नीतिका चाण्डक (मिस नेपाल वल्र्ड २०१७)
यतिबेला मिस नेपाल नीतिका चाण्डकलाई सायदै परिचय चाहिएला । मोडलिङ र अभिनयमा केही गर्छु भनी लागिपरेकी नीतिका यतिबेला चीनमा आयोजना हुने मिस वल्र्डको तयारीमा छिन् । व्यस्त समयमा अन्य तीन विजेता साथीहरु मिस अर्थ नेपाल रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक नेपाल सहारा बस्नेतसँगै शुक्रबार कार्यालय आइपुगेकी नीतिकासँग शुक्रबार सहकर्मी अच्युत कोइरालाले गरेको रोचक कुराकानीको सम्पादित अंशः
तपाईंलाई मिस नेपाल जितुँला भन्ने लागेको थियो ?
स्टार्टिङमा त सबै जनाको एक्सपेक्टेसन हुन्छ । मैले त केही न केही कसो नपाउँला, समथिङ विल गेट भन्ने हुन्छ । तर जब तपाईं साँच्चिकै प्रतिस्पर्धा भित्र छिर्नु हुन्छ र ह्वेन यु सि अदर पार्टिसिपेन्ट्स, तिनीहरु ज्यादै राम्रो, साँच्चिकै प्रतिभाशाली, एक से एक देखिन्छ र हरेकको कुनै न कुनै डिफरेन्ट क्वालिटी पाएपछि चाहिँ तपाईंलाई बिस्तारै रियलाइज हुन थाल्छ, मे बि यो ठाउँ मेरा लागि होइन कि ! मे बि यु डु नट ह्याभ चान्स । तर अन्तिम समयमा आइसकेपछि आफूले आफैँलाई सरेन्डर गरिन्छ कि जेसुकै होस् ।
मिस नेपालमा के आरोप लाग्ने गरेको छ भने एक त नेपालभरिकै युवतीहरुको छनोट भएको हुँदैन, त्यसमाथि चार पाँच जना निर्णायकले सोधेको एउटा प्रश्नले ‘मिस नेपाल’ छानिनु कत्तिको सान्दर्भिक कुरा हो ?
कुरा त्यसो होइन । हामी वन एन्ड हाफ मन्थ अफ ट्रेनिङमा थियौँ । त्यो बेला हामीलाई सबै तहमा जाँच परख गरिएको हुन्छ, वि आर जज्ड एट एभ्री लेभल । फोटो सुट होस् या कपाल होस् या सौन्दर्य होस् या बुद्धिमता । हरेक कुराको जज गरिएको हुन्छ । हाम्रो स्टेज पर्फमेन्स कस्तो हुन्छ त्यो त निकै पछिको कुरा हो । प्रश्नोत्तर चरण त एउटा मात्र पक्ष हो ।
तपाईं कत्तिको आत्मविश्वासी हुनुहुन्छ, कसरी उभिनु हुन्छ, खानुदेखि लिएर अनुशासनसम्मका कुरा हेरिन्छन् ।
मिस नेपाल छानिनेबित्तिकै काली छे, मधेसी हो, बोल्न आउँदैनजस्ता आलोचना छरपस्ट सुनिए । तपाईंलाई कस्तो लाग्यो ?
वास्तवमा मलाई कुनै पनि किसिमको नराम्रो लागेन । आइ डिडन्ट इभन थिङ्क द्याट वे । मलाई जतिले आलोचना गर्नुभयो, उहाँहरुको संख्या सीमित थियो तर मलाई हौस्याउने वा मेरो सपोर्ट गर्नेहरुको संख्या धेरैभन्दा धेरै थियो । मेरो आलोचना गर्नेहरु, दे आर एक्चुअल्ली भेरी फ्यु ! अनि म त्यस्तो क्रिटिसिज्म सुन्न चाहन्छु, जसले मेरो प्रडक्टिभिटी बढाओस्, मेरा कमजोरी सच्याउन सघाओस् । मेरो अनुहार या जातमाथि टिप्पणी गर्नुले मेरो क्षमता बढाउने होइन । त्यै भएर मैले त्यता कहिल्यै ध्यान दिइनँ । फेरि जुन बेलासम्म आइ फाइन्ड माइसेल्फ ब्युटिफुल, अरुले मलाई नेगेटिभ कमेन्ट गरेर फरक पर्दैन ।
अहिले त मिस नेपाल हुने सपना पाल्नु फेसनजस्तो भएको छ । सानैदेखि तयारी गरिन्छ । यस्तो अवस्थामा शोषणमा पर्ने सम्भावना हुन्छ नि ?
ट्रान्सपेरेन्ट (पारदर्शी) संस्था वा कार्यक्रममा भाग लिनु राम्रो । राम्रो संस्थाले आयोजना गर्ने कार्यक्रम राम्रै हुन्छ । पहिलो पटक म र्याम्पमा भाग लिने बेलामा बेंगलोरमा थिएँ र त्यहाँ मिस इन्डिया नेपाल भन्ने कार्यक्रम हुने र त्यहाँ जित्ने युवतीले मिस नेपालमा भाग लिन पाउने भन्ने कुराको प्रचार गरिएको थियो । त्यस कार्यक्रममा भाग लिन सात हजार भारु लिइँदैथियो । मिस नेपालमा भाग लिन त पैसा लिएको थाहा छैन, अनि किन त्यहाँका आयोजकले पैसा लिइरहेका छन् भन्ने सोधखोज गर्दै जाँदा मिस नेपालसँग त्यसको कुनै कनेक्सन होइन रहेछ भन्ने थाहा भयो । त्यसैले आफूले कस्तो कार्यक्रममा भाग लिइँदैछ, को को छन्, तिनको ब्याकग्राउन्ड के हो भन्नेजस्ता कुरामा ध्यान दिन आवश्यक छ ।
जुन प्रतिस्पर्धामा तपाईंहरु जानु हुन्छ, प्रतिस्पर्धाको घेरो निकै थोरै हुन्छ । एक से एक व्यक्ति त्यहाँ पुगेको हुन्छ । हरकोही ट्यालेन्ट, हरकोही क्षमतावान हुन्छ । उसले उस्तै तालिम पाउँछ । यस्तो बेलामा थोरै मात्र कारणले मिस नेपाल हुनबाट वञ्चित हुनुपर्दा कस्तो लाग्छ ?
रोजिना श्रेष्ठ (मिस नेपाल अर्थ २०१७): सुरुमा चाहिँ तपाईंको प्रश्न करेक्ट गर्न (सच्याउन) मन लाग्यो । हाम्रो मिस नेपालमा सुरुमा के भनिन्छ भने हामी यहाँ कोही दोस्रो या तेस्रो हुन आएको होइन या हुँदैनौँ । हामी अन्तिम चार जना जो जति हुन्छौँ, सबै जना विजेता हुन्छौँ । हामीले जुन अन्तर्राष्ट्रिय मञ्चमा गएर भाग लिन्छौँ, त्यहाँ हामीलाई मिस नेपालकै रुपमा परिचय गराइन्छ, पुकारिन्छ । त्यसैले हामी मिस नेपालका दोस्रो वा तेस्रो व्यक्ति होइनौँ, हामी पनि मिस नेपालका विजेता हौँ । यहाँ विजय भएपछि हामी अन्य ठाउँमा प्रतिस्पर्धाका लागि जान्छौँ ।
म पनि मिस नेपालमा भाग लिनुपर्यो र केही न केही जितेर आउनु पर्यो भन्ने तपाईंलाई कहिले लाग्यो ?
सानैदेखि मलाई मेरो परिवारले हौस्याउनु भएको हो । तिमी टल (अग्लो) छौ, ट्यालेन्ट (प्रतिभाशाली) छौ, जाऊ भाग लेऊ भन्नु हुन्थ्यो । म चाहिँ ब्याचलर नगरुञ्जेलसम्म पढाइमा मात्र ध्यान दिएकी थिएँ । ब्याचलरको पढाइ सकिएपछि भने म विभिन्न गतिविधिमा भाग लिन थालेँ । ‘ग्ल्याम हन्ट’ कार्यक्रममा भाग लिएपछि भने मलाई पनि कन्फिडेन्स बढेर आयो अनि भाग लिएँ ।
हिजोआज त ‘मिस फलानो’ भन्ने विकृति नै आएको छ । फेरि बाउआमाले पनि छोराछोरीहरुले केही न केही सिक्छन् भनेर पैसाको खोला बगाएर यस्ता कार्यक्रममा भाग लिन पठाउँछन् नि ? तपाईंले त्यस्तो भोग्नु पर्यो ?
मैले त अहिलेसम्म यस्ता कार्यक्रममा भाग लिएको छैन । फेरि विभिन्न स्तरअनुसारका कार्यक्रम हुन्छन् तर यस्ता कार्यक्रमले केही न केही सिकाउँछन् पनि । राम्रा कार्यक्रमले केही सिकाउँछन् भने तिनमा पैसा तिर्दा पनि फरक पर्दैन भन्ने मलाई लाग्छ । टु गेन समथिङ, यु ह्याभ टु गिभ समथिङ । त्यसैले यस्ता कुरालाई पोजिटिभली लिने गरौँ । हिडन ट्रेजरकै कुरा गरौँ न, (मिस नेपालको आयोजक) ! उहाँहरुले हामीबाट एक पैसा लिनुभएको छैन तर उहाँहरुले हामीलाई ट्रेनिङ दिलाउन लाखौँ खर्च गरिरहनु भएको छ । ब्युटी प्याजेन्टमा जिउ मात्र राम्रो बनाइँदैन, बुझाइ पनि फराकिलो पारिन्छ, धेरै कुरा सिकाइन्छ । आफूलाई कसरी मार्केटिङ गर्ने, कसरी लिडरसीप लिनेजस्ता धेरै कुरा मैले सिकेको छु ।
मैले तपाईंको यो कुरा मानेँ तर हरकोही प्रतियोगिता सञ्चालक त हिडन ट्रेजर छैन । सौन्दर्य प्रतियोगिताको नाउँमा पैसा धुत्ने काम पनि भइरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ? केही आइडिया ?
यस्तो कुरामा त अभिभावक नै सचेत हुनुपर्छ । कुन प्रतियोगिता राम्रो, कुन नराम्रो बुझ्नु पर्छ । नबुझ्दाको परिणाम पैसा पनि खर्च हुन्छ र छोराछोरीको चित्त पनि कुँडिन्छ । अर्को कुरा, जसले यस्ता प्रतियोगितामा भाग लिइरहेको छ, उसले चाँच्चाँडो मिस नेपाल हुन्छु भनेर छोटो बाटो खोज्नु हुँदैन । धेरै कुरा सोचविचारपछि मात्र भाग लिनु पर्छ ।
तपाईंले के के सपना बुन्नु भएको थियो होला, मिस नेपाल भएपछि त भताभुङ्ग भयो होला !
एक्चुअल्ली मिस नेपाल भएपछि मैले जीवनको उद्देश्य फेला पारेँ । त्यसभन्दा अगाडि मेरो जीवन अँध्यारो थियो । आइ वज सो कन्फ्युज्ड ! (यतिबेला नसोचेको ट्वीस्ट आयो कथामा किनभने मिस नेपाल नीतिकाको गहभरि आँशु देखियो, गला अवरुद्ध भयो) मैले पढिरहेकी थिएँ तर किन पढिरहेकी थिएँ केही थाहा थिएन । म कलेजबाट ड्रपआउट भएँ । (उनले आँखामा उर्लिरहेको आँशु पुछ्ने प्रयास गरिन्) म एउटा फस्ट्रेटेड जीवन बाँचिरहेकी थिएँ । मिस नेपालमा सहभागी हुनु मेरो जीवनमा... (यो लेखक अकमक्क भयो, कसरी सान्त्वना दिने अथवा के भनेर कुरालाई अघि बढाउने । तर मिस नेपालले अवस्था सम्हालिन् । उनले घुँक्क गर्दै कुरा अघि बढाइन् ।)
एक्चुअल्ली म अभिनेत्री बन्न चाहन्थेँ तर मैले कुनै बाटो पाइरहेकी थिइनँ । यस्तो अवस्थामा म मोडेलिङमा छिरेकी थिएँ । म मिस नेपाल नभएको भए म के गर्थें मलाई नै थाहा थिएन । सायद ईश्वरले मेरो पुकार सुन्यो, म उसमाथि विश्वास गर्ने भएकी छु र उसका कारण म मिस नेपाल भएँ ।
कसरी भाग लिने अवसर पाउनु भयो त ?
मोडेलिङको एउटा कार्यक्रममा मिस नेपालकै आयोजकमध्येका एक जनासँग भेट भयो । उहाँले मलाई इन्डियन ठान्नु भएछ । मैले आफू नेपाली भएको र नेपालको पासपोर्ट बोकेर हिँड्ने गरेको बताएँ । उहाँ छक्क पर्नुभयो र मिस नेपालमा भाग लिनेबारे के सोच्नु भएको छ भन्नु भयो । मैले त्यो बेला निर्णय गरिसकेकी थिइनँ, त्यसैले केही भन्न सकिनँ ।
कुन बेला म भाग लिन्छु भन्ने लाग्यो ?
म अडिसन दिन फेरि काठमाडौँ आएँ । त्यो बेला पनि म छानिन्छु कि छानिन्न भन्नेमा कन्फ्युज थिएँ किनभने मिस नेपालमा सबैभन्दा अनअर्गनाइज्ड मै थिएँ । म मेकअपमा थिइनँ । म एउटा सामान्य पहिरनमा पुगेकी थिएँ– ब्ल्याक ट्राउजर र ब्ल्याक स्यान्डो । कालै चप्पल । नो मेकअप । इन्डियामा अडिसनका लागि जाँदा मेकअप गर्ने चलन छैन । त्यै भएर म पनि यहाँ मेकअप नगरी आएकी थिएँ । मलाई देखेर सबै छक्क परे, मानौँ मलाई सेलेक्ट हुनुछैन !
तालिम अवधिमा केही रोचक ?
हाम्रो ट्रेनिङ ज्यादै हेक्टिक हुन्थ्यो । यस्तो थाकिन्थ्यो कि घर पुगेर कतिबेला सुतौँ भन्ने लाग्थ्यो । रमाइलोका लागि कहिलेकाहीँ सपिङ जान्थ्यौँ । त्यत्ति हो ।
तपाईं अन्तिम अवस्थासम्म पनि अरुलाई भाग लिन्न भन्दै हिँड्नु हुन्थ्यो रे नि ?
अँ, त्यो त हो । म आफूलाई मिस नेपालको तŒव हुँ जस्तो लाग्दैनथ्यो । म त मोडलिङको लागि हो, सौन्दर्य प्रतियोगिताका लागि कहाँ फिट हुँला जस्तो लागेको थियो ।
अहिले चाहिँ मिस नेपाल भइवरी मिस वल्र्डमा भाग लिने तयारी थालिसक्नु भयो, हैन त ?
अँ, यो अक्टोबरमा म चीन जाँदैछु ।
केही जितेर आउने दबाब छ कि छैन त ?
त्यस्तो त छैन तर यस पटक हामी सबैबाट ठूलो एक्स्पेक्टेसन छ । म मेरोतर्फबाट आफू जे छु त्यही रहने प्रयास गर्नेछु । म कुनै कृत्रिम चिज प्रदर्शन गर्ने छैन । तयारीका लागि दुई महिना छ । तयारी हामीले नै गर्नुपर्ने हुन्छ । हाम्रा प्रायोजकले सपोर्ट त गर्नुहुन्छ तर सबै काम हामी आफैँले गरेर देखाउनु पर्छ ।
धेरैले के आलोचना गर्नुहुन्छ भने यिनले प्रायोजकबाहेक कसैको काम गर्दैनन् तर प्रायोजक नभइदिनुभएको भए हामीले सहयोग पनि पाउने थिएनौँ । यी दुई महिनामा प्रायोजकका साना रुचिमा पनि हामीले ध्यान दिनुपर्ने हुन्छ । हामीले त जितको रमाइलो पनि मनाउन पाएनौँ ।
Leave A Comment