‘हार्नु के हो, अनुभव गर्दैछु’

सोमबार, २६ असार २०७४, १२ : ४१ अनिल यादव , Kathmandu
‘हार्नु के हो, अनुभव गर्दैछु’

अहिले चर्चामा रहेको गायनसम्बन्धी अन्तर्राष्ट्रिय फ्रेन्चाइजी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल’को उत्कृष्ट १८ मा पुगेर बाहिरिएका गायक हुन्– प्रताप लामा । उनी नेपालको चर्चित रियालिटी सो ‘नेपाली तारा’को विजेता थिए । नेपाल आइडलबाट बाहिरिएपछि चर्चामा रहेका प्रतापसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :


कहिलेकाहिँ हार पनि साह्रै फाप्ने रहेछ है !
त्यस्तै भइरा’छ । म हारेर आए पनि जितेको अनुभव भइरहेको छ । विश्वभरबाट फ्यानहरुले यति धेरै सान्त्वना र प्रेम दर्शाइरहनुभएको छ कि त्यो त मैले जित्दा पनि महसुस गरेको थिइनँ । मिडियाले फलो गरेको देखेर गज्जब लागिरहेको छ किनभने त्यति त म नेपाली ताराको विजेता हुँदा पनि भएको थिएन ।  

आइडलबाट यति चाँडै बाहिरिएकोमा सन्तुष्ट हुनुहुन्छ त ?
म यति चाँडै बाहिरिनुपर्ने हो जस्तो त लाग्दैन तर भोट कम आएका कारण बाहिरिएको हुँ । यसलाई मैले स्वीकार्नु पर्छ ।

तपाईं त नेपाल तारा भइसक्नुभएको व्यक्ति । फ्यान फलोइङ पनि राम्रै थियो, दर्शकले भोट चाहिँ किन दिएनछन्, हँ ?  
ठ्याक्कै त म भन्न सक्दिनँ तर कहिलेकाहिँ जस्तो देखिन्छ त्यस्तो नहुन पनि सक्छ । सबैले ‘यसलाई अलरेडी राम्रो भोट आउँछ’ भन्ने सोच्नुभएको पनि हुनसक्छ । अब एकैपल्ट फाइनलमा भोट हालौँला भनेर पनि कतिपयले सोच्नुभयो होला तर नेपाल आइडलमा पुगेपछि मेरो फ्यान पेजको लाइकचाहिँ बढेको छ है ! पहिले ३७ हजारजति थियो, अहिले ७० हजार बढी भइसक्यो ।

तपाईंलाई षड्यन्त्र गरेर चाँडै निकालियो भन्ने चर्चा पनि सुनियो नि ?
मलाई त षड्यन्त्र भएजस्तो लाग्दैन । यति ठूलो सोमा त्यसरी राजनीति नहुनुपर्ने हो । जे होस्, मेरो भोट कति आयो ? त्यति जान्न पाएको भए मन खुसी हुने थियो । यसको अर्थ म दुःखी भने छैन ।  

तपाईंलाई अहिले एकदमै धेरै सोधिएको प्रश्न फेरि मैले एकपल्ट सोधेँ भने नि ?
नेपाली तारा भइसकेको व्यक्ति फेरि किन नेपाल आइडलमा पुग्नुभयो ? भन्ने प्रश्न त होला नि !

हो, यही कारण तपाईंमाथि विभिन्नखाले टीकाटिप्पणी पनि भए । साँच्चै जान जरुरी थियो र ?
हो । धेरैले मलाई धेरै थोक भने । म आउट हुनुभन्दा अघिसम्म मलाई गाली गर्नेहरु धेरै थिए तर मैले गाली गर्नेहरुलाई पनि सम्मान गरेँ । सकरात्मक कुराले ढाक्न खोजेँ । अहिले तिनै गाली गर्ने प्रशंसकहरु मप्रति सकरात्मक पाएको छु । मैले जसरी हारलाई सहर्ष स्वीकारेको छु, त्यसलाई उहाँहरुले कदर गर्नुभएको छ । ‘म यसअघि तपाईंलाई मन पराउँदिनथिएँ, हारेपछिको तपाईंको व्यवहार र विचारले म तपाईंको फ्यान भएको छु’ भनेर म्यासेज पठाइरहेका छन् । धेरैले मलाई ‘कार र पैसाको लोभमा प्रताप नेपाल आइडल गएको’ आरोप पनि लगाए तर यो गलत हो । यहाँ त कलाकार मर्ने बेलामा पनि चन्दा उठाएर मर्नुपर्छ । त्यस्तो लोभ भएको भए त कलाकारहरु विदेश जान्थे होलान्, उतै बस्थे होलान् । मलाई के लाग्छ भने कलाकार सबैभन्दा बढी प्रेम र प्रशंसाको भोको हुन्छ । म नेपाल आइडलमा जाँदा मैले आफूलाई नेपाली ताराको विजेता सम्झिइनँ । न मैले आफूलाई कुनै ठूलो सेलिब्रिटी सम्झेँ । म त अरुजस्तै साधारण प्रतिस्पर्धी भएर गएको थिएँ । म जतिबेला पनि जस्तोसुकै राउन्डमा पनि फ्याँकिन सक्छु भन्ने कुराको हेक्का राखेर गएको थिएँ । एउटा प्रतिस्पर्धाको विजेता हुनु मात्र मेरा लागि पर्याप्त होइन । मलाई उचित लागेसम्म म यस्ता प्रतिस्पर्धाहरुमा भाग लिइरहनेछु । यस्ता प्रतिस्पर्धामा भाग लिँदा म आफूलाई अपमानित महसुस गर्दिनँ । हार्दा त झनै गर्दिनँ ।

उत्कृष्ट १८ बाट बाहिरिएपछि तपाईंको चर्चा झन् बढ्यो । वाइल्ड कार्ड इन्ट्री हुने सम्भावना छ कि छैन ?
मेरा प्रशंसकले ‘वाइल्ड कार्ड इन्ट्री हुनुपर्यो’ भनेर म्यासेज र कमेन्ट गरिरहेका त छन् तर म बाहिरिनुअघि नै आयोजकसँग कुरा हुँदा त्यस्तो व्यवस्था नभएको जानकारी गराइएको थियो । फ्यानहरुको करकरले मात्रै त त्यस्तो होला र ?

प्रसंग बदलौँ, गायक बन्ने तपाईंको सानैदेखिको लक्ष्य हो ?
होइन । खासमा मलाई यसमा कुनै सोख थिएन । जीवनमा धेरै हण्डर खाइसकेपछि मात्र म गायक बनेको हुँ । पढाइको सिलसिलामा काठमाडौं आइयो । गरिब किसानको छोरो । बाआमासँग पठाउने पैसा हुँदैनथ्यो । यहाँ त्यत्तिकै टिक्न गाह्रो । त्यसैले म पैसा कमाउनलाई विदेश गएँ । डेढ वर्ष अफगानिस्तान पुगेर रेस्टुराँमा काम गरियो । वेटरका रुपमा झाडुपोछा लाउने सबै काम गरिन्थ्यो । जाँदाखेरी लागेको साढे तीन लाख ऋण चुक्ता गरिसकेपछि गोजीमा ५०–६० हजार बोकेर म नेपाल फर्किएको हुँ । सानैदेखि म गीत गाउने गर्थें । सबैले स्वर राम्रो छ भन्थे । मेरो दाइ सूर्यकिरण लामा पनि नेपाली तारा सिजन दुईको सेकेन्ड रनरअप भइसक्नु भएको थियो । उहाँ गायक भएकाले उहाँका साथीहरुसँग चिनजान थियो । दाइकै साथीमार्फत मैले दरबारमार्ग (काठमाडौं) को नर्लिङ गजल रेस्टुराँमा गाउने मौका पाएँ । मेरो घर मोरङ भारतको सीमा नजिकै भएकाले हिन्दी गीत गाउन जान्दथेँ । यहाँ हिन्दी गाउनेलाई बढी पैसा आउने रै’छ । दाइहरुले ‘आज ब्याण्डको भोकलिस्ट छैन, आएर १० वटा गीत गाइदेऊ, यसो धान्देऊ भन्दै गाउन लगाउनुहुन्थ्यो । पछि गाउँदागाउँदै त्यतै मन भुलियो । काठमाडौंमा काम नगरी बस्न सकिँदैनथ्यो । त्यसैले आफूलाई टिकाउन रेस्टुराँमा नियमित गाउन थालियो । रातभरि गाइन्थ्यो । दिनभर सुतिन्थ्यो । यसरी गाउँदागाउँदै पाँच वर्ष बितिसकेछ । नेपाली तारा सिजन–२ मा अडिसन खुलेका बेला मेरा साथीहरुले मलाई ‘तैँले अडिसन दिनुपर्छ’ भनेर जबरजस्ती ठेलेर लगे । मैले पनि ट्राई हान्दिउँ न त भनेर गएको, पछि त विजेता भएर पो फर्किएँ !

रेस्टुराँतिर निकै राम्रा–राम्रा प्रतिभा गीत गाइरहेको भेटिन्छन् तर तिनीहरु व्यवसायिक ढंगले संगीतमा लागेको पाइँदैन, किन होला ?
त्यहाँ गीत गाउनेहरुको संसारै बेग्लै हुन्छ । नियमित आउने फ्यान (ग्राहक), रेगुलर पाइने टिप्स । त्यो संसारमा रमाइसकेपछि फुत्किनै गाह्रो हुन्छ । रातिको दुई–तीनबजे घर पुगिन्छ, दिउँसो १२–२ बजेसम्म सुतिन्छ । अनि फेरि ड्युटी जाने बेला भइहाल्छ । पैसा पनि राम्रै आउँछ । त्यही भएर त्यहाँ गाउनेहरु मूलधारको संगीतमा भेटिँदैनन् । सायद नेपाली ताराको विजेता नभएको भए म पनि अहिले रेस्टुराँमै गीत गाइरहेको हुन्थेँ ।

रेस्टुराँमा गीत गाउनेका दुःख चाहिँ के हुन्छन् त ?
नयाँ–नयाँमा त गाह्रो हुन्छ नि ! मलाई पनि सुरुसुरुमा म्युजिसियनहरुले खुब हेप्थे । कति रेस्टुराँले त अझैसम्म गाएको पैसै दिएका छैनन् । कति महिना त टिप्सकै भरमा काम गरियो । रेस्टुराँको साहुले तलबै नदिने । अनि के गर्ने त ? टिप्स पाइने आशाले भए पनि  ६–७ महिना तलबबिना काम गरियो ।  

नेपाली तारा भएको तीन वर्ष हुन लागिसक्यो तर तपाईंका कुनै पनि गीत ‘नोटिस्ड’ भएनन् नि ?
म कहिल्यै चर्चाको पछि लागिनँ । कहिले कसैको चाप्लुसी गरिनँ । म आफ्नो मनको राजा हुँ । जे सोच्छु, त्यही गर्छु । गीतहरु गाइरहेकै छु, निकालिरहेकै छु । म आफ्नो ढंगले म्युजिकमा केही नयाँ गर्न खोज्छु । दर्शकले डिस्को गीत मन पराउँछन् भनेर डिस्को नै गाउनतिर लाग्दिनँ । अहिलेसम्म मेरा गीतहरु हिट हुन सकेका छैनन्, यो सत्य हो । हिट हुने पनि समय आउला तर संघर्ष गर्न चाहिँ छाड्नु हुँदैन ।


अलिकति तपाईंको हेयर स्टाइलको चर्चा गरौं न, धेरैले तपाईंलाई कपालबाट चिनिहाल्छन् है ?
हो । हेयर स्टाइल मेरो पहिचान हो । रेस्टुराँ गाउँदैदेखि मैले कपाल खैरो बनाएको थिएँ ।  नेपाली तारामा सहभागी हुँदा पनि यस्तै थियो । जब मैले नेपाली तारामा जाँदा पहिलोपल्ट आफूलाई टिभीमा देखेँ, अरुभन्दा फरक पाएँ । सबैको कालो कपाल, मेरो खैरो । त्यहीँमाथि खैरो मनपर्ने कलर पनि हो । फरक देखिनका लागि पनि यस्तो हेयरस्टाइल बनाएको हुँ ।

तपाईंसँग अब जीत र हार दुवैको अनुभव छ । जित्दा के हुने रहेछ, हार्दा के ?
जित्दा पनि चर्चा भएको थियो, हार्दा पनि । नेपाली तारा भएपछि थुप्रै अवसर पाइयो । १५ वटाभन्दा बढी गीत रकेर्ड गर्ने मौका मिल्यो । १० वटाभन्दा बढी देशमा स्टेज प्रस्तुति दिने अवसर जु¥यो । देशव्यापी म्युजिक टुरमा जान पाइयो । अब हारेपछिको अवस्था अहिले महसुस गरिँदैछ । मलाई नराम्रो सोच्नेहरुले पनि राम्रा सोच्न थाल्नुभएको छ । हार्दाको सबैभन्दा फाइदाचाहिँ यही हो । अर्को कुरा हारेपछि विदेशबाट सांगीतिकको कार्यक्रमको अफर पनि आइरहेको छ । जापानको कुरा भइरहेको छ । एल्बमका लागि लगानी गरिदिन्छु भन्ने शुभेच्छुकहरु धेरै पाइरहेको छु । ‘तपाईं नेपाल आइडलबाट आउट हुनुभयो तर तपाईं हाम्रो लागि नेपाल आइडल हो । अब हामी तपाईंलाई यता ल्याएर लाइभ गीत सुन्न चाहन्छौं,’ भन्दै कार्यक्रमको अफर आइरहेको छ ।

तपाईंले दुई वटा रियालिटी शोमा भाग लिइसक्नुभयो । जाँदाजाँदै नढाँटी भनिदिनुहोस् न– रियालिटी सो कत्तिका रियल हुन्छन् ?
गाउने त रियल नै हो तर सोलाई मनोरञ्जनात्मक बनाउनका लागि केही फन्डाहरु गरिन्छन्, केही नाटकहरु रचिन्छन् । यो त विश्वव्यापी ट्रेन्ड नै हो नि ! निर्णायकको कुरा गर्दा चाहिँ त्यस्तो फट्याइँ नहोलाजस्तो लाग्छ ।

 

Leave A Comment