अजिंगरको आहारा दैवले जुराइहाल्छ नि !

मङ्गलबार, ०६ भदौ २०७४, ११ : ५२ अनिल यादव , Kathmandu
अजिंगरको आहारा दैवले जुराइहाल्छ नि !

हास्यकलाकार मनोज गजुरेल यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर चर्चामा छन् । उनले यस पटकको गाइजात्रे प्रहसनमा ट्रम्पको नक्कल गरेका हुन् । उनले यसअघि थुप्रै नेपाली राजनीतिज्ञको नक्कल गरिसकेका छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

बजारमा अहिले नेपाली डोनाल्ड ट्रम्पका रुपमा तपाईंको हल्लीखल्ली व्यापक छ, कस्तो लागिरहेको छ ?
एकदमै खुसी लागेको पनि छैन, दुःख लागेको पनि छैन किनभने हास्यव्यंग्य मेरो कर्म र धर्म हो । हास्यव्यंग्य कर्म हो भने सामाजिक कुराहरुलाई आफ्नो कलामार्फत जनतालाई सचेत गराउनु मेरो धर्म हो । तिनै धर्म निर्वाह गर्नलाई मैले क्यारिकेचर विधा अँगाले । विभिन्न नेताको नक्कल गरेँ । चर्चित नेपाली नेताको लगभग गरिसकेँ । छिमेकी नेता नरेन्द्र मोदीदेखि अरब र चीनका नेतासम्म नक्कल गरेँ । अब ब्याक हुने कुरै रहेन । अग्रगामी छलाङ त मार्नुप¥यो । ट्रम्प अहिले विश्व राजनीतिको केन्द्रमा हुनुहुन्छ । त्यसैले अहिले उहाँको गरेको हुँ, मैले धर्म निर्वाह गरेको हुँ ।

तपाईं अन्तर्राष्ट्रिय विषय र पात्र छनोट गरिरहनुभएको छ । तपाईंका लागि नेपाली पात्र र विषय अब सकिएका हुन् ?
सञ्चार माध्यमले गर्दा विश्व अब सानो घर भइसक्यो । राजनीति पनि अब साँघुरिसक्यो । अमेरिकाको डलरमा हुने गिरावट वा उत्तरचढावले नेपालमा प्रत्यक्ष प्रभाव पर्छ । खाडीमा हुने पेट्रोल उत्पादनले भारत र चीनमा पनि प्रभाव पार्छ । भनेपछि अब नेपाली पाठक, श्रोता र दर्शकहरु विश्व राजनीति र समाजप्रति जानकार छन् । संसार साँघुरो भयो नि त ! अर्को कुरा नेपाली विषय र पात्रमाथि पनि मैले गरेकै हो, गरिरहेकै छु र गरिहाल्छु नि !

डोनाल्ड ट्रम्पको नक्कल गरेपछि प्रतिक्रिया कस्तो आइरहेको छ ?
नेपाली रंगमञ्चमा डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्छ भनेर कसैले सोचेको पनि थिएन । यहाँ यो आवश्यकतै छैन र कसैले बुझ्दैन भन्ने कुरा पनि आ’को हो तर म राजनीतिको विद्यार्थी र राजनीतिमा चासो राख्ने भएकाले मलाई थाहा थियो, अब विश्व सानो घर भइसक्यो । ससाना राजनीतिक परिवर्तनले संसारको अर्को कुनामा भएको देशलाई प्रत्यक्ष प्रभाव पार्छ । अहिले मैले ट्रम्पको नक्कल गरेपछि नेपाली कलाकारिता पनि अब अन्तर्राष्ट्रियकरण तर्फ उन्मुख छ भन्ने खालको प्रतिक्रिया आइरहेको छ ।

तपाईंले पूर्व राजा ज्ञानेन्द्रदेखि अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवासम्म लगायत थुप्रै नेताहरुको नक्कल गर्नुभएको छ । उहाँहरुसँग प्रत्यक्ष भेट हुँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?
मैले जतिबेला राजा ज्ञानेन्द्रको नक्कल गरेँ, त्यतिबेला उहाँका नजिकका मान्छेका लागि त्यसरी नक्कल गर्नु अपराधसरह नै थियो । किनभने उनीहरु उहाँलाई देउता मान्थे । मेरो अहिलेसम्म उहाँसग भेट भएको छैन तर आशा छ उहाँले हास्यलाई हास्यका रुपमा र व्यंग्यलाई व्यंग्यका रुपमा बुझ्नु हुनेछ । शेरबहादुर देउवाको आवाजको मैले थुप्रै पल्ट नक्कल गरेँ, शरीरको पनि गरेको छु तर देउवा यस्तो पात्र हो, जसको जति नक्कल गरे पनि उहाँले नेपाली कलाकारलाई कहिल्यै चिन्नुहुन्छ जस्तो लाग्दैन । प्रचण्डको नक्कल गर्दा उहाँले मलाई ‘यस्ता अद्भूत कला र विचारको फ्युजन भएको मान्छेको मातापिता कस्तो हुनुहुन्छ होला ? मलाई त भेट्न मन लाग्यो’ भन्दै प्रशंसा गर्नुभएको थियो । केपी ओली र मेरो गृह जिल्ला एउटै हो– झापा । यहाँ पनि हामी दुवै बालकोट निवासी हौँ । उहाँ राम्रो व्यंग्य पाचन गर्ने क्षमता भएको नेता हो । म भेट्दाखेरी सिधै ‘तपाईंको छुच्चो बोलीले तपाईंका कार्यकर्ता खुशी होलान् तर आम मान्छे खुसी हुँदैनन्’ भनेर भन्दिने गर्छु । उहाँ ‘हेरौँला’ भन्दै टारिदिनुहुन्छ । उहाँको क्यारिकेचर म, धुर्मुस लगायत थुप्रैले गर्छन् । तर उहाँ ‘अहिलेसम्म मेरो क्यारिकेचर गर्न सक्ने मान्छे नेपालमा जन्मेकै छैनन् भन्नुहुन्छ । अलिअलि चुच्चो मुख पार्दैमा नक्कल हुन्छ र ?’ भन्नुहुन्छ । मैले लालबाबु पण्डितलाई आदर्श व्यक्तिका रुपमा नक्कल गर्दा उहाँले ‘उहाँले हुबहु त मिलेको छैन तर तपाईंले उठाएको एजेन्डा महत्वपूर्ण भएकाले क्यारेक्टरलाई न्याय गरेको’ बताउनुभएको थियो ।

गाईजात्राको अवसरमा प्रहसन गर्न थालेको वर्षौं भइसक्यो तर तपाईंहरुको विषय परिवर्तन भएन । उही राजनीतिक अस्थिरता, अव्यवस्था र अराजकतामाथि नै व्यंग्य गरिरहँदा कहिलेकाहीँ हास्यव्यंग्य गर्नु नै बेकार लाग्दैन ?  
कहिलेकाहीँ लाग्छ तर केही प्रभाव पर्दै नपरेको भने होइन । म विषयवस्तु एकदमै परम्परागत भयो भन्ने कुरामा सहमत छु । तर हामीकहाँ जे पनि राजनीतिले लिड गर्ने हो । हाम्रो राजनीति जसरी सत्ता परिवर्तन, पार्टी परिवर्तन लगायत एउटै घेरामा घुम्यो, त्यसरी नै हास्यव्यंग्य पनि राजनीतिकै वरिपरि अड्कियो । जब राजनीतिले सही दिशा लिन्छ, हामी पनि निर्माणका कुरा, अग्रगामी छलाङका कुरा, सकारात्मक सोचका कुरालाई विषय बनाउँछौँ । मूल मियो नै एकातिर ढल्केको छ भने हास्यव्यंग्य अर्कोतिर ढल्किन सक्दैन ।

जुन पात्र चर्चामा हुन्छ, लोकप्रिय हुन्छ तपाईंको त्यसको नक्कल गरिहाल्नु हुन्छ । मनोजले छिटो चर्चा कमाउनलाई यसो गर्छ भन्नेहरु पनि छन् नि ?

चर्चाको पात्रलाई ल्याएन भने त कसरी हेर्छन् नि ? सबै मान्छेले एउटै चिज गर्न पनि सक्दैन । बाहिर नआएका र चर्चामा नरहेका पात्रहरुको अभिनय गर्ने अरु थुप्रै कलाकार छन् । म सबैथोक हुन खोजेँ भने त चिप्लिहाल्छु नि ! मेरो योग्यतै यत्ति हो । मेरो विशेष दख्खल पनि राजनीतिमै छ । म यो क्षेत्रको गहिराई बुझ्ने क्षमता राख्छु भन्ने लाग्छ । त्यसैले म राजनीतिज्ञहरुलाई बढी मेरो पात्र बनाउँछु । यसमा लोकप्रियता, चर्चाका लागि भन्ने कुरै आउँदैन । चर्चा भनेको त गरेपछि आफैँ हुने कुरा हुन् । मैले त मेरो धर्म निभाएको मात्र हुँ ।

तपाईंले नक्कल गरेका थुप्रै पात्रमध्ये गाह्रो लागेको कुन हो ?  
ज्ञानेन्द्रको शासनकालका बेला । किनभने राजाविरुद्ध व्यंग्य गर्ने हिम्मत जो–कोहीले गर्न सक्दैनथ्यो । मेरो त अनुहार पनि अलिअलि मिल्थ्यो । राजाले बोलेकै डायलग बोल्दा पनि मान्छे हाँसिहाल्थे । मोदीजीको नक्कल गर्दा नेपाली कलाकार भएर हिन्दी भाषामा किन बोलेको भनेर आवाज उठेको थियो तर मैले सम्बन्धित ठाउँका मान्छेलाई बुझाउनका लागि हिन्दी नै बोल्नुपथ्र्यो । पछि भारतीय मिडियासम्म यसको चर्चा भयो । त्यस्तै ट्रम्पको पात्र निर्वाह गर्नु पनि चुनौतीपूर्ण नै हो । अमेरिकी पात्रलाई लिएर नेपाली दर्शकलाई हसाउनुपर्ने थियो । एकदमै धेरै तयारी र अभ्यास गरेको थिएँ, ट्रम्पबारे युट्युबबाट थुप्रै भिडियो हेरेँ । गत वर्ष नेपाली राजनीतिको केन्द्रमा रहेका लोकमानसिंह कार्कीको अभिनय गर्दा मलाई गाह्रो भयो । किनभने त्यतिबेला लोकमानको नाममा व्यवस्था उल्टाउनेसम्मको खेल भए पनि  आममान्छेले उनलाई नचिन्दा रहेछन् । म मिसन कलाकारिता गर्ने मान्छे पनि हो । बजारमा जे बिक्दैछ, त्यो मात्र गर्ने होइन । के आवश्यक छ, त्यो पनि गर्छु । त्यसैले लोकमानको नक्कल गर्दा मलाई दर्शकलाई बुझाउन गाह्रो भएको थियो ।

तपाईंको नजरमा पहिले र अहिलेको गाईजात्रामा के परिवर्तन भयो ?
खासै परिवर्तन आएन । अब सोच्नुपर्छ । विषयवस्तु एउटै भयो । हामी आफैँले आफूलाई कहाँनेर परिमार्जित ग¥यौँ त ? अब हास्यव्यंग्यको नयाँ –नयाँ फम्र्याटमाथि अभ्यास हुन जरुरी छ । साइलेन्ट एक्टिङ आवश्यक छ । म पनि ट्राइ गरिरहेको छु । पपेट खेलाउने कमेडी पनि राम्रो हुन्छ । दुई वर्षअघि प्रयास पनि गरेँ तर जम्न सकिनँ, राम्रोसँग डेलिभरी गर्न सकिनँ ।

थुप्रै हास्यकलाकार टेलिभिजनबाट स्थापित भए तर तपाईं स्टेजबाटै जम्नुभयो है ?
हो । टेलिभिजनमा पनि प्रयास गरेकै हुँ तर मलाई त्यो २२–२५ इन्चको घेराभित्र नियन्त्रण गर्ने राम्रो डारेक्टर नै भेटिएको छैन । मेरो एक्लो प्रयासले म नियन्त्रित हुन सकिनँ ।

पछिल्लो समय गाईजात्राको प्रहसन भद्दा भयो भन्ने आरोप छ नि ?  
कम गर्ने कोसिस गर्दैछौँ । खासमा हामीले हिजोका दिनमा हास्यव्यंग्य हेर्न दर्शकको मनोदशा नै बिगा¥यौँ । अश्लीलतालाई हास्यव्यंग्य भनेर पस्केका छौँ । हामीले अमेरिका, बेलायतको कमेडीसँग हाम्रो समाजलाई तुलना गर्न मिल्दैन । यदि अश्लीलतालाई हास्यव्यंग्यको एउटा माध्यम बनाउने हो भने हामीले पनि अमेरिकी, बेलायती स्ट्यान्डर्डका कार्यक्रम गर्न सक्नुपर्छ ।

स्टेजमा हसाउन जानुअघि तपाईं कसरी तयारी गर्नुहुन्छ ?
मूलतः अध्ययन नै हो । म जुन हलमा हँसाउन जाँदैछु सबैभन्दा पहिलो आयोजकबारे जानकारी लिन्छु । आयोजकअनुसार उसका अडियन्स आउँछन् । अडियन्सको उमेर समूह के हो ? कुन खालको कन्टेन्टमा उनीहरुले इन्जोय गर्छन् ? त्यसको विश्लेषण गर्छु । कार्यक्रममा जानुभन्दा पहिले धेरै चिजहरु मस्तिष्कमा प्रि–प्लान हुन्छन् र त्यसलाई फेरि पनि लोकलाइज्ड गर्ने प्रयत्न गर्छु ।

नेपाली हास्यव्यंग्यले फिल्म र टेलिभिजनमार्फत महिला, मधेसी, दलित, आदिवासी जनजातिलाई मजाकको पात्र बनाएर दर्शक हँसाइरहेका हुन्छन् । यसो गर्नु ठीक हो ?  
मेरो आदर्शले गरिखाने वर्गप्रति, सीमान्तकृत वर्गप्रति सधैँ सम्मान राख्छ । मसँग राजनीतिक चेतना भएकाले म यो कुरामा एकदमै ख्याल गर्छु । मेरो प्रयासचाहिँ त्यो विसंगतिलाई रोक्नुपर्छ भन्ने नै हुन्छ । मेरो प्रस्तुतिमा कम्तीमा महिला, गरिब, शोषित, पीडितका दुःखलाई मजाकको पात्र बनाउँदिन । किनभने त्यो मज्जा होइन, हिंसा हो । हिंसाउन्मुख हास्यव्यंग्यलाई रोक्न जरुरी छ । जतिसुकै राजनीतिक आन्दोलन भने पनि त्यो सबै पहिचानका लागि हो । हामीले यो कुरालाई बुझ्नुपर्छ । हामी मनोरञ्जनका व्यापारी हौँ भन्दैमा मान्छेका कमी–कमजोरी, उसका संवेदनशीलतामाथि बोल्नुभन्दा अघि र कसैको जात, लिंग, धर्म, भेषभूषामाथि बोलेर हँसाउनुभन्दा अघि १० पटक सोच्न जरुरी छ ।

तपाईंले त अमेरिकी राष्ट्रपतिकै नक्कल गरिसक्नुभयो, तपाईंका लागि अब को पात्र बाँकी रह्यो र ?
अजिंगरको आहारा दैवले जुराइहाल्छ नि !

 

Leave A Comment