भुवनको ‘सम्मान मेरो’

बिहिबार, २६ साउन २०७४, १० : ०२ शुक्रवार , Kathmandu
भुवनको ‘सम्मान मेरो’

गायक भुवन सुप्तिहाङ राईले सांगीतिक करियरको पाँचौँ एल्बम ‘सम्मान मेरो’ श्रोतामाझ ल्याएका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, म्याराथन धावक वैकुण्ठ मानन्धर, गीतकार बुद्धवीर लामा, सञ्चारकर्मी डब्बु क्षत्री लगायतले संयुक्त रूपमा एल्बमको सार्वजनिक गरे । भुवनकै संगीत रहेको एल्बममा ‘आउँदो रहेछ जिन्दगीमा’, ‘मनै तान्यो भेडेटारले’, ‘दिनमा घाम राम्रो रातमा जुन राम्रो’, ‘थाहा छैन जवानीको झोँकमा के के भयो’, ‘सुमधुर भाकाभन्दा गाजलु आँखा राम्रो’, ‘तिमीले संसार जित्यौ भन्दा म धेरै खुसी भएँ’, ‘कोही नाम नभएर बदनाम यहाँ’, ‘तिम्रो बिहेको कुरा सुनेँ’, ‘बारपाक मेरै गाउँ’ र ‘कहिले हाँसो कहिले रोदन’ बोलका गीत छन् । गीतमा विश्वकाजी राई, गोपाल दाहाल, बुद्धवीर लामा, जीतेन्द्र रसिक, अनोज रोका, भुवन सुप्तिहाङ राई, मुकेश राई, प्रेम सुब्बा चेम्जोङ, जेबी संयोगी र दकिला लामाको शब्द छ । भुवनले यसअघि ‘तिम्रो माया’, ‘सजेसन’, ‘मायाको फूल’ र ‘बदनाम’ शीर्षकका एल्बम श्रोतामाझ ल्याइसकेका छन् ।

विष्णुको ‘पुतलीको भट्टी’
लोकगायिका विष्णु माझीले तीजको अवसर पारेर नयाँ तीजगीत ल्याएकी छन् । विगतका वर्षझैँ यस वर्ष पनि उनले ‘पुतलीको भट्टी–१३’ अन्तर्गत ‘अरेली काँडै’ बोलको गीत बजारमा ल्याएकी हुन् । गीतको शब्द तथा लय संयोजन सुन्दरमणि अधिकारीको रहेको छ भने म्युजिक भिडियोमा बिनु सुवेदीले अभिनय गरेकी छन् । गीत सपना म्युजिकले बजारमा ल्याएको हो ।

प्रतापको ‘तिमी थियौँ’
नेपाल आइडलको टप–१८ मा पुगेर बाहिरिएपछि चर्चामा रहेका गायक प्रताप लामाले ‘तिमी थियौँं’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा प्रतापकै शब्द र संगीत रहेको छ । गीतको भिडियोमा मोडलद्वय विकास लामिछाने र सुनिका बस्नेत फिचरिङ छन् । मिलन शंकरले खिचेको गीतको भिडियोको सम्पादन सुप्रिम पराजुली र निर्देशन शान थापाले गरेका छन् । गायक लामा ‘नेपाली तारा’का विजेतासमेत हुन् ।

Leave A Comment