तपाईंलाई उच्च ज्वरो आएको छ र सास फेर्न गाह्रो हुनुका साथै रुघाखोकीका कुनै लक्षण देखिएको छ भने सावधान रहनुहोस् । किनभने तपाईंलाई मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) अर्थात् स्वाइन फ्लुको संक्रमण हुनसक्छ ।
इन्फ्लूएञ्जा ‘ए’, ‘बी’ र ‘सी’ गरेर तीन प्रकारका हुन्छन् । जसमध्ये ‘ए’मा पर्ने एचवानए संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जान सक्छ । यस वर्ष मात्रै स्वाइन फ्लुबाट पोखरामा तीन जनाको मृत्यु भइसकेको छ । काठमाडौँस्थित सहिद शुक्रलाल तथा सरुवा रोग अस्पतालमा दिनकै आठ जना फ्लुका बिरामी आउने गरेका छन् ।
पहिले–पहिले सुंगुरबाट सर्ने भएको यसलाई ‘स्वाइन् फ्लू’ भनिए पनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको अस्पतालका जनरल फिजिसियन डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार यस फ्लुले विशेष गरेर दीर्घ रोग जस्तै दम, खोकी भएकालाई छिटो प्रभाव पर्छ ।
यसबाट जोगिन ग्रिप भन्ने भ्याक्सिन लगाउन सकिन्छ । यस भ्याक्सिनले लगाएको दुईदेखि तीन हप्तामा मात्रै काम गर्ने भएकाले नेपाल सरकारले फ्लुको मौसम सुरु हुनुभन्दा अघिदेखि नै
भ्याक्सिन लगाउन सुझाउनुपर्ने नत्र यसले काम नगर्ने पुनको भनाइ छ । उनले भने, ‘हाम्रै चिकित्सक साथीहरु पनि फ्लुका बिरामी आउन थालेपछि भ्याक्सिन लगाउँछन्, अनि खै त रुघाखोकी लाग्न थाल्यो, भ्याक्सिनले काम गरेन भन्न थाल्छन् ।’
के हो मौसमी रुघाखोकी ?
यो रुघाखोकी भाइरसबाट सर्ने सरुवा रोग हो । सामान्य रुघाखोकी जस्तै यो पनि मौसमी हुन्छ । जाडो सुरु हुने बेला, जाडो सकिने बेला, गर्मी सुरु हुने बेला वा गर्मी सकिने बेला मौसमी रुघाखोकी लाग्ने गर्छ ।
मौसमी रुघा खोकी लागेको बेला रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, बच्चालाई लागेको भए झाडा पखाला लाग्ने लगायतका लक्षण देखिने पुनले बताए ।
कसरी छुट्याउने त ?
सामान्य रुघाखोकी मात्रै लागेको खण्डमा त्यति आत्तिनु पर्दैन तर रुघा लागेको ३ दिनसम्म ज्वरो घटेन वा १०० डिग्रीभन्दा धेरै ज्वरो आइरहेमा तथा रुघा र खोकी लागिरहेमा मौसमी रुघाखोकी लागेको हुनसक्छ । सामान्य खालको मौसमी रुघाखोकी घरमा आफैँ पनि निको हुनसक्ने पुनले बताए । बिरामीको रोग प्रतिरोधात्मक क्षमता कति छ त्यसमा निको हुन र नहुने भर पर्ने उनको भनाइ छ ।
कसरी सर्छ ?
मौसमी रुघाखोकी बिरामीले हाछ्यूँ गर्दा, बिरामीको एक मिटरसम्म नजिक बसेको व्यक्तिलाई हावाको माध्यमबाट सर्छ । त्यस्तै बिरामीले प्रयोग गरेको रुमाल, तौलिया, चश्मा, मोबाइल, कम्प्युटर, ल्यापटप प्रयोग गर्दा, बिरामीसँग हात मिलाउँदा, जुठो खाँदा यो रोग सर्न सक्छ । यसको भाइरस बिरामीले छोएको ठाउँमा चिसो छ भने केही दिनसम्म रहन्छ भने तातो ठाउँमा करिब १० मिनेटसम्म बाँच्न सक्छ ।
यो रोग लाग्दैमा मान्छेको मृत्यु नभए पनि लापरवाही र ढिलो उपचारका कारण मृत्यु हुने उनले बताए । यद्यपि उपचार हुँदाहुँदै पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीको मृत्यु हुनसक्ने खतरा भने रहने उनले प्रस्ट्याए तर यसो भन्दैमा यो निकै खतरनाक रोग रहेछ भनेर आत्तिनु नपर्ने उनको भनाइ छ ।
कसरी बच्ने त ?
मौसमी रुघाखोकीबाट बच्न खोक्दा, हाछ्यूँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । त्यस्तै ज्वरो आएको व्यक्ति नगुम्सिएको तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ ।
बिरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजानु उत्तम हुन्छ । घरेलु विधिबाट उपचार गर्दा पनि निको नभएमा पश्चिमाञ्चलका बिरामी भए पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गएर जाँच्नुपर्छ ।
बिरामी व्यक्ति वा शंकास्पद व्यक्तिसँग सकभर सँगै नबस्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, सकभर अर्का व्यक्तिसँग हात नमिलाउने बरु नमस्कार गर्ने, अरुले प्रयोग गरेको रुमाल, तौली वा वा कपडा प्रयोग गर्न नहुने चिकित्सक पुनको सुझाव छ ।
यो रोग लाग्दैमा डराइहाल्नु भने नपर्ने तर सतर्कता र सावधानी भने आपनाउनुपर्ने उनले सुझाव दिए । अहिले विभिन्न स्वास्थ्य केन्द्र र औषधि पसलहरुले यसबारे बढी नै भ्रम फैलाइरहेको र त्यस्ता भ्रमबाट नडराउन, नआत्तिन पनि डा. पुनको सल्लाह छ । हरेक वर्ष फ्लुको प्रकृति फरक–फरक देखिएको स्वीकार्दै उनले केही दीर्घ रोग भएकालाई मात्रै यसले बढी असर गरेको बताए ।
Leave A Comment