मदनकृष्ण श्रेष्ठ
गाईजात्रा भन्नेबित्तिकै झट्ट के सम्झनु हुन्छ ?
गाईजात्रा भन्नेबित्तिकै गाईजात्रा नै सम्झन्छु । किनभने घरमा कोही मानिस बित्दा गाई निकाल्नुपर्छ । मेरी साइँली आमा बित्नुभएको थियो र म गाई बनेको थिएँ । त्यही याद आउँछ । त्यस समयमा म जुँगा बनाएर गएको थिएँ । फूपूहरुले मेकअप गरिदिनु भएको थियो । त्यस समयमा धेरै भोक लाग्थ्यो तर जितपुरफेदीलाई एक चक्कर नलगाई केही खान पाइन्थेन । मानिसहरु सबै उभिएर हेर्थे । परम्परालाई धान्न भन्दा रमाइलोका लागि गाई बनेँ ।
ठूलो भएपछिको गाईजात्रामा केही फरक पाउनुहुन्छ ?
केही फरक छैन । परम्परा त्यही छ । त्यो समयमा पनि प्रहसन देखाइन्थे । एकापट्टी खाली र अर्कोपट्टी कालो भएको चस्मा लगाएर, मादल पनि भ्वाङ पारेर, बिना ताल गीत गाउँदै हिड्थे । ‘धर्म गर धर्म गर, कुखुरा काट्ने काम नछोड’ भनेर अग्रज दाजुदिदीहरु गीत गाउँदै, हँसाउँदै हिँड्थे । गाउँमा एकले अर्कोलाई यही बेला व्यंग्य कसेर उडाउँथे । चोकचोकमा भेला भएर समाजका विकृतिलाई व्यंग्य कसिन्थ्यो । हाम्रोतिर धेरै मानन्धर श्रेष्ठहरुको घर थियो तर वरपर घिमिरे र लामिछाने लगायतका घर थिए । बाहुनहरुले रक्सी खाएको व्यंग्य गर्दा सबै मरीमरी हाँस्थे, माइन्ड गर्दैनथे ।
व्यंग्य गर्नुपर्छ भन्ने त्यति बेला नै लाग्यो कि ?
व्यंग्य गर्दा रमाइलो हुनेरहेछ भन्ने त गाईजात्राबाटै लागेको हो । पछि गाउँको केन्द्र सर्यो । बस्ती बालाजु सर्यो । म चाहिँ निकै पछिसम्म पनि दुई घण्टा हिँडेर सञ्चय कोषमा जागिर खान आउँथेँ ।
पहिलोपटक व्यंग्य नै गर्ने भनेर कहिले लाग्नुभयो ?
२०२८ सालमा मुना सः अर्थात् ‘आवाजको जमघट’ भन्ने संस्थाबाट हामी प्रतियोगिता गराउँथ्यौँ । म संस्थाको सचिव थिएँ र मेरो काम भनेको निर्णायकहरुलाई समय दिन बीचमा विभिन्न व्यंग्य तथा गायनको काम गर्थें । त्यो बेला प्रतियोगीहरुले जति हँसाए पनि लास्टमा मेरै गीत गाउँदै दर्शकश्रोता जान्थे । त्यस बेला लाग्यो, मेरो खुबी यसैमा छ । त्योभन्दा अघिसम्म गीत गाए पनि कविता लेखे पनि पैसा आउँदैनथ्यो । २०३८ सालतिर चाहिँ लायन्स क्लबको कार्यक्रममा हाम्रो (हरिवंश र मेरो) दौडधुप देखेर आयोजकले पाँच सय पारिश्रमिक दिनुभयो । मागेर होइन, उहाँहरुले हाम्रो मिहिनेत र दौडधुप देखेरै दिनुभएको थियो । यो नै हास्य क्षेत्रबाट आएको मेरो पहिलो पारिश्रमिक थियो । ‘अंशबण्डा’ भन्ने प्रहसनबाट आयोजकले पाँच हजार रुपैयाँ पारिश्रमिक दिए । त्यसपछि त हामी पनि महँगा कलाकार भयौँ । हामीले जहाँसुकै कार्यक्रम गर्दा पनि राम्रै पारिश्रमिक लिएर प्रहसन गर्न थाल्यौँ ।
महँगो कलाकार भएपछि त फाइदा पनि निकै भयो होला !
अँ, दुई वटा फाइदा भयो । महँगो कलाकार भनेपछि जोकोहीले बोलाउने आँट नै गर्न छाड्नुभयो । जहाँ पायो, त्यहीँ जानु नपर्दा हामीले वर्षभरि मिहिनेत गर्ने समय पाउन थाल्यौँ । त्यसैले अरुको कार्यक्रमभन्दा हाम्रो कार्यक्रम स्तरीय भयो । अंशबण्डा भन्ने प्रहसन लेख्न हामीलाई दुई महिना ६ दिन लाग्यो ।
पछि त तपाईंहरुले प्रहसनलाई क्यासेटमै निकाल्न थाल्नुभयो !
मैले पहिला नै नेवारी भाषाको क्यासेट निकालिसकेको थिएँ । हरिवंशले घट्टेकुलोमा र मैले धोबीधारामा घर बनाउँदै थियौँ । पैसाको अभाव थियो । पैसाको जोहो गर्न, प्रहसनकै क्यासेट किन ननिकाल्ने भन्ने सल्लाह भयो । २०३८÷३९ सालमा ‘यमलोक’ र ‘प्यारालाइसिस’ देखाइसकेका थियौँ र त्यसैको क्यासेट निकाल्यौँ । त्यो एकदमै हिट भयो । बिपी कोइरालाले समेत ‘प्यारालाइसिस’ मन पराएको पछि थाहा पाएका थियौँ ।
त्यो बेला प्रहसन गर्न सजिलो थिएन नि, कसरी सेन्सर छल्नु हुन्थ्यो ?
पञ्चायत, मन्त्री, दरबार, राजारानीबारे बोल्न दिँदैन भन्ने थाहा भइसकेको थियो । सेन्सरका लागि पासका लागि पठाउने स्क्रिप्टमा पहिले नै काटेर दिन्थ्यौँ । शीर्षक चाहिँ त्यही हुन्थ्यो । ककफाइट, अंशबण्डा नाम चाहिँ उही हुन्थ्यो तर स्टेजमा चाहिँ कडा प्रहार गथ्र्यौं । हामीले व्यंग्य गर्दा अलिअलि गर्दै ठेल्दैपेल्दै मनाउन थाल्यौँ ।
यसको क्रम चाहिँ रेडियोमा सुरु भएको थियो क्यार !
हो, २०३४ सालतिरै बिबिसीले एउटा तालिम दिएको थियो र त्यस तालिमपछि हामीले रसरङ भन्ने रेडियो कार्यक्रम बनाउन थालेका थियौँ । सिकेको अभ्यास गर्न यो सुरु गरिएको थियो । आधा घण्टाको कार्यक्रममा हास्य गीत, हास्य कमिकहरु, प्यारोडी बनाउँथ्यौँ । त्यो बेला निकै प्रभावशाली कार्यक्रम थियो । मेरा लागि त त्यो ठूलो खुड्किलो थियो । ‘बिजिडिजी’ कार्यक्रम एक पटक सेन्सर पास भएन । मन्त्री, दरबार, व्यवस्थालाई व्यंग्य गरिएको थिएन । सरकारी कर्मचारीलाई व्यंग्य गर्दा पनि त्यो सेन्सर पास भएन । १० मिनेट खाली हुने भयो भनेर बाध्य भएर यतिसम्म भन्न देओ भनेर सेन्सर पास भयो । यो नै भन्न पाइने ‘नजीर’ बस्न थाल्यो ।
कुन बेला तपाईंहरूलाई ज्यादै अप्ठेरो पा¥यो, यस्ता व्यंग्यले ?
पञ्चायतका बेला त हामीलाई हरेक पटक र पटक–पटक अप्ठेरोमा पा¥यो । कदम–कदममा सचेत हुनुपथ्र्यो । समात्न आउला कि भनेर सतर्क भइरह्यो ।
कुनै दिन लुक्नुपर्ने अवस्था त आएन ?
कति आए, आए । भनेर साध्य छैन ।
तापनि त्यो बेला हास्यव्यंग्यको मान्यता थिएन, तपाईंहरुलाई सर्जक मानिदैनथ्यो, कस्तो लाग्छ सम्झँदा ?
हामी त जोकर थियौँ । हाम्रो मान्यता थिएन । हामी जोकर होइनौँ, सर्जक हौँ भनेर हामीले निकै मिहिनेत गर्यौँ ।
त्यो बेला त तपाईंका क्यासेट चक्का सुन्न पनि ढोका थुन्नुपर्ने बेला थियो नि ?
अँ, हामीले निकालेका व्यंग्य क्यासेट मज्जाले बिक्री हुन्थे । सीमित व्यक्तिभन्दा पनि जनताको घरघरमा क्यासेट पुगे तर अवस्था उति सहज थिएन । त्यसैले घरबाहिर एउटा रुँघ्ने मान्छे राखेर हाम्रा क्यासेट सुन्नेहरु हुन्थे । यस्ता कुराले हामीलाई साहस दिन्थ्यो । सुन्नलाई त त्यो बेला अप्ठेरो थियो भने रेकर्ड गर्न र प्रहसन देखाउन कस्तो गाह्रो थियो होला, कल्पना गर्नुस् ।
२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि त अलि खुकुलो भयो नि, हैन ?
२०४६ साल अघिसम्म त थुन्देला कि भन्ने डर हुथ्यो । पछि त मार्देलान् कि भन्ने डर हुन थाल्यो ।
तपाईंहरुले व्यंग्यलाई जुन उचाइमा लैजानु भयो, राजमार्ग नै खोलिदिनुभयो, अहिले त गाईजात्रा र व्यंग्य भन्नेबित्तिकै अश्लीलता पनि घुस्न थाल्यो भन्ने गुनासो सुनिन्छ नि ?
विशिष्ट तरिकाले पनि व्यंग्य गर्न सकिन्छ । पछिल्लो समय त्यस्तो भएन भन्ने गुनासो मैले पनि सुन्ने गरेको छु । यो त समयकै खेल पनि हो कि ! शिष्ट व्यंग्य गर्न सकिन्छजस्तो लाग्छ ।
‘महजात्रा’ भन्नेबित्तिकै एउटा तरंग आउँथ्यो । अहिले तपाईंहरु सेलाउनु भएको हो ?
सेलाएको छैन । अहिले अरुले पनि गरिरहेका छन् । हामी सामाजिक काममा अलि व्यस्त भएका छौँ । विभिन्न किसिमका कार्यक्रमका लागि धेरैले बोलाउनु हुन्छ, हामी जान्छौँ । घरायसी काममा पनि व्यस्त भयौँ । अहिले देखायौँ भने उत्तिकै भिड हुन्छ भन्ने कन्फिडेन्ट छौँ । किनभने हामी राम्रो मिहिनेत गर्छौं ।
तपाईंहरुले त सेट नै बनाउनु हुन्छ, पूरै न्युरोड बोकेर स्टेजमा पुर्याउनु हुन्छ । ‘सालिक’जस्ता प्रखर व्यंग्य पस्कनु हुन्छ । विदेशमा पनि राम्रो चर्चा भएको थियो...
अँ, हाम्रो त्यस किसिमकै मिहिनेतले विदेशमा पनि हाम्रो कामलाई दर्शकले रुचाउनुभयो । म्युजिक, ब्याकग्राउन्ड म्युजिकजस्ता कुरामा ध्यान दिन्छौँ । अहंकार नदेखियोस् तर हामीले रत्नपार्क देखाउँदा होस् या शालिक देखाउँदा होस्, हामी त्यही ठाउँमा पुगेजस्तो महसुस गराउँथ्यौँ । दर्शकले त्यही कुरा मन पराउनु हुन्थ्यो ।
सन् १९८७ मा ‘विज्ञापन’ देखाउन हङकङ जानुभयो । अमेरिकामा विभिन्न राज्यमा प्रहसनहरु देखाउनुभयो । यो आत्मविश्वास र आँट कसरी आयो ?
सेकेन्ड सेकेन्डमा हाँस्ने कार्यक्रम भएकाले हामीलाई त्यसमाथि विश्वास थियो । नेपालमै टेस्ट भइसकेको हुन्थ्यो, त्यसैले विदेशमा दर्शक ठ्याक्कै कन्ट्रोलमा आइहाल्थे ।
आम्दानी कत्तिको हुन्थ्यो ?
हाम्रा लागि त्यो समयमा विदेश घुम्न पाउनु नै ठूलो कुरा हुन्थ्यो र थोरबहुत पैसा पनि मिल्थ्यो । पैसा नमागेरै उनीहरुले दिन्थे । पछि त कार्यक्रम गर्ने बाढी नै आयो । हामी धेरै घुमेनौँ, ४८ वटा देश घुम्यौँ ।
पञ्चायतका बेला र अहिले पनि व्यंग्य गर्नुपर्ने उही विषय, उस्तै विसंगति दिक्क लाग्दैन ?
हो, विषय फरक छैन । उस्तै समस्या छन् तर हामीमा केही सुधार पनि भएको छ । हामी डेमोक्रेटिक सिस्टमको प्राक्टिसमा छौँ । माओवादी पहिला कस्तो थियो, अहिले कानुन मान्न थाल्यो । सच्चिदै छ, अन्य पनि सच्चिदैछन् । हामीले सच्याउने कुरामा कहिल्यै छोड्नु हुँदैन । विसंगतिलाई बरोबर प्रहार गरिरहनुपर्छ । त्यो हाम्रो दायित्व हो ।
यस क्षेत्रमा ४२ वर्ष बिताइसक्नुभयो । गर्नुपर्ने कुरा अझै केही छ जस्तो लाग्छ ?
एउटा अन्तरवार्ता हेरेको थिएँ । त्यसमा एक जना केटीलाई प्रश्न सोधिएको थियो, भगवानले तपाईंलाई बरदान दिए के माग्नुहुन्छ ? उसले जवाफमा भनेकी थिई, यस्तो कुरामा म विश्वास त गर्दिनँ तर तपाईंले सोधिहाल्नुभयो त्यसैले भन्छु, अर्को जन्म लिन पाएँ भने अहिले सिकेका कुरा युटिलाईज गर्न हुन्थ्यो ।
मानिस भनेको राम्रा र नराम्रा दुवै गुण बोकेका हुन्छन् । फर्केर हेर्दा हामीले अझै राम्रो गर्न सक्थ्यौँ, कमजोरी बिना नै धेरै थोक गर्न सक्थ्यौँजस्तो लाग्छ ।
Leave A Comment