स्ट्रोकबाट कसरी बच्ने ?

शनिबार, २४ असार २०७४, ०१ : ०४ शुक्रवार , Kathmandu
स्ट्रोकबाट कसरी बच्ने ?

दीपक दाहाल
हिँड्दाखाँदैको मान्छे अचानक बेहोस् भएर ढल्छ । कतिको होसै फर्किन्न, कतिको होस् आए पनि पहिलाजस्तो सद्दे हुन सक्दैनन् । सहरी समाजमा धेरैले सुनाउने यस्ता कहानीसँगै एउटा डरलाग्दो कारण लुकेको हुन्छ– स्ट्रोक । अनियन्त्रित रक्तचाप, मधुमेह, रगतमा चिल्लो पदार्थको मात्रा बढ्ने समस्या कोलेस्ट्रोलजस्ता कारणले स्ट्रोकको समस्या बढ्दैछ । सजिलो गरी स्ट्रोकलाई ब्रेन अट्याक वा मतिष्कघात पनि भनिन्छ ।
सामान्य रूपमा बुझ्दा मस्तिष्कमा हुने रक्त प्रवाहमा अवरोध नै स्ट्रोक हो । जसमा नशा फुटेर वा नशा बन्द भएर पनि अवरोध हुन्छ । पचास वर्ष नाघेमा मानिसमा ब्रेन अट्याकको जोखिम बढी हुने भए पनि त्यसभन्दा कम उमेर समूहका मानिसमा पनि यसको आक्रमण बढ्दै गएको छ ।
कुनै कारणले मस्तिष्कका कोशिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिने र कोशिकाको मृत्यु भई ब्रेन अट्याक हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बे्रन अट्याक क्यान्सर र मुटुरोग पछिको मृत्युको तेस्रो ठूलो कारण हो ।
चिकित्सकका अनुसार बे्रन अट्याक हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेकामध्ये ५० प्रतिशतलाई बचाउन सकिन्छ । यो संख्या कूल बे्रन अट्याक हुने संख्याको २५ प्रतिशत हो । बाँच्न सफल भएकाहरूको पनि ५० प्रतिशत कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ ।
गरिब देशमा बे्रन अट्याकको प्रमुख कारण अस्वस्थकर जीवनशैली हो । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई बे्रन अट्याक हुनसक्छ ।
वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तका अनुसार नशा बन्द भएर स्ट्रोक हुनुको प्रमुख कारण अस्वस्थकर जीवनशैली नै हो । जसमा धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खानेकुराको प्रयोग गर्ने, व्यायामको अभावजस्ता कारणले रगतको नशामा बोसो जमेपछि मस्तिष्कसम्म रक्तप्रवाहमा अवरोध हुन्छ र थुनिन्छ । ‘समयमै अस्पताल पु¥याएर हृदयघातको उपचार गर्न सकियो भने मानिस पुरानै अवस्थाको जीवन बाँच्न सक्छ तर बे्रन अट्याकमा शल्यक्रियापछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न । केही न केही खोट भएको जीवन बिताउनु पर्छ,’ डा. पन्त भन्छन् ।
बे्रन अट्याकमा निश्चित पाटो कमजोर रहने सम्भावना रहिरहन्छ । बे्रन अट्याकले प्यारालाइसिसको सम्भावनासमेत बढाउँछ । डा. पन्तका अनुसार नशा फुटेर हुने बे्रन अट्याकको प्रमुख कारण ब्लडप्रेसरको औषधिमा गरिने लापरवाही हो । धेरै मानिसले मानिस कुनै पनि समयमा सामान्य प्रेसर देखिनेबित्तिकै कुनै मेडिकलमा जान्छ, त्यस्तो अवस्थामा तुरून्तै औषधि खान थाल्छ । औषधि खाइरहँदा प्रेसर नियन्त्रणमा आउँछ, त्यसपछि नियन्त्रण भइहाल्यो भनेर औषधि छोड्ने चलन धेरैको छ । राम्रोसँग प्रेसर यकिन गरेर चिकित्सकको सल्लाहअनुसार औषधि थाल्ने र छाड्ने गर्नुपर्छ । नेपालजस्तो अल्पविकसित मुलुकमा उच्च रक्तचापको औषधि आफ्नै पारामा खान थाल्ने र छोड्ने चलन बढी छ । यो नै नशा फुटेर हुने बे्रन अट्याकको ठूलो कारण रहेको चिकित्सकहरुको भनाइ छ ।
जीवनशैली स्वस्थकर बनाए पहिलो कारणबाट हुने र ब्लडप्रेसरको औषधिमा लापरवाही नगरे सामान्यतः दोस्रो कारणबाट हुने बे्रन अट्याकबाट बच्न सकिने डा.पन्तको भनाइ छ । कम्तीमा तीन मिनेटसम्म मस्तिष्कमा रगत सञ्चार भएन भने पहिला मस्तिष्कको र क्रमशः अन्य अंगको मृत्यु हुन्छ । बे्रन अट्याक भएको अवस्थामा निश्चित नशा मात्रै थुनिने भएकाले त्यो नशाले रगत पु¥याएको क्षेत्र मात्रै प्यारालाइसिस हुन्छ । त्यसैले साढे तीन घण्टाभित्र अस्पताल पु¥याउन सकेमा ह्याम्रेज भएको छैन भने नशालाई खोल्न सकिन्छ । त्यसैले पनि यस्ता रोगीलाई जतिसक्दो छिटो अस्पताल पु¥याउन चिकित्सकहरु सुझाउँछन् ।
 
यस्ता रोग भइसकेको अवस्थाका बिरामीलाई बचाउन देशभित्र अत्याधुनिक उपचार प्रणाली सुदृढ गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । जीवनशैलीलाई स्वस्थ्यकर बनाउन, ध्यान जपजस्ता कुरालाई समेट्ने न्याचुरोप्याथीबाट पनि जोखिम कम गर्न सकिन्छ । अहिले जीवनशैली बिथोलिएको छ । जसका कारण यस्ता रोगको खतरा बढ्दै गएको छ । औषधि र प्रविधिसँग जोडिएको उपचारात्मक सेवासँगै न्याचुरोप्याथीसँग हातेमालो गरेर अगाडि बढ्दा नै रोग भएको अवस्थामा उपचार र रोगबाट बच्ने आधार पनि बनाउन सकिने चिकित्सकहरुको भनाइ छ ।

 

Leave A Comment