प्रिमियरमा ‘रुद्र’का प्रशंसा

बिहिबार, १२ साउन २०७४, ०१ : १७ शुक्रवार , Kathmandu
प्रिमियरमा  ‘रुद्र’का प्रशंसा

आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रुद्र’ सिंगल थिएटरका दर्शकका लागि रुचिकर हुने प्रिमियरमा सहभागीले प्रतिक्रिया दिएका छन् । फिल्मले बुधबार राजधानीको गोंगबुस्थित बिजी मलमा प्रिमियर सो गरेको थियो ।
अभिनेता निखिल उप्रेतीलाई पहिलोपटक खलचरित्रमा प्रस्तुत गरिएको फिल्म हेर्न अभिनेत्री रेखा थापा, निर्देशक आकाश अधिकारी, अभिनेता रमेश उप्रेती, अभिनेत्री सञ्चिता लुँइटेललगायत पुगेका थिए ।
लामो समयदेखि निखिलसँग बोलचाल नगरेकी अभिनेत्री रेखा फिल्म हेर्न पुग्दा सबै अचम्ममा परेका थिए । रेखाले निखिलले निर्देशन गरेको ‘भैरव’मा आइटम गर्ने आश्वासन दिए पनि अन्तिममा आएर नगरेपछि दुवैकोे सम्बन्ध बिग्रिएको आशंका गरिएकोे थियो । रेखाले फिल्म राम्रो लागेको बताउँदै दर्शकले मन पराउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन् । फिल्म हेर्न आएका अन्य कलाकारले पनि फिल्म राम्रो बनेको भन्दै प्रशंसा गरेका थिए ।
रामजी लामिछाने निर्देशित फिल्ममा विश्व शर्मा, सारा, रोय दिप, ध्रुव कोइराला, ज्याक श्रेष्ठ, भास्कर ओली र अनिल पाण्डेको अभिनय छ । कल्पना कुमारी कटुवाल र भक्तप्रसाद शर्माको लगानी रहेको फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, दिनेश सुनाम र निखिल उप्रेतीको संगीत, रामजी लामिछानेको नृत्य र सौरभ लामाको छायांकन छ । फिल्म ‘प्रेमगीत २’सँगै शुक्रबारबाट देशभरका ६० भन्दा बढी पर्दामा लाग्दैछ ।

Leave A Comment