‘माङ्गेना’ले पाठकलाई आश्चर्यमा पारेको छ

सोमबार, १६ साउन २०७४, ०१ : ५४ शुक्रवार , Kathmandu
‘माङ्गेना’ले पाठकलाई आश्चर्यमा पारेको छ

युग पाठक, लेखक, ‘माङ्गेना’
तपाईंको पुस्तक ‘माङ्गेना’ पाठकको हातमा छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
पाठकबाट सकारात्मक तथा नकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् । पुस्तकले उठान गरेका विषयवस्तुले एक किसिमका पाठकलाई असन्तुष्ट बनाएको छ भने अर्काे किसिमका पाठकमा उत्साह थपेको छ । दुवै किसिमका पाठकलाई पुस्तकले आश्चर्यमा भने पारेको छ । बिक्रीको हिसाबले पनि राम्रो भइरहेको छ । दोस्रो संस्करणमा जाने तयारीमा छौँ ।
अघिल्लो पुस्तक र यसमा के भिन्नता छ ?
पहिलो पुस्तक उपन्यास थियो, त्यतिबेला म आफैँ पनि हेटौडामा बस्थेँ । अहिलेजस्तो सबैले चिन्दैनथे । पछिल्लो पुस्तक गैर आख्यान हो र व्यक्तिगत रुपमा म आफैँ पनि पहिलेभन्दा बढी चिनिएको छु, मिडियामा पहुँच छ । चर्चा परिचर्चा, विषयवस्तु र बिक्री वितरणका हिसाबले पनि पुस्तकसँगै म स्वयंमा पनि फरक छ ।
तपाईंको यस पुस्तकका लक्षित पाठकहरु को हुन् भन्ने लाग्छ ?
विशेषतः यस पुस्तकले नयाँ बहस सिर्जना गरेकाले यो बौद्धिक वर्गकै लागि हो तर पुस्तकका झण्डै ८० प्रतिशत लेखहरु नेपालको इतिहास तथा यहाँको राज्यसत्ताका बारेमा अध्ययन गरेर लेखिएकाले नेपाललाई नयाँ ढंगले बुझ्न चाहने आम पाठकका लागि पनि हो, आम पाठकले यो पुस्तक पढ्नुपर्छ । त्यसैले आम पाठकलाई पनि लक्षित गर्दै सस्तो संस्करणसमेत निकाल्ने तयारीमा छौँ ।
एउटा लेखक आफ्नै पुस्तकको पाठक भएर हेर्दा कस्तो अनुभव हुँदोरहेछ ?
पुस्तकका बारेमा विभिन्न फोरमहरुमा बोल्नुपर्ने भएकाले पटक–पटक अध्ययन गरेको छु । आफ्नै पुस्तक पढ्दा सबैभन्दा पहिले त आफूलाई जानकारी भएको विषय भएकाले थोरै एक पक्षीय जस्तो भइन्छ । आफैँले लेखकाले भिन्न भएर पढ्न सकिँदैन । अर्काे कुरा, यो पुस्तक अध्ययन गर्दा बहसको मात्र उठान गरेँ कि भन्ने महसुस हुन्छ र केही लिमिटेसन महसुस हुन्छ । यस विषयलाई स्थापित गराउनका लागि त अन्य थुप्रै संस्करण लेख्नुपर्छ जस्तो लाग्छ ।
लेखक र पाठकबीच कस्तो सम्बन्ध हुँदोरहेछ ?
किताबले पाठकलाई प्रभाव पार्न सक्यो भने त्यसले छुट्टै छाप छोड्छ । पाठकले लामो समयसम्म पनि सम्मान दर्शाइरहन्छ र सम्बन्ध सुमधुर बनिरहन्छ । तर कतिपय अवस्थामा पुस्तकले उठान गरेको मुद्दाले असहज अवस्था पनि सिर्जना गरिदिन्छ ।
तपाईंको पुस्तकमा इतिहासको गलत व्याख्या गरेको, राष्ट्रिय झण्डाको अपमान गरेको लगायतका आरोप लागे नि ?
आरोप आउँछन् भन्ने कुरा मलाई पहिले नै थाहा थियो तर पुस्तकको कभरको बारेमा यसरी बहस होला र आरोप लाग्लान् भनेर चाहिँ सोचेको थिइनँ । कभर कलाकारको क्रियसन हो । त्यसमा पूर्वाग्रह राख्ने र कलाकारिताको महŒव नबुझ्नेले आरोप लगाएका हुन् किनभने नेपालको झण्डालाई मेरो पुस्तकमा मात्र होइन, नेपाल एयरलाइन्स तथा अन्य ठाउँहरुमा पनि आफ्नै ढंगले प्रयोग भइरहेका छन् । पुस्तकको विषयवस्तुका बारेमा आरोप लगाउनेहरु चाहिँ इतिहास नबुझेकाहरु हुन् । यस्तो आरोप अहिलेदेखि होइन, राणाकालदेखि नै लाग्ने गरेका छन्  । हामी हरेक कुरामा रचनात्मक हुनुपर्छ । हामी किन पछि परिरहेका छौँ भन्ने कुरा नबुझी इतिहासलाई गलत ढंगले व्याख्या गरेर हुँदैन । इतिहास जहिले पनि बलियाका पक्षमा लेखिएको छ तर कमजोरहरुको इतिहास हुँदैन भन्ने होइन, उनीहरुको पनि इतिहास लेखिनुपर्छ ।
नेपालको परम्परागत इतिहासको तथ्यगत व्याख्या सहितको पुस्तक ‘असंगति’ बजार तपाईंकै पुस्तकसँग बिक्रीमा प्रतिस्पर्धा गरिरहेको छ । पढिसक्नुभएको छ भने सानो टिप्पणी गरिदिनुस् न !
मैले पढिसकेको छु । उहाँले लेखेका कुरा प्रायः नछुटाई पढिरहन्छु । मेरो विषय पनि त्यस्तै भएकाले पढिरहन्छु । तर किताबबारे कुनै टिप्पणी गर्न चाहन्नँ । यति चाहिँ भन्न सक्छु कि हाम्रो समाजमा दुई किसिमका डिस्कोर्स अब अझ बलियो भएर जान्छन्, ती हुन्, एउटा चलिआएको धारा र अर्काे त्यसको विरोध ।
प्रस्तुति : वसन्त खड्का

Leave A Comment