विवादमा ‘छक्का पञ्जा २’को गीत

शनिबार, १४ साउन २०७४, ०५ : २६ शुक्रवार
विवादमा ‘छक्का पञ्जा २’को गीत

युट्युबमा सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै फिल्म ‘छक्का पञ्जा २’को गीत ‘ए दाजु नसमाऊ नाडीमा’ विवादमा आएको छ । सारंगीवादक तथा गायक प्रिन्स नेपालीले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो । गीत रिलिज हुँदा संगीतकारमा अल्मोडा राना उप्रेतीको नाम थियो ।
फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले प्रिन्सकै अनुमतिमा फिल्ममा गीत राखे पनि आफ्नो हजुरबुवाको नाम नआउँदा चित्त दुखाएको बताए । ‘मैले फिल्मको लागि गीत खोजिरहेको थिएँ । गीतका लागि संगीतकार अल्मोडाकोमा पुगेको थिएँ । उहाँले मलाई धुन सुनाउनुभयो,’ दीपकराजले भने, ‘मलाई त्यो धुन मनप¥यो । अल्मोडाजीलाई आग्रह गरेपछि उहाँले प्रिन्सलाई ‘छक्का पञ्जा २’को लागि यो गीतको प्रस्ताव गरेपछि प्रिन्सजीले सहर्ष स्वीकार्नुभयो । उनको यो गीत गाउने चाहना रहेछ तर अल्मोडाले गाएपछि रुष्ट हुनुभयो ।’
फिल्मको गीत रिलिजपछि मात्र विवाद देखिएको दाबी गर्दै दीपकले गीतको रिमिक्स गर्ने अधिकार प्रिन्सलाई दिन सकिने संकेत गरे । ‘अहिले गीत सार्वजनिक भएपछि उनलाई फेरि गाउन दिन सम्भव छैन,’ दीपकले भने, ‘तर भोलिका दिनमा उनले रिमिक्स गर्न चाहे भने त्यो अधिकार दिन सकिन्छ ।’ 
सोही विषयमा सम्पर्क गर्न खोज्दा प्रिन्स भने सम्पर्कमा आएनन् । प्रिन्सले आपत्ति जनाएपछि युट्युबमा संगीतको क्रेडिट प्रिन्ससँगै उनका हजुरबा कान्छा मगर नेपालीलाई दिइएको दीपकराज गिरीले बताए । उनले अल्मोडा भारतमा रहेकाले आएपछि थप कुरा प्रस्ट हुने पनि जानकारी गराए । 
गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ भने प्रिन्स र अल्मोडाको संगीत तथा दीपकराज गिरी र प्रिन्सको शब्द छ । आमा सरस्वती मुभिजको व्यानरमा दीपकराज गिरी र दीपाश्री निरौला प्रस्तुतकर्ता रहेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, वर्षा राउत र स्वस्तिमा खड्काको अभिनय छ ।
असोज ११ मा रिलिज हुने फिल्ममा दीपकराज गिरी निर्माता छन् भने विकासराज आचार्य कार्यकारी निर्माता छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र दीर्घ गुरुङको छायांकन छ ।
यसैबीच फिल्म ‘छक्का पञ्जा’को टिमले पनौतीको एक गाउँका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गीत रिलिज गर्न शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पनौतीमा अवस्थित उर्गेन बचत तथा ऋण सहकारी संस्थालाई एम्बुलेन्स प्रदान गरेको हो । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे, स्वस्तिमा खड्का लगायतले संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए । फिल्म हिट भएपछि फिल्म युनिटले फिल्मको छायांकन भएको स्थानलाई एम्बुलेन्स सहयोग गर्ने घोषणा गरेका थिए ।
 

Leave A Comment