मेरो हँसाउने टेक्निक

आइतबार, २२ साउन २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
मेरो हँसाउने टेक्निक

दर्शकको मूडअनुसार हँसाउँछु

दीपकराज गिरी
दीपकराज गिरी समसामयिक विषयवस्तुलाई रिलेट गरेर हसाउँछन् । मानिसलाई हँसाउन निकै अफ्ठ्यारो हुने बताउने गिरी समसामयिक विषयवस्तुमा व्यंग्य मिसाएर हँसाउँछन् । उनी भन्छन्, ‘कुनै समयमा स्क्रिप्टका पात्र स्क्रिप्टमै रहन्छन् । जहाँ आफू गइन्छ, त्यहीँका पात्रलाई ल्याएर हँसाउनुपर्छ ।’ उनका अनुसार घटनाले पात्र जन्माउँछ ।
त्यसैगरी आफ्नो मूडअनुसार भन्दा पनि दर्शकको मूडअनुसार हँसाउनुपर्ने उनको अनुभव छ । सानैदेखि कलाकार बन्ने भूत चढेकाले दर्शक हँसाउन सकेको, नत्र निकै गाह्रो हुने उनको बुझाइ छ ।
गिरी दर्शक हँसाउनकै लागि अरुका पुस्तक पढ्छन्, अरुका फिल्म हेर्छन् र अरुलाई सुन्छन् पनि । हँसाउने खुराक त्यताबाट पनि ल्याउँछन् र स्टेज तताउने काम गर्छन् । काठमाडौंको दहचोकमा जन्मिएका उनले रेडियो नेपालमा ‘आमा’ नामक नाटक रेकर्ड गराएर हास्य कलाकारितामा प्रवेश गरेका हुन् ।
पछि रेडियो नेपालमै सहकर्मी दीपाश्री निरौला भेटिएपछि दुवै मिलेर धनियाँ र मुनिया नामको कार्यक्रम चलाए । त्यसमा पनि सफलता हासिल गरेपछि भने ‘तीतो सत्य’ नामक हास्य टेलिश्रृंखला चलाएका थिए । हिजोआज यो जोडी फिल्म निर्माणमा व्यस्त छ ।

नयाँ पुराना घटनालाई व्यंग्य गरेर हँसाउँछु

विल्सनविक्रम राई
विल्सनविक्रम राई यतिबेलाका जल्दाबल्दा हास्य कलाकार हुन् । उनी दर्शकलाई सादा तरिकाले हँसाउँछु भन्छन् । धेरै फिल्महरुमा स–साना भूमिका निर्वाह गरे पनि विल्सन चर्चामा आउन सकेका थिएनन् । तर जसै ‘मेरी बास्सै’ नामक हास्य टेलिश्रृंखलामा उनले तक्मे बूढाको रोल पाए, त्यसपछि त उनको भाग्य नै चम्कियो ।
त्यसपछि उनी देशविदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त हुन थाले । यसपालाको गाईजात्रामा पनि उनी दुबई र मलेसियाका स्टेज तताउँदैछन् । राई भन्छन्, ‘पैसाले मानिसलाई खुसी दिन सक्छ तर अन्तरहृदयदेखि हँसाउन सक्दैन । त्यसैले हँसाउने काम निकै गाह्रो काम हो । उनी आफ्ना कथावस्तुलाई नजिकका पात्र जो छन्, उनीहरुसँग ‘रिलेट’ गराइदिन्छन् । जसका कारण दर्शकहरु आफैँलाई भनेको मानेर दिल खोलेर हाँस्छन् । समसामयिक विषयवस्तु मात्रै होइन, पुराना विषयलाई नयाँ तरिकाले प्रदर्शन गरेर पनि उनी दर्शक हँसाउँछन् ।
सीताराम कट्टेल धुर्मुस
सीताराम कट्टेल धुर्मुस यतिबेला हँसाउन भन्दा पनि मानिसहरुलाई सहयोगमा व्यस्त छन् । नमूना बस्ती बनाउँदै अहिले नमूना नेपाल बनाउन लागिपरेका उनी यो पटकको गाईजात्रामा पनि प्रहसनमा हुने छैनन् । बरु साउन २२ गतेदेखि सुरु हुने सरसफाई कार्यक्रममा अत्तरिया पुगेर सरसफाई गर्न सिकाउने उनको योजना छ । उनी यस क्षेत्रमा लागेको छोटो समयमै चर्चित बनेका कलाकार हुन् । तर पनि समयसापेक्ष र ठाउँ हेरेर प्रहसनको तयारी गर्छन् ।
उनी भन्छन्, ‘हँसाउने खासै टेक्निक त छैन तर त्यहाँको अवस्था हेरेर हँसाइन्छ ।’ नवरसमध्ये हँसाउन सबैभन्दा गाह्रो हुने बताउने उनी कतिपय अवस्थामा डाइलग नै बिर्सन्छन् । उनी भन्छन्, ‘कुनै समयमा कसैले केही प्रश्न सोधे उत्तर दिँदादिँदै प्रश्न के थियो बिर्सन्छु, त्यसैले यताउता लग्यो, प्रश्न सोध्नेले उत्तर नै फेला पार्दैन ।’
कतिपय अवस्थामा भने ‘अन द स्पट’ नै कथावस्तु र पात्र तयार गर्नुपर्ने उनले बताए । भने, ‘दर्शक के चाहन्छन्, आफूले बोलेको कुरामा हास्छन्, हाँस्दैनन् सबै कुराको ख्याल गर्नुपर्छ । कतिपय अवस्थामा आफूलाई खुबै घत परेको कुराले दर्शक हाँसिदिँदैनन् । त्यसैले भावसहित हँसाउनुपर्छ ।’ उनका अनुसार अचेल सामाजिक सञ्जालले दर्शक हास्य कलाकारको कुरामा भन्दा सामाजिक सञ्जालमा बढी हाँस्ने गरेका छन् । त्यसैले धेरैजसो कुराहरु उनीहरुले पहिल्यै थाहा पाइसकेका हुन्छन् । त्यसैले पनि हँसाउन गाह्रो छ ।

 

Leave A Comment