सद्भाव बाँड्दै ईद

बिहिबार, २३ असार २०७३, ०१ : ०० पुष्पराज जोशी , Kathmandu
सद्भाव बाँड्दै ईद

ईदको अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाहामा हिन्दू धर्म गुरुहरू पुगेर शुभकामना दिन्छन् भने हिन्दूहरूको दशैँ, तिहारमा मुस्लिम धर्मगुरु मौलानाहरू बागेश्वरी मन्दिरमा पुगेर शुभकामना साट्ने गर्छन् ।

दश वर्षयता नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाई हरेक वर्ष ईद–उल–फित्र (ईद)का अवसरमा नेपालगञ्जस्थित बीपी चोकमा पुग्छन् । उनी आफू हिन्दू धर्मावलम्बी भए पनि मुस्लिम समुदायको पवित्र महिना रमजानको रोजा (व्रत) समापनको दोस्रो दिन ईदका अवसरमा बीपी चोकस्थित ईदगाहामा पुग्छन् । मुस्लिम साथीभाइबीच अँगालो मार्दै बधाई दिन्छन् र ‘सेवई’ (प्रसाद) खाएर फर्किन्छन् । उनी मात्रै हैन, दशैँ र होलीमा नेपालगञ्ज पूmलटेक्राका सज्जाद अन्सारी पनि हिन्दू साथीभाइको घरमा गएर प्रसाद ग्रहण गर्छन् र एकआपसमा शुभकामना साटासाट गर्छन् ।
 अहिले नेपालगञ्जको चहलपहल छुट्टै छ । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेको कुल जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ मध्ये ९३ हजार २ सय ९८ मुस्लिम छन् । कुल जनसंख्याको १८ दशमलव ९८ प्रतिशत मुस्लिम रहेको नेपालगञ्जको माहोल ईदमय भएको छ । यहाँका मुस्लिम समुदायको घरमा एक महिना पूरै बिहानको खाना पाकेन । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा रोजा (व्रत) बस्दा उनीहरूको घरमा बिहानको खाना नपाकेको हो । घरका सबै सदस्य रोजा बस्दै आएका छन् । ईदका अवसरमा नेपालगञ्जको एकलैनी, ईदगाह रोडलगायत स्थानमा रमजानलाई चाहिने विशेष परिकारहरू बिक्रीका लागि राखिएका छन् । ‘अशक्त, बिरामी र बालबालिकालाई रोजा बस्न अनिवार्य हुँदैन । हरेक दिन सूर्य उदाउनुअघि खानेकुरा ‘सेहहरी’ खाएर सुरू हुने व्रत सूर्यास्तपछि सकिन्छ,’ बीपी चोक नेपालगञ्जका मोहम्मद जाहिद अन्सारीले भने । रोजा अवधिभर मुस्लिम धर्मावलम्बीहरू निराहार बस्नुपर्ने मौलानाहरू बताउँछन् । शरीर चोखो राखी दैनिक पा“च पटकसम्म नमाज पढ्ने र रातमा ‘तरावी’ नमाज पढ्ने चलन रहेको पूmलटेक्राका सज्जाद बताउँछन् । उनी भन्छन्, ‘रमजान पर्वले आत्मशान्तिका साथै भाइबन्धुत्वको सम्बन्ध कायम राख्नमा मद्दत पु¥याओस् भनेर रोजा बस्ने गर्छौं ।’ एक महिनासम्म रोजा बस्ने महिनालाई मुस्लिम समुदाय रमजान महिना भन्छन् ।  
रमजान महिनामा गरिब, दुःखी र असहायका लागि नराम्रो नहोस् भन्न अल्लाह (भगवान्) ले इस्लाम धर्ममा रमजानको व्यवस्था गरेको मुस्लिम समुदाय बताउँछन् । यस अवधिभर मुस्लिम समुदायले प्रतिव्यक्ति सवा दुई केजी गहुँ दान दिने चलन छ । गहुँ दिन नसक्नेले भने ६० रूपैयाँ दान गर्नुपर्ने हुन्छ । गहुँ दिन नसक्ने र आम्दानीसमेत नभएका व्यक्तिले दिएको ६० रूपैयाँ दानलाई ‘फित्रा’ भनिने गरिन्छ ।
यस्तै साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका व्यक्तिले आफ्नो सम्पत्तिको अढाई प्रतिशत दान (जकात) असहाय तथा गरिब गुरुवालाई बाँड्ने चलन छ । उनका अनुसार मुस्लिम समुदायको कुनै सदस्यले आपूmले कमाएको नगद रकमको अढाई प्रतिशत गरिब, असहायलाई दिनुपर्छ । ३० दिनसम्म रोजा चलेपछि अन्तिममा ईदको चा“द अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट ईदगाहमा पुगेर मुस्लिम समुदायहरू सामूहिक नमाज पढ्छन् । यस अवसरमा नेपालगञ्जको बीपी चोकस्थित ईदगाहमा भीड लाग्ने गर्छ । ईदका दिन एकआपसमा अँगालो मारेर शुभकामना आदानप्रदान गर्ने चलन छ । यही समयमा मुस्लिम समुदाय एकआपसमा मीठो परिकार सेवई खाने र खुवाउने गर्छन् ।  
रमजानको समयमा दिनभर पाँच पटक नमाज र राति ९ बजेपछि ११ बजेसम्म २० पटक तराबी नमाज पढ्नुपर्छ,’ बीपी चोकका जाहवेद अन्सारीले भने । मुस्लिम धर्मग्रन्थहरू रमजान महिनाभर पढ्नुपर्ने नियम रहेको उनी बताउँछन् । नेपालगञ्जको बीपी चोकस्थित ईदगाहमा निर्मित कादरी मस्जिदमा पनि विशेष रूपमा तराबी नमाज पढ्ने गरिएको छ । मुस्लिम समुदायमा रोजा बसेको समयमा गरिब र असहायलाई सहयोग गरे ७० गुणा बढी फल मिल्ने विश्वास रहिआएको छ । ‘रोजा बसकेको २६ औँ दिन ‘रमजान इवादद’ (रातभर जागराम) बस्नुपर्छ,’ जाहवेदले भने । इवादद बसेको रातभर कुरान, नमाज पढ्ने गरिन्छ । सोही अवसरमा अल्लाहका नाममा पूजाआजा गर्ने चलन रहेको उनी बताउँछन् । एक महिनासम्म गर्मी, भोक, तिर्खा, सहनु दिनको पाँच पटक नमाज पढनु, नराम्रा कामबाट बच्नु, झुटो नबोल्नु, नराम्रो वस्तुहरू नहेर्नु, त्यस्तो व्यक्तिले ईदको दिन अल्लाहबाट उपहार पाउनुको मतलब उसले गरेको गल्तीलाई अल्लाहले माफ गरिदिन्छ भन्ने विश्वास रहेको बताउँदै जाहवेदले भने, ‘रोजा हरेक बालबालिका, महिला, पुरुषमाथि अनिवार्य रहेको छ । यदि कुनै व्यक्ति एकदमै बिमारी भई रोजा बस्नै नसक्ने अवस्थामा छ भने उसले एक महिनासम्म एक गरिब व्यक्तिलाई खाना खुवाउनु पर्छ । बरु, उसले खानाको सट्टामा पैसा पनि दिन सक्छ ।’  
नेपालगञ्ज नगरपालिकामा मुस्लिमको जनसंख्या बाक्लो छ भने अरू केही गाविसमा यो समुदायको बस्ती रहेको छ । मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको नेपालगञ्जमा पछिल्लो समयमा धार्मिक सहिष्णुता बढ्दै गएको छ । एक दशकअघि हिन्दू–मुस्लिम साम्प्रदायिक अवस्था रहेको नेपालगञ्जमा पछिल्लो समय चाड पर्वमार्फत सद्भाव आदानप्रदान गर्ने चलन बढेको छ । ईदको अवसर नेपालगञ्जको बीपी चोकमा रहेको ईदगाहामा हिन्दू धर्मगुरुहरू पुगेर शुभकामना दिन्छन् भने हिन्दूहरूको दशैँ, तिहारमा मुस्लिम धर्मगुरु मौलानाहरू बागेश्वरी मन्दिरमा पुगेर शुभकामना साट्ने गरेको पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष चौलागाई बताउँछन् ।  उनले भने, ‘हिन्दू–मुस्लिम धर्मगुरुहरूले मन्दिर र मस्जिदमै पुगेर शुभकामना दिने चलनले धार्मिक, सामाजिक सद्भाव र सहिष्णुताको बलियो नमुना देखिएको छ नेपालगञ्जमा ।’
एक समुदायले अर्को समुदायको धार्मिक आस्थामा सहयोग गर्ने गरेको बताउँदै मुस्लिम साहित्यकार अफ्ताक संघर्षले भने, ‘रोजा समापनको भोलिपल्ट पर्ने इदुल फित्रमा हिन्दू, पहाडिया समुदायका साथीभाइबीच बसेर सेवई खाने र एकआपसमा शुभकामना बाँड्ने गरिएको छ ।’ पछिल्लो समयमा मुस्लिम र गैह्र मुस्लिमबीच सम्बन्ध प्रगाढ बनेको उनी बताउँछन् । नेपालगञ्जमा तमामौ मुस्लिम र हिन्दू समुदायबीच बिहेवारीसमेत चलेको छ । इदुल फित्रका दिन नेपालगञ्जमा हिन्दू धर्मगुरुले मुस्लिम धर्मगुरु मौलानालाई भेटेरै या फोनमार्फत शुभकामना दिने गरिएको छ । पछिल्लो समयमा विभिन्न धर्मका धर्मगुरुहरू संगठित भएर धार्मिक सहिष्णुता बढाउन एकअर्काको धार्मिक पर्वमा शुभकामना दिने गरेका छन् ।
धार्मिक द्वन्द्व नचर्कियोस् भनेरै नेपालगञ्जका हिन्दू, मुस्लिम, बौद्ध, सिख, इसाई धर्म गुरुहरूले अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च गठन गरेका छन् । धर्म गुरुहरू सदस्य रहेको मञ्चमार्फत नै उनीहरूले सबैको धार्मिक पर्वहरूमा सामूहिक रूपमा शुभकामना आदान प्रदान गर्दै आएको पत्रकार चौलागाई बताउँछन् ।
बाँके जिल्लामा हिन्दू, मुस्लिम, बौद्ध, सिख, इसाई गरी मुख्य पाँच धार्मिक समुदायको बसोवास छ । यहाँका धार्मिक समुदायबीच परम्परागत रूपमा आपसी समझदारी र सद्भावना रहिआएको छ । जिल्लाको सदरमुकाम नेपालगञ्ज नगर क्षेत्रमा हिन्दूहरूका लागि बागेश्वरी मन्दिर, हुनुमान मन्दिर, रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, रामलीला मैदान छन् भने सिख समुदायका लागि सुर्खेतरोडमा गुरूद्वारा छ । मुस्लिम समुदायका लागि एकलैनी बजारभित्र दारुल–उलुम–पैmजुन्नवी–जामा मस्जिद, बीपी चोकको इदगाह, देवा फूलबारी मस्जिद, धम्बोजी मस्जिद, जानु मस्जिद (कब्रस्तान) छन् । बौद्ध धर्मावलम्बीका लागि बागेश्वरी मन्दिर नजिकै बौद्ध मन्दिर र हर्षकृत महाविहार छ । इसाई धर्मावलम्बीहरूका लागि बीपी चोकदेखि पश्चिमपट्टि ज्योति चर्च छ । यहाँका धार्मिक संस्थाहरूबीच आपसी कलह र द्वन्द्व नभई धार्मिक सहिष्णुता कायम छ ।

 

Leave A Comment