सकिएकै हो त गुण्डाको दिन ?

शुक्रबार, २४ असार २०७३, १० : ०९ शुक्रवार , Kathmandu
सकिएकै हो त गुण्डाको दिन ?

हरेक क्षेत्रमा गुण्डाहरूको सक्रियता, प्रभाव र पहुँच आजको नेपालको दुःखद यथार्थ हो । उनीहरूले पाइआएको राजनीतिक संरक्षण अझ डरलाग्दो छ । सर्वसाधारण उनीहरूबाट हैरान र त्रस्त छन् । पहिलेपहिले प्रहरी र गुण्डाको सुनियोजित जस्तो देखिने लुकामारी थियो– पक्रिने र कमजोर मुद्दा लगाएर छोडिदिने । तर, पछिल्लो समय प्रहरी गुण्डाहरूलाई तह लाएरै छाड्ने मनस्थितिमा देखिन्छ । उनीहरूकै भाषामा भन्ने हो भने गुण्डा नामका ‘स्यालहरूलाई शहरबाट धपाएरै छाड्ने’ अठोटमा छ प्रहरी । अम्मर जिसीले गुण्डागर्दीविरुद्ध प्रहरीको पछिल्लो आक्रामक रणनीतिको खोजीनिती गरेका छन् ।
साथमा, प्रहरीको ‘हिट लिस्ट’मा परेका गुण्डाहरूको विवरण ।

गुण्डानाइकेद्वय चरी र घैँटेको समाप्तिपछि गुण्डाहरू केही समय ‘भूमिगत’ भएका थिए । तर, उनीहरूको ‘भूमिगत काल’ लामो रहेन । उनीहरू सक्रिय र चलायमान भइहाले । तर, हाल गुण्डाहरूमाझ हल्लीखल्ली मच्चिएको छ । असार महिनामा मात्र राजधानीमा तीनजना गुण्डानाइकेलाई प्रहरीले अँठ्याइसक्यो । काठमाडौँ तथा ललितपुर प्रहरी परिसर र अपराध महाशाखाले छुट्टाछुट्टै अपरेसनमा कुख्यात गुण्डानाइकेलाई समाए । ‘भुराभारी’ गुण्डा त दर्जनौँको संख्यामा पक्राउ पर्ने र छुट्ने शृंखला चलिरहेको छ । यी तीनै प्रहरी युनिटले गुण्डाहरूको बेग्लाबेग्लै ‘हट लिस्ट’ तयार पारेका छन्, जसअनुसार उनीहरूका गतिविधिका आधारमा छानीछानी अँठ्याउने योजना प्रहरीले बनाइसकेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विक्रमसिंह थापाको भनाइलाई आधार मान्ने हो भने ‘गुण्डाराज निर्मूलै पार्ने गरी’ प्रहरी मैदानमा उत्रिसक्यो । उनका अनुसार ‘थ्री एस’ अर्थात् ‘स्विप, स्क्रिनिङ र सुट’ को नीति प्रहरीले तय गरेको छ । यसरी चरणबद्ध रूपमा गुण्डाराज मेटाउने प्रहरीको योजना छ ।
नयाँ शक्तिको नाममा असुल्ने विकास पक्राउ
हतियार देखाएर वर्षौंदेखि आतंक मच्चाउँदै आएका ललितपुर–७, ट्यागलका विकास महर्जन (४४) लाई प्रहरीले पक्रेको छ । लामो समयदेखि माओवादीका नाममा रकम असुल्दै आएका उनी पछिल्लो समय नयाँ शक्ति, नेपालका नाममा असुल्थे । डा. बाबुराम भट्टराई र हिसिला यमीसँग खिचेको तस्बिर देखाउँदै आफू पार्टीका लागि सहयोग संकलन गर्न खटेको बताउँथे ।
प्रहरीका अनुसार उनले यसअघि हतियारसहितको आफ्नो तस्बिर खिचेर कैयौँ व्यक्तिलाई सामाजिक सञ्जालको माध्यमबाट पठाएर धम्क्याउँदै पैसा उठाउँथे । हतियारको ‘लाइसेन्स’ देखाउँदै उनी सर्वसाधारणलाई तर्साउन गर्वका साथ भन्ने गर्थे, ‘सरकारबाटै हतियार चलाउने अनुमति पाएको छु ।’ पिस्टोललगायत हतियारसहित उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै र सामान्य तारेखमा छुटाउँदै आएको आरोप लगाउने ललितपुर, ट्यागलका स्थानीयले पछिल्लो समय जिल्ला प्रशासन र प्रहरीमा महर्जनविरुद्ध समूहगत रूपमै उजुरी दिएका थिए । यसअघि लुम्बिनीस्थित होटल लिटिल बुद्धका सञ्चालकलाई गोली प्रहार गरेपछि प्रहरीले महर्जनलाई पक्राउ गरेको थियो । होटलमै पुगेर गोली चलाएका महर्जनलाई २४ दिनमै छाडियो । त्यसपछि उनी झन् उग्र बन्दै हतियार देखाएर तर्साउने, धम्क्याउने, असुल्ने, कुटपिट गर्नेलगायत गुण्डागर्दीमा संलग्न हुँदै आए ।    
प्रहरीले उनलाई यसपटक पनि सार्वजनिक अपराध अन्तर्गतकै मुद्दा चलाउने जनाएको छ । उनलाई हतियारबाट अलग गराउन प्रहरी कस्सिएको देखिन्छ । ‘उनीलगायत तीनजना गुण्डाको हतियार र लाइसेन्स हामीले जफत गरेर राखेका छौँ,’ ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने, ‘आपराधिक पृष्ठभूमिका मान्छेलाई किन लाइसेन्स दिने भन्नेतर्फ हामीले लेखापढी सुरु गरेका छौँ । गुण्डागर्दीमा लागेकाहरूलाई कुनै पनि हालतमा हतियारबाट अलग गराएरै छाड्छौँ ।’
गोली हानेर समाइए जसमान

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोली हानेर पक्राउ ग¥यो, जसमान राईको नाममा गुण्डागर्दी गर्ने आश्विनकुमार राई (२३) लाई । खोटाङ घर भएका गुण्डानाइके राई पछिल्लो समय काठमाडौँ, बाफलमा रहेर कलंकी र कालिमाटी क्षेत्रलाई आधार बनाई आतंक मच्चाउँदै आएका थिए ।  
पछिल्ला दुई उजुरीका आधारमा महाशाखाले असार पहिलो सातादेखि उनलाई पक्रन खोजिरहेको थियो । महाशाखाका अनुसार असार ९ गते दिउँसो १ बजेतिर प्रहरी टोलीले राईलाई बिजुलीबजारको पुलमुनिबाट पक्रन खोज्दा प्रहरीमाथि नै फलामे रडले आक्रमण गरेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउनुप¥यो ।
सातआठजना सहयोगीका साथमा राई मोटरसाइकलमा थिए । सादा पोसाकका प्रहरीले पिस्टोलबाट चलाएको दुइटा गोली राईको दाहिने खुट्टाको तिघ्रा र पिँडुलामा लाग्यो । वीर अस्पतालमा उनको उपचार भइरहेको र उपचार सकिएपछि हिरासतमा लिएर अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योग, डाँका र केही सार्वजनिक अपराध मुद्दा खेपिसकेका राईको साँठगाँठ ‘इन्काउन्टर’मा मारिएका गुण्डानाइके कुमार घैँटेको समूहसँग जोडिएपछि प्रहरीले उनीमाथि थप निगरानी थाल्यो । घैँटे समूहमा रहेर आपराधिक गतिविधि गर्ने समिरमानसिंह बस्नेत आफू ‘भूमिगत’ रहेर राईमार्फत केटाहरू परिचालन गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । राई यसअघि डेढ वर्षको अवधिमा दुईवटा ज्यान मार्ने उद्योग र तीनवटा सार्वजनिक अपराधमा खोर परिसकेका थिए । राईको समूहमा रहेका अरू गुण्डाको खोजी भइरहेको अपराध महाशाखाले जनाएको छ । ‘गुण्डानाइकेदेखि टोलेगुण्डासम्मलाई हामीले उहिलेदेखि निगरानी गरिरहेका थियौँ,’ अपराध महाशाखाका कार्यवाहक प्रमुख तथा प्रवक्ता एसपी प्रकाशजंग कार्कीले भने, ‘अहिले अलि बढी ‘सिन’मा देखिएको हो । कसैको दबाब र प्रभावले हाम्रो अपरेसन प्रभावित हुने छैन ।’   
राईलाई गोली हानेर पक्राउ गरेलगत्तै महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले आफूहरूको योजना ‘इन्काउन्टर’ नरहेको शुक्रवारसँग बताएका थिए । ‘सकुशल पक्राउ गर्ने योजना हुँदाहुँदै जवाफी कारबाहीमा गोली हानेरै पक्राउ गर्ने अवस्था आइलाग्यो,’ खनालले भनेका थिए, ‘यद्यपि, गुण्डाहरू तह लाउन जुनसुकै कदम चाल्न पछि परिन्न ।’ खनाललगायत राजधानीका प्रहरी युनिट प्रमुखहरू गुण्डानाइकेहरूलाई ‘इन्काउन्टरसम्मै गर्ने’ रणनीति साथ उनीहरूको लिस्ट तयार पारेर योजना कार्यान्वयनमा उत्रिसकेको चर्चा छ । प्रहरीका अनुसार नेपालगञ्जलाई आधार बनाएर गुण्डागर्दी गर्ने रिगल गुरुङसँग समेत ‘कनेक्सन’मा रहेर राई आतंक मच्चाइरहेका थिए ।
फेरि मनाङे
दशकौँदेखि गुण्डागर्दी गर्दै आएका दीपक मनाङे उर्फ राजीव गुरुङ (४९) फेरि पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँका अनुसार असार १६ गते साँझ ८ बजे ठमेलमा ज्यान लिने धम्की दिई असुलेको ५० हजार रुपैयाँ बुझ्दै गर्दा उनी र उनका सहयोगी सर्लाहीका राजनकुमार सिंह (२३) पक्राउ परे ।
ठमेलको बाघ भनेर चिनिएका मनाङे पछिल्लो समय रात्रिकालीन व्यवसायी र ठेकेदारबाट रकम असुल्न थालेको सूचनाका आधारमा प्रहरीको निगरानीमा थिए । तर, उनका विरुद्ध कसैले उजुरी दिन आँट गरेको थिएन । प्रहरीले सुराकीमार्फत पीडितसम्म पुगेर मनाङेको गतिविधि ‘वाच’ गरिरहेको थियो । उनीमाथि प्रहरीले अपहरण गर्ने तथा शरीर बन्धक बनाउनेको महल तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाउने जनाएको छ । विशेष अदालतमा आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा खेपिरहेका उनले पछिल्लो पटक अदालतकै कर्मचारीलाई धम्काउँदै आएको उजुरी प्रहरीमा परेको थियो ।
मनाङेको इतिवृत्त
उनी २० वर्षअघिदेखि राजधानीमा गुण्डागर्दीमा संलग्न रहँदै आएको प्रहरी रेकर्ड छ । विनालगानी सेयर खोज्दै रात्रिकालीन व्यवसायमा प्रवेश गरेका मनाङे ठमेललाई नै आधार बनाएर संगठित आपराधिक समूहको नाइके बने । प्रहरीसँग उनको लुकामारी २०५९ देखि सुरु भएको हो ।
उनको पक्राउ शृंखला लामो छ । प्रहरीका अनुसार मनाङे पहिलोपटक २०५९ भदौ १७ मा एक व्यक्तिको १ लाख २८ हजार रुपैयाँ लुटेको आरोपमा पक्राउ परेका थिए । त्यसपछि धरौटीमा छुटेका उनी २०६० पुस ९ मा हायात होटलमा एक व्यक्तिलाई खुकुरी हानेको घटनामा फेरि पक्राउ परे । सार्वजनिक अपराधको मुद्दा लाग्यो र १० हजार रुपैयाँ धरौटीमा सजिलै थुनामुक्त भए । त्यही वर्ष चैत १४ गते उनी याक एन्ड यति होटलमा कुटपिट गरेको आरोपमा पक्राउ परेर सार्वजनिक अपराधको मुद्दा खेपे र फेरि धरौटीमा छुटे ।
२०६१ वैशाख ३१ मा महाराजगञ्जमा उनका प्रतिद्वन्द्वी अर्का गुण्डानाइके चक्रे मिलनलाई तरबारले हानेर बायाँ हात छिनाइदिएको घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । त्यसको ११ महिनापछि उनी पक्राउ परे । त्यसपछि पुर्पक्षका लागि थुनामा गए र कैद भुक्तान गरी २०६३ माघ ९ मा मुक्त भए ।
कारागारमुक्त भएको एक महिनामै उनलाई अर्का गुण्डानाइके काजी शेर्पालाई गोली हानेको आरोप लाग्यो । त्यसपछि फरार रहेका उनी २०६४ असोज १७ मा अदालतमा हाजिर भए र २५ हजार रुपैयाँ धरौटी नबुझाई डिल्लीबजार जेल गएर कैद भुक्तान गरे ।
अभिषेकविक्रम शाहलाई कुटेको अभियोगमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई एक वर्ष कैद सजाय सुनायो । २०६५ साउन २४ मा उनी पक्राउ परेर अर्को पटक डिल्लीबजार कारागार पुगे । प्रहरीले उनलाई ‘दीपक मनाङे उर्फ दीपक गुरुङ’ भनेर कारागार चलान गरेको थियो । नागरिकतामा उनको नाम राजीव गुरुङ थियो । यसैलाई टेकेर ‘निर्दोष व्यक्तिलाई जेलमा राखेको’ भन्दै उनको नाममा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट प¥यो । रिटमा मनाङेका वकिलले ‘दीपक मनाङे र राजीव गुरुङ एकै व्यक्ति हैनन्, प्रहरीले मनाङे भनेर निर्दोष राजीव गुरुङलाई थुनेको’ तर्कसहित बहस गरे । सर्वोच्चले यही बहसका आधारमा उनलाई छोड्न आदेश दियो ।
गुण्डाहरूका स्थायी नाइके मनाङेको राजनीतिक ‘कनेक्सन’ भने अस्थायी खालको देखिन्छ । सुरुमा राप्रपासँग निकट मनाङेको सम्बन्ध नेपाली कांग्रेसका नेतासँग समेत उत्तिकै बलियो थियो । मनाङको तरुण दल जिल्ला अध्यक्षसमेत भइसकेका उनी कांग्रेसमा टिक्न सकेनन् । पाँच वर्षअघि उनी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष नै थिए । त्यतिबेलै उनी आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई कुटेको केसमा पक्राउ परे । यसमा पनि धरौटीमा छुटे । २०७० मा आपराधिक गतिविधिबाट १४ करोड ७३ लाख रुपैयाँ कमाएको भन्दै विशेष अदालतमा मुद्दा चल्यो । अदालतले मागेको दुई करोड धरौटी नबुझाई डिल्लीबजार कारागार बसेका उनी दुई महिनापछि धरौटी बुझाएर मुक्त भए । यसपछि उनी नेपाली चलचित्रमा लगानी गर्न कस्सिए । आफ्नो छोरा सिद्धार्थलाई हिरो बनाएर ‘वान वे’ नामक फिल्म बनाए । उनी एकपटक एमालेको चन्दा रसिदसहित जबर्जस्ती चन्दा उठाएको अभियोगमा पनि पक्राउ परे । उनले हाल क्रसर उद्योगमा पनि लगानी गरेका छन् ।
काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी थापाका अनुसार दिनेश अधिकारी ‘चरी’ र कुमार घैँटे मारिएपछि मनाङे भूमिगतजस्तै भएर काम गर्थे । ‘अहिले भने धेरैजसो नयाँ र केही पुराना टोलेगुण्डा परिचालन गरेर सर्वसाधारणलाई दुःख दिन थालेपछि पक्राउ गरेर कारबाही थालेका हौँ,’ उनले भने, ‘अन्य गुण्डाहरूको गतिविधि पनि वाच गरिरहेकै छौँ । उजुरी र आवश्यक प्रमाणका आधारमा कारबाहीमा उत्रन्छौँ ।’
दर्जनौँ पटक पक्राउ पर्दै सामान्य धरौटीमा छुट्दै गरेका मनाङेमाथि अहिले भने प्रहरीले संगठित अपराधको अभियोग लगाएको छ । अभियोग पुष्टि भए उनलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ ।
चरी र घैँटेलाई जसरी नै मनाङे र राईलाई पनि इन्काउन्टर नै गर्ने गरी प्रहरी कारबाहीमा उत्रिएको चर्चा थियो । ‘हाम्रो परिचय दिनेबित्तिकै मनाङेले हात उठाइहाले,’ मनाङेलाई पक्रने प्रहरी टोलीका एक सदस्यले भने, ‘जसरी पनि नियन्त्रणमा लिने योजनासाथ हामी खटेका थियौँ ।’ उता, एसएसपी सर्वेन्द्र खनालले भने जसमान राईलाई इन्काउन्टर गर्ने योजना नरहेको बताए । राईलाई कम्मरमुनि दुई गोली हानेर पक्राउ गरिएको थियो  ।
राजनीतिक हस्तक्षेप
राजनीतिक हस्तक्षेपका कारण गुण्डा तह लाउने योजनामा सोचेजस्तो प्रगति हुन नसकेको गुनासो प्रहरी अधिकृतहरूको हुने गर्छ । उनीहरूका अनुसार कुनै न कुनै दलमा गुण्डाहरू प्रभाव जमाएर बसेका छन् ।
सत्ताको नेतृत्व गरिरहेको दल एमालेले पर्शुराम बस्नेत, सुजन पौडेल र चक्रे मिलनको संरक्षण गरिरहेको छ । सदाबहार सत्तामा रहन सक्ने क्षमता भएका फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारले काखी च्यापिरहेका गणेश लामा जहिले पनि प्रहरीको टाउको दुखाइ बन्छन् ।
‘दबाबहरू आएनन् भन्न सकिन्न,’ काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी थापा भन्छन्, ‘तर, यतिबेला दबाब–प्रभावलाई बेवास्ता गरेर हामी गुण्डाराज निर्मूल पार्न खोज्दै छौँ ।’  
प्रहरी अधिकारीहरू चर्चामा आउनमात्र गुण्डा पक्राउ गर्छन् र सामान्य मुद्दा चलाएर छुटकारा दिन चाहन्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ । ‘प्रमाण र घटनाका आधारमा पक्राउ गरिरहेका छौँ,’ ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी अधिकारीले भने, ‘चर्चाका लागि मात्र भन्नु सरासर गलत हो ।’

‘स्यालहरूलाई तह लाएरै छाडिन्छ’
एसएसपी विक्रमसिंह थापा
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ
मनाङेलाई बचाइदिन हारगुहार र दबाब–प्रभावका फोनहरू कत्तिको झेल्दै हुनुहुन्छ ?
फोनहरू त आउने नै भए । तर, गुण्डागर्दी नियन्त्रण गर्ने हाम्रो योजनामा कसैका फोन वा हारगुहारले कुनै प्रभाव पार्न सक्दैन । कडा कारबाही भएरै छोड्छ ।
समाजलाई आतंकित बनाउँदै आएकाहरूलाई पक्रन प्रहरी पनि आतंकित हुने गरेको हो ?
पीडितको गुनासो, उजुरी र प्रमाणका आधारमा पक्राउ गर्ने हो । कानुन मिच्ने कसैलाई समाउन डराइँदैन । यस्तालाई त म गुण्डानाइके पनि भन्दिनँ । स्याल भन्छु, स्याल । स्यालहरूलाई सबै मिलेर लखेट्नुपर्छ । स्यालहरूलाई तह लाएरै छाडिन्छ ।
चरी र घैँटेको इन्काउन्टरपछि भूमिगत भनिएका गुण्डाहरू सक्रिय भएका हुन् ?
केही समय सुषुप्त देखिए पनि उनीहरू जहिल्यै सक्रिय छन् । उनीहरूमाथि निगरानी बढाएको धेरै भइसक्यो । तथ्य भेटेसम्म पक्राउ गरिहाल्ने योजना हो । विशेष गरी ‘थ्री एस’ अर्थात् ‘स्विप, स्क्रिनिङ र सुट’ को योजना छ । जवाफी अवस्थामा आवश्यक परे सुटसम्मै पनि गरिनेछ ।  
उच्च निगरानीमा खास गरी को–को छन् ?
यो कुरा गोप्य राखेर हामी हरेकका गतिविधि नजिकबाट वाच गरिरहेका छौँ । गुण्डाराज जरैबाट उखेल्ने गरी लागिपरेका छौँ । गुण्डागर्दी के व्यवसाय हो ? पेशा हो ? यस्तालाई संरक्षण गरेर देश कहिले बन्छ ? जनताको नुन खाएका हामी जनतालाई नै दुःख दिनेलाई तह लाउन नसक्ने हो भने हाम्रो नैतिकता के ?  
गुण्डाहरूको राजनीतिक दलसँगको सम्बन्ध बलियो छ है ?
त्यही ‘नेक्सस’ ध्वस्त पार्दै छौँ हामी । केही हदसम्म ध्वस्त भइसक्यो । अहिले भारेभुरेको भागभाग भइरहेको छ । सुरुमा टाउकेहरू तह लाउने हो । त्यसपछि सिंगो जालो नै तोड्ने हो । सबै जुट्यो भने तोड्न नसकिने पनि होइन ।
मनाङेविरुद्ध कुन शीर्षकको मुद्दा चलाउँदै हुनुहुन्छ ?
संगठित अपराधअन्तर्गत मुद्दा चलाउँदै छौँ । उनको संगठनका अरूलाई पनि कानुनको दायरामा ल्याउनेछौँ । पहिला–पहिलाजस्तो सार्वजनिक अपराधको महलले जसरी सजिलै र सस्तैमा छुट्ने अवस्था अब रहेन ।
दीपक मनाङे र राजीव गुरुङ एकै व्यक्ति होइनन् भन्ने तर्कले सर्वाेच्चबाट मुद्दा जितेकोप्रति पनि सजग हुनुहुन्छ होला ?
हो । त्यसमा सजग भएर नै यसपटक अभियोग–पत्रमै स्पष्ट किटान गरेर दीपक मनाङे भनिने राजीव गुरुङ भनेर उल्लेख गरिएको छ ।
अहिले पनि तपाईंहरूमाथि चर्चाका लागि काम गरेको भन्ने आरोप लाउनेलाई के भन्नुहुन्छ ?
के काम चर्चाका लागि ? के काम वास्तविक परिणामका लागि ? त्यो चिन्न सिक्नुस् भन्छु । यति धेरै तथ्य बटुलेर अनुसन्धान गरेर गम्भीर मुद्दामा कारबाही चलाउँदै छौँ । गुण्डा तह लाउने योजना साकार पारेरै छोड्ने अठोट छ ।
प्रहरी र गुण्डा सुनियोजित लुकामारी गर्छन् भनिन्छ नि ?
त्यस्ता दिन अब रहेनन् । प्रहरी संगठनमा यस्ता पनि अधिकृत जन्मिसके, जो साँच्चिकै कारबाही गरेर देखाउँछन् । कसैसँग डराउँदैनन् । गुण्डालाई फिल्ममा मात्र कारबाही गरेको देख्नुपर्दैन अब । अब रियल लाइफमै कारबाही गराएर देखाउँछौँ । बरु हामीलाई जनताले साथ दिनुप¥यो । सूचना दिनुप¥यो । गुनासो पोख्नुप¥यो । पीडा सुनाउनुप¥यो । उजुरी गर्नुप¥यो । हामी गोप्य राख्छौँ ।

‘हिट लिस्ट’मा को–को ?
महानगरीय प्रहरी परिसर, काठमाडौँ र ललितपुर तथा अपराध महाशाखाको प्रहरी टोली दर्जनौँ गुण्डाका लिस्ट नै बोकेर फिल्डमा उत्रिसकेको बताइन्छ । औपचारिक रूपमा ‘निगरानी मात्र बढाएको’ खुलाए पनि ‘सुट’सम्मै गरेर भए पनि गुण्डा तह लाउने योजनामा प्रहरी रहेको बुझिएको छ । शुक्रवारलाई प्राप्त सूचनाका आधारमा प्रहरी लिस्टको प्राथमिकतामा रहेका केही गुण्डा यी हुन्ः
नामुद गुण्डानाइकेहरू मिलन गुरुङ उर्फ चक्रे मिलन र गणेश लामा लिस्टको अग्रपंक्तिमा छन् । उनीहरू यतिबेला आफू छिपेर जुनियर गुण्डाहरूमार्फत काम फत्ते गरिरहेका छन् । कांग्रेस राजनीतिमा राम्रै ‘स्पेस’ बनाइसकेका भनिएका मीनकृष्ण महर्जन र उनका आसेपासेहरू, एमाले नेता पर्शुराम बस्नेतको समूह, गणेश लामाबाट छुट्टिएर छोटे गुण्डाहरू बटुल्न लागिरहेका विष्णु लामा, बाफल क्षेत्रका समिरमानसिंह बस्नेत समेत प्रहरीको हिट लिस्टमा छन् । समिरमान घैँटे समूहसँगको ‘कनेक्सन’मा गुण्डागर्दी गर्दै हाल आफैँ पनि डफ्फा खडा गर्ने तरखरमा रहेको बुझिएको छ । उनीसँग राधे भण्डारी र शिव खड्काको साझेदारी छ । काजी शेर्पा र राजु गोर्खालीको समूह पनि प्रहरीको निगरानीमै छ ।
दीपक तालु, दावा लामा, अशोक लामा, सुजन तामाङ, दोधा लामा, रामेश्वर गौतम, प्रकाश माली, राज घिमिरे पनि उच्च निगरानीमा छन् । बौद्धतिर सक्रिय झिंगे र दीपक मनाङेका भाइ रेम्बो पनि यतिबेला आफ्नो पञ्जा फिजाइरहेकाले उनीहरूसँग पनि प्रहरी चनाखो छ । राजधानीमा मात्र प्रहरीले ३० जनाभन्दा बढी टोले गुण्डाहरूलाई पक्राउ गरिसक्यो । यी गुण्डाहरू पटकपटक पक्राउ पर्दै छुट्दै आएका हुन् ।
जो थुनामा छन्
एसएसपी पीताम्बर अधिकारी ललितपुर परिसरको प्रमुख भएदेखि पाँचजना गुण्डानाइके पक्राउ परिसके । गणेश लामा, प्रकाश माली, विकास महर्जन, विश्वक्रान्ति सिंह र राज घिमिरेलाई पक्राउ गरेर मुद्दा चलाएको प्रहरीले हाल विश्वक्रान्तिबाहेक सबै थुनामुक्त भइसकेको जनाएको छ । ‘गणेश लामाले त जिल्ला अदालतबाट मुद्दा नै जितिसकेको खबर छ,’ एसएसपी अधिकारीले भने, ‘हामी पुनरावेदन जाने तयारीमा छौँ ।’ विश्वक्रान्ति, प्रकाश र विकास तीनै जनासँग हतियारको लाइसेन्स छ । तर, प्रहरीले उनीहरूको लाइसेन्स  नियन्त्रणमा लिएको जनाएको छ । अन्य गुण्डाहरू पनि हतियारसम्पन नै मानिन्छन् । अभिषेक गिरी, रमेश बाहुन, पञ्चे लामा, जयराम खड्का पनि जेलमै छन् ।

‘घिनलाग्दो राजनीतिक संरक्षण’

प्रा. माधवप्रसाद आचार्य, अपराधशास्त्री
समाजमा गुण्डागर्दी मौलाउँदै जानु घोर चिन्ताको विषय हो । यसैगरी गुण्डाहरू सलबलाउन थाले भने कुनै दिन उनीहरूले नै समानान्तर सत्ता नचलाउलान् भन्न सकिन्न । कानुनको अक्षरशः परिपालन नहुने हाम्रो जस्तो देशमा गुण्डागर्दीले मलजल पाउने नै भयो । राजनीतिक दल र प्रशासनबाट उनीहरूलाई संरक्षण भइरहन्छ । जबसम्म कानुनी राजको पूर्ण प्रत्याभूति हुँदैन, तबसम्म गुण्डाराज मौलाइरहन्छ । गुण्डाहरूलाई संरक्षण गर्ने यहाँको राजनीतिक अभ्यास घिनलाग्दो छ ।
एकजना गुण्डालाई प्रहरीले समाउँछ । लगत्तै ठूलै नेताको फोन आउँछ । उसलाई कि त प्रलोभनमा पारिन्छ, कि त धम्क्याइन्छ । करिअरको चिन्ता हुन्छ प्रहरीलाई । प्रहरीको मनोबल गिर्छ । सामान्य धरौटीमा गुण्डा तुरुन्त छुट्छ । भोलि त्यही गुण्डा नेता बन्छ । कोही त मन्त्री पनि बन्ला । उसको सुरक्षाको जिम्मा यही प्रहरीलाई हुन्छ । विचरा प्रहरीलाई पनि गाह्रो छ । कसैको कुरा नसुनेर कडा कारबाहीका लागि प्रक्रिया थाल्ने आँट कमैमा हुन्छ । यस्तो आँट भएका प्रहरी अधिकारीको खाँचो छ ।
गुण्डासँग समाज स्वाभाविक रूपमा डराउने नै भयो । आफ्नो गुनासोसमेत कसैलाई नभनेर गुम्साउन बाध्य हुन्छ । तर, अब यसरी चल्दैन । सबैले प्रहरीलाई साथ दिनुपर्छ । उजुरी गर्नुपर्छ । सूचना दिनुपर्छ । बरु प्रहरीले सूचना र उजुरी दिनेको सुरक्षा गरोस् । उनीहरूको गोप्यता कायम गरोस् । सबैको साथ पाए प्रहरी पनि नैतिक रूपमा बाध्य हुन्छ । गुण्डालाई कारबाही गरैर छाड्नुपर्छ भन्नेमा प्रहरीहरू एकमत हुन्छन् ।
दलहरूले पनि मान्छे चिनेर मात्र सदस्यता दिनुपर्छ । व्यक्तिको विगतबारे प्रहरीबाट जानकारी लिएर सदस्य बनाउनुपर्छ । अहिले त दलका नेताहरूले ‘गुण्डा त नभई नहुने रहेछ’ भन्ने मानसिकता पालेका छन् । चुनावका बेला त्यही गुण्डासँग पैसा र पाखुरा माग्न पछि पर्दैनन् उनीहरू । यहाँका कुनै पनि दल गुण्डाबाट चोखो छैनन् ।
गुण्डाको विषयमा न्यायालयलाई दोष नदिइहालौँ । किनभने, एउटा विश्वास गर्नलायक संस्था न्यायालय त छ । प्रहरीले बलियो प्रमाणका साथ कारबाही गर्न चाहेरै अघि बढ्ने हो भने गुण्डाहरू कानुनको दायरामा आउनेछन् ।
कोही व्यक्ति जन्मँदै अपराधी हुन्छ भन्ने कुरा अहिलेसम्म कतै प्रमाणित भएको छैन । त्यसैले कोही व्यक्ति सुध्रन चाहन्छ भने त्यसलाई मौका दिनुपर्छ । यति भन्दैमा उसलाई माफी दिनुपर्छ भनेको होइन । उसले गरेका अपराधले कानुनबमोजिम कारबाही भुक्तान गर्नैपर्छ । त्यसपछि मात्र उसले  सुध्रन्छु भन्ने छुट पाउँछ । उनीहरूका लागि वैकल्पिक रोजगारीको व्यवस्था राज्यले गरोस् ।

 

 

 

 

Leave A Comment