‘इमोसन नै मेरो हतियार’

सोमबार, ०९ साउन २०७४, १२ : ०४ शुक्रवार , Kathmandu
‘इमोसन नै मेरो हतियार’

नेपाली फिल्मका चल्तीका निर्देशकमध्ये पर्छन्– सुदर्शन थापा । उनी सुरुमा कलाकार थिए, पछि निर्देशक भए । १० वर्षअघि टेलिसिरियल ‘दलन’मा उनले अभिनय गरेको ‘मानव’को भूमिका अझै पनि दर्शकले बिर्सेका छैनन् । सुदर्शनले ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘प्रेम गीत’, ‘धन्दा’ लगायतका फिल्म निर्देशन गरेका छन् । अहिले हलमा उत्साहपूर्वक प्रदर्शन भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु’को निर्देशक थापासँग अनिल यादव र पुष्पा थपलियाले गरेको अन्तरंग कुराकानी :

आफूले निर्देशन गरेको फिल्मले हलमा राम्रो व्यापार गरिरहेको खबर आउदा कस्तो महसुस हुँदैछ ?
यो त मेरा लागि सबैभन्दा खुसीको क्षण हो नि ! करिब दुई वर्षको समय मैले यही प्रोजेक्टका लागि खर्चिए, फिल्म राम्रो बनाउनुपर्ने बाध्यता पनि थियो । यसअघिको फिल्म ‘प्रेमगीत’लाई दर्शकले रुचाएपछि दर्शकको अपेक्षा पनि बढेको थियो । मैले धेरै मिहिनेत गरेर यो फिल्म बनाएँ । त्यही मिहिनेत अहिले दर्शकले मन पराइरहनुभएको छ, खुसी लागिरहेको छ ।

दर्शकले फिल्मको तारिफ गरिरहेका बेला तपाईचाहिँ फिल्मभित्रको कमजोरी औंल्याइदिनुस् न, पक्कै पनि भेट्नुभएको होला ?  
आफूले बनाएको फिल्म आफैँलाई शतप्रतिशत राम्रो लाग्छ नि ! त्यही पनि केही कुरामा अझै मिहिनेत गरेको भए झन् राम्रो हुन्थ्यो कि भन्नेचाहिँ हुन्छ । जस्तैः एउटा दृश्यमा केटा–केटीको हातमा लगाइएको हतकडी अलि सजिलो पाराले नै खोलियो कि भन्ने महसुस मलाई भएको छ । त्यसलाई फेरि सुट गरेर अझ ‘कन्भिन्सिङ’ बनाएको भए हुन्थ्यो !
तपाईंले ‘धन्दा’, ‘चंखे संखे पंखे’ जस्ता फरक जन्राको फिल्म पनि बनाउनुभयो तर चलेनन् । तपाईंलाई लभस्टोरी फिल्म मात्र फाप्ने हो ?
अब त्यस्तै भन्नुपर्ला । दर्शकले नै प्रेमकथामा आधारित फिल्म मात्र मन पराइ दिएपछि यस्तै फिल्म मात्र फापेजस्तो देखियो । मैले बनाएका ‘मेरो एउटा साथी छ’, ‘के यो माया हो’, ‘प्रेम गीत’ र अहिले आएर ‘म यस्तो गीत गाउँछु’ सबैले राम्रै व्यापार ग¥यो । बीचमा अरुखाले फिल्म पनि गरेँ तर दर्शकले हेरिदिएनन् ।

तपाईंमाथि अरुको फिल्मबाट नक्कल या जोडजाड गरेर फिल्म बनाउनुहुन्छ भन्ने आरोप पनि छ नि !
मैले मेरो पहिलो फिल्म ‘मेरो एउटा साथी छ’का बेला फिल्म रिलिज गर्नुअघि नै कोरियन फिल्म ‘मिलेनियर्स फस्ट लभ’बाट प्रभावित भएको भनेर सार्वजनिक रुपमा भनेको थिएँ तर त्यसबाहेक कुनै पनि फिल्म यहाँबाट चोरेको, यहाँ नक्कल गरेको भनेर कसैले भन्छ भने तर्कसहित मलाई भनिदिनुप¥यो, बाहिर कराएर मात्र भएन । हो, केहि समीक्षकले अग्र्यानिक फिल्म बनाएन भनेको सुनेको छु तर अग्र्यानिक भनेको के हो ? त्यसको परिभाषा मैले अहिलेसम्म पाउन सकेको छैन । सहरको कथा र रहनसहनचाहिँ अग्र्यानिक होइन ? पुराना र थोत्रा कपडा लगाएको, खेतमा काम गरेको, दुई छाक खान नपाएको नेपाली देखाउँदा मात्र अग्र्यानिक हुन्छ ? यदि त्यस्तो हो भने ‘टाइटानिक’ फिल्मलाई के भन्ने ? नक्कलकै कुरा गर्दा, यदि मेरो एउटा साथीले देब्रे हातले भात खान्छ र मैले पनि देब्रेले नै खाएँ भने मैले साथीको कपी गरेको भन्न मिल्छ ?

तपाईं फिल्म समीक्षकलाई रुचाउनु हुन्न हो ?
त्यस्तो होइन । म समीक्षकलाई धेरै रुचाउँछु । उनीहरुले गाली गरे पनि मैले कहिल्यै फोन गरेर धम्क्याएको वा स्पष्टीकरण दिएको छैन । अर्को कुरा, म बहुसंख्यक दर्शकका लागि फिल्म बनाउँछु, १० जना समीक्षकका लागि मात्र हैन । दर्शकले मेरो फिल्म हेरिदिए, त्यसलाई म सफल ठान्छु, हेरिदिएनन् भन्ने फिल्म राम्रो बनेन छ भनेर चित्त बुझाउँछु । त्यसैले मलाई समीक्षकसँग केही लिनुदिनु छैन, ‘कानो गोरुलाई औंशी न पूर्णे’ भनेजस्तै ।

पछिल्लो समय नेपाली फिल्ममा आँशु धेरै बिकिरहेको हो ? सबैले फिल्ममार्फत दर्शक रुवाउन खोजिरहेका छन् नि ?
म फिल्ममा इमोसन खोज्छु । फिल्ममा इमोसन मेरो हतियार हो । त्यसैले म कुनै पनि फिल्ममा काम गर्दा कथाको इमोसनलाई एकदमै ख्याल गर्छु । जहाँसम्म फिल्ममा आँशु धेरै बिकिरहेको कुरा छ, त्यो भनाइ ठीकै होला तर अहिलेको मेरो फिल्ममा भने आँशुभन्दा बढी हाँसो छ है !

तपाईं त एक्टिङ पढेको, एक्टर बन्न हिँडेको मान्छे निर्देशक बन्नुभयो है !
हो । खासमा १० वर्षअघि नै ‘दलन’ भन्ने टेलिसिरियलबाट अभिनय थालेको थिएँ । त्यतिबेला देशभरबाट भएको अडिसनमध्ये मानव भन्ने मुख्य पात्रका लागि म छनोट भएको थिएँ । अझै पनि ‘दलन’को मानवलाई दर्शकले भुलेका छैनन् । बाटोमा भेट्दा कतिपयले अझै पनि ‘तपाईं दलनको मानव होइन ?’ भनेर बोलाउँछन् । मैले खासमा एक्टिङ पढ्नुको कारण पनि ममा हिरो भन्ने भूत चढेकाले हो । त्यतिबेला फिल्म बजारमा राजेश हमाल, बिराज भट्टहरुकै फिल्म चल्थ्यो । त्यसैले म निर्देशनतिर होमिएँ, अहिले यतै ठीक छ । कहिलेकाहीँ एक्टिङ पनि गरिरहेको हुन्छु तर अब मेरो मुख्य काम भनेको निर्देशन गर्नु नै हो । मलाई दर्शकले यसमै रुचाइरहेका छन् ।

‘दलन’को मानवलाई दर्शकले त मिस गर्छन् नै, तपाईंले कत्तिको गर्नुहुन्छ ?
म त्यति धेरै मिस गर्दिनँ । धेरै भएर होला अब त भुलिसकेको छु । कसैले सम्झाइदिँदा मात्र झसंग हुन्छु अनि त्यो समय र पात्र याद आउँछ । मैले दलनमा मेरो आफ्नो वास्तविक जीवनभन्दा बिल्कुलै फरक ढंगले बाँचिरहेको दलित युवाको भूमिका निर्वाह गरेको थियो । मैले गरेका काममध्ये त्यो मेरो जीवनको एउटा अविस्मरणीय क्यारेक्टर पक्कै हो ।  

तपाईंको कलाकार बन्ने रहर चाहिँ सानैदेखिको हो या हिँड्दै गर्दा बनेको बाटो ?
मेरो जीवनमा लक्ष्य भन्ने नै थिएन । म त बस जागिरको खोजीमा थिएँ । एउटा जागिर गर्न पुग्ने ! काठमाडौँमा  पैसाको अभाव हुन थालेपछि काम खोज्न थालेँ । कतै काम नपाइरहेको अवस्थामा एउटा फिल्म कलेजको विज्ञापन मेरो हातमा आइपुग्यो । विज्ञापनमा लेखिएको थियो, ‘कोर्स पूरा भएपछि जागिर पक्का !’ मलाई त खासै आइडिया थिएन, एउटी दिदीले ‘तिमी हेर्दा पनि राम्रै छौ, अभिनय सिक फाइदै हुन्छ’ भनेपछि एक्टिङ कक्षा ज्वाइन गरेको थिएँ । सुरुमा त विशुद्ध जागिर पाउने लोभले एक्टिङ सिकेको थिएँ तर जसै पढ्न थालियो त्यसपछि त रुचि पनि बढ्यो, रमाइलै लाग्न थाल्यो । मैले एकेडेमिक शिक्षामा कहिल्यै राम्रो गर्न नसके पनि यसमा सबैको भन्दा राम्रो नम्बर ल्याएँ ।

एक्टरका रुपमा जमिनसक्दै तपाईंले फिल्म निर्देशन गर्ने जिम्मा कसरी पाउनुभयो ?
सानो पर्दामा काम गरिरहेका बेला मैले ‘हाउसफुल’ भन्ने सिटकम निर्देशन गर्थें । त्यही सिरियलबाट आर्यन सिग्देलले डेब्यु गरे । सिरियलमा मात्र काम गरेर नहुने रहेछ भन्ने लागेपछि म दुई वर्ष जति बिनाकाम बसेँ, एकैपल्ट फिल्म बनाउने भनेर । त्यही क्रममा मैले निर्माता प्रभु शमशेर जबरालाई भेटेँ र ‘मेरो एउटा साथी छ’को कन्सेप्ट सुनाएँ । उहाँले मेरो जोशजाँगर र उत्साह देखेर पहिलो भेटमै ओके गरिदिनुभयो । अनि मैले फिल्म बनाएँ र पहिलो फिल्ममै सफलता पनि मिल्यो ।

तपाईंका पछिल्ला चार फिल्ममा एउटै अभिनेत्री पूजा शर्मा दोहोरिइरहेकी छन्, खास कारण के होला ?
अभिनेत्री मात्रै किन, मेरा सुरुका पाँच फिल्ममा लगातार आर्यन सिग्देल दोहोरिएका थिए । मेरा आठ वटै फिल्ममा क्यामेराम्यान एउटै छन्, त्यतातिर पनि प्रश्न गरौँ न ! सबैले अभिनेत्री दोहोरिएको मात्र कुरा गर्छन् । यो त भएन नि ! दोहो¥याउनुको कारण खास के हो भने एउटै कलाकारसँग काम गर्दा उनीहरुको बानी, काम गर्ने तरिका, सबै थाहा हुन्छ, घुलमिल भइसकिएको हुन्छ, त्यसैले काम गर्न पनि सहज हुन्छ । हिरोइन मात्र होइन मैले काम गरेका प्रोजेक्टमा ८० प्रतिशत मान्छे दोहोरिन्छन् ।

त्यसोभए नयाँ कलाकार लिएर जोखिम मोल्न तपाईं चाहनुहुन्न हो ?
त्यो त झन् भन्न मिलेन । मैले डेब्यु गराएका कलाकार, क्यामेराम्यान, कोरियोग्राफरले नै अहिले यहाँ राज गरिरहेका छन् । बरु मैले फिल्ममा जति नयाँ मान्छे लिएँ, त्यसरी लिने अरु को छ ? । म स्पट ब्वाईदेखि लाइटम्यानसम्म सबै दो¥याउछु । उनीहरु नै ‘दाइ, अर्को फिल्म कहिले सुरु गर्ने ?’ भन्दै फोन गर्छन् । अनि म उनीहरुलाई बेवास्ता गरेर नयाँ लिनु ? त्यो त न्यायसंगत भएन नि !

तपाईं लभस्टोरी फिल्म बनाउनुहुन्छ, फिल्ममा आदर्श प्रेम देखाउनु हुन्छ तर तपाईंको जीवनमा त थुप्रै अभिनेत्रीसँग नाम जोडियो, है !
कोसँग जोडियो ?

सुष्मा कार्की, पूजा शर्मा... ?
सुष्माजीको बारेमा म धेरै बोल्न चाहदिनँ । खासमा त्यो प्रेम नै थिएन । सँगै काम गर्दा अरुले धेरै हल्ला चलाएर प्रेम नै भएको हो कि जस्तो बनाइदिएका थिए तर त्यस्तो थिएन । त्यो मेरो जीवनको एउटा एक्सिडेन्ट नै थियो । जहाँसम्म पूजासँगको कुरा छ, हामी एकदम नजिकको साथी हौँ तर प्रेमी–प्रेमिका भने होइन । यो क्षेत्र भनेकै यस्तै रहेछ । अनलाइन र युट्युबमा ‘भ्युज’ बढाउन पनि गसिप बनाउनुपर्ने हुँदोरै’छ । दुईजनाको नाम जोेडेर टाइटल बनाइँदोरहेछ । म डाक्टर र पूजा नर्स भएको भए सायद यसरी हल्ला हुन्थेन होला । यो मनोरञ्जनको क्षेत्रमा यस्तो चल्दोरहेछ । अब त बानी नै परिसक्यो । त्यसैले यस्ता कुरा सामान्य लाग्न थालेको छ ।

पूजासँग जोडिएर आउने गसिप यथार्थमा परिणत हुने सम्भावना कत्तिको छ त ?
सँगै काम गरिँदैछ । कसले देखेको छ र भविष्य ? जे पनि हुनसक्छ । बस अहिलेसम्म त्यस्तो छैन ।

पर्दामा त तपाईं विभिन्न खालका प्रेम देखाइरहनुभएको छ, तपाईंले बुझेको खास प्रेम चाहिँ के हो ?
खासमा मैले अहिले प्रेम के हो नबुझेरै फिल्म बनाइरहेको छु । त्यसैले फिल्मैपिच्छे विभिन्न एंगलले प्रेमलाई देखाइरहेको छु । जुन दिन म प्रेमबारे थाहा पाउँछु, त्यो बेला बनेको फिल्म मेरा लागि ड्रिम प्रोजेक्ट हुनेछ । पर्दामा मैले प्रायः बिहेअघिको प्रेम देखाइरहे पनि मेरो जीन्दगीमा चाहिँ बिहेपछि मात्र खास प्रेम सुरु हुन्छ भन्ने लाग्छ ।

नेपाली फिल्म वृत्तमा तपाईंलाई खर्चिलो निर्देशक भन्छन् नि ?
कसरी म खर्चिलो निर्देशक भएँ ?
निर्देशकको धेरै पैसा खर्च गराइदिनुहुन्छ रे ?
म जति खर्च गराउँछु त्यो त फिल्म राम्रो बनाउनका लागि गराउँछु नि ! अहिले त पाँच करोडमा फिल्म बनाउने घोषणा भइरहेको छ । त्यति बजेटमा त म मेरोजस्तो दुई–तीनटा फिल्म बनाइसक्छु । अनि कसरी म खर्चिलो भएँ ?

 

Leave A Comment