‘क्यान्डी क्रस’को डरलाग्दो लत

बिहिबार, ०६ जेठ २०७३, ०२ : २९
‘क्यान्डी क्रस’को डरलाग्दो लत

‘क्यान्डी क्रस’को डरलाग्दो लत

 

फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको ‘नोटिफिकेसन’लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन ? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस् । किनकि, तपाईं ठूलो र डरलाग्दो लतमा फस्दै हुनुहुन्छ ।
लागुऔषध र जुवातासजस्तै लत लगाउने बन्न पुगेको छ, क्यान्डी क्रस । यो खेलमा घोत्लिएर घण्टौँ बिताउने, खेलमा लीन हुने धुनमा शारीरिक श्रम कम गरेर स्वास्थ्य बिगार्नेदेखि क्यान्डी क्रस खेल्नकै निम्ति लाखौँ रुपैयाँ खर्चिनेसम्मका क्यान्डी क्रस दुव्र्यसनीका संख्या संसारभरि बढ्दै छ । यसको दुव्र्यसन भयावह रूपमा बढ्दै गएकाले विभिन्न देशमा क्यान्डी क्रसको लतबाट व्यक्तिलाई मुक्त गर्नकै लागि पुनःस्थापना केन्द्र स्थापना हुने क्रम धमाधम बढ्दै छ । र, यी पुनःस्थापना केन्द्रमा भर्ना हुनेहरूमध्ये महिला बढी छन् । किनकि, क्यान्डी क्रसले महिलालाई बढी दुव्र्यसनी बनाउने गरेको छ ।  

डरलाग्दो लत
बेलायतको एउटा कम्पनीमा निर्देशकको हैसियतले काम गर्दै आएकी ४४ वर्षीया लुसी बर्कले क्यान्डी क्रसकी खुंखार अम्मली हुन् । यसको अम्मलका कारण उनी अहिले मेरुदण्ड दुख्ने रोगले पीडित छिन् ।
‘सप्ताहान्तमा त म लगातार १० घण्टासम्म क्यान्डी क्रस खेल्ने गर्छु । अरू बेला पनि ध्यान यसैमा गइरहेको हुन्छ । कहिले फुर्सद मिल्छ र क्यान्डी क्रसमा नयाँ ‘च्यालेन्ज’ फेस गरूँ भन्ने भइरहन्छ । आइप्याडमा निहुरिएर लगातार क्यान्डी क्रस खेल्ने हुँदा ढाड दुख्ने समस्याले बेस्कन गाँजेको छ,’ उनले भनिन् । महिलाहरूले मात्रै हरेक दिन क्यान्डी क्रस खेलेर चार लाख पाउन्डभन्दा बढी खर्च गर्ने गरेका छन् ।
बेलायतको एउटा बैंकमा काम गर्ने स्टेफ ब्रोफी पनि क्यान्डी क्रसकी अम्मली हुन् । पाँच साताअघि उनले क्यान्डी क्रस खेल्न सुरु गरेकी थिइन् । यति छिट्टै उनलाई यो खेलले अम्मली बनायो । अहिले उनी प्रतिदिन आठ घण्टा क्यान्डी क्रस खेलेर बिताउने गर्छिन् ।
‘घरबाट अफिस नपुगुञ्जेल बाटोमा क्यान्डी क्रस खेल्ने गर्छु । फर्किंदा पनि त्यसै गर्छु । भात पकाउँदै गर्दा, टीभी हेर्दै गर्दा, निदाउनुअघि र बिहान उठेपछि स्मार्ट फोनमा क्यान्डी क्रस खेल्छु । यसको लत यतिसम्म लागेको छ कि अफिसमा पनि मौका मिल्नासाथ खेलिहाल्छु । नखेलेको बेला पनि मेरो मन त्यसमै गइरहेको हुन्छ,’ उनले भनिन् ।

हङकङमा धेरै लोकप्रिय
क्यान्डी क्रस ‘पजल भिडियो गेम’कै एउटा रूप हो, जुन किङ डिजिटल कम्पनीले बनाएको हो । सन् २०१२ मा सार्वजनिक भएको यो गेम यति छिट्टै विश्वव्यापी भयो कि यसले स्मार्ट फोन, ट्याब्लेट र विन्डोमा खेलिने सबै खेललाई पछि पारिदिएको छ ।
सार्वजनिक भएकै वर्ष क्यान्डी क्रसलाई एक करोड मानिसले डाउनलोड गरे । सन् २०१३ मा सार्वजनिक एक रिपोर्टअनुसार हरेक दिन ९ करोड ३० लाख मानिस दिनहुँ क्यान्डी क्रस खेल्ने गर्छन् । र, यसरी खेलेबापत खेल निर्माण कम्पनी किङ डटकमलाई प्रतिदिन आठ लाख डलर आम्दानी हुने गर्छ ।  
सन् २०१३ को जुलाईसम्ममा आईओएस स्टोरबाट मात्रै क्यान्डी क्रसले करिब साढे छ लाख अमेरिकी डलर आम्दानी गरेको थियो । सोही वर्ष क्यान्डी क्रस फेसबुक, आईओएस र एन्ड्रोइड उपकरणमा ५० करोड पटक ‘इन्सटल’ गरिएको थियो ।  यो खेल संसारभरि लोकप्रिय भए पनि हङकङमा यतिबिघ्न लोकप्रिय भयो कि हङकङका सातमध्ये एक व्यक्ति क्यान्डी क्रसको अम्मली रहेको पाइयो ।

कसरी फैलियो दुव्र्यसन ?
क्यान्डी क्रस खेल्न साह्रै सजिलो छ । एउटै रङका क्यान्डी ‘म्याच’ गराएर नयाँ ‘लेभल’मा पुग्न सकिन्छ, जुन भर्खरै स्कुल जान थालेको बालकले पनि खेल्न सक्छ । सुरुका केही ‘लेभल’ खेल्न असाध्यै सजिलो हुन्छ, जसकारण लेभल पार गर्दै जाँदा खेल्नेको मन आत्मसन्तुष्टि र आत्मविश्वासले पूर्ण हुँदै जान्छ  । लेभल पार गर्दै गएपछि अप्ठेरो चरण आउँदै जान्छ । नयाँ चरण आउने क्रम रोकिँदैन, जसले क्यान्डी क्रस प्रयोगकर्तालाई कहिल्यै नटुंगिने माखेसाङ्लोमा बन्दी बनाइदिन्छ र व्यक्तिमा यसको दुव्र्यसन भरिदिन्छ ।
क्यान्डी क्रस खेल्नेहरूको शरीरमा आउने रासायनिक परिवर्तनको अध्ययन गर्दा खेल खेल्दै गर्दा उनीहरूको दिमागमा डोफामिन नाम गरेको न्युरोकेमिकल उत्सर्जन हने र यसले व्यक्तिलाई दुव्र्यसनमा लगाउने  गरेको देखिएको थियो ।
खेल उत्पादकका अनुसार क्यान्डी क्रस खेलमा व्यक्तिको क्षमताभन्दा पनि भाग्य हाबी हुन्छ । खेलाडीको ‘स्विप’ गर्ने क्षमताले भन्दा पनि स्क्रिनमा कस्ता रङका क्यान्डी देखा पर्छन् भन्ने कुराले बढी महŒव राख्छ । अर्को ‘लेभल’मा पुग्दा कस्तो खालको चुनौती आइलाग्छ भन्ने भेउसम्म पनि पाइँदैन । यसले गर्दा क्यान्डी क्रसका लेभलले रहस्याका नयाँ पत्र क्रमशः उघार्दै जान्छन् । र, यही विशेषताले गर्दा यो गेम बढी ‘एडिक्टिभ’ बन्न पुगेको छ ।  

के भन्छ मनोविज्ञानले ?
बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेका स्टिभ सम्र्यानले ‘ग्याम्बलिङ’बारे अनुसन्धान गरिरहेका छन् । ‘जब हामीलाई महसुस हुन्छ कि हामीले चाल्ने कदमले खेलको परिणामलाई निर्धारण गरिरहेको हुन्छ, तब हामी दुव्र्यसनमा फसिरहेका छौँ भन्ने महसुस गरे हुन्छ । क्यान्डी क्रसमा कहिलेकाहीँ हाम्रो कदमले परिणाम निर्धारण पनि गर्दो हो, तर वास्तवमा यस्तो हुँदैन । हामी खेलमाथि हाबी छौँ भन्ने भ्रम यसले सिर्जना गरिदिन्छ । एडिक्सनको कारण यही भ्रम हो,’ उनी भन्छन् ।
क्यान्डी क्रस उत्पादन कम्पनीले भने यसलाई ‘ग्याम्बलिङ’ मानेको छैन । ‘यो साधारण खेल हो, जुन सिक्न सजिलो छ तर यसमा महारथ हासिल गर्न गाह्रो छ,’ कम्पनीले भनेको छ ।

महिलामा बढी समस्या
क्यान्डी  क्रस खेल्नेमध्ये महिला बढी छन् । त्यही भएर यसको दुव्र्यसनले पनि महिलालाई बढी गाँज्ने गरेको छ । गेम उत्पादकका अनुसार महिलालाई केन्द्रित गरेर गेम डिजाइन गरिएकाले यो महिलामाझ बढी लोकप्रिय भएको हो ।
स्क्रिनमा अहिलेसम्म खेलिँदै आएका प्रायः सबै खेल युवा तथा किशोरहरूलाई लक्ष्य गरी डिजाइन गरिएका थिए । क्यान्डी क्रसले भने २५ देखि ५५ वर्ष उमेर समूहका महिलालाई लक्ष्य गरेर गेम डिजाइन गरेको हो । खेल सार्वजनिक गर्नुअघि यसको उत्पादकले यो उमेर समूहका महिलामाझ  क्यान्डी क्रसको परीक्षण गरेको थियो । परिक्षणमा खरो उत्रिएपछि यसलाई सार्वजनिक गरिएको थियो ।
पुरुषका लागि गेम बन्दै आएकामा आफूहरूको रुचिलाई ध्यानमा राखेर नयाँ गेम आएपछि महिलाहरू यसप्रति ह्वात्तै आकर्षित भएका थिए । क्यान्डी क्रस उत्पादकले यो खेल २५ देखि ५५ वर्ष बीचका महिलामाझ बढी लोकप्रिय भएको स्वीकार गरेको छ । क्यान्डी क्रसको कुलतमा फसेर सुधार गृहमा राखिएकामध्ये पनि महिलाको संख्या उल्लेख्य पाउने गरिएको छ । यति हुँदाहुँदै पनि किङ डिजिटल इन्टरटेनमेन्टले यो खेल धेरै हदसम्म लैंगिक समानतामा आधारित रहेको जनाएको छ ।

(एजेन्सीको सहयोगमा)
 

 

Leave A Comment