साउनमा झाडापखाला र घाउखटिरा बढी

सोमबार, १६ साउन २०७४, ०२ : ०९ शुक्रवार , Kathmandu
साउनमा झाडापखाला र घाउखटिरा बढी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अचेल झाडापखालाका बिरामीको संख्या ह्वात्तै बढेको छ । दिनमै १५ देखि २० को हाराहारीमा झाडापखालाका बिरामी आउने गरेको जनरल फिजिसियन डा. शेरबहादुर पुनले जानकारी दिए ।
उनैका अनुसार, खाना र पानीमा ध्यान दिन सके यसबाट बच्न सकिन्छ । पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गर्नुपर्छ । फिल्टर गरेको पानी पिउँदा कस्तो फिल्टर हो ध्यान दिनुपर्छ किनभने साधारण फिल्टरमा रोगका किटाणु फिल्टर हुन सक्दैनन् ।
हामीले सफा भनेर किनेर खाने जार र मिनरल वाटरमा पनि खोलाको दूषित पानी भरेको खण्डमा झाडापखालाका किटाणु हुन सक्छन् । जार र मिनरल वाटरमा सिल प्याक छ छैन राम्ररी हेरेर र बुझेर खान र उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ नखान उनको सुझाव छ । खाना खानु पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर खाने बानी राम्रो हो । फलफूल, सागपात र तरकारी पखाल्दा सफा पानी नै प्रयोग गर्नुपर्छ । दिसा पिसाबलाई धेरैबेर रोक्नु राम्रो हुँदैन ।
झाडापखाला लागेपछि गर्नुपर्ने कुरा
मौसममा आएको परिवर्तनले शरीरको तापक्रम सन्तुलन हुन नसक्दा र हामीले खाने खाना र पानीमा ध्यान नदिँदा झाडापखाला लाग्ने गर्छ । गर्मीमा खाना छिट्टै बिग्रने र लामो समय राख्दा ढुसी पर्ने र नमिठो बास्ना पनि आउने हुन्छ । भोक लाग्यो भन्दैमा जस्तो पायो त्यस्तै खाना खानाले स्वास्थ्य बिग्रने गर्छ ।
त्यस्तै पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा पनि यो रोग लाग्छ । अति धेरै भयो भने हाम्रो शरीरले पचाउन सक्दैन । शरीरलाई अनावश्यक अथवा अति धेरै तेलमा तारेका खानाहरु खानु हुँदैन । जस्तैः तारेको, भुटेको मासु, भटमास खानु हुँदैन । त्यस्तै धेरै नुनिलो, धेरै पिरो र मसलायुक्त खानेकुरा नखाँदा बेस हुन्छ ।
झाडापखाला लागिहाले के खाने त ?
१) जीवनजलको पानी सकेसम्म बढी पिउने ।
२) भात, दाल, दही अथवा नरम खाना खाने ।
३) झोलिलो पदार्थ जस्तै नरम दाल, गेडागुडीको रस र फलफूलको जुस खानुपर्छ ।
४) कागती, अनार, मौसम, सुन्तलाको रस जस्ता रसिला खानेकुराले फाइदा गर्छ । काँक्रो, पाकेको मेवा खान सकिन्छ ।
५) जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नून मिसाएर उमालेको पानीमा मिलाएर पिउन सकिन्छ ।
के के नखाने ?
फोहोर खाना र दूषित पानी रोगका कारण भएकाले बिरामी मात्र होइन, स्वस्थ व्यक्तिले पनि खानु हुँदैन । तनाव र थकान हटाउन भन्दै रक्सी पिउनु राम्रो होइन । त्यसमाथि बिरामीले खानै नहुने कुराहरुः
१) बिरामीले रक्सी, चिया, कफी र दुध नखाँदा बेस हुन्छ ।
२) फ्रिजमा राखेको खानेकुरा छ भनेर बाहिर निकाल्नेबित्तिकै नखाने ।
३) तेलमा तारेका खाना, अमिलो अचार, आलु, भान्टा, गोभी पनि नखाने ।
४) पहिल्यैदेखि काटेर राखेको सलाद नखाने ।
५) झिंगा बसेको र नछोपिकन राखेको फोहोर खानेकुरा नखाने ।
६) बासी, सडेगलेका खानेकुराहरु नखाने ।
झाडापखालाको रोकथाम कसरी गर्ने ?
घरेलु उपचार प्रक्रियाले पनि झाडापखाला रोक्न सकिन्छ । सामान्य जलवियोजन भएको अवस्थामा बच्चालाई आमाको दुध खुवाउन सकिन्छ । त्यस्तै जीवनजलको सही प्रयोग गरी जुनसुकै बिरामीले खान सकिन्छ ।
बच्चा भएमा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने । बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ । सरसफाईमा परिवारका सम्पूर्ण सदस्यहरुले ध्यान दिने र शौचालयको नियमित प्रयोग गर्ने बानी बसाल्नु पर्छ । रोगको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन सकिन्छ ।
जीवनजल कसरी बनाउने
एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने । जीवनजल बनाउँदा भाँडो पनि सफा हुन आवश्यक छ । त्यस्तै जीवनजल बनाउने व्यक्तिले साबुन पानीले हात सफासँग धोएको हुनु पर्छ ।
एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । सरसफाई र खानपानमा ध्यान दिन सके हामी जुनसुकै रोगबाट पनि बच्न सकिन्छ । त्यसैले शरीरमा रोग प्रतिरोधात्मक शक्तिको विकास र चेतनावृद्धि नै मुख्य कुरा हो ।
१) पोषिलो खानेकुराले प्रतिरक्षा प्रणाली विकास गर्दछ ।
२) चेतना अभावका कारण फोहोर खानेकुरा तथा दूषित पानीले गर्दा यो रोग सर्छ त्यसैले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
३) पर्याप्त मात्रामा पानी र फलफूल तथा जुस पनि पिउन सकिन्छ ।
४) जथाभावी दिसापिसाब गर्नुहुँदैन र चर्पीको प्रयोग गर्नुपर्दछ ।

रोगको प्रकृति हेरी तत्काल नजिकैको स्वास्थ्य संस्था अथवा डाक्टरको सल्लाह लिन पनि डा. पुनले सल्लाह दिए । रोग लागेपछि उपचारका लागि अस्पताल पग्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम हुन्छ । बेलैमा बढ्दो गर्मीसँगै स्वास्थ्यमा ध्यान दिन सके झाडापखालाबाट बच्न सकिने हुँदा स्वस्थकर जीवन शैली अपनाउन डाक्टर पुनको आग्रह छ ।

 

Leave A Comment