कवितामै जीवन समर्पण गरेका कवि आर.आर. चौलागाईं प्रगतिवादी कविताका हस्ताक्षर हुन् । सामन्तीलाई चिठ्ठी, नौलो बिहानी, जिउँदा मानिसहरुजस्ता सात वटा कविता संग्रह प्रकाशित गरिसकेका चौलागाईंको हालै ‘असीम पर्खाइहरू’ कविता संग्रह प्रकाशित भएको छ । आर.आर. चौलागाईंसँग दिनमान गुर्मछानले गरेको कुराकानी ।
‘असीम पर्खाइहरू’ निक्कै ठूलो आकारमा प्रकाशन गर्नु भएछ । कतिको सन्तुष्ट हुनुहुन्छ ? पाठकहरूको प्रतिक्रिया कस्तो छ ?
हो, यस सङ्ग्रहको भोल्युम निकै ठूलो छ । ४३२ पृष्ठमा कविता अटाएका छन् । कवि निमेष निखिलको भूमिका, १०१ थान कविताहरु, कविता लेखनमाथिको मेरो आत्मकथाले पनि यसको आकार बढेको हो । यो सङ्ग्रह मेरा कविताहरूको प्रतिनिधिमूलक पुस्तक भएकोले धेरै मोटो हुन गएको हो । मैले कविता लेख्न थालेकै लगभग ४० वर्ष जति भइसकेछ । यसबीच मेरा ७ कविता संग्रह प्रकाशित भए । प्रनिनिधि भनिसकेपछि अहिलेसम्मका खासखास र अहिले लेखिएका नयाँ कविताहरू राख्नैप¥यो, मलाई साङ्गोपाङ्ग रूपमा चिनाउने गरी मेराबारे कसैले लेख्नैपर्यो, मैले पनि सबै कालखण्डलाई छुने गरी आफ्ना बारेमा केही न केही भन्नैप¥यो । त्यसैले सङ्ग्रह मोटो भयो । यसमा गल्ती गरेँ भन्ने लाग्दैन । पछिल्ला समयका माझिएका कविता मात्रै राखेको भए मोटाइ कम हुन्थ्यो होला । प्रारम्भिक कालका कविता पनि राख्नुपर्छ भनेर मनले अह्रायो । प्रकाशन संस्थाले पनि जोखिम मोलेर पुस्तकको मूल्य धेरै कम (परल मूल्यभन्दा आधा कम) राखेको हुँदा पाठकहरूलाई भार पर्दैन । अब रह्यो अर्को कुरा– मैले पाठकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छु । नराम्रो कसैले भनेका छैनन् । सबैले राम्रो भनेकाले हौसला र प्रेरणा पाएको छु ।
कविताको हल्ला बजारमा बढी नै हुन्छ तर बिक्रीका हिसाबले कविताले बजार तताउँदैन । यसमा तपाईंको भनाइ के छ ?
किताब बाहिर आएपछि हल्ला सबैको हुन्छ । कम र बेसी मात्रै हो । तर हल्लाले मात्रै हुँदैन । किताब गहकिलो हुनुपर्छ । गतिलो हुनुपर्छ । हुन त अहिलेको जमाना विज्ञापनको हो । अलिअलि हल्ला नगरी पनि हुँदैन । किताब कमजोर छ भने जति हल्ला गरे पनि टिकाउ हुँदैन । पछि त्यसको महत्व घट्दै जान्छ । किताब वजनदार छ भने हल्ला नगरे पनि पछि त्यसको महत्व बढ्दै जान्छ । मेरो विचारमा राम्रो कविताले बजारमा हल्ला पनि गर्छ र बिक्रीको हिसाबले बजार पनि तताउँछ । संसारमा कविताको प्रहारले गर्दा कत्राकत्रा तानाशाहहरू काँपेका छन् भने नेपालमै पनि सङ्घर्षको आँधी ल्याउने काम कविताले नै गरेको छ । देश बोलेको अनि युगको आवाज बोलेका कविताहरू गजबले बिकेका पनि छन् । बजार तताएको पनि हामीले अनुभव गरेका छौँ ।
तपाईं त स्कुलमा छँदै कविता प्रतियोगितामा जिल्ला प्रथम हुनु भएको रहेछ । तपाईंका कविता बेलाबेला चोरी पनि भएका हुन् । अर्काको कविताका लाइन नै आफ्नो बनाएर हिट भएकाहरू पनि छन् रे ! तपाईं यसलाई के भन्नुहुन्छ ?
अर्काका कविता चोरेर हिट भएका मान्छेहरू पनि छन् । तिनीहरूको चुरीफुरी पानीको फोकाजस्तै हो । अर्काको चोरेर संसारमा कोही अमर भएका छैनन् । तिनीहरू बदनाम भएर सिद्घिएका छन् । मेरै अगाडि मेरै कविता हुबहु सुनाएका छन् । मैले पोल खोलेपछि मलाई तिनीहरूले गाली गरेका छन् तर तिनीहरू बालुवाको घरजस्तै फास्सफुस्स भए । म भने अहिलेसम्म टिकिरहेको छु । अर्काको चोरेर, अर्काको सारेर अनि अर्काको नक्कल गरेर कति समयसम्म टिक्न सकिन्छ र ! अरूले थाहा नपाउञ्जेल मात्रै हो । त्यसपछि त्यस्ता मान्छेहरूको हविगत कस्तो हुन्छ होला त ! हामी आफैँ अनुमान गरौँ न ! त्यसैले साँचो लेखक हुन आफ्नै मौलिक लेखनी हुनुपर्छ, आफ्नै धरातल हुनुपर्छ र आफ्नै चिनारी हुनुपर्छ ।
सानो छँदा देवकोटाको सुलोचना महाकाव्य किन्न जाँदा अरूले गिल्ला गरे भनेर कवि भएरै देखाउने तपाईंको सपना के पुरा भएको ठान्नुहुन्छ ?
यस प्रसङ्ग बारेमा मैले आफ्नो पुस्तकमा भनेको छु । एउटा फुच्चेले महाकाव्य पढ्न खोज्दा मान्छेहरूले गिल्ला गर्नु र हाँस्नु स्वाभाविक हो । साधारण कविता त राम्रोसँग बुझ्न नसक्नेले त्यत्रो सुलोचना महाकाव्य पढ्ने रहर गर्नु ऊभित्र साहित्यिक हुटहुटी कतिसम्म रहेछ भनेर हामी सहजै लख काढ्न सक्छौँ । त्यो घटना सानो भए पनि त्यतिबेला त्यसले मलाई मज्जाले हल्लायो । मभित्र इखको आगो दन्क्यो र मैले केही गरेर देखाउनुपर्छ भन्ने सङ्कल्पले डेरा जमायो । जसरी सलाईको एउटा काँटीले सिङ्गै जङ्गल सखाप पार्छ– मैले पनि हेटौँडामा भएका सबै पुस्तकालयहरू चहारेर पाएसम्म र भ्याएसम्म साहित्यिक पुस्तकहरू पढेँ । खुब लेखेँ र खुब सुनाएँ । त्यसरी मान्छेहरूले मलाई नहियाएका भए मेरो सपना घनीभूत हुँदैनथ्यो होला । कुनै लक्ष्यमा पुग्नु छ भने हिँड्दाहिँड्दै कतै चोट लाग्नुपर्ने रहेछ अनि मात्रै मान्छे खारिएर इस्पातजस्तो भएर निस्किँदो रहेछ । जिन्दगीको यति लामो रेसमा यही दिव्य कुरा सिकेँ मैले ।
कविताले पाठकलाई के दिन्छ जस्तो लाग्छ ? तपाईँलाई कविताले के दियो ? तपाईँको त कविताकै कारणले केहीसँग सम्बन्ध बिग्रेको अनुभव पनि छ । यसलाई कसरी लिनु भएको छ ?
मेरो विचारमा कविताले पाठकलाई आनन्दको अनुभूति दिन्छ । पाठकले जति राम्रा कविता पढ्न पाउँछन् त्यति धेरै सुखानुभूति गर्छन् । एक्लै भएको बेलामा, अत्यास लागेर बसिरहेको बेलामा, अगाडि बढ्ने बाटो नदेखेर भौँतारिरहेको बेलामा, मनबाट कुनै निकास ननिस्किरहेको बेलामा, कुनै अनिष्टको बादलले छोपिरहेको बेलामा, यात्रामा अथवा जुनसुकै बेलामा पनि पाठकले जब कुनै सुन्दर कविता पढ्न पाउँछन् त्यतिबेला उनीहरू यति खुसी हुन्छन् कि यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । म कवि भएर मात्रै हैन पाठक भएर पनि यो अनुभव गरेको छु । मलाई कविताले धेरै कुराहरू दिएको छ । समयको सदुपयोग गर्न सिकाएको छ । पीडाबाट उन्मुक्ति दिएको छ । हँसाउन सिकाएको छ र कहिलेकाहीँ त रुन पनि सिकाएको छ । कविता नलेखेर त्यत्तिकै बसेको भए म अरू साथीहरू जस्तै बिग्रन्थेँ कि ! कुलतमा लाग्थेँ कि ! मलाई कविताले यति धेरै कुराहरू दिएको छ कि– मैले कविता लेखेरै प्रेम गरेँ र कविता सुनाएरै घरजम पनि गरेँ । कविताले मलाई मान–सम्मान दिएको छ । पहिचान पनि दिएको छ । कविताको कारणले गर्दा मेरो कोहीकोहीसँग सम्बन्ध पनि बिग्रेको छ । चोरी पक्रिँदा अनि कवितामा भएको व्यङ्ग्यले गर्दा पनि मान्छेहरू मसँग रिसाएका छन् । यसलाई मैले सहज रूपमा लिएको छु ।
अहिलेको कविताको अवस्थाले कविताको भविष्य कस्तो छ जस्तो लाग्छ ? कविताको भविष्यको लागि कविहरूले अबका दिनमा केके गर्नुपर्छ भन्ने लाग्छ ?
अहिलेको कविताको भविष्य उज्ज्वल छ । राम्रा कविता लेख्ने कविहरू देखापरिरहेका छन् । कविता पनि फरक ढङ्गले आइरहेको छ । भानुभक्त र मोतीरामको पालामा कविता लेख्ने एउटा तरिका थियो । त्यसपछि रिमाल र भूपीहरू आए । यो तरिका धेरै कालसम्म रह्यो । पछि वासु शशी, ईश्वरवल्लभ, उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, विक्रम सुब्बा, विमल निभा आदि देखा परे । त्यसपछि श्यामल, मीनबहादुर बिष्ट आदि आए । अहिले त कविता लेख्ने हजारौँ कविहरूको जमात देखिन्छ । झन्डैझन्डै अहिले पनि त्यही शैली हावी भइरहेको देखिन्छ । तर पनि चल्तीको शैलीलाई भत्काएर नयाँ किसिमले कविता लेख्ने कविहरू कविताको मैदानमा आउँदै छन् । यो सुखद् क्षण हो । हामीले यसलाई स्वागत गर्नुपर्छ । किनभने कविता एउटा नदी हो । यसले आफ्नो बाटो आफैँ बनाउँछ । बनाइरहेको छ । विश्व कविता कहाँ छ, हामी कहाँ छौँ अनि हामीले कसरी लेख्दा उनीहरूसँग टक्कर लिन सक्छौँ भन्ने कुरामा हामीले घोत्लिने बेला आएको छ । अब हाम्रो कविता खुम्चेर, दपेटिएर अनि झोक्राएर होइन, छाती तन्काएर खुल्लमखुल्ला राजमार्गमा परेड खेल्दै हिँड्नुपर्छ । अनि मात्र हाम्रो कविताको भविष्य सुरक्षित हुनसक्छ ।
तपाईं प्रगतिवादी धारको कवि भनेर परिचित हुनुहुन्छ । कवितामै लामो समय व्यतित गर्न कसरी सक्नु भयो ? यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
मैले कविता लेख्न थालेको चार दशक भएछ । सुरुमा रहरले लेखेँ । अहिले अलिकति कर थपिएको छ । मैले कविता लेखेर के भएको छ र ! अरूले पनि लेखिरहेका छन् । यो भिडमा म थपिएको मात्रै हुँ । मैले कविता नलेखेर कुनचाहिँ पहिरो जाने हो र ! मैले कविता मेरै मर्जीले लेखेको हुँ र मेरै मर्जीले नलेख्न पनि सक्छु । हिजो पनि कसैले लेख् भनेर लेखेको होइन र आज पनि कसैले नलेख् भन्दैमा लेख्न छोेड्दिनँ । यसको हकदार मै हुँ र यो सत्ताको मालिक पनि मैँ हुँ ।
कक्षामा नयाँ शिक्षक आउँदा हामीलाई सोध्ने गर्नु हुन्थ्यो– “ठुलो भएपछि के हुने ?” अरू धेरैले– “डाक्टर हुन्छु, पाइलट हुन्छु” भन्थे । तर मचाहिँ– “कवि हुन्छु” भन्थेँ । म सानै उमेरदेखि राजनीतिमा लागेको हुँ । भाषणमा आमूल परिवर्तनको कुरा गर्थेँ । कविता पनि सँगसँगै लेख्थेँ । कवितामा पनि त्यही कुरा लेख्थेँ । कुनै बेला यस्तो समय आयो– कि राजनीति कि साहित्य एउटा रोज्नुपर्ने अवस्था आयो मलाई । मैले हाँसीहाँसी साहित्य रोजेँ । पञ्चायतीमा पञ्चायतको विरोधमा लेखेँ । बहुदलमा पनि अँध्यारो हटेन, त्यही अँध्यारोको विपक्षमा लेखेँ । गणतन्त्र आइसक्दा पनि जनताको आँगनमा घाम लागेको छैन । त्यही उज्यालो घामको पक्षमा लेख्दै छु । मानौँ एक छिनलाई– सबै कुराहरू पुरा भए रे ! तैपनि कविताको यात्रामा पूर्ण विराम लाग्दैन । किनभने कविताले जहिले पनि अझै थप उज्यालोको अपेक्षा गरिरहेको हुन्छ ।
Leave A Comment