मदन पुरस्कार : दाबी आ–आफ्नै

बिहिबार, ०५ साउन २०७४, १२ : ५८ शुक्रवार , Kathmandu
मदन पुरस्कार :  दाबी आ–आफ्नै

मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूची छनोट गरेलगत्तै छनोटमा परेका लेखकहरुमा उत्साह बढेको छ । पुरस्कारको दाबीका लागि गुठीमा प्राप्त भएका एक सय एक सय ९५ पुस्तकमध्ये  छनोट समितिबाट उत्कृष्ट नौ पुस्तकमा आफ्नो कृति परेसँगै पुस्तकका लेखकमा उत्साहसँगै पुरस्कार आफैँले पाउने विश्वास र आशा पनि पलाउन थालेको छ । मदन पुरस्कार गुठीले ९ कृतीको सूची अंकरादी क्रममा राखेको छ । प्रस्तुत छ, आफ्नो पुस्तक किन उत्कृष्ट छ भन्ने लेखकहरुको

तर्क
कृति : गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा

लेखकः पुरुषोत्तमलोचन श्रेष्ठ
मदन पुरस्कार गुठीको छनोटमा परेकामध्ये उत्कृष्ट नौ पुस्तकको सू्चीमा यो पुस्तक आकारिक हिसाबले पहिलो नम्बरमा छ । पूर्णतया अध्ययनमा केन्द्रित यस पुस्तकमार्फत् लेखकले दर्जनौँ नयाँ कुरा पत्ता लगाएर प्रस्तुत गरेका छन् । पुस्तक विशेषगरी सम्पदाका विषयमा अध्ययन गरी लेखिएको छ । लेखक श्रेष्ठ छनोटमा परेका नौ पुस्तकमा आफ्नो पुस्तकमात्र गैर साहित्य र अनुसन्धानमा आधारित भएकाले पुरस्कार आफैँले पाउने विश्वास व्यक्त गर्छन् । पुस्तकमा आफूले कतिपय विगतका दाबीलाई समेत गलत साबित गरिदिएकाले आफ्नो अध्ययन र परिश्रमको उचित मूल्याङ्कन हुने उनको विश्वास छ ।  श्रेष्ठले अन्वेषणमा आधारित झन्डै एक दर्जन पुस्तक लेखेका छन् ।
कृति :तपन
लेखक : शरद पौडेल
छनोट सूचीको तेस्रो स्थानमा परेको तपन सामाजिक जीवनमा आधारित उपन्यास हो । यसका लेखक पौडेल आफूले पुरस्कार दाबीका लागि आवेदन नदिए पनि पुस्तक छनोटमा परेकोमा आश्चर्यसँगै उत्साहित पनि छन् । उनी भन्छन्, ‘मैले यस पुरस्कारका लागि दाबी गरेको होइन तर पनि पुस्तक उत्कृष्ट नौ नम्बरभित्र परेको सुन्दा खुसी नै छु ।’ समाजको पिँधमा परेका, पिछडिएका तथा दलितहरुको व्यथा एवं सपनालाई पुस्तकले समेटेकाले पुस्तकको उचित मूल्यांकन भएमा आफू खुसी नै हुने उनको भनाइ छ । करिब एक दर्जन साहित्यिक पुस्तक लेखेका पौडेलको तपन उपन्यास ‘लिखे’ उपन्यासको यो सिक्वेल हो ।
कृति : शुक्रराज शास्त्रीको चस्मा
लेखक: राजेन्द्र पराजुली
राजनीतिक कथा लेखनमा सिपालु साहित्यकार राजेन्द्र पराजुलीको पुस्तक मदन पुरस्कार गुठीको छनोटमा नवौँ नम्बरमा परेको छ । तपाईंको पुस्तकले पुरस्कार पाउनुपर्छ भन्ने दाबी के हो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मलाई थाहा छैन र चासो पनि छैन । मित्र तथा शुभचिन्तकले कथा राम्रो छ, पुस्तक उत्कृष्ट ९ मा परेको छ भन्दै बधाई दिइरहेका छन् । त्यही हो ।’
कृति : छाउघर
लेखक : राज सरगम
छाउपडी प्रथाको उन्मूलनका पक्षमा लेखिएको उपन्यास छाउघरका लेखक सरगम आफ्नो पुस्तक अन्तिम नौ नम्बरमा पर्नुलाई नै आफूले उठान गरेको विषयको सम्मानका रुपमा हेर्छन् । वर्तमान परिवेशमा पनि चुनौती बन्दै गइरहेको छाउपडीका विषयमा आफूले पुस्तक लेखेको बताउने उनी भन्छन्, ‘मैले जुन मुद्दा उठाएको छु त्यस हिसाबले पुरस्कार पाउनुपर्छ भन्ने मेरो भनाइ हो ।’  
कृति : दोहाको सीधा उडान
लेखक : जय छाङछा
लेखक छाङछा नियात्रा विधाले लामो समयसम्म पुरस्कार नपाएको र आफ्नो नियात्रा पृथक् र खोजीमा आधारित भएकाले पुरस्कार आफैँले प्राप्त गर्ने विश्वास गर्छन् । आफूले नियात्रामा स–साना कुरालाई पनि न्याय दिएको र यथार्थवादी नियात्रा भएकाले आफ्नो कृतिमाथि न्याय हुने उनको अपेक्षा छ ।
कृति : धृतराष्ट्र
लेखक : घनश्याम कँडेल
लेखक कँडेल आफ्नो खण्डकाव्यमार्फत् आफूले महाभारतलाई पुनव्र्याख्या गरेको दाबी गर्दै पुरस्कारका लागि आफ्नो कृति योग्य रहेको बताउँछन् । आफूले महाभारतलाई अहिलेको जीवनसँग जोड्न खोजेको र काव्यमार्फत् अपाङ्गका समस्यालाई सशक्त ढंगले केलाउन खोजेकाले आफ्नो कृति पुरस्कारका लागि छनोट हुने विश्वास व्यक्त गर्छन् ।
कृति : प्रतिनायक
लेखक : हरि अधिकारी
अधिकारीलाई प्रतिनायक कथा संग्रहले आफ्नो प्रतिनिधित्व गर्ने बताउँछन् । उनी भन्छन्, ‘पुरस्कार मैले किन पाउने भनेर म आफैँले भन्दा पनि छनोट समतिले नै भन्न सक्छ । किनभने त्यसमा केही विशेषता भएरै झण्डै दुई सय पुस्तकबाट छनोट भएको होला ।’ अधिकारी आफ्ना कथाले विभिन्न कालखण्ड र विषय र परिवेशलाई समेट्ने बताउँछन् ।
कृति : म स्त्री अर्थात् आइमाई
लेखक : सीमा आभास
कृति : सगरमाथाको गहिराइ
लेखक : नवराज पराजुली
लेखक आभास र पराजुलीसँग प्राविधिक कारणले सम्पर्क हुन नसकेकाले उहाँहरुको भनाइ राख्न असमर्थ भएका छौँ ।

Leave A Comment