‘असंगति’ नेपाललाई माया गर्नेहरुका लागि हो

आइतबार, १५ साउन २०७४, ०२ : ०२ शुक्रवार , Kathmandu
‘असंगति’ नेपाललाई माया गर्नेहरुका लागि हो

पछिल्लो समय नेपालको इतिहासलाई खोतल्ने दुई वटा किताबले पाठकका बीचमा कौतुहलतासँगै बहस पनि सिर्जना गरिरहेका छन् । नेपालको परम्परागत इतिहास लेखिएको जस्तो नभएको भन्दै परम्परागत इतिहासलाई थप बलियो र स्पष्ट बनाउन लेखक सौरभको पुस्तक ‘असंगति’ सार्वजनिक भएको छ । अर्का लेखक युग पाठकले नेपालको परम्परागत इतिहास नै गलत रहेको भन्दै यसलाई चुनौती दिएका छन् । उनले परम्परागत इतिहासलाई नयाँ ढंगले परिभाषित गर्दै पुस्तक ‘माङगेना’ सार्वजनिक गरेका छन् । नयाँ पुस्तकको प्रतिक्रिया, पुस्तकले उब्जाएका प्रश्न र प्रभाव लगायतका विषयमा लेखक द्वयसँग गरिएको कुराकानीको सार :

सौरभ, लेखक असंगति
तपाईंको पुस्तक ‘असंगति’ पाठकको हातमा छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
निकै राम्रो प्रतिक्रिया आइरहेको छ । पुस्तकका बारेमा सकारात्मक प्रतिक्रिया नै आइरहेको छ । बजारमा पुस्तकको माग निकै छ । ‘असंगति’सँगै पहिलो पुस्तक ‘असहमति’को समेत माग भइरहेको छ । पहिलो संस्करण अभाव हुन थालेपछि दोस्रो संस्करणको तयारी भइरहेको छ । यही साताभित्र दोस्रो संस्करण प्रकाशनका लागि जाँदैछ । पहिलो संस्करणमा प्रिन्टमा भएका कमीकमजोरी दोस्रो संस्करणमा सच्याएर ल्याउने तयारी गरेका छौँ ।  
अघिल्लो पुस्तक र यसमा के भिन्नता छ ?
यो पहिलो पुस्तकै सिरिज भएकाले के भिन्नता छ भनेर छुट्याउने काम पाठकहरुकै हो । ‘असहमति’मा बढी राजनीतिक विषय थियो तर ‘असंगति’मा राजनीतिकबाहेक अन्य विषयहरु पनि प्रशस्त छन् भन्ने पाठकहरुको प्रतिक्रिया आइरहेको छ । भिन्नता त्यसैमा हो । तथापि प्रतिक्रिया र पुस्तकको मागको हिसाबले ‘असंगति’ धेरै अगाडि छ ।  
तपाईंको यस पुस्तकका लक्षित पाठक को हुन् ?
यो पुस्तक विशेष गरी नेपाललाई माया गर्नेहरुका लागि हो । जसले स्वदेशलाई मन पराउँछ, स्वदेशी कुराप्रति रुचि राख्छ, आफ्नो मुलुकप्रति गर्व गर्छ, त्यस्ता पाठकका लागि हो यो पुस्तक । अझ प्रस्ट भाषामा भन्नुपर्दा एनजीओ÷आइएनजीओमा संलग्न नभएका देशभक्तहरुका लागि हो यो पुस्तक । यद्यपि अरुले पढ्नै नहुने भन्ने चाहिँ होइन ।
आफ्नो पुस्तक आफैँले पढ्नुभयो होला, एउटा लेखक आफैँ पाठक हुँदा के भिन्नता हुँदोरहेछ ?
अवस्य पनि पढेको छु । लेखकको रुपमा हेर्दा एउटा लेखक एकोहोरो रुपमा गइरहेको हुन्छ तर जब त्यही लेखक आफ्नै पुस्तकको पाठक बन्छ, त्यतिबेला दोहोरो ढंगले सोच्छ । पाठकका रुपमा किताब पढ्दै जाँदा कतिपय अवस्थामा पुस्तकमा केही कुराको कमी भएको हो कि जस्तो पनि महसुस हुन्छ । लेखनका बेला भने त्यस्तो दोहोरो अनुभव हुँदैन ।  
लेखक र पाठकका बीच कस्तो सम्बन्ध हुँदोरहेछ ?
त्यो पाठकको बौद्धिक स्तरमा भर पर्छ । पाठकको बौद्धिक स्तर पुस्तक अनुसारकै छ भने त्यतिबेला निकै राम्रो सम्बन्ध हुन्छ तर पाठकले विषयवस्तु बुझेन अथवा पाठकको स्तर पुस्तकले दिन खोजेको विषयवस्तुको स्तरसँग मिलेन भने त्यतिबेला भने पाठक र लेखक बीचको सम्बन्ध मसला नहालेको खाना जस्तै हुन्छ ।
तपाईंको पुस्तकमा सन्दर्भ सामग्रीको अभाव र अप्ठेरा भाषा प्रयोग भएको भन्ने आरोप पनि लाग्ने गर्छ नि ?
पहिलो कुरा सन्दर्भ सामग्रीकै गरौँ । यदि कुनै इमान्दार मान्छे व्यक्तिगत रुपमा भेटेर सोध्छ भने म सन्दर्भ सामग्रीबारे बताउन तयार छु । मेरो पुस्तकको पेज नम्बर टिपेर ओरिजिनल पुस्तक साइटेसन गर्नेहरुलाई चुनौती दिनकै लागि मैले यस्तो गरेको हो । सन्दर्भ सामग्री नै नहुने भन्ने हुँदैन । अर्काे कुरा अप्ठेरो भाषाको कुरा छ, ‘असंगति’मा मैले सकेसम्म भाषालाई सहज बनाउने कोसिस गरेको छु । यसभन्दा सरल भाषा बनाउने कुरा असम्भव नै होला ।
अन्त्यमा इतिहासको नयाँ व्याख्या सहितको अर्काे पुस्तक ‘माङगेना’ बजारमा आएको छ, त्यो पुस्तक पढिसक्नुभएको छ भने सानो टिप्पणी गरिदिनुस् न ?
पुस्तकको लोडले गर्दा पढ्न पाएको छैन तर पढ्ने पुस्तकको लाइनमा भने छ । हाल केही विदेशी लेखकले लेखेका पुस्तक पढ्दै छु । विस्तारै त्यो पनि पढ्छु । पढ्दै नपढी कसरी टिप्पणी गर्नु र ?

प्रस्तुति : वसन्त खड्का

 

Leave A Comment