनुहारमा देखिएको खुसीका  रेखाहरुले उनकी आमाले विगतमा भोगेका पीडा जरैसम्म मेटाएको भान हुन्थ्यो । छोरी आमाको अनुहार हेरेर मुस्कुराउँथिन् । आमा छोरीको हाँसोमा आफ्नो जीवन देख्थिन् । आमा–छोरीको यो मुस्कान सिङ्गो हलमा तरंगित हुन्थ्यो ।
झमकले मंगलबार राजधानीमा आफ्ना शुभेच्छुक र साहित्यक अनुरागी, समाजका अन्य विशिष्ट अतिथि तथा सर्वसाधारणमाझ आफ्नो जन्मदिन मनाइन् । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीले उनको नयाँ कृति ‘प्रेमिल आकाश’को साथै ‘जीवन फूल कि काँडा’को हिन्दी संस्करण र त्यसको गीति क्यासेटको समेत विमोचन गरेर उनको जन्मदिनलाई झनै सार्थक बनाए ।
झमक घिमिरे साहित्य कला प्रतिष्ठानले प्रकाशन गरेको उनको नवीनतम कवितासंग्रह ‘प्रेमिल आकाश’ झमकको १३ औं साहित्यिक कृति हो । झमकको व्यक्तित्व र आत्मविश्वासबाट  प्रभावित बनेका प्रधानमन्त्रीले झमकलाई दयामायाभन्दा पनि झमकबाट समाजले हिम्मत लिने सुनाए । यतिबेला झमक समाजको सबै क्षेत्रका लागि प्रेरणा बनेकी छिन् । उनले रचेका कथामा सिनेमा बन्न थालेका छन् ।
उनका कृति बालकदेखि वृद्धसम्मले मन पराउने गरेका छन् । त्यसैले उनको जन्मदिनमा सहभागी हुन आएकाहरुले उनलाई सुस्वास्थ्य र सफलताको कामनासहित सँगै फोटो खिचाएर उनको नजिक बसेर मायाको उपहार दिए । झमकले मुस्कुराउँदै उनीहरुको साथ दिइन् । कार्यक्रममा झमकको स्वागत मन्तव्य सुनाउनुको साथै उनले रचेका नयाँ कविताका केही पंक्ति वाचन गरिएको थियो ।

Leave A Comment