बाल्यकालमा फर्काउने ‘दाँतको डोब’

बिहिबार, २३ असार २०७३, ०१ : ३३ शुक्रवार , Kathmandu
बाल्यकालमा फर्काउने ‘दाँतको डोब’

सानो छँदा साथीसँग मिलेर हिरो–गुण्डा खेल्नुभएको छ ? गुलेली हान्नुभएको छ ? कबड्डी खेल्नुभएको छ ? नाचगान गर्नुभएको छ ? यदि यीमध्ये एउटा केही गर्नुभएको छ भने पनि मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘दाँतको डोब’ले तपाईंलाई आफ्नोपन महसुस गराइदिन्छ । बाल्यकालमा फर्काइदिन्छ तपाईंलाई । आफ्नो दौतरीसँग हुने शत्रुतापूर्ण मित्रताको स्मरण गराइदिन्छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो नाटक मण्डलामा पुनःमञ्चन भएको हो । अघिल्लो वर्ष यो थिएटर भिलेजमा मञ्चन भएको थियो । आफ्नो जीवनको कथालाई खगेन्द्रले यो नाटकमार्फत भन्न खोजेका छन् । ‘जीवनमा कतिपय कुरा यस्ता हुन्छन्, जुन मुखले भनेर वा लेखेर मात्र भन्न सकिन्न । भनेर वा लेखेर धीत नमर्ने खालका कुरालाई म नाटक बनाउँछु । त्यसैले होला आजसम्म मैले अरू कुनै लेखकले लेखेका नाटक निर्देशन गरेको छैन्,’ खगेन्द्र भन्छन्, ‘म कमजोर निर्देशक भएकाले अरूले लेखेको नाटक निर्देशन गर्न मलाई डर लाग्छ ।’

यो नाटकमा दुईजना शत्रुवत् सम्बन्ध भएका बालक लोकनाथ र हरिप्रसादको मित्रताको कथा छ । एक घण्टा लामो नाटकमा यी दुईबीचको झगडा, प्रेम, बदमासी सबै देख्न पाइन्छ । सुरुसुरुमा हँसाउने नाटकले अन्त्यतिर दर्शकलाई भावुक बनाइदिन्छ । हरिप्रसाद  बिरामी भएपछि नाटकले अर्के मोड लिन्छ । हरिप्रसादलाई सधैँ शत्रु ठान्ने लोकनाथको आँखामा पनि आँसु झर्छ । कसरी र किन झर्छ ? त्यसका लागि चाहिँ नाटक हेर्न नाटकघर पुग्नैपर्छ ।

नाटकमा अनोज पाण्डेले लोकनाथको र प्रकाश दाहालले हरिप्रसादको भूमिका निर्वाह गरेका छन् । उनीहरूको काम सराहनीय छ । त्यस्तै, दोहोरो भूमिका निर्वाह गरेका रेनुका कार्की र दीपिका ढकालको अभिनय पनि राम्रो छ । नाटकमा विनिता थापामगर, राजेश सिटौला, कमल देवकोटा, रोहित पौडेल, सुनु राई आदि कलाकारको अभिनय छ । सबै कलाकालको अभिनय सुन्दर लाग्छ ।

नाटकमा एउटै लाइट प्रयोग गरिएको छ । नाटक अवधिभर कोही पनि स्टेजबाट हराउँदैन । दोहोरो चरित्र निर्वाह गरेकाले पनि स्टेजमै दर्शकले ख्याल नगर्ने गरी कपडा फेर्छन् जुन तारिफयोग्य लाग्छ । दिलीप रानाभाटको सहनिर्देशन रहेको नाटक साउन २ गतेसम्म चल्नेछ ।

 

Leave A Comment