यौन रोगको उपचार सम्भव छ

शनिबार, २८ साउन २०७४, ०२ : २९ शुक्रवार , Kathmandu
यौन रोगको उपचार सम्भव छ

म ४० वर्षे पुरुष हुँ । मलाई केही समययता केही यौन रोगले सताएको भ्रम भइरहेको छ । खासमा यौन रोग के हो ? कस्ता लक्षण देखिन्छन् ? के गर्दा यसबाट मुक्ति पाइन्छ ?
ए. जीवन, कोटेश्वर, काठमाडौँ
यौन रोगीहरुमध्ये धेरै पहिले पहिचान गरिएको सिफिलिस एउटा प्रमुख यौन रोग हो । यस रोगलाई नेपालमा भिरंगीको नामले चिनिन्छ । यो रोग टिपोनेमा पालिडियम भन्ने जीवाणुले गराउँछ । यो जीवाणुको संक्रमण भएपछि लक्षणहरु देखिन लामो समय लाग्न सक्छ । साधारणतः ९ देखि ९० दिन यसको संक्रमणकाल हुन्छ । कहिलेकाहीँ यसका लक्षण नदेखिन सक्छन् तर थाहा हुँदानहुँदै यसका जीवाणुले शरीरका विभिन्न अंगहरुमा असर गर्न सक्छन् । यो रोग लाग्दा सुरुमा विमिरा वा खटिराजस्तो देखिन्छ वा एउटा दुई वटा नदुख्ने घाउका रुपमा देखापर्न सक्छ । विभिन्न प्रकारका यौन सम्पर्कको प्रकृतिअनुसार यौन सम्पर्कबाट हुने यस्ता घाउ यौन अंगहरुमा ओठ, मुख, गुदद्वारमा पनि आउन सक्छन् । साथै, यी घाउ आउँदा एकापट्टि वा दुवैपट्टि काछमा गिर्खा आउन सक्छ । सुन्निने र दुख्ने पनि हुन सक्छ । घाउहरु केही समयपछि आफैँ हराउन सक्छन् र केही समयपछि पुनः देखा पर्न सक्छन् । यो एउटा जटिल गम्भीर यौन रोग हो । पुरुषमा देखिने यसका लक्षणहरु पिसाब नलीबाट पातलो पानी वा वाक्लो पिप निस्कने, पिसाब गर्दा पोल्ने, दुख्ने वा चाँडो पिसाब लाग्ने, अण्डकोष सुन्निने र दुख्ने हुन्छ । यौन अंगमा वा यौन अंग वरिपरि धेरै मात्रामा सेतो काई पदार्थ जस्तो जाने विमिरा खटिरा, पानी फोका वा घाउ देखापर्ने, लिंगको वरिपरि मुसा वा मासु पलाउने, तिघ्राको काछमा रहेका गन्थ्रि सुन्निने, दुख्ने, फुटेर घाउ हुनेजस्ता लक्षण देखिन्छन् । महिलामा देखिने यस रोगको लक्षण योनीबाट धैरै मात्रामा अस्वाभाविक सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बर पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्रपट्टि दुख्ने, तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउ खटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा काछमा गन्थ्रिहरु सुन्निने, दुख्ने वा फुटेर घाउ हुनेजस्ता लक्षणहरु देखिन्छन् । समयमा नै उपचार गर्दा यो रोग निको हुन्छ तर उपचार नभएमा भने यसले शरीरको जुनसुकै अंगलाई पनि प्रभावित गर्न सक्छ । गम्भीर असर गर्न सक्छ ।
गर्भवती आमाबाट जम्मने बच्चामा पनि यो रोग सर्न सक्छ । बच्चा गर्भमा नै मर्न सक्ने वा विकलांग बच्चा जन्मन सक्ने हुन्छ । यो रोग नेपाललगायत देशमा धेरै मानिसहरु संक्रमित छन् । संसारका अधिकांश देशमा यौन रोग व्यापक रुपमा फैलिरहेको छ । यौन रोग असुरक्षित यौन सम्पर्कको प्रमुख सूचक हो । कुनै देशमा यौन रोग कति व्यापक छ भन्ने तथ्यांकले त्यस देशमा कति असुरक्षित यौन सम्पर्क हुने गर्छ भन्ने झल्काउँछ । यौन क्रियाकलापमा सक्रिय १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरुमा यौन रोग हुने अत्यधिक जोखिम समूहमा पर्छन् । यस्तै १५ देखि २४ वर्ष समूहका युवायुवतीमा सबैभन्दा जोखिम समूह हो । यो रोगको लक्षण पुरुषमा चाँडै र महिलामा ढिला देखिन सक्छ । यौन रोगबाट बच्ने उपाय अन्य संक्रामक रोगहरु जस्तै यौन रोग हावा, पानी, खानाबाट सर्ने रोग हैन । यौन रोग नचाहँदा–नचाहँदै सर्दैन । यो मुख्यतः जोखिमपूर्ण असुरक्षित यौन व्यवहारबाट सर्छ । सुरक्षित यौन व्यवहारले यौन रोग सजिलै बच्न सकिन्छ । जस्तै पतिपत्नी वा एक जना विश्वासिलो यौन रोग नभएको यौन साथीसँग मात्र यौन सम्पर्क राख्नु पतिपत्नी वा विश्वासिलो यौन साथीबाहेक अरुसँग यौन सम्पर्क राख्दा सही तरिकाले कण्डमको प्रयोग गर्ने, असुरक्षित यौन सम्पर्क हुँदा वा यौन रोगको शंका लाग्नासाथ तुरुन्तै जँचाउने र स्वास्थ्यकर्मीले बताएअनुसार पूरा औषधि खाने, आफ्नो यौन साथीको पनि उपचार गराउने, अपूरो उपचारले यौन रोग पुनः बल्झिन सक्छ । अविवाहित युवायुवतीले सकभर यौन सम्पर्क नगर्ने निर्मलीकरण नगरेको सुई औजार उपकरण प्रयोग नगर्ने, जाँचेको रगत वा रगतबाट बनेको पदार्थको मात्रै प्रयोग गर्ने, यौन र यौन रोगको बारेमा संकोच लाज नमानेर जानकारी लिने, सुरक्षित यौन व्यवाहार अपनाउने, यौन अंगको नियमित सरसफाइ गर्ने, यौन रोगको रोगथाम नियन्त्रण र उपचारका सिद्धान्तहरु रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सर्वोत्तम हो । यसका लागि सुरक्षित यौन व्यवहार अपनाउनु पर्छ । जोखिम व्यवहार भए वा आफू जोखिममा परेको शंका लागेमा तुरुन्तै जँचाउनु पर्छ । यौन रोग उपचार नगरी निको हुँदैन लक्षण हराएर गए पनि औषधि नगरी पूरा निको हुँदैन । यौन रोगको उपचार सधैँ तालिमप्राप्त वा स्वास्थ्यकर्मीबाट गराउनु पर्छ । दिएको औषधि पूरा मात्रामा नियमित सवेन गर्नु पर्छ । पूर्ण निको हुन दिन र फेरि दोहोर्याएर संक्रमण हुन नदिन यौन साथीको पनि उपचार गराउनु पर्छ । सुरुमै शंका लागेमा यौन रोगको उपचार तुरुन्त गराउनु पर्छ ।

Leave A Comment