गाईजात्राको बिचल्ली

सोमबार, २३ साउन २०७४, ०९ : ४३ शुक्रवार , Kathmandu
गाईजात्राको बिचल्ली

पहिले गाईजात्रा हास्य कलाकारका लागि ठूलै पर्व हुन्थ्यो । प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्रा विशेष कार्यक्रमका लागि भ्याई–नभ्याई हुने हास्यकलाकारका लागि भने यस वर्ष भने ढुक्कसँग बस्ने वर्ष बन्न पुगेको छ । अघिल्लो वर्ष मात्रै गाईजात्रा भनेको हामी हास्य कलाकारका लागि सबैभन्दा ठूलो चाड हो भन्नेहरु यस वर्ष चुपचाप छन् । कारण धेरैजसो कलाकार प्रहसन बोकेर कोही खाडी मुलुक त कोही युरोपेली देशतिर लम्कँदैछन् । जसका कारण यसपाला हास्य कलाकारको सबैभन्दा ठूलो पर्व गाईजात्रा हास्यकलाकारकै लागि बिरानो बन्ने अवस्था आएको छ ।  
यस वर्ष दीपाश्री निरौला, केदार घिमिरे माग्ने बुढा र जीतु नेपाल हास्य कार्यक्रम लिएर अमेरिका उड्दैछन् । त्यस्तै विल्सन विक्रम राई दुई वटा प्रहसन बोकेर मलेसिया उड्ने तर्खरमा छन् । सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली भूकम्प गएदेखि नै हसाउन छाडेर देश बनाउन लागिपरेका छन् । यस वर्ष पनि सरसफाई कार्यक्रम बोकेर उनीहरु सुदुरपश्चिमको अत्तरिया जाँदैछन् । अहिले टेलिभिजनमा चर्चामा आउन थालेको ‘भद्रगोल’ हास्य शृंखलाको टोलीले पहिले पनि प्रहसनमा रुचि राखेका थिएनन् र अहिले पनि स्वदेशी दर्शकलाई हँसाउने पक्षमा देखिएका छैनन् ।
त्यस्तै हास्य क्षेत्रका सम्राट मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचर्य) जोडीले त तीन वर्षयता नेपालका दर्शकलाई गाईजात्रा विशेष प्रहसन देखाएका छैनन् । तीस पैंतीस वर्षदेखि एउटै स्वाद चाखिरहेका दर्शकका लागि नयाँ स्वाद दिन नपाएकाले आफूहरुले प्रहसन नगरेको बताउँछन्
श्रेष्ठ । उनको मनमा भने प्रहसन त देखाउनै पर्ने हो जस्तो लाग्छ । हिजोआज यो जोडी मह सञ्चारको ब्यानरमा फिल्म बनाउने तयारी गर्दैछ । त्यसैले कार्यक्रममा भन्दा पनि फिल्मतिर बढी ध्यान गएको उनको भनाइ छ ।
गएको वर्षसम्म रेडियो, टेलिभिजन र पत्रपत्रिकामा गाईजात्रा हेर्ने निम्तो देख्न सकिन्थ्यो । आ–आफ्नो प्रहसन हेर्ने निम्तो सामाजिक सञ्जालहरुमा छपक्कै हुन्थे । यस पटक भने खासै चर्चा छैन । त्यस्तै केही कलाकार भने परम्परा धान्ने मेसोमा छन् । दीपकराज गिरी त्यस्तै परम्परा धान्ने कलाकार हुन् । उनी भन्छन्, ‘निकै व्यस्त हुँदाहुँदै पनि परम्परा बचाउन सानो प्रहसनको तयारीमा छु ।’ फिल्मको कामले त्यति समय नपाइएको हुनाले र सँगै प्रहसन गर्ने साथीहरु पनि विदेश जाने अन्तिम तयारी गरेकाले यस पटक परम्परा धान्नका लागि मात्र प्रहसन गर्ने तयारी गरेको गिरीको भनाइ छ । ‘परम्परागत रुपमा चल्दै आएको गाईजात्रामा पर्व नमरोस् भनेर मात्रै सानो प्रहसन देखाउने तयारीमा छु,’ उनले भने ।
हास्यकलाकारमा गाईजात्राको मोह पहिलेको तुलनामा घटेको कुरालाई अर्का हाँस्य कलाकार किरण केसी भने भने अस्वीकार गर्छन् । उनी भन्छन्, ‘यस पटक म, शिवहरि पौडेल, सुरेन्द्र केसी, सविता गुरुङ र मनोज आचार्य मिलेर प्रहसन गर्दैछौँ । त्यस्तै राजाराम घिमिरेको टोली, टीका भण्डारीको टोली र मनोज गजुरेलको टोली पनि प्रहसन गर्दैछन् । प्रज्ञामा समय नमिलेका र अरु कार्यक्रम बनाएकाहरुले प्रहसन नगर्ने भनेर हल्ला गरेका हुन सक्छन् ।’ उनका अनुसार गाईजात्राको महत्व समयक्रमसँगै झनै बढेको छ । त्यसैले पहिले १२–१३ सो मात्रै हुनेमा अहिले २२–२३ सोहरु हुन थालेका छन् ।

Leave A Comment