आर्यनको वास्तविक नाम ?

मङ्गलबार, ०६ भदौ २०७४, १२ : ४४ शुक्रवार , Kathmandu
आर्यनको वास्तविक नाम ?

सुरज खड्का
नायिका रेखा थापा आफ्नो ब्यानरबाट निर्मित चलचित्रमा अभिनय गर्ने हिरोहरुको नयाँ नामले ‘न्वारान’ गरिदिन निकै खप्पिस छिन् । रेखा फिल्म्सको ‘किस्मत’बाट ठूलो पर्दाका चलचित्रमा डेब्यु गरेका आर्यन सिग्देल सो चलचित्रमा अभिनय गर्नुअघि हरिश सिग्देलका नामले सडक नाटक, म्युजिक भिडियो र टेलिशृंखलाहरुमा अभिनय गर्थे । उनले रेखा थापाको सल्लाहमा आफ्नो नाम हरिश परिवर्तन गर्दै आर्यन बनाएका हुन् । नाम जुराइदिने क्रममै रेखाले गोपाल रिजाललाई चलचित्र ‘हिफाजत’बाट आयुष रिजाल बनाएकी थिइन् ।

भुवन केसीको डेब्यु चलचित्र ‘जुनी’ हो । यो चलचित्रमा उनलाई भारतीय निर्देशक शरद पालेकरले नायकको रुपमा अडिसनमार्फत छनोट गरेका थिए । चलचित्रको छायांकनका लागि कलाकारबाहेक प्राविधिक लगायतको सम्पूर्ण टोली भारतबाट आएको थियो । भारतबाट आएका सबैले हिन्दी बोल्ने हुँदा भुवनले भाषाका कारण त्यतिबेला निकै सास्ती भोग्नु परेको थियो ।

नेपाली चलचित्रको सुरुवात भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’लाई नेपाली भाषामा डबिङ्ग गर्दै भएको थियो । त्यस्तै नेपाली भाषामै र नेपालमै निर्माण गरिएको पहिलो चलचित्र ‘आमा’ हो । आमा २०२२ सालमा प्रदर्शन गरिएको थियो । सरकारी लगानीमा निर्मित यो चलचित्रभन्दा पहिले नै २०१८ सालमा निजी लगानीमा चलचित्र ‘माइतीघर’ निर्माण गरिएको थियो तर माला सिन्हा र सिपी लोहनीको मुख्य भूमिका रहेको ‘माइतीघर’ प्रदर्शन भने ‘आमा’ प्रदर्शन भएको एक वर्षपछि मात्रै भएको थियो ।

‘माइतीघर’ त्यस्तो नेपाली चलचित्र हो जसमा भारतीय चलचित्रकी तत्कालिन समयकी चर्चित अभिनेत्री माला सिन्हालाई प्रमुख भूमिकामा अभिनय गराइएको थियो । २०२३ सालमा प्रदर्शित यो चलचित्रपछि भने उनले अरु नेपाली चलचित्रमा अभिनय गरिनन् । सिन्हालाई चलचित्र ‘चिनो’मा भुवन केसी र शिव श्रेष्ठकी आमाको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो । उनले अभिनय गर्ने इच्छासमेत देखाएकी थिइन् तर निर्माण पक्षसँग कुरा नमिलेपछि सिन्हाले अभिनय गरिनन् । उनलाई प्रस्ताव गरिएको भूमिकामा पछि सुभद्रा अधिकारीले अभिनय गरिन् । त्यस्तै चलचित्र ‘भाउजू’मा पनि सिन्हालाई अभिनयका लागि प्रस्ताव गरिएको थियो । यसमा पनि उनले अभिनय गर्न नमानेपछि सुभद्राले नै अभिनय गरेकी हुन् ।

‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’ लगायतका चर्चित गीतका गायक प्रेमध्वज प्रधानलाई नेपाली सांगीतिक आकाशमा मखमली आवाजका धनी गायकका रुपमा चिनिन्छ । काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गरेका प्रधानको नाम गणेशध्वज थियो । निकै सुन्दर र आकर्षक देखिने उनलाई गणेश नाम सुहाएन भनेर उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्वज बनाइदिएका हुन् ।

स्वर सम्राट नारायण गोपाल आफ्ना कालजयी गीतका कारण अहिले पनि उत्तिकै लोकप्रिय छन् । गायन शैली र आवाजका कारण गीतसंगीतमा लाग्न चाहनेहरुका लागि आज पनि उनी प्रेरणाको श्रोतका रुपमा छन् तर तिनै नारायण गोपालको जीवनका केही असफलताका कथाहरु पनि जोडिएका छन् । स्वर सम्राटको उपमाबाट सम्मानित उनी पहिलो पटक स्वर परीक्षामा अनुत्तीर्ण भएका थिए । संगीतको शिक्षा लिन भारतको बरौडा पुगेका उनी बीचैमा पढाइ अपुरो छोडी फर्किएका थिए । चलचित्र ‘माइतीघर’मा पाश्र्वगायकका रुपमा गीत गाउन जाँदा गाउन नसकेर फर्किनु परेको थियो ।
२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि रेडियोमा पहिलोपटक गीत गाउने गायकको श्रेय हरिप्रसाद रिमाललाई जान्छ । उनले शंकरप्रसाद लामिछानेको शब्द तथा आफ्नै स्वर तथा संगीतमा ‘मेरो दिलको टुक्रा बनेर एकदिन आँखाको बाटो बहनेछ’ बोलको गीत गाउँदै रेडियो नेपालमा पहिलो पटक गीत गाउने इतिहास आफ्नो नाममा लेखाएका हुन् । रिमाल गायक मात्रै होइनन् कुशल रंगकर्मी पनि हुन् । उनले नाटकका साथै थुप्रै चलचित्रमा पनि अभिनय गरेका छन् । सानैदेखि अभिनय भनेपछि मरिहत्ते गर्ने  रिमालले बालकलाकारका भूमिकामा अभिनय गरेको ‘मुकुन्द इन्दिरा’ तत्कालिन राजदरबारमा प्रदर्शन गरिएको थियो । उनको अभिनय यति सशक्त थियो कि जुद्ध समसेरसमेत उनीबाट प्रभावित भएका थिए । प्रभावित भएरै जुद्ध समसेरले उनलाई बक्सिस स्वरुप ५०० वटा चाँदीका सिक्का दिएका थिए । ११ वर्षे फुच्चे रिमालले १५–२० ठाउँमा बिसाउँदै सो पैसा काठमाडौँको लगनटोलस्थित आफ्नो घर पु¥याएका थिए ।

Leave A Comment