केही दृश्य, केही तमासा

शुक्रबार, २४ असार २०७३, १० : ४७ शुक्रवार , Kathmandu
केही दृश्य, केही तमासा

शनिवार राजधानीस्थित आर्मी अफिर्सस क्लबमा नेपाल चलचित्र कलाकार संघले पहिलो पटक अवार्डको आयोजना ग¥यो । ‘फान अवार्ड’ नाम दिएको समारोहमा फिल्म ‘क्लासिक’बाट नम्रता श्रेष्ठ र आर्यन सिग्देल क्रमशः उत्कृष्ट अभिनेत्री र अभिनेता घोषित भए । २४ विधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट फिल्म ‘पशुपतिप्रसाद’ घोषित भयो भने उत्कृष्ट निर्देशकको उपाधि यही फिल्मबाट दीपेन्द्र के. खनालले पाए । अवार्डमा हरिप्रसाद रिमाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित दीर्घ साधना सम्मानबाट पुरस्कृत गरिएको थियो । करिब साढे तीन घण्टासम्म चलेको अवार्ड समारोहमा रोचक र घोचक दुवै खाले दृश्य देखिए ।

रेखा–आर्यन अंकमाल
जब उत्कृष्ट अभिनेताको नाम घोषणा गर्न स्टेजमा अभिनेता शिव श्रेष्ठसँगै अभिनेत्री रेखा थापा पुगिन् त्यतिबेलै दर्शकले आर्यन सिग्देल भनेर विजेताको नाम अड्कल काटे । रेखा र आर्यनबीच चार वर्षयता राम्रो सम्बन्ध थिएन । फिल्म ‘कसले चो¥यो मेरो मन’पछि उनीहरूले सँगै काम गरेका पनि छैनन् । फिल्म जगत्मा यी दुवैको सम्बन्धलाई ‘पानी बाराबार’को सम्बन्ध भनेर लख काटिन्थ्यो । त्यसैले होला स्टेजमा जब विजेताको नाम लेखिएको पेपर रेखाले हेरिन् उनी झस्किइन् । त्यसपछि आफैँले डेब्यू गराएको ह्यान्डसम अभिनेता भन्दै उनले आर्यनको नाम घोषणा गरिन् । माहोल तालीले तात्यो । रेखाले बधाई दिँदै आर्यनलाई गरेको अंकमाल अवार्ड समारोहमै रोचक बन्यो ।  

एउटै स्टेजमा रेखा–राजेश
अभिनेता राजेश हमालसँग पनि रेखाको सम्बन्ध सुमधुर छैन । तर, अवार्डमा यी दुवैले दशकको लोकप्रिय अभिनेता र अभिनेत्री भन्दै सम्मान पाए । धेरै वर्षपछि यिनीहरूलाई अवार्ड समारोहमा त्यो पनि स्टेजमा सँगै देख्न पाइयो । विडम्बना, रेखा र राजेश स्टेजमा एकअर्कासँग बोलेनन् । किन त ? सहभागीबीच गाइँगुइँ चलेको थियो ।  

प्रधानमन्त्रीको अनमोल प्रशंसा
दौरा सुरुवाल र ढाका टोपीमा सजिएर अभिनेता अनमोल केसी अवार्डमा आएका थिए । उनलाई वर्षको लोकप्रिय अभिनेताका रूपमा राजेश र रेखासँगै प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मान प्रदान गरिएको थियो । प्रधानमन्त्रीको सम्मानबाटै फुरुङ देखिएका अनमोल त्यतिखेर झन् खुशी देखिए र मुस्कुराए जतिबेला प्रधानमन्त्रीले भाषणकै क्रममा प्रशंसा गरिदिए । ‘कला क्षेत्रमा त्यति छिटो उकालो चढ्न सजिलो छैन,’ उनले भने, ‘तर, अनमोल केसीले चढेको उकालो र छोएको उचाइ प्रसंशनीय छ । अनमोल केसी भनेपछि नयाँ पिँढीमा अलि बढ्तै आकर्षित देखिन्छ ।’ बर्खाले गाउँमा भूकम्पपीडितको अवस्था कस्तो छ त्यो विषयमा जानकार भए÷नभए पनि प्रधानमन्त्री अनमोलको क्रेजका विषयमा जानकार देखिए ।  

फितलो व्यवस्थापन
स्टेजमा हास्य कलाकारद्वय जितु नेपाल र विल्सनविक्रम राई कार्यक्रम चलाइरहेका थिएँ । उनका छेउछाउँमा चारपाँचजना आयोजक कमिटीका सदस्य देखिन्थे । कोही कतिबेला के भनेर कानेखुशी गर्थे त कोही कतिबेला ‘यसो गर्नुपरो’ भन्दै पुग्थ्यो । त्यो दृश्यले आयोजकको फितलो व्यवस्थापन प्रष्टै हुन्थ्यो । त्यस्तै अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेको थुप्रै फिल्मकर्मीलाई कार्यक्रममा निम्तो गरिएको थिएन । संगीतकार अर्जुन पोखरेल, कोरियोग्राफर रेनशा बान्तवा राई लगायतले त यो विषयमा गुनासो नै व्यक्त गरिसके । रेनशाले त सिर्जनाको अपमान भएको भन्दै फान अवार्डमा सहभागी नहुने घोषणा नै गरिसकेकी छिन् । यसले के शंका उब्जाउँछ भने अवार्ड वितरण गरिनुअघि नै ‘मैले पाउँदै छु’ भन्ने विषयमा विजेता जानकार थिए । कार्यक्रममा सहअभिनेत्रीको अवार्ड जितेकी रोमी घिमिरेलाई बोल्न दिइएको थियो तर आर्यन र नम्रतालाई दिइएन ।  

‘स्पटब्वाई’को सम्झना
समारोहमा उत्कृष्ट नवअभिनेत्रीको अवार्ड थाप्न ‘ड्रिम्स’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आमालाई लिएरै स्टेज पुगिन् । र, आमालाई धन्यवाद दिइन् । नवनिर्देशकका रूपमा भुवन केसीलाई दिइएको अवार्ड लिन उनको अनुपस्थितिमा बुबा र छोरा दुवैजना स्टेज पुगे । यसरी अवार्ड समारोहमा कसैले आफ्नो अभिभावकलाई सम्झिए त कसैले निर्देशक, निर्मातालाई । तर, ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के. खनालले स्पटब्वाईलाई सम्झिए । ‘मलाई अहिले यो गर, त्यो गर भन्दा झर्को नमानिकन स्पटब्वाईले सहयोग गरेको पल झलझली याद आइरहेको छ,’ उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड लिइसकेपछि उनले स्टेजबाटै भने, ‘यो अवार्ड म तिनै स्पटब्वाईहरूप्रति समर्पित गर्न चाहन्छु ।

 

Leave A Comment