गर्भवती हुने सम्भावना

आइतबार, १५ साउन २०७४, ०१ : ४८ शुक्रवार , Kathmandu
गर्भवती हुने सम्भावना

मेरा पति र मैले सन्तान जन्माउने प्रयास गर्यौँ तर सफल भएनौँ । खास के कारणले यस्तो भएको होला ?
सरीता एस

कतिपय स्थितिमा पहिलो वा एक मात्र यौन सम्पर्कमा नै गर्भ रहन्छ तर सधंँ यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको बेला हुनु आवश्यक छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्केको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । २८ दिनमा महिनावारी हुने महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यो समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्केको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ । त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ । सामान्यतः महिनावारी सुरु भएको आठौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा यस्तै ८० प्रतिशत पुग्छ तर महिनावारी ठीक २८ दिनमा नभै ढिलोचाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ किनभने यो भरपर्दो नहुन सक्छ ।
डिम्ब निस्किएको कसरी थाहा पाउने ?
अहिले चिकित्सा प्रविधिको प्रयोग गरेर डिम्ब निष्कासन भएको सही समय थाहा पाउन सकिने भए पनि सामान्य महिलालाई यो कुरा थाहा पाउन सजिलो छैन । महिनावारीको बीचमा पेट दुख्नु नै डिम्ब निष्कासनको लक्षण हुन सक्छ । यसलाई मिटलस्मर्ज भनिन्छ । जर्मन भाषा मिटलको अर्थ ‘मध्य’, स्मर्जको अर्थ ‘पीडा’ हुन्छ । यस्तो पीडा छोटो तथा तीव्र पनि हुन सक्छ । यो पीडा सामान्यतः महिनावारीमा हुने पीडाभन्दा केही फरक हुन्छ । यो पेटको एकातिर मात्र दुख्छ । यो अकस्मात दुख्छ । पीडा तीखो किसिमको हुन्छ । सामान्यतः केही मिनेट मात्र पीडा हुन्छ भने कसैलाई यस्तो केही घण्टा वा एक दिनसम्म पनि हुन्छ । जुन डिम्बाशयवाट डिम्ब निस्किएको हो, पेटको त्यतैतिर दुख्छ । यस्तो दुखेको यस्तै दुई हप्ता (१४ दिन) पछि अर्को महिनावारी सुरु हुन्छ । तपाईंले डिम्ब निस्किएको छैन भनेर कुन आधारमा भन्नुभयो सो कुरा बुझ्न अलि सकिएन ।
गर्भ चाहेको वा नचाहेको?
तपाईंले गर्भ रहन नै यौनसम्पर्कका लागि प्रयास गर्नुभएको तर शिशु पनि नचाहेजस्तो कुरा लेख्नुभएकाले प्रश्नमा केही अस्पष्टता भेटेँ तर गर्भ रहे–नरहेको पक्का हुन चाहनुभएको र गर्भ रहन नसकेको स्थितिबाट बच्ने चाहना गर्नुभएको भन्ने अर्थमा यहाँ जवाफ दिने प्रयास गरेको छु । गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएको डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा
१. डिम्ब निस्कासन,
२. यौनसम्पर्क,
३. वीर्य स्खलन,
४. डिम्ब निषेचन तथा
५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ ।
यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्केका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बसँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ ।
गर्भधारणमा महिलाको उमेर, यौनसम्पर्क कति पटक राखिन्छ यो महिनावारी चक्रको कुन बेला यौनसम्पर्क गरिन्छ भन्ने जस्ता कुराले प्रभाव पार्छन् । गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी समयसम्म यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गर्नु मनासिब हुन्छ । सन्तान जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छ । करिब १० प्रतिशत जति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन । पुरुषको सन्दर्भमा पर्याप्त मात्रामा स्वस्थ शुक्रकीट उत्पादन भैरहेको छ वा छैन विचार गर्नुपर्छ ।
यो वीर्य परीक्षण गरेर सजिलै पत्ता लगाउन सकिन्छ । महिलाको सन्दर्भमा शरीरमा कतिपय हार्मोनको गडबडीका कारण पनि सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । केही परिस्थितिमा मानसिक कारण पनि भेटिएकोछ ।
महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारण सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो । पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री तहको खराबी वा संक्रमण (जस्तै क्षयरोग) वा अन्य खराबी भए पनि सन्तान जन्मन नसक्ने हुन्छ । विभिन्न कारणले डिम्बवाहिनी नलीको संक्रमण हुन गए यो नली बन्द हुन सक्छ । यो नली बन्द भए डिम्ब तथा शुक्रकीटको मिलन हुन नसक्ने भयो । कतिपय यौनरोग डिम्बवाहिनी नली बन्द हुनुका प्रमुख कारक हुन् । निःसन्तान महिलाहरूमा हुने कारणहरूलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबीहरू गर्भधारण हुन नसक्नुका कारण हुन्छन् । कतिपय जटिल दीर्घरोग वा कडा शारीरिक रोगका कारणले पनि सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पार्दछ ।

Leave A Comment