गाउन छुट, नाच्न मनाही

सोमबार, ०९ साउन २०७४, १२ : ४० शुक्रवार , Kathmandu
गाउन छुट, नाच्न मनाही

मिथिलेश यादव/लहान
सप्तरीको भित्री देहातको रहनसहन सहरोन्मुख हुँदै गए पनि दृष्टिकोण अझै फराकिलो भइसकेको छैन । छोरी–बुहारी घरबाहिरको कामधन्दामा सुस्तरी पाइला टेक्दै गरेको देखिए पनि छोरीबुहारीले परिवारका मुली अर्थात् पुरुषबाट स्वीकृति लिनुपर्ने मान्यताको बलियो पर्खाल छँदैछ । छोरीले आफूलाई मन परेको पेशा अँगाल्न अझै संघर्षको पहाड छिचोल्नुपर्ने अवस्था छ । यही माहोल र सामाजिक मान्यतालाई छिचोल्दै अविराम अघि बढाइरहेकी छन्, सप्तरी मलेकपुर–५ हाल हटहरि विष्णुपुर गाउँपालिका १ स्थायी घर भएकी अञ्जु यादव ।
घरपरिवार र समाजका परम्परावादी बन्धन फुत्काउँदै गायन क्षेत्रमा पाइला चालेकी अञ्जु मैथिली, भोजपुरी गीत गायनको क्षेत्रमा उदाउँदो ताराको रुपमा आफूलाई स्थापित गर्ने पंक्तिमा अगाडि छन् ।
सानै उमेरदेखि गायनमा रुचि राख्ने उनी गुन्गुनाउँदा गीत सुन्न घर वरिपरिका मान्छे झुम्मिन्थे । त्यही प्रोत्साहनले उनलाई हौस्याउँदै लग्यो भने विद्यालयमा हुने सांगीतिक कार्यक्रमहरुमा गाएर उनले समाज र परिवारको तालीले प्रेरणा पाइरहिन् ।
कलेज प्रवेशसँगै आफ्नो स्वर अझ उँचो पार्ने अञ्जुको चाहना भने परिवारबाटै अस्वीकृत भयो । ‘स्टेजमा गाउन थालेपछि गाउँसमाजको नकारात्मक टिप्पणी हुन थाल्यो,’ उनी सम्झन्छिन्, ‘अनि त पहिले प्रेरणा दिने परिवार नै नगाउन दबाब दिन थाल्यो ।’
पारिवारिक र सामाजिक दबाब चिर्ने काममा मैथिली साहित्यकार श्यामसुन्दर यादवले भूमिका निभाए । नजिकको दाजु पर्ने श्यामसुन्दरको साथ र हौसलाले अगाडि बढेकी अञ्जु  मैथिली गायनमा आफ्नो पहिचान स्थापित गर्ने क्रममा छन् । भोजपुरी र नेपाली गीतमा स्वर दिन संघर्र्षमा लागि परेकी छन् ।
अञ्जुले गाएको गीत मधेसका सहर बजारमा घन्किएको सुन्दा आमाबुवा पनि गद्गद् छन् । उनी भन्छिन्, ‘अहिले समाजले पनि सम्मानको नजरले हेर्छन्, हौस्याउँछन् ।’ उनको घरपरिवारको एउटा सर्त भने छँदैछ– गीत गाउनू तर ननाच्नू ।
उनले काठमाडाँै, बुटवल, मधेसका थुप्रै जिल्ला तथा सीमावर्ती भारतका विभिन्न स्थानमा आयोजना हुने कन्सर्टमा सुरिलो आवाज पस्किसकेकी छन् । भारत, चरौटको एउटा सांस्कृतिक कार्यक्रममा भाग लिँदाको अनुभवबारे अञ्जु भन्छिन्, ‘मैले गाएका गीतहरू मन पराएर रातभर मलाई नै गाउन लगाए । बिहानसम्म त मसँग गाउने गीतै बाँकी रहेन !’
मैथिलीभाषी उनले मैथिली, नेपाली, भोजपुरी, थारु भाषाका दुई सयभन्दा बढी गीतमा आवाज दिइसकेकी छन् । उनले आवाज दिएको मैथिली फिल्म ‘धर्तीपुत्र’को गीत अहिले लोकप्रिय बनेको छ ।
वाणिज्यमा स्नातक अध्ययनरत अञ्जु २०७१ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी थिइन् । उनको स्वर निकै सुरिलो सुनिए पनि गायनको औपचारिक शिक्षा भने लिएकी छैनन् । ‘मेरो स्वर ईश्वरको बरदान नै हो,’ उनले शुक्रबारलाई भनिन् ।

Leave A Comment